भर्खरै :

आचारसंहिता उल्लङ्घन गरेकालाई कारबाही खोइ ?

आचारसंहिता उल्लङ्घन गरेकालाई कारबाही खोइ ?

२०७९ वैशाख ३० गते स्थानीय तह र २०७९ मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न भयो । तर, यी दुवै चुनाव धाँधलीरहित र निष्पक्ष भएनन् । शासक दलहरूले निर्वाचनमा आचारसंहिताको उल्लङ्घन व्यापक गरे । उनीहरूले पैसा र सत्ताको भरमा निर्वाचन परिणाम आफ्नो पक्षमा पारे । सरकारी कर्मचारीहरूले समेत शासक दलको चुनाव प्रचार प्रसारमा लागेर आचारसंहिता उल्लङ्घन गरे । चुनाव जित्नकै लागि शासक दलहरूले गुण्डागर्दी र झैझगडा गरे । यसले निर्वाचनमा अराजकताको शृङ्खला बढ्यो । जसको कारण निर्वाचनप्रति जनताको विश्वास नै हराउन थाल्यो । शासक दलहरूबाट भएको निर्वाचनमा आचारसंहिता उल्लङ्घन तथा विकृतिका केही घटनाहरू यहाँ उल्लेख गर्नु सान्दर्भिक देखिन्छ ।

वैशाख ३० गतेको स्थानीय चुनाव
पाँचथर हिलिहाङ गा.पा ६ किवामा गाउँ पसेर पैसा बाँडेको आरोप लगाउँदै एमाले जिल्ला सचिव विष्णुप्रसाद सापकोटा र काठमाडौँबाट आएका एमाले नेता दुर्गा मैनालीसहितको टोलीलाई स्थानीयले नियन्त्रणमा लिए । सिरहाको गोलबजार नपा २, गुरुधाममा मतदाताको घरघर पुगेर पैसा बाँडे । माओवादी केन्द्रका कार्यकर्ता प्रेमकुमार लामा पक्राउ परे । मौन अवधिमा मतदाता प्रभावित पारेका बुटवल उपमहानगरपालिकामा प्रमुखका उम्मेदवार बाबुराम भट्टराईकी पत्नीलाई प्रहरीले नियन्त्रणमा लियो ।
(३० वैशाख २०७९, कान्तिपुर)
बाँकेको कोहलपुरमा एमाले र माओवादी कार्यकर्ताबिच खुकुरी हानाहान हुँदा २ जना तथा हुम्लाको खार्पुनाथमा काङ्ग्रेस–माओवादी र एमालेका कार्यकर्ताबिच झडप हुँदा १० जना घाइते भए ।
(कान्तिपुर, ३१ वैशाख २०७९)

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन मङ्सिर ४ गते
धादिङ नीलकण्ठ नगरपालिका वडा नं ८ को कार्यालयमा नेपाली काङ्ग्रेसको बैठक बसेर चुनावको बेला विपक्षीलाई हराउने गरी विकासका कार्यक्रम ल्याउन वडाध्यक्षलाई दबाब दिई आचारसंहिता उल्लङ्घन ग¥यो । एकीकृत समाजवादी र माओवादी केन्द्रले धादिङकै प्रतिनिधिसभा क्षेत्र नं १ मा रङ्गीन पोस्टर छापेर गाउँघरका भित्ताहरूमा टाँसे । (२७ कार्तिक २०७९, नेपाल समाचारपत्र)
बाँके क्षेत्र नं २ मा जनमत पार्टीका उम्मेदवार इरफान अहमद शेषले भारतीय नम्बर प्लेटको गाडी प्रयोग गरेर नेपालगञ्जमा चुनाव प्रचार गरे । (२० कार्तिक २०७९, नेपाल समाचारपत्र)
नेपाली काङ्ग्रेसको तर्फबाट पर्वतका प्रतिनिधिसभा सदस्यका उम्मेदवार अर्जुनप्रसाद जोशीले पर्वत कुश्मास्थित पञ्चकोशी माविमा अभिभावकलाई प्रभावित पार्ने गरी तरुण दलको नामबाट विद्यार्थीलाई शैक्षिक सामग्री बाँडे । (१६ कार्तिक २०७९, नेपाल समाचारपत्र)
ताप्लेजुङमा राजनीतिक दल, सञ्चारमाध्यमसँगै सरकारी कर्मचारीले दलको चुनाव चिह्न बोकी मत मागेर निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भनी निर्वाचन कार्यालय ताप्लेजुङमा उजुरी प¥यो । (१६ कार्तिक २०७९, नेपाल समाचारपत्र)
निर्वाचन आचारसंहिताविपरीत नेका काठमाडौँ क्षेत्र नं ४ का उम्मेदवार गगन थापाले डेङ्गुविरुद्ध अभियान चलाएर मतदातालाई प्रभावित पारे । उनलाई पहिलोपटक कार्तिक ८ गते स्पष्टीकरण सोधिएको थियो । (१३ कार्तिक २०७९ नयाँ पत्रिका)
तस्बिरसहितको फ्लेक्स अटोरिक्साको पछाडि राखेर एमालेबाट धनुषा ३ की उम्मेदवार जुलीकुमारी महतो (महासेठ) ले आचारसंहिताविपरीत सूर्य चिह्नमा मत मागेको र प्युठानबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार एमालेका सूर्यबहादुर थापाक्षेत्रीलाई बालबालिका प्रयोग गरेर श्रव्यदृश्य बनाएकोले निर्वाचन आयोगले स्पष्टीकरण सोध्यो । (१३ कार्तिक २०७९, नयाँ पत्रिका)
मङ्सिर २ र ३ गते मौन अवधिमा मतदानको लागि डडेल्धुरा पुगेका प्रम देउवाले मङ्सिर २ गते स्थानीय जनतालाई बोलाई नगद ५—५ हजार रुपैयाँ बाँडेको समाचार ‘न्यूज ट्वान्टीफोर’ टेलिभिजनमा प्रसारित भयो । यसअघि नेपाली सेनाको हेलिकप्टरमा देउवा चुनाव प्रचारमा लागे ।
रौतहट क्षेत्र नं १ मा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले निःशुल्क भिसा र टिकट व्यवस्था गरी युवालाई वैदेशिक रोजगारीमा पठाउने आश्वासन दिएर मतदातालाई प्रभावित पारे । काठमाडौँमा एमालेका उम्मेदवार ईश्वर पोखरेलले पनि पैसा बाँडेको समाचार सार्वजनिक भयो । तत्कालीन गृहमन्त्री बालकृष्ण खाणले आफ्नो निर्वाचन क्षेत्र रुपन्देही ३ मा मतदातालाई विदेशी रक्सी बाँडे । उनले निर्वाचन आचारसंहिताविपरीत सरकारी सेवाको १६ वर्षपछि सुरक्षाकर्मीलाई निवृत्तिभरण दिने आश्वासन दिए । (१ कार्तिक २०७९, श्रमिक साप्ताहिक)
एकीकृत समाजवादीका तत्कालीन सहरी विकासमन्त्री तथा दाङ क्षेत्र नं १ मा सत्ता गठबन्धनका उम्मेदवार मेटमणि चौधरी आचारसंहिताविपरीत दाङका डुबान पीडितलाई चामल वितरण गर्न पुगे । (२९ असोज २०७९, नेपाल प्रेस)
माओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई गोरखा क्षेत्र नं २ निकै सहज, सुशासनको लागि सत्ता गठबन्धनलाई मत भन्ने आशय प्रकट गरेर ‘गोरखापत्र’ दैनिकले समेत सत्ता गठबन्धनलाई जिताउन मत मागेको अपिल प्रकाशित ग¥यो । (१ कार्तिक २०७९, गोरखापत्र)
उम्मेदवारी दर्ता गर्न बढीमा २५ जना सहभागी हुने, बाजागाजा बजाउन नपाउने, गाडी÷मोटरसाइकलको ताँती गुडाउन नहुने, चुनाव चिह्नको झन्डा १० ओटामात्र साथमा बोक्ने, भोजभत्तेर गर्न नपाउने आचारसंहितामा उल्लेख छ । तर, शासक दलहरूले देशभर यो नियमलाई उल्लङ्घन गरे । गोरखामा प्रचण्ड उम्मेदवारी दर्ताको बेला बाजागाजासहित निर्वाचन अधिकृतको कार्यालय गए । (२७ असोज २०७९, अन्नपूर्ण दैनिक)

झडप र मतदान स्थगित
विवादका कारण दोलखाका केही मतदान केन्द्रमा हवाईफायर भयो । मतदान सुचारु गराउने क्रममा २६ राउन्ड हवाईफायर गर्नुपरेको प्रहरीले जनायो । दोलखाको प्रदेश १ अन्तर्गत गौरीशङ्कर गा.पा २, जुँगु मतदान केन्द्र तथा कालिन्चोक गा.पा १ र ७ को मतदान केन्द्रमा विवाद भयो । (५ मङ्सिर २०७९, अन्नपूर्ण)
बाजुरा जिल्लाको बुढीनन्दा ५ मा निर्वाचन सुरु भएको १ घण्टामै नेपाली काङ्ग्रेस र एमालेको दोहोरो झडप भएपछि मतदान स्थगित भयो । बाजुराको त्रिवेणी नपा ७, स्थित नाट्यश्वरी आधारभूत विद्यालय दम्घा मतदान स्थलमा सुरक्षाकर्मीले चलाएको गोली लाग्दा २५ वर्षीय सञ्जीव ऐडीको मृत्यु भयो भने आक्रोशित नेका समर्थकले राति एमाले समर्थक चेतन ऐडीलाई आक्रमण गर्दा मृत्यु भएको समाचार पनि प्रकाशित भयो । निर्वाचनको दिन देशभर २४ स्थानमा १३० राउन्ड गोली चल्यो भने २८ जिल्लाको ५० स्थानमा शङ्कास्पद वस्तु फेला प¥यो । काठमाडौँमा २८ र उपत्यकाबाहिर २८ गरी ५६ जना व्यक्तिहरू पक्राउ परे । दोलखामात्रै ६ ओटा मतदानस्थलमा गोली चलेको समाचार प्रकाशित भयो । (५ मङ्सिर २०७९, अन्नपूर्ण)

‘भ्रष्ट तथा अपराधीहरू’ समेत उम्मेदवार
राप्रपाले ‘सिक्टा सिँचाइको ठेक्कामा भ्रष्टाचार गरेका’ विक्रम पाण्डेलाई चितवन ३ मा, ‘साङ्घातिक आक्रमण कसुरमा प्रहरीको फरार सूचीमा रहेका’ युद्धविक्रम तामाङलाई एमालेले सिन्धुपाल्चोक १ (ख) मा उम्मेदवार बनाए । नेकाबाट कर्णाली प्रदेशसभा सदस्य डोल्पाका दीपेन्द्रबहादुर शाही ‘ठगी मुद्दा चलेका’ व्यक्ति हुन् । नेकाले भ्रष्टाचारको आरोपमा अख्तियारको तारेख बोकेका विजयकुमार गच्छदारलाई सुनसरी –३ बाट उम्मेदवार बनायो । (१५ जनवरी २०२३ द काठमाडौँ पोस्ट)
नेकाबाट मोरङ क्षेत्र नं ३ मा मेडिकल ‘शिक्षा माफिया’ सुनिल शर्मा निर्वाचित भए । उनलाई पीडित विद्यार्थीले शिक्षा मन्त्रालयको गेटमा कालोमोसो दलेका थिए । (१४ जनवरी २०२२, नेपाल प्रेस) नवलपरासीको वर्दघाट सुस्ता पश्चिम क्षेत्र नं १ मा ‘विदेशमा पुँजी लगानी गरेका’ विनोद चौधरीलाई उम्मेदवार बनायो । मनाङ
(ख) को प्रदेशसभा सदस्यमा निर्विरोध निर्वाचित राजीव गुरुङ (दीपक मनाङ्गे) ले ‘उम्मेदवारी दर्ताकै दिन १६ लाख रुपैयाँको मदिरा खुवाएको’ समाचार प्रकाशित भयो । शासक दलहरू कसैले पनि मनाङ्गेविरुद्ध उम्मेदवारी नदिएकोले उनी निर्विरोध निर्वाचित भए ।
यसैगरी, कर्णाली प्रदेशमा हुम्लाबाट प्रतिनिधिसभामा माओवादी केन्द्रका कार्चेन लामा भनिने छिरिङ डम्डुल लामा (भोटे) निर्वाचित भए । उनी मूर्ति चोर प्रमाणित भई २ वर्ष सजाय पाएका व्यक्ति हुन् । (१४ फेब्रुअरी २०२२ नेपाल टुडे)
ऋणको कालोसूचीमा परेका सत्ता गठबन्धनबाट रुपन्देहीका उम्मेदवार एकीकृत समाजवादीका राजु गुरुङको भने उम्मेदवारी खारेज भयो । (१५ जनवरी २०२३, द काठमाडौँ पोस्ट)

अलग पार्टीको चुनाव चिह्नबाट उम्मेदवारी दर्ता
सुस्ता बर्दघाट पश्चिम नवलपरासी क्षेत्र नं. १ मा जनता प्रगतिशील पार्टीका हृदयश त्रिपाठीको समर्थनमा एमालेले आफ्नो उम्मेदवारी फिर्ता लियो ।
राप्रपाका अध्यक्ष कमल थापाले आफ्ना कार्यकर्तालाई ‘तिर’ चुनाव चिह्नमा उम्मेदवारी बनाए भने मकवानपुरमा आफू ‘सूर्य’ चिह्नबाट चुनाव लडे ।
निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन गरेका शासक दलका उम्मेदवारीसमेत खारेज गर्नुपर्नेमा ‘के आयोग आफै झुण्डिउँ’ भनी बेवास्ता ग¥यो । सारमा पुँजीवादी व्यवस्थामा सम्पन्न हुने हरेक निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित नहुने प्रस्ट भयो ।
२०७९ पुस ३०

Leave a Reply

Your email address will not be published. Required fields are marked *