भर्खरै :

सांस्कृतिक सम्पदाहरूको भौतिकवादी व्याख्या आवश्यक

सांस्कृतिक सम्पदाहरूको भौतिकवादी व्याख्या आवश्यक

भक्तपुर, २९ पुस । भक्तपुर स्थानीय पथ प्रदर्शक परिचालन समितिको आयोजनामा नेमकिपाबाट नवनिर्वाचित सांसद प्रेम सुवाललाई बधाईज्ञापन तथा स्थानीय पथप्रदर्शकहरूलाई मार्गनिर्देशन एवम् परिचयपत्र वितरण कार्यक्रम शुक्रबार एक कार्यक्रमबिच सम्पन्न भयो ।
कार्यक्रममा सांसद सुवालले पर्यटन क्षेत्र विश्वको भूगोल र संस्कृति अध्ययनसँग जोडिएको बताउँदै देशको राजनीतिक परिस्थितिले पर्यटन क्षेत्रमा ठूलो असर पर्ने बताउनुभयो ।
स्थानीय पथप्रदर्शकहरूले पर्यटकहरूलाई नयाँ ठाउँमा घुम्न मार्गनिर्देशकको रूपमा काम गरिरहेको बताउँदै सांसद सुवालले भक्तपुरको कला र संस्कृतिबारे पर्यटकहरूलाई गलत र मिथक सूचना पुग्नेतर्फ पथप्रदर्शकहरू सजग हुनुपर्ने बताउनुभयो ।
भारतले लामो समयदेखि गौतमबुद्ध भारतमा जन्मेको भनी गलत प्रचार गर्दै आएको बताउँदै भारतले पर्यटन क्षेत्रको माध्यमबाट नेपाललाई आफ्नो अधीनमा राख्न खोजिरहेको र भारत नेपाललाई उसको एउटा प्रान्तको रूपमा विश्वमा देखाउन चाहेको प्रस्ट पार्नुभयो ।
उहाँले भक्तपुरको सांस्कृतिक सम्पदाको भौतिकवादी व्याख्या आवश्यक भएको बताउँदै नेपाल पर्यटनको राम्रो सम्भावना भएको देश हो र यसको प्रबद्र्धनमा सरकारले पहल गर्नुपर्ने बताउनुभयो ।
उच्च शिक्षा अध्ययनलाई जोड दिनुपर्ने बताउँदै उहाँले पथप्रदर्शकलाई आवश्यक तालिम उपलब्ध गराउन समितिले आवश्यक भूमिका खेल्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले इमानदारिता, अनुशासन र असल व्यवहारबाट पर्यटक पथप्रदर्शकहरूले भक्तपुर घुम्न आउने पर्यटहरूमा सकारात्मक सन्देश प्रवाह गर्न मार्गनिर्देश गर्दै पर्यटकहरूको निगरानी र सुरक्षाको विषयमा आधुनिक प्रविधि प्रयोगमा जोड दिनुपर्ने बताउनुभयो ।
वर्तमान राजनीतिक घटनाक्रमबारे विश्लेषण गर्दै प्रमुख प्रजापतिले सत्तापक्षलाई स्वेच्छाचारी हुनबाट रोक्ने काम प्रमुख प्रतिपक्ष हो र अब नेपाल मजदुर किसान पार्टी वैधानिकरूपमा संसद्को प्रमुख प्रतिपक्ष हुने विचार व्यक्त गर्नुभयो ।
उहाँले राजनीतिबाट कोही पनि अछुटो रहन नसक्ने बताउँदै सत्ताको लोभ गर्ने राजनीतिक दलले सिद्धान्तअनुसारको काम नगर्ने र अवसरवादी चरित्रको हुने बताउनुभयो ।
कार्यक्रमका सभापति एवम् भक्तपुर स्थानीय पथ प्रदर्शक परिचालन समितिका संयोजक गौतमप्रसाद लासिवले नवनिर्वाचित सांसद सुवाललाई खादा र पुष्पगुच्छाले बधाई ज्ञापन गर्दै भक्तपुरलाई पर्यटकीय गन्तव्यस्थल बनाउन स्थानीय पथप्रदर्शकहरूको उल्लेखनीय भूमिका भएको बताउनुभयो ।
कार्यक्रममा पर्यटक प्रहरीका निरीक्षक चन्द्रकिशोर साह, भक्तपुर पर्यटन बोर्डका सचिव रवीन्द्र श्रेष्ठ, स्थानीय पथप्रदर्शक रामेश्वर न्यौपाने, बीटीडीसीका अध्यक्ष रामसुन्दर भेले र समिति दिपेशराज शर्माले पनि बोल्नुभएको थियो ।
सोही कार्यक्रममा प्रमुख अतिथि सुवालले स्थानीय पथप्रदर्शकहरूलाई परिचय पत्र वितरण तथा विशेष अतिथि प्रजापतिले भादगाउँले टोपी लगाइदिनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *