भर्खरै :

सिकर्मी सङ्घको १० औँ वार्षिक साधारणसभा

सिकर्मी सङ्घको १० औँ वार्षिक साधारणसभा

भक्तपुर, ३० पुस । नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सङ्घीय सांसद प्रेम सुवालको प्रमुख आतिथ्यमा भक्तपुर सिकर्मी सङ्घको १० औँ वार्षिक साधारणसभा तथा सिकर्मी भेला भयो ।
भेलामा अतिथि प्रेम सुवालले कार्यक्रमको उद्घाटन गर्दै पुँजीवादी व्यवस्थामा व्यापक कामदार वर्गको हित नहुने र समाजवादी व्यवस्थामा मात्रै काम गरी खाने वर्गको हित हुने विचार राख्नुभयो । समाजवादी व्यवस्थामा शिक्षा र स्वास्थ्य निःशुल्क हुने, स्वरोजगारको व्यवस्था हुने, उत्पादनका मुख्यमुख्य साधनहरू सामाजिकीकरण हुने भएकोले पुँजीवादी व्यवस्थाभन्दा समाजवादी व्यवस्था उत्कृष्ट व्यवस्था हो भन्नुभयो ।
उहाँले भन्नुभयो, “विदेशमा पुँजी लगानी गर्ने र नेपालभित्रै अर्बाैँ अर्ब रूपैयाँ कर छली गर्नेहरूमाथि कारबाही हुने तर सानालाई आत्मनिर्भर भएर बाँच्न नदिने सरकारी नीति गलत हो ।”
“नेपालमा भइरहेको ४८ खर्ब रूपैयाँको कर्जा प्रवाहमध्ये ३० खर्ब रूपैयाँ एक सय परिवारको वरिपरि सीमित गरिएको समाचारले अर्थतन्त्रमा पुँजीपति वर्गको कब्जा रहेको पुष्टि गर्छ ।” उहाँले स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, “नेपालको नदीनाला भारतलाई दिने होइन नेपालीको लगानीमा जलविद्युत् उत्पादन गरेर खाना पकाउन सस्तोमा नेपालीलाई दिनुपर्छ र भारतबाट ग्यास आयातमा भइरहेको व्यापारघाटा बन्द गर्नुपर्छ ।”
नेपाल क्रान्तिकारी मजदुर सङ्घका केन्द्रीय अध्यक्ष राजेन्द्र चवालले विगतमा सिकर्मी व्यवसायीहरूलाई भ्याटले दुःख दिइरहेकोमा चिन्ता व्यक्त गर्दै प्रविधिलाई आफ्नो निजी स्वार्थमा मात्र प्रयोग नगरी सबैको हितमा प्रयोग गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
नेपाल क्रान्तिकारी मजदुर सङ्घ भक्तपुरका जिल्ला अध्यक्ष उपेन्द्र सुवालले सिकर्मी व्यवसायीहरूलाई भ्याट करले दुःख दिएको हुँदा आन्तरिक राजस्व कार्यालय, विभाग र अर्थ मन्त्रालयसम्म ज्ञापनपत्र बुझाएको स्मरण गर्दै समस्या समाधान गर्न सिकर्मी सङ्घ तत्पर रहनुपर्ने विचार व्यक्त गर्नुभयो ।
नेपाल क्रान्तिकारी डकर्मी सङ्घका अध्यक्ष विष्णुराम दुमरुले सिकर्मी र डकर्मी मजदुरहरूको हितको निम्ति स्थानीय सरकारले व्यवसायी सूचीकरण गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
भक्तपुर सिकर्मी सङ्घका अध्यक्ष विक्रम ढुकुछुको सभापतित्वमा भएको उक्त कार्यक्रममा सङ्घका सल्लाहकार विष्णुभक्त कुसी, सङ्घका उपाध्यक्ष रामसुन्दर सुवालले बोल्नुभएको थियो ।
कार्यक्रममा सङ्घका सचिव पुण्यराम न्हुछे र कोषाध्यक्ष सुनिल राजचलले सङ्घको आ–आफ्नो प्रतिवेदन प्रस्तुत गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *