भर्खरै :

संवैधानिक झूटको कुरा उठाउने एकमात्र पार्टी नेमकिपा !

संवैधानिक झूटको कुरा उठाउने एकमात्र पार्टी नेमकिपा !

सबैलाई थाहा भए पनि धेरैले याद नगरेको कुरा हुनसक्छ— ‘नेपालको संविधान २०७२’ को प्रस्तावनाअन्तर्गत एउटा अनुच्छेदमा भनिएको छ, “… … जनताको प्रतिस्पर्धात्मक बहुदलीय शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता तथा स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका र कानुनी राज्यको अवधारणालगायतका लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्र निर्माण गर्ने !”
अहा ¤ यही एउटै अनुच्छेदमा प्रयुक्त पदावलीमात्रै पढ्न पनि कति मज्जा ! यहाँ प्रयुक्त अन्य पदावलीका विषयमा त कुरा नगरौँ । अन्तिमतिरको पदावली ‘समाजवादप्रति प्रतिबद्ध रही’ मा पुगेपछि भने घोत्लिन बाध्य भइन्छ । त्यत्तिकैमा नेपाली बृहत् शब्दकोश पल्टाएर हेर्दा ‘समाजवाद’ शब्दको अर्थ यस्तो लेखिएको पाइन्छ : “समाजमा रहेको आर्थिक विषमता हटाई समता ल्याउनुपर्छ भन्ने र देशको सम्पूर्ण सम्पत्तिमा कसैको पनि एकलौटी अधिकार हुन नदिई सबैले मिलेर परिश्रम गर्ने, उत्पादन र उपभोक्ताका साधनहरूमा समाजको साझा अधिकार रहनुपर्छ भन्ने राजनीतिक सिद्धान्त ।”
समाजवादलाई अङ्ग्रेजीमा Socialism भनिन्छ । Merriam Webster को विश्वकै चर्चित र मानक अङ्ग्रेजी डिक्सनेरीमा पनि Socialism शब्दको परिभाषा यस्तो दिइएको छ !
Any of various economic and political theories advocating collective or governmental ownership and administration of the means of production and distribution of goods.
सामान्य व्यक्तिले पनि बुझ्ने भाषामा भन्नुपर्दा उत्पादनका मुख्यमुख्य साधन र स्रोतको सामाजिकीकरण, शिक्षा–स्वास्थ्य निःशुल्क, योग्यताअनुसारको काम र कामअनुसारको ज्यालाको बन्दोबस्त नै समाजवादी व्यवस्थाका प्रमुख विशेषताहरू हुन् । यो संविधान जारी गर्नुभन्दा अगाडि त यस्तो केही भएनछ रे ! कति धेरै वर्षपछि र कति धेरै धनजनको क्षति भएपछि जनताले बनाएको संसारकै उत्कृष्ट संविधान जारी भएपछि त संविधानमा उल्लेख गरिएअनुसार काम हुनुपर्ने हो नि ! के समाजवादप्रति प्रतिबद्धताको व्यावहारिक पक्ष कतै देखिएको छ त हाम्रो देशमा ? कतै पनि छैन ।
यो त सरासर संवैधानिक झूट भएन र ! यस विषयमा यो देशको एकमात्र राष्ट्रभक्त र प्रतिपक्षी राजनीतिक पार्टी नेमकिपाले पहिलेदेखि नै आवाज उठाउँदै आएको छ । तर, सुन्ने कानको सदा अभाव नै देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *