साम्राज्यवादका प्रमुख हतियारहरू
- कार्तिक १६, २०८३
‘स्रष्टा’ को अर्थ ‘कुनै नयाँ वस्तु सिर्जना गर्ने’ हो । त्यस्तो शक्तिवान् तत्व ईश्वर पनि हुन सक्छ । जसरी कतिपय आस्तिकहरू ईश्वरको उपासक एवं भक्त भएर आफूले चाहेको कुरो पाएको अनुभव गर्छन्, त्यसरी नै कतिपय पाठकहरू पनि लेखकको सिर्जना (कृति) पढेर आफ्नो जीवन सुधार्न सफल हुन्छन् । यस्तो ईश्वरीय गुण भएको एकजना लेखक, अन्य सामान्य व्यक्तिभन्दा के कुरामा फरक हुन्छ त ?
यसको उत्तरमा भन्न सकिन्छ, सामान्य व्यक्ति झूटो बोल्न सक्छ । लेखक कहिल्यै पनि झूटो बोल्दै बोल्दैन । सामान्य व्यक्ति स्वार्थी हुन्छ । ऊ आफ्नो सुविधाअनुसार कसैको पक्ष वा विपक्षमा लाग्छ । प्रशंसा वा निन्दामा अल्झिन्छ । कृतज्ञता वा कृतघ्नताको पिपलपाते व्यवहार देखाउँछ । तर लेखक सदैव निःस्वार्थी र निष्पक्ष हुन्छ । ऊ सधैँ सत्य र अडानमा अटल रहन्छ । निडरता देखाउनु सायद लेखकको सबभन्दा ठूलो गुण हो । त्यसैले त लेखक, साहित्यकार वा सर्जकलाई पनि ईश्वरसरह नै मानिन्छ र उनीहरूलाई विश्वभरि नै सम्मानपूर्ण व्यवहार पनि गरिन्छ ।
तर, यस सन्दर्भलाई लिएर हाम्रो देशमा चाहिँ गौरवानुभूति गर्न पाउनु दुर्लभ भएको छ ।
अहिले सर्सर्ती हे¥यौँ भने स्रष्टाहरू विभिन्न समूहमा बाँडिएका हामी देख्छौँ । तिनीहरू आफ्नै नाम र क्षमताले भन्दा पनि विभिन्न राजनीतिक पार्टीको समर्थकका रङले चिनिन्छन् । अनि तिनीहरू आ–आफ्ना नेताको गुणगान गरेर समय बिताउँछन् । सरकार जसको छ त्यही पार्टीका समर्थक लेखकहरूले सरकारी पाठ्यपुस्तक लेख्ने मौका पाउँछन् । पुरस्कार तिनैले पाउँछन् ।
सरकारी तवरबाटै साहित्यको उत्थान गर्नका लागि स्थापित नेपाल प्रज्ञा प्रतिष्ठान पार्टीका समर्थकहरूलाई जागिर ख्वाउने ठाउँ बनेको छ । त्यहाँ अनावश्यक कर्मचारीहरू राखिएका छन् । कामविना भत्ता सुविधा दिनुपर्ने ! शहरमै घर हुनेले पनि घरभाडाको रकम लिने ! सरकारी सेवाबाट अवकाश भएपछि पेन्सन पाउनेहरूलाई पनि आजीवन भत्ता दिनुपर्ने !
साहित्यजस्तो पवित्र क्षेत्रलाई पनि कथित लोभीपापीहरूले राजनीतिजस्तै अपवित्र र घीनलाग्दो बनाए । यस्तो देख्दा त यो देशमा साहित्यको पाठक बन्नु पनि अभिशाप नै जस्तो लाग्छ ।
Leave a Reply