भर्खरै :

झीगु ख्वप साकोसको १५ औँ वार्षिक साधारणसभा

झीगु ख्वप साकोसको १५ औँ वार्षिक साधारणसभा

भक्तपुर, २३ पुस । झीगु ख्वप बचत तथा ऋण सहकारी संस्था लि. को १५ औँ वार्षिक साधारणसभाको नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले शनिबार उद्घाटन गर्नुभयो ।
सो अवसरमा अध्यक्ष बिजुक्छेँले सहकारीको भावना र उद्देश्यविपरीत काम गर्ने सहकारी संस्थाहरूले जनताको पैसा सङ्कलन गरी दुरूपयोग गर्ने, पैसा लिएर व्यवस्थापक तथा सञ्चालकहरू भाग्ने प्रवृति बढेकोले जनता सचेत हुनुपर्ने आवश्यकता औँल्याउँदै त्यस्ता सहकारी संस्थाहरूसँग कारोबार गर्न नहुने बताउनुभयो ।
उहाँले अगाडि भन्नुभयो, “कति व्यक्तिहरूको घरखेत नै सहकारीले तानेको अवस्था छ । सहकारी संस्था सञ्चालन गर्नु जनताको सेवाको निम्ति हुनुपर्छ, यसबाट व्यक्तिगत फाइदा लिन खोज्नु सर्वथा गलत हो, व्यक्तिगत लाभको लागि सञ्चालन भएको सहकारी लामो समय टिक्नेछैन ।”
हरेक सहकारी संस्थाले जनताको जीवनस्तर उठाउनको निम्ति महत्वपूर्ण भूमिका खेल्नु पर्ने विचार उहाँले व्यक्त गर्नुभयो ।
अध्यक्ष रोहितले संस्थाका शेयर सदस्यहरूमध्ये सिभिल इन्जिनियरिङमा विद्यावारिधि गरेका डा. चन्द्रकिरण कवां, बालरोग क्षेत्रमा विशेषज्ञता हासिल गरेका डा. विजयकुमार चिकंबञ्जार, चिकित्सा स्वास्थ्य शास्त्रमा एमबीबीएस गर्ने डा. श्रीजा किसी, डा. विक्रम मानन्धर, बीडीएस गर्ने डा. रोजिना त्वानाबासुलाई दोसल्ला ओढाउनुका साथै कदरपत्र र मायाको चिनो प्रदान गरी सम्मान गर्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवं भनपा ७ नं. वडाका वडाध्यक्ष उकेश कवांले मानिसहरूले ब्याजको लोभमा समुदायमा आधारित सहकारीमा रहेको बचत निकालेर बजारिया र फर्जी बहुउद्देश्यीय सहकारी संस्थामा पैसा जम्मा गर्नेतर्फ जनतालाई सचेत गर्नु आवश्यक छ भन्नुभयो ।
उहाँले कार्यक्रममा संस्थाबाट आयोजित टग अफ वार प्रतियोगिताका विजयी र जुजु धौ (दही) बनाउने तालिमका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।
आदर्श आजाद मा.वि.÷कलेजका प्राचार्य एवं संस्थाका संस्थापक अध्यक्ष श्रीकृष्ण किसीले नेतृत्वकर्ताहरूमा हुनुपर्ने विशेषताहरूबारे चर्चा गर्दै संस्थाको दिगो विकासको निम्ति साधारण सदस्यहरू सक्रिय हुनुपर्ने विचार व्यक्त गर्नुभयो ।
उहाँले २०७६, २०७७, २०७८ सालमा एसईई उत्तीर्ण गर्ने संस्थाका शेयर सदस्यका छोराछोरीहरूलाई प्रशंसापत्र, मायाको चिनो तथा पदक प्रदान गर्नुभयो ।
भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संस्था लि.का सचिव जगनाथ प्रजापतिले समुदायमा आधारित सहकारी नै जनताको सहकारी भएकोले यस्तै सहकारीमा मात्र पैसा जम्मा गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
संस्थाका सल्लाहकार विश्वराम कवांले हिजो हेपिएका र पछाडि पारिएका भक्तपुरवासीहरूबाट विभिन्न विषयका विशेषज्ञ जनशक्ति तयार हुनु खुसीको कुरा हो भन्नुभयो ।
संस्थाका सचिव हरिकृष्ण दनेगुलुले संस्थाको वार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष भुवन गोसाईले आर्थिक प्रतिवेदन तथा नयाँ बजेट र लेखा सुपरिवेक्षण समितिका राकेश सुकुपायोले लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
१५ औँ वार्षिक साधारणसभाको दोस्रो सत्रले सभामा प्रस्तुत सबै प्रतिवेदनहरू सर्वसम्मतिले पारित गरेको छ ।
कार्यक्रम संस्थाका अध्यक्ष बलराम गोसाईको सभापतित्वमा सम्पन्न भएको थियो भने स्वागत उपाध्यक्ष नारायणप्रसाद कवां र धन्यवाद ज्ञापन इन्द्रमाया लागेले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *