भर्खरै :

लोकेश्वर साकोसमा प्रमाणपत्र तथा पुरस्कार वितरण कार्यक्रम

लोकेश्वर साकोसमा प्रमाणपत्र तथा पुरस्कार वितरण कार्यक्रम

भक्तपुर, ३० पुस । लोकेश्वर साकोसले १८ औँ स्थापना दिवसको अवसरमा खेलकुद प्रतियोगितालगायतका विभिन्न गतिविधि गरेको छ । शनिबार आयोजित एक समारोहमा प्रतिस्पर्धामा विजयीलाई पुरस्कार वितरण गरिएको छ ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य सरोजराज गोसाईले सहकारीहरूले ससाना उद्योग सञ्चालनको निम्ति सदस्यहरूलाई उत्साहित गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले उत्पादनमूलक क्षेत्रमा लगानी नगरी देशको अर्थतन्त्र बलियो बनाउन नसकिने भन्दै नेपाली दक्ष तथा अर्धदक्ष श्रमबजारमा विदेशीले कब्जा जमाइसकेको विचार राख्नुभयो । उहाँले भारतीय एकाधिकार पुँजीको कारण नेपालको अर्थतन्त्र उकासिन नसकेको तर्क गर्नुभयो ।
केन्द्रीय सदस्य गोसाईले नयाँ पुस्तालाई व्यक्तिवादी, उपभोक्तावादी हुन नदिन सहकारीले गतिविधि गर्न सक्ने उल्लेख गर्दै सामाजिक गतिविधिहरू सञ्चालन गर्नु उपयुक्त भएको विचार राख्नुभयो ।
अतिथि भनपा साविक १५ वडाका पूर्व वडा अध्यक्ष रविन्द्र खर्बुजाले नयाँ पुस्तालाई देशको राजनितिक अवस्था सम्बन्धी जानकारी दिनुपर्ने र सबै नयाँ पुस्ताले राजनीतिक शिक्षा हासिल गर्नुपर्ने बताउनुभयो ।
भनपा २ नं. वडा अध्यक्ष एवं भनपा सहकारी अनुगमन समितिका संयोजक हरिप्रसाद बासुकलाले भक्तपुर नगरपालिकाले सहकारी क्षेत्रमा गर्दै आएका विभिन्न अनुगमनका विषयमा प्रस्ट पार्नुभयो ।
संस्थाका पूर्व अध्यक्ष रामसुन्दर सुजखु र संस्थाका संस्थापक अध्यक्ष एवं भनपा जननिर्वाचि २ नं वडा सदस्य श्यामसुन्दर मातांले संस्था स्थापना कालदेखि हाल सम्म संस्थाले गर्दै आएका विभिन्न गतिविधि र संस्थामा आइपरेका उतारचढावबारे चर्चा गर्नुभएको थियो । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का कोषाध्यक्ष कान्छा भक्त घजुले संघका गतिविधिबारे बताउनुभयो । कार्यक्रमका सभापति एवं संस्थाका अध्यक्ष राजन जतिले संस्थाले अहिलेको वित्तीय क्षेत्र अस्थिर भइरहेको समयमा पनि सदस्यहरूलाई गुणस्तरीय सेवा सुविधा प्रदान गर्न सफल भएको बताउनुभयो ।
संस्थाको १८ औँ स्थापना दिवसको अवसरमा भएको नेपाल भाषा स–स्वर वाचन, डोरी तान्ने प्रतियोगिता र ब्याडमिन्टन प्रतियोगिता तथा प्रतियोगिता सफल बनाउन सहयोग गर्नुहुने प्रशिक्षक तथा रेफ्रीलाई प्रमाण–पत्र तथा पुरस्कार प्रमुख अतिथि र अतिथिहरूबाट प्रदान गरिएको थियो भने कार्यक्रममा राजु छुकां र प्रशान्त मानन्धर लगायतले पनि बोल्नुभएको थियो । कार्यक्रममा संस्थाको तर्फबाट नेपाल भाषा साहित्य तःमुंज्या एवम् सांस्कृतिक कार्यक्रममा नाटक प्रस्तुत गरी पुरस्कृत कलाकार तथा निर्देशकलाई सम्मानसमेत गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *