यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
झिलिमिलीलाई नै समृद्धि र सम्पन्नता मान्ने मानिसले ‘सपनाको देश’ ठानेको देश संरा अमेरिकामा हिंसाका घटना नयाँ समाचार होइन । अन्धाधुन्ध गोली हानी हुने नरसंहारका घटनाका समाचार हप्ता दिन बिराएर आउने गरेका छन् । सबभन्दा दुःखद् कुरा त त्यस्ता घटना विशेषतः सर्वसाधारण जम्मा हुने सुपरमार्केट र अबोध र निहत्था बालबालिका पढ्ने विद्यालय, खेल्ने उद्यानमा समेत हुने गर्छन् । भर्खरका चिचिला बालबालिका र हेर्दै मायालाग्दा किशोरकिशोरीले अनाहकमा ज्यान गुमाउनु पर्दा उनीहरू संरा अमेरिकामा जन्मिनु नै श्राप हो जस्तो लाग्छ । फूलजस्ता छोराछोरी विद्यालय हाताभित्र कसैको पागलपनको कारण ‘आमा’ पनि भन्न नपाई मर्नु पर्दा तिनका आमाबुबा, आफन्तले कसरी मन सम्हाल्दा हुन् ।
क्यालिर्फोनियाको हाफ मुन बेमा अघिल्लो सातामा भएको गोलीकाण्डमा १८ जनाले ज्यान गुमाए । यसले संरा अमेरिकाको हिंसात्मक चरित्र थप उजागर भएको छ । ‘द वाशिङ्टन पोस्ट’ का स्तम्भकार फिलिप बम्प पछिल्ला वर्षमा यस्ता काण्ड बढ्दा चिन्तित छन् । सन् २०१४ देखि २०१९ सम्म जनवरी महिनामा संरा अमेरिकामा औसत २२ वटा गोली काण्ड घटेका थिए । सन् २०२० को जनवरी महिनामा यो सङ्ख्या २५ पुग्यो भने सन् २०२१ र २०२२ को जनवरी महिनामा बढेर ३३ पुगेको छ । चार जनाभन्दा बढी मानिस मारिएको घटनालाई संरा अमेरिकाले आमसंहार (मास सुटिङ) भनी परिभाषित गर्छ ।
गोली काण्डका कारण दसौँ हजार निर्दोष मानिसले ज्यान गुमाए पनि राज्य भने यस्ता घटनाको नियन्त्रणमा गम्भीर छैन । सुरक्षा व्यवस्थाको नाममा विद्यालयका पर्खाल अग्ला बनाउने, स्कुले गाडीमा सुरक्षाकर्मी तैनाथ गर्ने, विद्यालयभित्रै सुरक्षा बलियो बनाउने, रात्री क्लबमा कडा सुरक्षा दिनेजस्ता कदम चाले पनि यस्ता घटनाका मूलकारण बनेका साना हतियार नियन्त्रणमा भने सरकार कति पनि गम्भीर छैन । सहजै बन्दुक किन्न र राख्न पाउने अवस्थामा त्यस्ता हतियारमाथि रोक लगाउने कानुन संरा अमेरिकी सरकार बनाउन सक्दैन । किन ? किनभने संरा अमेरिकी शासक दलहरू त्यस्ता हतियार व्यापारीको चन्दाबाट चल्ने गरेका छन् । रिपब्लिकन होस् वा डेमोक्रेटिक, दुवै शासक दलका सरकार बन्दा पनि बन्दुकका व्यापारीसामु गरुडले समातेको सर्पजस्तै निरिह हुन्छन् ।
संरा अमेरिकी राष्ट्रपति चुनावको हार र जितको निक्र्योल नै तीनै हतियार व्यापारीहरूको तजबिजमा रहन्छ । उनीहरूले जुन दललाई बढी चन्दा दियो, त्यही दलले पैसाको छेलोखेलो गरेर चुनाव जित्ने गर्छन् । त्यसकारण, राजनीतिक दल उनीहरूमाथि कुनै खालको बन्देज लगाउन सक्दैन । त्यसको मूल्य भने जनताले चुकाउनु परिरहेको छ ।
पश्चिमा सञ्चारमाध्यमले देखाउने झिलिमिली र झूटलाई पत्याएर संरा अमेरिकालाई ‘सपनाको देश’ ठान्नेहरूलाई त्यहाँका मानिसहरू आगोको झुङ्ग्रोमा बाँचिरहेको तितो यथार्थप्रति अनभिज्ञ छन् । छोराछोरीलाई विद्यालयको जिम्मा लगाएर आमाबुबा घरमा ढुक्क भएर बस्ने, हाट बजार र विशाल बजारमा गएर निर्धक्क किनमेल गर्न सक्ने अवस्थामा अमेरिकी जनता छैनन् ।
संरा अमेरिकी शासकहरू प्रजातन्त्रको परिभाषा गरेर थाक्दैनन् । कुन देशमा प्रजातन्त्र छ र छैनको तराजु नै उनीहरूको हातमा भएजस्तो व्यवहार गर्छन् । तर, जनताको जिउज्यानको सुरक्षासमेत गर्न नसक्ने प्रजातन्त्र कसरी उदाहरणीय प्रजातन्त्र हुन सक्छ ? जनताको ज्यान लिइरहेका हातहतियारमाथि नियन्त्रण गर्नसमेत नसक्ने प्रजातन्त्र र त्यहाँका शासक कसरी आदर्श व्यवस्थाका मानक हुन सक्छन् ? दिनदिनै निहत्था मानिसको ज्यान जाने र निर्दोष बालबालिकाका प्राण खोसिने देश कसरी कसैको ‘सपनाको देश’ हुन सक्छ ? मानिस, अझ अबोध बालबालिकाको ज्यान खोस्न पाउने स्वतन्त्रता कसरी आदर्श हुन सक्छ ?
कुनै पनि राज्यव्यवस्था गलत वा सही भन्ने कुराको तुलो त्यहाँका जनता कति खुुसी र सुखी छन्, त्यहाँ मानिस मानिसबिच कस्तो सम्बन्ध र समानता छ भन्ने हो । जहाँ मानिस चौबीसै घण्टा खतरामुनि बाँचेको हुन्छ र मानिसले मानिसमाथि अत्याचार गर्छ भने त्यो व्यवस्था कसरी उदाहरणीय र आदर्श व्यवस्था हुनसक्छ ? तसर्थ, नेपाली समाजमा अमेरिकामा सुन फल्ने र त्यहाँ गएर संसारकै सर्वाधिक सुखी हुने झुटो सपना त्याग्नुपर्छ र पुँजीवादलाई आदर्श व्यवस्था मान्ने भ्रमबाट मुक्त हुनुपर्छ ।
Leave a Reply