भर्खरै :

नेमकिपाको ४९ औँ स्थापना दिवसबारे प्रतिनिधिसभामा मन्तव्य

नेमकिपाको ४९ औँ स्थापना दिवसबारे प्रतिनिधिसभामा मन्तव्य

काठमाडौँ, १० माघ । “तत्कालीन नेपाल कम्युनिस्ट पार्टीको नेतृत्व किसान आन्दोलन, पञ्चायती निर्वाचनको क्रान्तिकारी उपयोग, विस्तारवाद र साम्राज्यवादको विरोध गर्ने तथा सामन्तवादलाई जरोदेखि उखेल्ने आन्दोलनमा सहमत नभएपछि २०३१ माघ १० गते अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को अध्यक्षतामा नेपाल मजदुर किसान पार्टी स्थापना भएको हो ।”
प्रतिनिधिसभाको बैठकमा नवनिर्वाचित सभामुख र उपसभामुखलाई बधाई दिने कार्यसूचीमा भाग लिँदै सांसद प्रेम सुवालले उक्त भनाइ राख्नुभएको हो ।
सांसद सुवालले अगाडि भन्नुभयो, “पुँजीवादको उत्थान, विकास र पतनको नियम माक्र्सवाद हो । माक्र्सवादी दर्शनअनुसारको समाजवादी व्यवस्थामा मात्र सबै जनताको हित हुनेछ । पुँजीवादी व्यवस्थामा केही व्यक्तिको मात्र हित हुनेछ ।”
भारतीय एकाधिकार पुँजीले बङ्गलादेशमा सेना पठाएको, सिक्किमलाई भारतमा गाभेको, नेपाली भूमि लिम्पियाधुरा भारतीय नक्सामा गाभेको, नेपाली भूमि कालापानीमा भारतीय सेना राखेको, गुन्जीदेखि लिपु भञ्ज्याङसम्म भारतले सडक बनाएको, दार्चुलामा महाकाली नदीको धार नेपालतर्फ धकेलेर तटबन्ध बनाएको विस्तारवादको उदाहरण भएको उल्लेख गर्दै सांसद सुवालले अमेरिकी साम्राज्यवादले सन् १७७६ यता विभिन्न देशमा ५०० को हाराहारीमा सैनिक हस्तक्षेप गरेको र सन् १९९१ देखि सन् २०१८ सम्म २०० भन्दा बढी सैनिक हस्तक्षेप गरेको हुँदा नेपाल सरकार सचेत हुनुपर्नेमा जोड दिनुभयो ।
सांसद सुवालले भन्नुभयो, “गएको मङ्सिर ४ गतेको निर्वाचनमा अघिल्ला निर्वाचनमा भन्दा बढी आचारसंहिता उल्लङ्घन गरिएको थियो । परीक्षामा नक्कल गरी उत्तीर्ण हुने र निर्वाचनमा आचारसंहिता उल्लङ्घन गरी जित्ने उस्तै हुन् । विदेशी पुँजीको हित हेर्ने, देशको गुह्य विषय विदेशीलाई बताउने र दोहोरो तलब खाने राजनीतिक दल, तिनका नेता र सरकारी कर्मचारी जनताका शत्रु हुन् ।”
सभामुख र उपसभामुखले देशको हितविपरीतका प्रस्तावहरू संसद्मा पेश नहुनेबारे जनतालाई विश्वस्त पार्नुपर्ने, प्रधानमन्त्री र मन्त्रीहरूलाई बैठकमा बरोबर सार्वजनिक महत्वको वक्तव्य दिन लगाउने र सांसदहरूलाई जिज्ञासा राख्न दिने कार्यसूची बनाउनुपर्ने आवश्यकता औँल्याउँदै सांसद सुवालले राजनीतिलाई देश र जनताको सेवामा अघि बढाउन सभामुख र उपसभामुखलाई सफलता मिल्ने कामना गर्नुभयो ।
सांसद सुवालले प्रमलाई विश्वासको मत दिएको नेका प्रमुख विपक्षी दल हुने अवस्था नभएको हुँदा सङ्घीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७३ को दफा २ (ङ) (४) अनुसार नेपाल मजदुर किसान पार्टी नै प्रमुख विपक्षी दल हुनेमा जोड दिँदै सभामुखले प्रमुख विपक्षी दलको नेताबारे निर्णय नभएको बताइरहनुहुँदा संसद् सचिवालयका महासचिव भरतराज गौतमको निर्देशनमा उपसचिव रामहरि थापाले नेकाका देउवालाई प्रमुख विपक्षी दलका नेता सम्बोधन गरी पत्र पठाएको सभामुखलाई अप्ठेरोमा पार्ने नियत नै भएको उल्लेख गर्नुभयो ।
नेकाका सांसद रामचन्द्र पौडेलले एमसीसी सम्झौतालाई समर्थन गरेको उल्लेख गरेपछि सांसद सुवालले अमेरिकी कानुन र नीति पालन गर्नुपर्ने एमसीसी सम्झौता विषसरह भएको स्पष्ट गर्नुभयो ।
सांसद पौडेलले देउवालाई सङ्केत गरी संशयको बिचमा प्रम प्रचण्डलाई मत दिने निर्णय गरेको र नेतृत्वले विश्वास गुमाएको उल्लेख गर्नुभयो ।
एमालेका सांसद रघुविर महासेठले हत्या आरोपी आफ्नो पार्टीका सांसद लक्ष्मी महतो कोइरीको बचाउ गर्नुभयो ।
रास्वपाका नेता एवम् गृहमन्त्री रवि लामिछानेले आफूले खुट्टा दह्रो टेकेको हुँदा सोचेकै नतिजा आउने बताउनुभयो ।
राप्रपाका ज्ञानबहादुर शाहीले ५४ ओटा विमानस्थलमा ३४ ओटामात्र चलेको तर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो । राप्रपाका अध्यक्षलगायत ३ जना मन्त्री र १ राज्यमन्त्री छन् ।
जसपाका अशोककुमार राई, एकीकृत समाजवादीका राजेन्द्र पाण्डे, जनमत पार्टीका सीके राउत, लोसपाका रामप्रसाद चौधरी, नाउपाका गंगाराम चौधरी, राजमोका चित्रबहादुर केसी र स्वतन्त्र सांसदहरू अमरेशकुमार सिंह र प्रभु साहले पनि शुभकामना दिनुभयो ।
स्वतन्त्र सांसद योगेन्द्र मन्डलले सांसद प्रेम सुवालले कानुनबमोजिम नेमकिपा प्रमुख विपक्षी हुने विषय बारम्बार उठाउनुभएको हुँदा स्पष्ट गर्नुपर्ने उल्लेख गर्नुभयो र सांसदहरू एकतिहाइको हाराहारीमा मात्र बैठकमा उपस्थित रहेको तर्फ सभामुखको ध्यानाकर्षण गराउनुभयो ।
यसअघि बैठकले सबै दलको प्रतिनिधित्व हुने गरी २३ सदस्यीय नियमावली मस्यौदा समिति गठन गरेको थियो ।
अर्को बैठक माघ १८ गते दिनको १ बजे बस्नेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *