भर्खरै :

एमसीसी सम्झौता खारेज नभएसम्म नेमकिपाको आन्दोलन चालु रहनेछ

एमसीसी सम्झौता खारेज नभएसम्म नेमकिपाको आन्दोलन चालु रहनेछ

काठमाडौँ, २३ पुस । नेपाल मजदुर किसान पार्टी काठमाडौँ महानगरपालिकाको आयोजनामा समसामयिक विषयमा शनिबार चित्लाङमा कार्यकर्ता भेला भयो ।
कार्यक्रममा पार्टीका सचिव प्रेम सुवालले काठमाडौँबाट चित्लाङ पुगेर कार्यकर्ता भेला हुनु यताको भूगोल र संस्कृतिको अध्ययन पनि हुने बताउनुभयो ।
उहाँले भन्नुभयो, “अङ्ग्रेजी नयाँ वर्ष सन् २०२३ भर्खरै सुरू भयो । सन् २०२२ मा नेपालको प्रतिनिधिसभाले एमसीसी सम्झौता पारित गरेको देशघाती हो । नेमकिपाले एमसीसी सम्झौता खारेजीको लागि ४० जिल्लामा १५० भन्दा बढी ठाउँमा विरोध जुलुस र सभा सम्पन्न ग¥यो । एमसीसी सम्झौता खारेज नभएसम्म नेमकिपाको आन्दोलन चालु रहनेछ ।”
एमसीसी सम्झौता अमेरिकी अनुदान नभएको स्पष्ट पार्दै सचिव सुवालले भन्नुभयो, “यो सम्झौता प्रतिनिधिसभाबाट पारित गराउन अमेरिकी मन्त्री डोनाल्ड लूले नेपाल र अमेरिकाको सम्बन्धमा प्रभाव पार्ने धम्की दिएका थिए । अमेरिकी धम्कीको सामु डराएका शासक दलहरूले नेपालको हित गर्ने छैनन् ।”
उहाँले भन्नुभयो, “नेमकिपाले संसद्मा नेपाललाई खाद्यान्न आत्मनिर्भर बनाउने, विद्यालय शिक्षा निःशुल्क र अनिवार्य तथा विश्वविद्यालय शिक्षा निःशुल्क गर्ने, स्वास्थ्य उपचार निःशुल्क गर्ने, स्वदेशमा रोजगारी दिने, जलविद्युत्मा आत्मनिर्भर बनाउने, भ्रष्टाचार नियन्त्रण गर्नेलगायत विषय उठाउनेछ ।”
“नेपाललाई सिक्किमजस्तै बनाउने नागरिकता विधेयक र नेपालका उद्योगी र व्यापारीलाई नाङले पसलेमा झार्ने विदेशी पुँजी लगानीको विरोधमा पनि सडक र सदनमा पार्टीले आवाज उठाउनेछ”, सचिव सुवालले भन्नुभयो ।
सबै नीतिको मूल नीति राजनीति हो । तर, सरकारमा गएका पार्टी र तिनका नेताहरूले राजनीतिलाई व्यक्तिगत स्वार्थपूर्तिमा सीमित गरेको हुँदा नेपाली विद्यार्थीहरू विभिन्न देशमा अध्ययन गर्न जाँदा देशको ६७ अर्ब रूपियाँ विदेशिएको छ, उहाँले भन्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य नारायण महर्जनले सबैले देश र जनताको हितमा राजनीति गर्नुपर्ने आवश्यकता औँल्याउँदै जनविरोधी कार्य गर्नेलाई जनताले सजाय दिने बताउनुभयो ।
नेमकिपाका अर्का केन्द्रीय सदस्य एवं बाग्मती प्रदेशसभा सदस्य सृजना सैंजूले विगतमा झँै आफूहरूले देश र जनताको पक्षमा बाग्मती प्रदेशसभामा आवाज उठाउने बताउनुभयो ।
बाग्मती प्रदेशसभा बैठक सरकार गठन गर्नमा केन्द्रित भएको बताउँदै उहाँले शासक पार्टीका सदस्यहरूमा देश र जनताको सेवा गर्नेतर्फ ध्यान नगएको बताउनुभयो ।
आयोजक समितिका अध्यक्ष सुरेन्द्र महर्जनको सभापतित्वमा भएको उक्त कार्यक्रममा सानुकाजी महर्जन, हीरादेवी मानन्धर, पात्र नमुना शर्मा, राजु कपाली र राजेन्द्र डंगोलले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *