नेपालकै पहिलो पहल – ख्वप आदर निकेतन
- कार्तिक २०, २०८३
भक्तपुर, २३ पुस । “राजनीति शुद्ध नभएसम्म देश र जनताले सास्ती भोग्नुपर्ने भएकाले राम्रा–राम्रा विद्यार्थीहरू राजनीतिमा लाग्नुपर्छ ।”
उक्त भनाइ नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले शनिबार बाल विकास सेकेन्डरी स्कूलको ३५ औँ वार्षिकोत्सव कार्यक्रममा राख्नुभएको थियो ।
अध्यक्ष बिजुक्छेँले पुँजीवादी व्यवस्थाको प्रभावका कारण अहिले धेरै अभिभावकहरूले धेरै पढेर आफ्ना सन्तान विदेश जाऊन् भन्ने गलत मानसिकता बोक्ने गरेको कुरा चर्चा गर्दै यस्तो मानसिकताबाट बच्नुपर्ने बताउनुभयो । उहाँले राजनीति राम्रो नभएसम्म देशको शिक्षा, स्वास्थ्य, विकास केही पनि अगाडि नबढ्ने भएकोले आफ्ना सन्तानलाई स्वदेशमै बसेर देशको सेवामा समर्पित गराउन अभिभावकहरूलाई आग्रह गर्नुभयो ।
अध्यक्ष बिजुक्छेँले कुनै विद्यालय राम्रो वा नराम्रो भन्ने कुरा त्यो विद्यालयबाट उत्पादित जनशक्ति कहाँ छन् र के गर्दै छन् भन्ने कुराले निर्धारण गर्ने भएकोले विद्यालय यसतर्फ सचेत हुनुपर्ने बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य तथा बाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले अभिभावकले आफ्ना सन्तानलाई व्यक्तिगत स्वार्थभन्दा माथि उठेर समाज र समग्र देशको स्वार्थका लागि काम गर्ने भावना सिकाउन सकेमात्र देश अघि बढ्ने धारणा राख्नुभयो ।
उहाँले शिक्षाको विकासविना देशको उन्नति असम्भव प्रायः रहेको बताउँदै सरकारले शिक्षा क्षेत्रमा विशेष ध्यान दिनुपर्ने विचार राख्नुभयो । उहाँले समाजलाई अघि बढाउन बालबालिका र ज्येष्ठ नागरिकको हेरचाहमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।
सांसद गोसाईले सरकारले शिक्षामा पर्याप्त ध्यान दिन नसकेको अवस्थामा बाल विकास स्कूलले मजदुर, किसान र सर्वसाधारण जनताका छोराछोरीलाई कम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बताउनुभयो ।
सचेत अग्रजहरूको सत्प्रयासकै कारण भक्तपुर आजको अवस्थामा पुगेको बताउँदै अग्रजहरूबाट प्रेरणा लिएर अझ अघि बढ्नुपर्ने कुरामा सांसद गोसाईले जोड दिनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य तथा बाग्मती प्रदेशसभा सदस्य सृजना सैंजूले आम जनतालाई निःशुल्क र सर्वसुलभ शिक्षा स्वास्थ्य दिनुपर्ने सरकारको दायित्व भए पनि सरकार यसबाट पछि हटेको बताउनुभयो । उहाँले सरकारी कर्मचारी, मन्त्री र सांसदहरू नै आफ्ना निजी शैक्षिक संस्थालाई पोस्नका लागि सार्वजनिक शैक्षिक संस्थालाई तहसनहस पार्न लागिपरेको धारणा राख्नुभयो ।
सांसद सैंजूले समाजवादी देशहरूमा शिशुशालादेखि विश्वविद्यालय तहसम्म निःशुल्क र गुणस्तरीय शिक्षा पाइने उदाहरण प्रस्तुत गर्दै नेपाल सरकारले पनि यसमा ध्यान दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा पोषणविद् रश्मि श्रेष्ठले बालबालिकालाई बजारिया खानाको सट्टा घरायसी खाना र खाजा खुवाउनुपर्ने कुरामा जोड दिनुभयो ।
ईसीडी प्रशिक्षक सुनिता प्रजापतिले भोलिको सुन्दर भविष्यका लागि आज आफ्ना बालबालिकाको वर्तमानमा विशेष ध्यान दिनुपर्ने धारणा राख्नुभयो ।
उहाँले अभिभावक, विद्यालय र शिक्षकशिक्षिकाको संयुक्त प्रयासबाट मात्रै बालबालिकाको भविष्य निर्माण सम्भव भएकोले यसतर्फ सबै सचेत हुनुपर्ने बताउनुभयो ।
शिक्षिका तथा ग्रेडतह इन्चार्ज सीता प्रजापतिको सभापतित्वमा भएको उक्त कार्यक्रममा शिक्षकद्वय शङ्कर आचार्य र मनिषा श्रेष्ठले पनि बोल्नुभएको थियो । कार्यक्रममा प्लेग्रुपदेखि कक्षा ४ सम्मका करिब ८ सय विद्यार्थीहरूले नाटक, गीत, नृत्य तथा अन्य विभिन्न विधामा आकर्षक प्रस्तुतिहरू पस्केका थिए ।
Leave a Reply