भर्खरै :

कालीकोटका पार्टी कार्यकर्ताबिच राजनीतिक प्रशिक्षण

कालीकोटका पार्टी कार्यकर्ताबिच राजनीतिक प्रशिक्षण

कालीकोट, १० माघ । माघ १० अर्थात् नेपाल मजदुर किसान पार्टीको ४९ औँ स्थापना दिवसको अवसरमा कालीकोट जिल्ला समितिले पार्टी कार्यकर्ताहरूबिच मङ्गलबार राजनीतिक प्रशिक्षण कार्यक्रमको आयोजना ग¥यो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य सुनिल प्रजापतिले पार्टीका अग्रजहरूले गरेको दुःखकष्ट र सङ्घर्षको स्मरण गर्दै पार्टीको उद्देश्य पूरा गर्न लागिरहनुपर्नेमा जोड दिनुभयो ।
एमालेले जनताको बहुदलीय जनवाद र माओवादीले २१ औँ शताब्दीको जनवादको नाउँमा पुँजीवादी सरकारमा गएर देशमा समाजवाद स्थापना सम्भव छैन, उहाँले भन्नुभयो ।
समाजलाई परिवर्तन गर्ने र कामदार वर्गलाई राजनीतिकरूपमा सचेत र सङ्गठित पार्ने उद्देश्यले नेमकिपाले निर्वाचनलाई उपयोग गर्दै आएको बताउनुभयो ।
भक्तपुर नपाले शैक्षिक क्षेत्रमा गरिरहेको विषयमा प्रशिक्षित गर्दै उहाँले भक्तपुर नपाले सरकारको मुख नताकी स्वावलम्बी ढङ्गले काम गर्दै जनताको सेवालाई प्राथमिकतामा राख्दै आएको बताउनुभयो । उहाँले देशको लागि आवश्यक जनशक्ति तयार गर्ने सवालमा भक्तपुर नपाले महत्वपूर्ण योगदान गर्दै आएको चर्चा गर्नुभयो ।
समाजवाद कामदार वर्गको हित हुने राज्य व्यवस्था भएको बताउँदै उहाँले यो सशस्त्र सङ्घर्षबाट मात्रै स्थापना गर्न सम्भव हुने बताउनुभयो ।
नेपालमा पश्चिमेली प्रजातन्त्र असफल भइसकेको बताउँदै नेपाली काङ्ग्रेसलाई प्रमुख प्रतिपक्ष दल घोषणा गर्नु कानुनसम्मत नभएको उहाँले बताउनुभयो ।
उहाँले व्यक्तिगत स्वार्थ त्याग्ने, नियमित चन्दा दिने, सामूहिक भावना आदि कम्युनिस्ट पार्टीका कार्यकर्ताको विशेषता भएको चर्चा गर्दै सिङ्गो समाजलाई अगाडि बढाउने समाजवादी चिन्तन नेमकिपाका कार्यकर्ताहरूमा हुनुपर्ने बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य नन्दबहादुर शाहीले अनैतिक गठबन्धन धेरै दिन नटिक्ने उल्लेख गर्दै पार्टीको विकास र विस्तारमा कार्यकर्ताहरूले आफूले सक्ने योगदान गर्नु आवश्यक भएको बताउनुभयो ।
नेपाल क्रान्तिकारी शिक्षक सङ्घका उपाध्यक्ष नरदीप शाहीले पार्टी स्थापनाका आधारहरूमाथि प्रस्ट पार्दै पार्टीमा लागेपछि व्यक्तिगत इच्छा, आवश्यकता र स्वार्थलाई त्याग्न सक्नु एक असल कार्यकर्ताको विशेषता हो र भारतीय विस्तारवाद नेपाली जनताको मुख्य शत्रु हो भन्नुभयो ।
नेक्राविसङ्घका अध्यक्ष प्रकाश गुरुङले देशको शिक्षा व्यवस्था निकै नाजुक अवस्थामा रहेको औँल्याउँदै पुँजीवादी व्यवस्था अन्त्य नभएसम्म कामदार वर्गका जनताले दुःख पाइरहने हुँदा समाजवादी व्यवस्था स्थापनाको लागि नेमकिपा निरन्तर सङ्घर्षरत रहेको बताउनुभयो ।
कार्यक्रमका सभापति एवम् नेमकिपा कालीकोट जिल्ला समितिका अध्यक्ष खड्गबहादुर शाहीले पार्टी स्थापना दिवसको शुभकामना दिँदै पार्टीको इतिहास र भूमिकामाथि प्रस्ट पार्नुभयो ।
कार्यक्रममा कालीकोट जिल्ला समितिका सचिव धनञ्जय अधिकारीले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *