भर्खरै :

अवसरवादी राजनीतिलाई झापट

अवसरवादी राजनीतिलाई झापट

रवि लामिछानेको नागरिकताको विषयमा सर्वोच्च अदालतले शुक्रबार गरेको फैसलाले नेपालको राजनीतिमा पछिल्ला केही वर्षमा झन्डै स्थापित बनेका केही मान्यतामाथि प्रश्न उठेको छ ।
पहिलो, युवा नेतृत्व । राजनीतिमा युवाको सहभागिता अपरिहार्य भएर पनि राजनीतिमा युवा सक्रियता बढेपछि सबै नमिलेका कुरा मिल्ने अपेक्षा गलत हो । उमेरले युवा राजनीतिमा लाग्दैमा सबै समस्याको समाधान हुने गर्दैन । रवि लामिछाने र उनको दलका केही उम्मेदवारलाई उमेरले युवा भएकैले पनि चुनावमा मत आएको देखिन्छ । तर, राजनीतिमा परिवर्तन उमेरले भन्दा पनि विचारले हुने हो । लामिछाने राजनीतिमा जुन तेजका साथ उकालो लागे, झन्डै उस्तै गतिमा ओरालो लाग्ने छनक देखिँदै छ । युवा भएर पनि नागरिकताजस्तो संवेदनशील विषयलाई बेवास्ता गर्दा उनको अपरिपक्वता बाहिर देखियो । तसर्थ, युवा हुनु नै योग्य राजनीतिक नेता हुनुको योग्यता होइन ।
दोस्रो, शासक दलले गरेका गल्ती कमजोरीवापत सजाय दिन विचारको कुनै लेखाजोखा नगरी नयाँ भन्दै राष्ट्रिय स्वतन्त्र दल जस्तो पार्टीलाई उकास्दाको परिणाम अझ खराब हुन सक्छ । नेका, एमाले, माओवादी राप्रपाजस्ता शासक दलप्रति वितृष्णाको लाभ स्वतन्त्र उम्मेदवारहरूलाई भएको देखेर दलको नाम नै स्वतन्त्र पार्टी राखेको लामिछानेको दलको वैचारिक भावभूमिबारे प्रश्न उठ्दै आएका छन् । स्वतन्त्र पार्टीका नेताहरू यो विषयमा अझै प्रस्ट हुन सकेका छैनन् । त्यसकारण, स्वतन्त्र पार्टीबाट मन्त्री र सांसद बनेकाहरू ‘पब्लिक स्टन्ट’ र ‘मिडियाबाजी’ बाट आफ्नो अस्तित्व दर्शाउन खोजिरहेका छन् । तर, वैचारिकरूपमा अस्पष्ट दलले कुनै पनि बेला बाटो बिराउन सक्छ वा अन्य राजनीतिक दलले उपयोग गर्न सक्छ । लामिछानेको नागरिकताको सन्दर्भमा भएको कमजोरी यसको उदाहरण हो । वैचारिक अस्पष्टताले यस्ता घटना भविष्यमा दोहोरिरहने सम्भावना धेरै छ ।
राजनीतिमा लामिछानेजस्ता पात्रको प्रवेश अवसरवादी प्रवृत्तिको द्योतक हो । तर, त्यस्तो प्रवृत्ति देशको राजनीतिलाई भड्खालोमा जाक्ने कारक पनि हुन सक्छ । राजनीतिमा ‘माछा आएभित्र हात, भ्यागुतो आए बाहिर हात’ प्रवृत्तिले क्षणिकरूपमा नेताको व्यक्तिगत लाभ भए पनि दीर्घकालमा देशलाई भने अहित र हानी हुने गर्छ । सर्वोच्च अदालतले गरेको फैसलाले यस्तो प्रवृत्तिलाई रोक्ने प्रयत्न गरेको छ । आगामी दिनमा यस्ता प्रवृत्तिलाई राजनीतिक नेतृत्वसम्म पुग्न यसले निरुत्साहित गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *