भर्खरै :

संस्कृति बचाउने जिम्मा बुढापाकामा : सुनसान बन्दै जिरेल बस्ती

  • पुष २४, २०७९
  • सुनिता गाइसी
  • विचार
संस्कृति बचाउने जिम्मा बुढापाकामा : सुनसान बन्दै जिरेल बस्ती

नेपाल प्राकृतिकरूपमा सुन्दर मुलुक हो । विभिन्न भाषा भेष, संस्कृति जातजातिले यसमा अझै सुन्दरता थपेको छ चाहे हिमालमा बस्ने शेर्पा हुन् या तराईका चौधरी । विविध रहनसहन र चाडपर्वले नेपालको परिचय विश्वसामु खुल्न पुगेको छ । यस्तै विविध जाति जनजातिमध्ये दोलखा क्षेत्रका जिरेलहरूको बारेमा केही चर्चा गर्ने जमर्काे गरेको छु । जिरेलहरूको शारीरिक बनावट किराँतीहरूको जस्तै हुन्छ । यी जनजातिको उत्पत्ति र विकास कसरी भयो भन्ने कुरा खोजकै विषय बनेको छ । यिनीहरूको मूलथलो दोलखाको जिरी, क्षेत्रपा, जुगु, यवो, भाङखर्क, फेदि, यवो, सल्फुली बगल, तोरी स्वार हो । सिन्धुपाल्चोक र बाह्रबिसेमा पनि यी बस्तीहरू भेटिन्छन् । यस जनजातिभित्र विभिन्न थरहरू शेर्पा, झुपुजा, थावो, छुडपाते पाइन्छन् । पेशागतरूपमा बढीजसो मानिसहरू कृषि र पशुपालनमा लागेका छन् । विशेषगरी जिरेलहरू मकै, कोदो, धान, बोडी, सिमी, सागसब्जी, आलु, लसुन, मुला, किवी, सुन्तला उत्पादन गर्दछन् । यस समुदायका मानिसहरू मिलनसार र सहयोगी मनका भेटिन्छन् ।
घरहरू चिटिक्क परेका छन् । तर, घरमा मानिसहरू भेट्न मुस्किल छ । एक दुई जना भेटिहाले पनि बुढाबुढीमात्र भेटिन्छन् । कृषिमा निर्भर जिरेल समुदाय यतिबेला कोदो बाली भित्याउन व्यस्त देखिन्छन् । उत्पादन गरिएको कोदो पाकेपछि त्यसको बालामात्र पहिला काट्ने र सहीरूपमा त्यसको प्रशोधन गर्ने गर्दछन् । यतिबेला महिलाहरू खेतबारीमा कोदोको बोट (नल) काट्न व्यस्त देखिन्छन् । ती कोदोको नल काट्दै गरेका महिलाहरूको हाँसो र मुहारको चमकले पूरै जिरेल गाउँ नै मुस्कुराएको भान हुन्छ । पढाइ र जागीरका कारणले गाउँमा युवा पुस्ताको उपस्थिति निकै पातलो देखिन्छ । प्रायः मानिसहरू कामको लागि चरिकोट, काठमाडौँलगायतका क्षेत्रतिर बस्ने गरेको कुरा स्थानीयहरू बताउँछन् । पूर्वाधारको विकास हुँदै गरेको अवस्थालाई मध्यनजर गर्दा यो समुदाय पनि बिस्तारै परिवर्तनका सङ्केतहरू देख्न सकिन्छ । आर्थिकरूपमा केही समस्या देखिए पनि आफ्ना दैनिक आवश्यकताहरू आफ्नै उत्पादनबाट पूरा हुने हुनाले उनीहरू आफ्नो जीवनशैलीप्रति गर्व गर्दछन् । जिरेल बस्तीलाई आर्थिकरूपमा सबल बनाउन स्थानीय सरकारले कृषि, पशुपालनलगायतका क्षेत्रमा विशेष कार्यक्रमहरूको सुरुवात गरेको कुरा क्षेत्रपा ८ बैतेश्वर गाउँपालिकाका अध्यक्ष शान्ताबहादुर जिरेलले बताउनुभयो । स्थानीय सरकारले दूध चिस्यान केन्द्रको स्थापना गरेको र स्थानीयहरूबाट दूध सङ्कलन गरी बजारसम्म पु¥याउने व्यवस्था गरेको बारे पनि उहाँले बताउनुभयो । यस समुदायका मानिसहरू धामीझाँक्रीमा विश्वास गर्दछन् । आधुनिक उपचार विधिलाई पनि आत्मसात गरेको कुरा स्थानीय बोपोले बताउनुभयो । जिरेल समुदायको मातृभाषा जिरपा हो तर कमैमात्र मानिसहरूले यस भाषा बोलेको सुन्न पाइन्छ ।
युवा पुस्ता सहरतिर पलायन भएसँगै गाउँमा बुढापाकामात्र भेटिन्छन् । बुढापाकाको काँधमै रहेको छ । जिरेलहरू बौद्ध र हिन्दू दुवै धर्म मान्ने गर्दछन् । त्यसैले पूजाआजा, विवाहलगायतका कार्यहरूमा बाहुन पुरोहित र लामा दुवैलाई राख्छन् । सो समुदायमा जारी प्रथा र मागी विवाहको प्रथा कायमै रहेको देखिन्छ । यस समुदायका मानिसहरू दसैँ तिहार मान्दछन् । वर्षको २ पटक बोपो राखी आफ्नो कुल पूजा पनि गर्दछन् । यी यावत कार्यहरूमा बुढापाका मानिसहरूको संलग्नता बढी देखिन्छ । यस समुदायका मानिसहरूले आफ्ना मरेका आफन्तको नाममा बाटो बाटोमा चौतारा बस्न मिल्ने ठाउँ बनाउने गर्दछन् । यस्ता ठाउँमा नाम लेखी विभिन्न आकृति पनि कुँद्ने गर्दछन् । प्राकृतिकरूपमा सुन्दर क्षेत्र रहे पनि काम र अध्ययनको लागि युवा पुस्ता गाउँबाट टाढा बस्न बाध्य छन् । यहाँका युवाहरूलाई गाउँमै बस्ने वातावरण बनाउन सके यो क्षेत्रको विकास हुन समय लाग्दैन । पर्यटकीय दृष्टिले पनि यो ठाउँ रमणीय छ । यहाँबाट देखिने गौरीशङ्कर हिमाल, गणेश हिमालले मानिसहरूको मनलाई प्रफुल्लित पार्दछ । हिमाल भन्नेबित्तिकै सेताम्य हिउँको कल्पना गर्छौँ तर अहिलेको समयमा ती हिमाल हेर्दा विशेषगरी गणेश हिमालमा हिउँ नै देखिँदैन । विश्वव्यापीरूपमा बढेको तापक्रमले हिमालमा हिउँ पग्लिएर कालो चट्टानमात्र देखिन थालेको छ । यो चिन्ताको विषय पनि हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *