भर्खरै :

इमानदारिता भनेकोअलिकति पनि छैन कि के हो ?

इमानदारिता भनेकोअलिकति पनि छैन कि के हो ?

हरेक शुक्रबार वडा कार्यालयमा निर्वाचित समितिको नियमित बैठक हुने गर्दछ । यो हप्ताको शुक्रबारको दिन २ बजेबाट बैठक सुरु भएको थियो । बैठकका चार पाँचवटा एजेन्डाहरू थिए । बैठकको बिचमा मेरो मोबाइलमा एउटा अपरिचित व्यक्तिको फोन आयो । मैले फोन रिसिभ गरेँ । फोन रिसिभ गर्नेबित्तिकै त्यस अपरिचित व्यक्तिले भनँे, “म तपाईँको शुभेच्छुक हुँ । तपाईँलाई एउटा महत्वपूर्ण सूचना दिन लागेको छु । कृपया ध्यानपूर्वक सुन्नुहोला । मेरो टोलमा लक्ष्मण अवाल (नाम परिवर्तित) भन्ने व्यक्तिले घर बनाउँदै छ । उसले नक्साअनुसार घर नबनाइकन पाँचौँ तलामा स्ल्यापमाथि पिल्लर उठाई ढलान गर्न खोजेको छ । बेलुका अँध्यारो भएपछि स्ल्यापमाथि डण्डी उठाएको छ । भोलि ढलान गर्न खोज्दै छ । तपाईँ तुरुन्त आएर निरीक्षण गरी निर्माण रोक्न अनुरोध गर्दछु ।” म आफू बैठकमा भएकोले त्यस अपरिचित व्यक्तिको कुरामा आफ्नो ध्यान केन्द्रित गर्न सकिन्न । मैले त्यस व्यक्तिलाई आफू बैठकमा भएको र फुर्सद भए अहिले बैठक सकाएर हेर्न आउँला भनी जानकारी दिएँ ।
बैठक नसकिँदै फेरि मेरो मोबाइलमा अर्काे एकजना अपरिचित व्यक्तिको फोन आयो । मैले बैठक नसके पनि फोन रिसिभ गरेँ । उसले मलाई फोनमा भने, “सर, मेरो छिमेकी लक्ष्मण सुवालले नक्साविपरीत स्ल्यापमाथि पिलर उठाई ढलान गर्न खोज्दै छ । पिलरमाथि पिलर हुनुपर्नेमा स्ल्यापमाथि पिलर उठाउनु त भएन नि । तपाईँ निरीक्षण गर्न आउनुस् र रोक्नुस् । त्यो पिलरमा ढलान गरी कोठा निकालेमा त छिमेकी सबैको कौसीमा घाम छेकिन्छ । अहिले नै निरीक्षण गरी रोक्नुप¥यो ।” बैठक नसकिएकोले मैले फुर्सद हुनेबित्तिकै हेर्न आउँछु भनी फोन राखिदिएँ ।
केही समयपछि बैठक सकियो । तर, मेरो नगरपालिकामा अर्को बैठक भएको हुँदा त्यस ठाउँमा निरीक्षण नगई बैठकमा गएँ । घरमा आउँदा साँझ भइसकेको थियो । भोलिपल्ट बिहान ५ बजे फोन आयो । फोन गर्नेहरू उनीहरू नै थिए । उनीहरूको भनाइ त्यही पिलरकै विषयमा थियो । त्यसपछि मात्र फेरि मलाई याद आयो । मैले आफू चिया पिएर त्यस ठाउँमा निरीक्षणमा आउने जानकारी गराएँ । बिहानको चिया खाँदै त्यस ठाउँका जनप्रतिनिधिलाई मैले फोन गरेँ । उहाँलाई सात बजे टोलमा आउन र लक्ष्मण सुवालले अनियमित घर निर्माण गरेको टोलवासीले जानकारी दिएको हुँदा हामी दुईजना निरीक्षण जानुपर्ने भएको हुँदा सात बजे निरीक्षण गर्न जाने जानकारी दिएँ । उहाँ पनि निरीक्षण गर्न जान तयार हुनुभयो ।
बिहान ७ बजे म त्यस टोलमा पुगेँ । जनप्रतिनिधि साथी पनि पुगिसक्नुभएको थियो । हामी दुईजना लक्ष्मण सुवालको घरमा गयौँ । उहाँहरू त्यहाँ हुनुहुन्नथ्यो । कौसीमा निरीक्षण ग¥यौँ । साँच्चिकै पिलरमाथि पिलर नउठाई स्ल्यापमाथि पिलर उठाउन डण्डी उठाइसकेको थियो । डण्डीको पिलर छ सात वटा उठाइसकेको रहेछ । ढलान गर्न गिट्टी, बालुवा, सिमेन्ट र पानी अनि अरू सरसामानहरू तयारी अवस्थामा थियो । केही समयपछि ज्यामीहरू आइपुगे । उनीहरू हामीलाई केही नभनी काम गर्न थाले । मलाई अचम्म लाग्यो । मैले ज्यामीलाई सोधेँ, “पिलर ढलान गर्ने हो ?” उहाँले भन्नुभयो, “हो । खोइ वडाबाट मान्छे आउँछ रे । घरपतिले छिट्टै ढलान गर्नु भनेको छ । आजै सकाउनुपर्छ रे ! वडाको मान्छे निरीक्षण आउनुअघि सकाउनुपर्छ भनेकोले चाँडै आएका हौँ । हिजो बेलुका अँध्यारोमा गर्नु भनेको थियो । हामी नमानेकोले आजमात्र ढलान गर्न लागेका हौँ । अँध्यारोमा कसरी काम गर्ने ? घरपति पनि कस्तो मान्छे रहेछ ।”
त्यस भाइको कुरा सुनेपछि हामीलाई रिस पनि उठ्यो । तर, उसलाई गाली गर्ने कुरा पनि भएन । मैले घरपति लक्ष्मणको मोबाइल नम्बर मागँे र फोन गरँे । फोन गर्नेबित्तिकै लक्ष्मण पनि माथि आइपुगे । मैले नरम भाषामा सोधेँ, “भाइ यो के पिलर उठाएको हो ? मापदण्डविपरीत भयो । अनि बलियो पनि हुँदैन । अरूलाई घाम पनि छेक्छ । यस्तो पनि काम गर्ने हो ?” लक्ष्मण सुवालले अलि रिसाएर मलाई जवाफ दिनुभयो, “अरूले सार्वजनिक जग्गा ओगटेर बनाउँदा तपाईँहरू चुप लाग्ने । अनि कतिले मापदण्डविपरीत बनाउँदा तपार्इँहरू बनाउन दिने । अनि मलाईमात्र किन रोक्ने ? मैले अरूलाई घाम छेक्ने गरी बनाउन खोजेकै हो । मलाई यहाँ किचेन बनाउन एउटा ठूलो कोठा चाहिएको हो । त्यसैले मैले नियमविपरीत बनाएकै हो ।”
उहाँको जवाफले म रन्थनिएँ । त्यहीँ बेला अर्कै महिला अगाडि आइन् । सायद उनी लक्ष्मणकी श्रीमती थिइन् क्यारे ¤ उनले भन्न थालिन्, “हामीले अरूको घाम छेक्ने गरी कोठा बनाउन लागेकै हो । तपाईँलाई रिपोर्ट जसले गरेको हो, त्यसरी नै बनाउन खोजेको हो । अझ हिजै बेलुका ढलान गर्न खोजेका थियौँ । कामदारहरू नमानेरमात्र । नत्र हिजै सकिन्थ्यो । आज गर्न लागेका छौँ । तपाईँ सक्नुहुन्छ भने रोक्नुस् । हामी गरेरै छोड्छौँ ।” श्रीमतीको कडा जवाफ आएपछि मैले बोल्न उचित थानिनँ । अर्को जनप्रतिनिधिले लक्ष्मण र उसकी श्रीमतीलाई सम्झाउन खोजे तर उनीहरू दुवैजना सम्झिने अवस्थामा देखिएन । त्यसपछि मैले सीधै निरीक्षकलाई फोन गरेँ र भनेँ, “तपाईँ अहिलै नौ दसजना कर्मचारीहरू लिएर आउनुस् । लक्ष्मण सुवालले यहाँ मापदण्डविपरीत पिलर उठाउन खोजेको छ । अहिल्यै डण्डीहरू काटी दिनुस् । डण्डी काट्ने ब्लेडहरू अलि बढी लिएर आउनुस् । आधा घण्टाभित्र तपाईँहरू यहाँ आउनुस् ।” निरीक्षकले फोनमा भन्नुभयो, “सर, पहिला सम्झाउनुपर्ला कि । मेयर साहेबले मात्र भत्काउने र डण्डी काट्ने आदेश दिन मिल्छ । मेयर साहेबसँग एकचोटि सल्लाह गर्नुपर्ला ।” निरीक्षकको जवाफले मलाई झनै रिस उठ्यो । मैले भनेँ, “हेर्नुस् यहाँ अहिले ढलान गर्न सामानहरू सबै तयारी अवस्थामा छ । ज्यामीहरूले कामसमेत सुरु गरिसके । मेयर साहेबसँग छलफल गरी भत्काउन आदेश गर्दासम्म यहाँ ढलान सकिसक्छ । त्यसैले तपाईँ सीधै यहाँ आउनुस् । नगरपालिकामा कति जना निरीक्षकहरू छन्, सबैलाई लिएर आउनुस् । अहिले मेरै अगाडि भत्काउनुस् । म स्थानीय मानिसहरू पनि बोलाई दिन्छु ।” तीन चारजना निरीक्षकहरू दस मिनेटमा आइपुगे । तर, उनीहरूसँग ब्लेडहरू थिएनन् । मैले उहाँहरूलाई पिगको सहायताले भए पनि डण्डीहरू भाँच्न निर्देशन दिएँ । सायद मेरो बोली अलि कडा भएर हो वा रिसाएको देखेर हो, निरीक्षक साथीहरूले डण्डी भाँच्न प्रयास गर्न थाले । एकजना निरीक्षकले ब्लेडले डण्डी काट्न थाले । त्यो कार्य गरेको देखेपछि लक्ष्मण र उसकी श्रीमतीको आवाज अलि सानो भयो । श्रीमतीले भन्नुभयो, “भयो भयो सर, तपाईँहरूलाई किन दुःख हामी आफै काट्छौँ । तपाईँहरू यहाँबाट जानुहोला । आज दिनभरिमा हामी काट्छौँ । ढलान पनि रोक्छौँ । अबदेखि हामी नियमविपरीत निर्माण गर्दैनौँ ।”
त्यसपछि हामी त्यहाँबाट फर्कियौँ । भोलिपल्ट फेरि दुवैजना निरीक्षणमा गयौँ । डण्डी जस्ताको तस्तै थियो । जनप्रतिनिधि साथी कराउन थाल्नुभयो, “होइन हिजो त्यत्रो भन्दा पनि नहुने । आजै काट्न लगाउनुप¥यो कि क्या हो ? हिजोको प्रतिबद्धता खोइ ? इमानजमान भनेको छैन कि के हो ?” त्यत्तिबेलासम्ममा टोलवासीहरू जम्मा भइसकेका थिए । उनीहरूले पनि लक्ष्मणलाई गाली गर्न थाले । कोहीकोही त अहिले नै डण्डी निकाल्छु भन्दै जङ्गिए । तर, हामीले त्यस्तो गर्न दिएनौँ । फेरि हामीले उहाँलाई चौबिस घण्टाको समय दियौँ । टोलवासीहरूलाई पछाडि हट्न अनुरोध गरँे । भोलिपल्ट लक्ष्मण सुवाल र श्रीमती डण्डी काटेको फोटोहरू लिएर वडामा आए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *