भर्खरै :

आधा शताब्दीदेखि नेमकिपा नक्कली कम्युनिस्टविरुद्ध लड्नुका साथै राजतन्त्र हुँदै पुँजीवादी बन्दोबस्तविरुद्ध सङ्घर्षरत

आधा शताब्दीदेखि नेमकिपा नक्कली कम्युनिस्टविरुद्ध लड्नुका साथै राजतन्त्र हुँदै पुँजीवादी बन्दोबस्तविरुद्ध सङ्घर्षरत

भक्तपुर, १४ माघ । नेपाल मजदुर किसान पार्टीको ४९ औँ स्थापना दिवसको अवसरमा शनिबार नेपाल क्रान्तिकारी महिला सङ्घ भक्तपुर जिल्ला समितिको आयोजनामा महिला कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले लेख्नुभएका पुस्तकहरू एवम् नेमकिपा स्थापनाका आधार पुस्तकहरू– ‘नेपालको कम्युनिस्ट आन्दोलनमा देखापरेका खोटा विचारको खण्डन’, ‘रुसी संशोधनवाद सामाजिक–साम्राज्यवादमा पतन’, ‘नेपाल–भारत सम्बन्ध र भारत’ बारे प्रस्तुतीकरण एवम् चर्चा भयो ।
कार्यक्रममा अध्यक्ष बिजुक्छेँले भन्नुभयो, “नेपालको राजनीतिक वृत्तमा नेमकिपाको स्थापना नभएको भए देश र जनताको सेवाको राजनीति गर्ने पार्टी हुँदैनथ्यो । राजनीतिक दल, दर्शन र वर्गीय आधारमा स्थापना हुन्छ । नेपाल मजदुर किसान पार्टी नेपालको कम्युनिस्ट आन्दोलनभित्रको संशोधनवाद, अवसरवाद, सुधारवाद, उदारवाद विश्व सैद्धान्तिक सङ्घर्षबाट स्थापना भएको हो ।”
“करिब आधा शताब्दीदेखि नेमकिपा नक्कली कम्युनिस्टविरुद्ध लड्नुका साथै राजतन्त्र हुँदै पुँजीवादी बन्दोबस्तविरुद्ध सङ्घर्षरत छ । नेपाल मजदुर किसान पार्टीले किसान सङ्घर्षलाई जोड दियो । बाली काट्ने आन्दोलन, भर्पाइ आन्दोलन, मोहियानी हक सुरक्षा आन्दोलनलगायत भूमि सुधारको उपयोग गर्ने नेमकिपाको नीतिले गरिब किसानहरूलाई शोषणबाट मुक्त ग¥यो । आज किसानहरूलाई भड्काएर शत्रुहरू किसान सङ्घर्षको कुचेष्टा गर्दै छन् भन्ने सङ्केत उहाँले गर्नुभयो । नेमकिपाको नेतृत्वमा भएको किसान सङ्घर्षसँगै सरसफाइ आन्दोलन, शैक्षिक आन्दोलनले साँचो अर्थमा देश र जनताको सेवा भएको छ,” उहाँले जोड दिनुभयो ।
“नेपालको राजनीतिक डबलीमा नेमकिपाको उपस्थिति नहुँदो हो त भारतीय विस्तारवाद र एकाधिकार पुँजी, अमेरिकी साम्राज्यवादको विरोध हुँदैनथ्यो । जनता र देशको बाह्य शत्रुविरुद्ध सङ्घर्ष हुँदैनथ्यो,” अध्यक्ष बिजुक्छेँले बताउनुभयो ।
उहाँले नयाँ पुस्ता रेस्टुराँ, डान्सबार र झिलिमिलीमा फसेको र यसले राम्रो सङ्केत नगरेको बताउँदै महिलाहरू राजनीतिकरूपमा सचेत र सङ्गठित हुन जरुरी छ भन्नुभयो ।
“आजको बङ्गलादेश हिजोको पूर्वी पाकिस्तान हो । पाकिस्तान टुक्राउँदा हामीले विरोध ग¥यौँ । अफगानिस्तान र श्रीलङ्कामा तत्कालीन रुस अर्थात् संशोधनवादी रुसले आक्रमण गर्दा हामीले विरोध ग¥यौँ । यो पनि पार्टी स्थापनाको आधार हो,” नेता बिजुक्छेँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “एमालेले चुनाव जित्नको निम्ति कम्युनिस्ट नाम राखेको स्विकारोक्ति उक्त पार्टीका पूर्वअध्यक्ष मनमोहन अधिकारीले नै गरेका छन् । नेकपा एमाले विदेशको कुरा मानेर देश र जनताको अहितमा असमान सन्धि सम्झौता गर्ने पार्टी र नेकपा माओवादी भारतको ट्रोजन हर्स हो । नक्कली कम्युनिस्टविरुद्ध नेमकिपा निरन्तर सङ्घर्षरत छ ।”
नेता बिजुक्छेँले जोड दिनुभयो, “अन्धविश्वासले महिलाहरूलाई पछाडि धकेल्छ । शिक्षा र राजनीतिक चेतनाले महिलाहरूलाई अघि बढाउँछ । समाजको विकास यसरी नै हुने हो भने अबको १० वर्षमा किसानका छोरीहरू नेतृत्वमा हुनेछन् ।”
कार्यक्रमका अतिथि नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय उपाध्यक्ष कमलमैँया सुवालले नेमकिपाको सङ्घर्षमा महिला सहभागिता र योगदानबारे चर्चा गर्दै भन्नुभयो, “कामदार जनताको हकहितका निम्ति निरन्तर सङ्घर्ष गर्ने पार्टी नेमकिपामात्रै हो ।”
नेपाल क्रान्तिकारी महिला सङ्घ भक्तपुर जिल्लाका अध्यक्ष सृजना सैंजूको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा समितिका उपाध्यक्ष देविका दनेखुले रुसी संशोधनवाद सामाजिक साम्राज्यवादमा पतन’ पुस्तक र सदस्य मञ्जु लाखाजुले ‘नेपाल–भारत सम्बन्ध र भारत’ पुस्तकबारे प्रस्तुतीकरण राख्नुभयो ।
कार्यक्रममा समितिका सचिव सरस्वती सिंख्वालले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *