भर्खरै :

“नेमकिपाले सुविधाको लागि प्रमुख प्रतिपक्षको भूमिका खोजेको होइन”–अध्यक्ष रोहित

“नेमकिपाले सुविधाको लागि प्रमुख प्रतिपक्षको भूमिका खोजेको होइन”–अध्यक्ष रोहित

काठमाडौँ, १० माघ । नेपाल मजदुर किसान पार्टीको ४९ औँ स्थापना दिवसको अवसरमा काठमाडौँको प्रज्ञा भवनमा मङ्गलबार विचार गोष्ठी सम्पन्न भएको छ ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले देशविदेशमा रहनुभएका पार्टी नेता तथा कार्यकर्ताहरूलाई शुभकामना व्यक्त गर्नुभयो । नेपालको कम्युनिस्ट आन्दोलनमा नेमकिपाको योगदानबारे चर्चा गर्दै उहाँले भन्नुभयो, “नेमकिपाको स्थापनाअगाडि संशोधनवाद र अवसरवादको विरोध र चर्चासम्म हुँदैनथ्यो ।” संशोधनवादीहरू मजदुर र किसानको लुगा लगाएका पुँजीवादीहरू भएको बताउँदै उहाँले भन्नुभयो, “नेपालका सत्तासीन कम्युनिस्टहरू संशोधनवादी र अवसरवादी हुन् ।” निर्वाचनमा धेरै मत नआउने देखेर नै विदेशी पैसा खाएका र विदेशी दूतावासको निर्देशनमा चल्नेहरूले कम्युनिस्टको ‘ट्रेडमार्क’ राखिरहेको विचार उहाँले राख्नुभयो ।
नेपालमा कम्युनिस्टहरूको पक्षमा जनलहर देखेरै विदेशी शक्तिहरूले ०१५ सालको निर्वाचनमा हस्तक्षेप गरेर नेपाली काङ्ग्रेसलाई जिताएको अध्यक्ष बिजुक्छेँले स्मरण गर्नुभयो । कम्युनिस्टहरूलाई अगाडि बढ्न नदिनका लागि देशी, विदेशी प्रतिक्रियावादीहरू एक हुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “सरकार भनेको मन्त्रिपरिषद् वा मन्त्रिमण्डलमात्र होइन ।” नेपालको विकास भए भारतलाई बेफाइदा हुने भएकोले उसले नेपालमा राम्रो काम गर्न दिँदैन र भारतका शासक वर्गको आशीर्वाद नलिइकन सरकारसमेत चलाउन नसक्नेहरू र जनताको हितमा एउटै काम गर्न नसक्नेहरू कसरी कम्युनिस्ट हुनसक्छन् ? – उहाँले प्रतिप्रश्न गर्नुभयो ।
नेमकिपाले सुविधाको लागि प्रमुख प्रतिपक्षको भूमिका नखोजेको स्पष्ट पार्दै अध्यक्ष बिजुक्छेँले नेपाली काङ्ग्रेसजस्ता दलहरूले आफ्नो पार्टी महाधिवेशन र सम्मेलन गर्नका लागि पनि विदेशीसँग हात थापेको बताउनुभयो । नेमकिपाले संसद्मा प्रखर प्रमुख प्रतिपक्षको भूमिका निर्वाह गर्दै जनताको सेवा गरिरहेको उहाँले स्पष्ट पार्नुभयो । गाडी र पेन्सन सुविधाको विरोध गर्ने एक्लो पार्टी नेमकिपा भएको उल्लेख गर्दै उहाँले प्रमुख प्रतिपक्ष भएपछि नेमकिपाले केही मिनेट बढी संसद्मा जनताको आवाज राख्न पाउने बताउनुभयो ।
सभामुखको पदमा नयाँ व्यक्तिको आगमनबारे प्रस्ट पार्दै अध्यक्ष बिजुक्छेँले भन्नुभयो, “महाकाली सन्धि पारित गर्न मत दिनु नै अहिलेको सभामुखको योग्यता हो । सभामुख पद त्यसैको पुरस्कार हो ।” कम्युनिस्टको खोल ओढेकै भरमा शासक दलहरूप्रति नरम हुनु उदारवाद हुने विचार व्यक्त गर्दै उहाँले उनीहरूले त्यो खोल नफाल्दासम्म विरोध चालु राख्नुपर्ने निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, “नेमकिपा नभएको भए नेपालको कम्युनिस्ट आन्दोलनमा सैद्धान्तिक र राजनीतिक सङ्घर्ष बाँकी नै हुने थिएन ।”
गोष्ठीमा नेमकिपाका केन्द्रीय सदस्य तथा बाग्मती प्रदेशसभा सदस्य सृजना सैँजुले चीनको समाजवादी व्यवस्थासम्बन्धी प्रस्तुतीकरण राख्नुभएको थियो । चिनियाँ इतिहासबारे चर्चा गर्दै उहाँले चिनियाँ कम्युनिस्ट पार्टी आफ्नो दुई शताब्दी लक्ष्यमा निरन्तर लागिरहेको बताउनुभयो । चीनले सन् १८४० अघिको समृद्ध अर्थतन्त्र बनाउनु र आफ्नो गौरव फर्काउन चाहेको उहाँले उल्लेख गर्नुभयो ।
त्यसैगरी चिली र निकारागुआमा अमेरिकी हस्तक्षेपबारे चर्चा गर्दै नेपाल प्राध्यापक समाजका उपाध्यक्ष प्रकाश श्रेष्ठले सन् १९७०–८० को दशकको ल्याटिन अमेरिका र नेपालको वर्तमान राजनीतिक स्थितिको तुलना गर्नुभयो ।
कार्यक्रममा ‘क्युवाली क्रान्ति’ को विषयमा नेपाल पत्रकार समाजका केन्द्रीय सदस्य प्रकाश थुसाले प्रस्तुतीकरण राख्नुभयो । क्युवाली क्रान्ति र त्यसले क्युवाली जनताको जीवनमा ल्याएका परिवर्तनहरूबारे बोल्दै उहाँले क्रान्तिको निरन्तरता क्युवाको सबलता भएकोमा जोड दिनुभयो ।
नेपाल प्राध्यापक समाजका सदस्य सुनिल दुवालले पुँजीवाद, समाजवाद र साम्यवादका विशेषताहरूबारे व्याख्या गर्नुभएको थियो । उहाँले एडम स्मिथ, थोमस माल्थस र डेविड रिकार्डोका सिद्धान्तहरूले पुँजी सञ्चयमा खेलेको क्रूर भूमिकाबारे प्रकाश पार्नुभयो ।
कार्यक्रममा नेक्राविसङ्घका केन्द्रीय उपाध्यक्ष सुरेश परियारले डोनाल्ड ट्रम्पका सुरक्षा सल्लाहकार जोन बोल्टनको आत्मसंस्मरणको सेरोफेरोमा रहेर अमेरिकी राजनीतिबारे टिप्पणी गर्नुभएको थियो । कार्यक्रमको सभापतित्व ग्रहण गर्नुभएका नेमकिपा केन्द्रीय समिति सदस्य नारायण महर्जनले पार्टी स्थापनाका आधार र उद्देश्यबारे प्रकाश पार्नुभयो । कार्यक्रममा नेमकिपा काठमाडौँ जिल्ला समिति सदस्य विशोक डंगोलले कार्यक्रमको औचित्यबारे प्रकाश पार्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *