नेपालकै पहिलो पहल – ख्वप आदर निकेतन
- कार्तिक २०, २०८३
केही महिनादेखि ठाउँ ठाउँमा सहकारी संस्थाहरूको वार्षिक साधारणसभा भइरहेको छ । अहिले टोल–टोलमा सहकारी संस्थाका सदस्यहरूको जमघट भइरहेको छ । साँच्चै समुदायमा आधारित सहकारी संस्थामा शोषण र पक्षपात हुँदैन । घूस र कमिसनको खेल चल्दैन । व्यक्तिगत लाभ र व्यक्तिगत स्वार्थ पूरा गर्न समुदायमा आधारित संस्था खोलेको हुँदैन । संस्थामा आइपरेको समस्या सहकार्य गरिए सहकारीबाटै समाधान गरिएको हुन्छ । थोरै पुँजी, थोरै सीप, थोरै ज्ञान र थोरै अनुभवले पनि आ–आफ्नो गाउँ–ठाउँमा सहकारी संस्था खोल्न सकिन्छ । त्यही भएर अहिले एउटा टोल या गाउँमै दर्जनभन्दा बढी सहकारी संस्थाहरू खोलेका छन् । टोल–टोलमा सहकारी संस्था भएकै कारण प्रत्येक घरमा झैँ सहकारीका सदस्य भएका छन् ।
सहकारीको आर्थिक संरचना समाजवादउन्मुख संरचना हो । यो पुँजीवाद र समाजवादबिचको समाजवादउन्मुख संरचना हो । शोषण र चर्काे ब्याज अन्त्य गर्ने उद्देश्यले सहकारी संस्थाहरू खोलेको देखिन्छ । समुदायमा आधारित सहकारी संस्थाले प्रत्येक वर्ष साधारणसभा राख्छ । लेखा परीक्षण गराइएको हुन्छ । आयव्यय पारदर्शी गरिएको हुन्छ । जम्मा भएको आम्दानी परिचालन गरिएको हुन्छ । ऋण समयमै चुक्ता नभए ऋणीहरूको भेला गरिएको हुन्छ । आर्थिक कारोबारसँगै विभिन्न स्वास्थ्य शिविर, सामाजिक गतिविधि र जनचेतनामूलक कार्यक्रम गरिएको हुन्छ । विभिन्न तालिमहरू दिइएको हुन्छ ।
सहकारी संस्था आर्थिक कारोबार गर्ने निकाय भएकोले आर्थिक अनुशासनमा ध्यान दिनुपर्ने हुन्छ । आर्थिक मामिलाकै कारण संस्था र संस्थाका पदाधिकारीहरूको बदनाम हुन्छ । सदस्यहरूले पनि नियमित बचत गर्ने, ब्याज र ऋण तिर्ने, सहकारी ज्ञान हासिल गर्ने, सभामा भेला हुने, सहकारीमार्फत समुदायमा भिजेर समुदायको काम गर्नुपर्ने हुन्छ । सहकारी संस्थाका पदाधिकारीहरू असल आचरणको हुनुपर्छ । उनीहरू चिन्तनशील, अध्ययनशील, निर्णय लिने क्षमतावान, धैर्य र सहनशील, लक्ष्यप्रति निर्देशित, उत्पे्ररक र प्रेरणादायी हुनुपर्छ । स्वावलम्बन, प्रजातन्त्र, उत्तरदायित्व, समानता, ऐक्यबद्धता, इमानदारिता, खुलापन, सामाजिक दायित्व सहकारी संस्थाका मूल्य र मान्यता हुन् ।
सर्वसाधारण जनतालाई ब्याजको लोभ देखाएर खोलिएका संस्थाहरू पनि यहाँ नभएका होइनन् । दुई चार वर्षमै करोडौँ रकम जम्मा गरेर भाग्ने संस्थाका पदाधिकारीहरू पनि छन् । अपरिचित व्यक्तिहरूले खोलेको यस्तो संस्थाले सहकारी मूल्य र मान्यताअनुसार काम गरेको हुँदैन । त्यस्ता संस्थाहरूबाट हामी सचेत हुनुपर्छ । टोल–टोल र गाउँ–गाउँमा सहकारी संस्था खोलेपछि सर्वसाधारण जनताका निम्ति रकम बचत गर्न, आवश्यकताअनुसार आर्थिक कारोबार गर्न सहज भएको छ । यसले गर्दा पनि सहकारी संस्थाहरूको छिट्टै विकास भएको देखिन्छ ।
Leave a Reply