भर्खरै :

भारतबाट दाल, चामल, तरकारी किनेर नेपाल कसरी कृषिप्रधान देश हुन्छ ?

भारतबाट दाल, चामल, तरकारी किनेर नेपाल कसरी कृषिप्रधान देश हुन्छ ?

भक्तपुर, १४ माघ । चाँगुनारायण नगरपालिका वडा नं. ४ ह्याङ्गला (हाम्रो) तामाङ समाजको आयोजनामा सोनाम ल्होसार कार्यक्रम स्थानीय बेसी टोलमा शनिबार सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले ल्होसार (नयाँ वर्ष) को कार्यक्रम उद्घाटन गर्दै धर्म र संस्कृति देश र जनताको सेवा गर्ने कर्तव्यसँग जोडिएको उल्लेख गर्नुभयो ।
उहाँले दार्चुलामा भारतले महाकाली नदी नेपालतर्फ धकेलेर तटबन्ध उठाएको विरोधमा नेमकिपाले संसद् र सडकमा आवाज उठाएको चर्चा गर्दै काठमाडौँमा शासक दलका नेताहरू सिंहदरबार कब्जा गर्न तछाड मछाड गरिरहँदा दार्चुलाका महिलाहरू गुलेली बोकेर भारतसँग लडिरहेको उल्लेख गर्नुभयो ।
सत्य र न्यायको पक्ष लिएको बौद्ध दर्शन २५ सय वर्ष अगाडि नै मानव जातिमा फैलिएको उल्लेख गर्दै सांसद सुवालले धर्म र संस्कृति साम्प्रदायिक नहुने बरु सबैमा सद्भाव कायम गर्न भएको औँल्याउनुभयो ।
सिंहदरबार कब्जा गर्दै आएका शासक दल र तिनका नेताहरूको दृष्टिकोण फराकिलो नहुँदा नेपाली जनतालाई शिक्षा र स्वास्थ्य सुलभ नभएको उल्लेख गर्दै सांसद सुवालले छिमेकी मित्र देश चीनका नेता सि चिनफिङले ‘आठ अर्ब मानव जातिको साझाघर पृथ्वी’ उल्लेख गर्नुभएको व्यापक दृष्टिकोण नै भएको बताउनुभयो ।
सांसद सुवालले अगाडि भन्नुभयो, “साठी प्रतिशत नेपाली अहिले पनि कृषिमा निर्भर भनिन्छ । तर दाल, चामल, तरकारी सबै भारतबाट आयात भइरहेको छ । कोशी, गण्डक, महाकाली, माथिल्लो कर्णाली, अरुण तेस्रो, तल्लो अरुण, पश्चिम सेतीलगायत नदी भारतसँग फिर्ता लिनु जरुरी छ । नेपालीकै लगानीमा जलविद्युत् उत्पादन गरी खाना पकाउने ग्यास खरिदमा भइरहेको खर्बौँ रुपियाँको व्यापारघाटा न्यून गर्न सकिन्छ ।”
७०/८० लाख नेपाली युवालाई बहुराष्ट्रिय कम्पनीको सस्तो ज्यामी बन्न पठाउने सरकार, तिनका पार्टीहरू जनद्रोही नै भएको चर्चा गर्दैै सांसद सुवालले युवालाई स्वदेशमा रोजगारी दिएर खाद्यान्नमा आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिनुभयो ।
रासायनिक मल आयातमा पाइने कमिसनको लोभमा लागेर शासक दलहरूले देशमा रासायनिक मल कारखाना खोल्न पहल नगरेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “रासायनिक मल कारखाना नेपालमै स्थापना गर्नुपर्छ ।”
कार्यक्रमका विशेष अतिथि सुरेशकुमार श्रेष्ठले ह्याङ्गला तामाङ समाजको विकासमा हातेमालो गर्दै अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले विस्तारित वीर अस्पताललाई प्रदान गरेको ५७० रोपनी जग्गाको संरक्षण र उपयोग गर्नुपर्ने आवश्यकता औँल्याउँदै त्यसतर्फ आफूले पहल गर्ने बताउनुभयो ।
समाजका अध्यक्ष कुमार तामाङको सभापतित्वमा भएको उक्त कार्यक्रममा चानपा वडा नं. १ का वडाध्यक्ष सिजन कार्की, चानपा वडा नं. ४ का वडा अध्यक्ष रोजबहादुर तामाङ, धर्मगुरु डा. सोनाम छिरिङ, दोलखा तामाङ समाजका अध्यक्ष सरोजकुमार तामाङ, सोनाम तामाङ र ओम बम्जनले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *