यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
सन्दर्भ : नेपाल मजदुर किसान पार्टीको ४९ औँ स्थापना दिवस
पार्टीको सङ्गठनात्मक संरचना र नेतृत्वलाई केन्द्रबिन्दु बनाउने राजनीतिक दलका समर्पित र प्रशिक्षित सदस्यहरूको समूहलाई राजनीतिक कार्यकर्ता भनिन्छ । तिनीहरूसँग सामान्यतया पार्टीको विचारधारा र सिद्धान्तहरूको बलियो बुझाइ हुन्छ । नयाँ सदस्यहरू बनाउने, पार्टी गतिविधिहरू व्यवस्थित गर्ने र पार्टीको एजेन्डा प्रवद्र्धन गर्ने जिम्मेवारी कार्यकर्ताहरूमा हुन्छन् । सङ्गठनको विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने भएर कार्यकर्ताहरू प्रायः राजनीतिक दलको मेरुदण्ड मानिन्छन् ।
दुर्भाग्यवस हाम्रो देशमा धेरैजसो पार्टीको विचार वा सिद्धान्तप्रतिको विश्वासबाट प्रेरित नभएर नितान्त व्यक्तिगत स्वार्थको लागि अमुक पार्टीको कार्यकर्ता बन्छन् । आर्थिक लाभ सुरक्षित गर्न सरकारी स्रोतहरू, ठेक्कापट्टा वा जागिर पाउनेजस्ता लोभमा मानिसहरू राजनीतिक दलका कार्यकर्ता बन्छन् । अहिले धेरैजसो आफ्नो ‘करियर’ बनाउने नाममा व्यक्तिगत महत्वाकाङ्क्षालाई अगाडि बढाउनको लागि राजनीतिक दलका कार्यकर्ता बन्छन् । एकजना ग्राहकले सामान किन्दा सस्तोमा पाउन विभिन्न पसल चहारेजस्तै अहिले आफ्नो लागि सबभन्दा बेसी फाइदा हुने पार्टी छानेर त्यसको कार्यकर्ता बन्ने वातावरण बनेको छ । व्यक्तिगत लाभको लागि आज एउटा पार्टीको सदस्य छ भने भोलि अर्को पार्टीको सदस्य बनिसकेको हुन्छ । कति कार्यकर्ताले त आफूले सबभन्दा पहिले कुन पार्टीको सदस्य बनेको भन्ने पनि बिर्सिसकेको हुन्छ । यस्ता कार्यकर्ताले समाजलाई धेरै तरिकाबाट नकारात्मक असर पार्छ । यसले भ्रष्टाचार र शक्तिको दुरूपयोग निम्त्याउँछ । कार्यकर्ताहरूले आफ्नो पदको प्रयोग समाजको समग्र हितमा काम गर्नुको सट्टा आफ्नै आर्थिक स्वार्थको लागि गर्ने गर्छन् । निहित स्वार्थ भएका कार्यकर्ताहरूले समाजको आवश्यकताभन्दा आफ्नो स्वार्थलाई प्राथमिकता दिन्छन् । निहित स्वार्थले गर्दा कार्यकर्ताहरू सीमान्तकृत समुदायको हितलाई बेवास्ता गर्दै केही धनाढ्य समूहको स्वार्थसिद्धको निम्ति काम गरिरहेका हुन्छन् । यसले सार्वजनिक स्रोतको गलत बाँडफाँड, अनुचित नीतिहरूको निर्माण र जनतामा सरकारी संस्थाहरूमाथिको विश्वास क्षय गराउँछ । यसले दीर्घकालीनरूपमा राजनीति पार्टीप्रति जनतामा वितृष्णा फैलाउँछ । पछिल्लो सङ्घीय चुनावमा खसेको न्यून मतसङ्ख्याले यो कुरालाई पुष्टि गर्छ ।
विडम्बना ! हाम्रो देशको सन्दर्भमा कार्यकर्तालाई भ्रष्ट, पदलोलुप, स्वार्थी बनाउनमा मुख्य भूमिका राजनीतिक पार्टीका नेताहरूले नै खेलेका छन् । अधिकांश नेताहरू चुनाव जित्नैको लागि ठेकेदारसँग चन्दाको नाममा मोलमोलाइ गर्दै पैसा लिएर उम्मेदवारसमेत बनाउने गर्छन् । जातियताको कुरा उठाएर तुष्टिकरणको राजनीति गर्ने नराम्रो परम्परा उनीहरूले बसालेका छन् । युवा पुस्तालाई भ्र्रष्ट आचरणमा धकिलिनेजस्ता गतिविधि गर्ने र अर्कोतिर ती नै कार्यकर्ताबाट राजनेताको पगरी गुथाएर आत्म प्रशंसामा रमाउने नेताहरूमा नराम्रो बानी परेको छ । यस्ता नेताले कार्यकर्ताको व्यवहार र मनोवृत्तिमा नकारात्मक प्रभाव पार्छ । यसले पार्टीभित्र भ्रष्टाचार र अनैतिक व्यवहारको संस्कृति सिर्जना भई यसका नेताहरूप्रति जनतामा अविश्वास पैदा हुन जान्छ ।
नेताको प्रभाव कार्यकर्तामा
यस्तो विकृत राजनीतिक वातावरणमा नेमकिपाका नेताहरू अपवाद छन् भन्नुपर्दा अतियुक्ति हुने छैन । भनिन्छ, नेताले आगामी चुनावलाई सोचेर आफ्नो गतिविधिलाई अगाडि बढाउँछ भने राजनेताले आगामी पुस्ताबारे सोचेर कार्य गर्छन् । यस अर्थमा नेमकिपाका नेताहरूले कहिल्यै पनि चुनावलाई ध्यानमा राखेर राजनीति गरेनन् । नेमकिपाका नेताहरूले कहिल्यै पनि यस्ता लोभलालच देखाएर पार्टीको कार्यकर्ता बनाउने गरेनन् । नेताको इमानदारीले राजनीतिक दलभित्रका कार्यकर्ताहरूको व्यवहार र मनोवृत्तिमा सकारात्मक प्रभाव पार्छ । कार्यकर्ताहरूको लागि एक इमानदार नेता एक ‘रोल मोडेल’ हुन्छ र अनुसरण गर्नको लागि एक उदाहरणको रूपमा कार्य गर्दछन् । जब नेता इमान्दार र पारदर्शी हुन्छन् । त्यसले पार्टीभित्र इमानदारिता र नैतिक आचरणको संस्कृति सिर्जना गर्छ र कार्यकर्ताहरूलाई पनि त्यस्तै इमानदारी र निष्ठाका साथ काम गर्न प्रेरित गर्छ । सङ्गठनभित्र पारदर्शिता र जवाफदेहिताको संस्कृति प्रवद्र्धन गरेर आफ्ना कार्यकर्ताहरूलाई इमानदारीतिर अग्रसर बनाइन्छ । इमानदारी र नैतिक निर्णय लिने बारे प्रशिक्षण र शिक्षा प्रदान गर्नु अर्को दायित्व नेताको हुन्छ । यो कुरालाई नेमकिपाभित्र राम्ररी मनन गरेको पाइन्छ । नेपालमा राजनीतिक पार्टीमा देखिएको सिद्धान्तहीनताले पराकाष्ठा नाघिसकेको यो समयमा अपवादको रूपमा नेपाल मजदुर किसान पार्टी नामको एउटा निष्कलङ्क, सिद्धान्तप्रति प्रतिबद्ध र राज्यप्रति उत्तरदायी राजनीतिक पार्टीको रूपमा आफ्नो उपस्थिति जनाइरहेको छ । समग्र समाजका लागि पारदर्शिता र जवाफदेहिता प्रबद्र्धन गर्ने सन्दर्भमा नेमकिपाका नेताहरू प्रशंसनीय छन् ।
नेताको दूरदृष्टि, नेतृत्व शैली र पार्टीका सदस्यहरूलाई प्रेरित र परिचालन गर्ने क्षमतालगायत विभिन्न कारणहरूले कार्यकर्ताहरूले आफ्नो नेताप्रति गर्व महसुस गर्छन् । पार्टी र देशका लागि स्पष्ट, चित्तबुझ्दो दृष्टिकोण व्यक्त गर्न सक्ने र पार्टीका सदस्य र समर्थकहरूलाई प्रेरित र परिचालन गर्न सक्ने नेतालाई कार्यकर्ताहरूले राम्रो मान्छन् । पार्टीको लक्ष्य र उद्देश्यहरू प्राप्त गर्न र समाजमा सकारात्मक परिवर्तन ल्याउन सक्षम बलियो र प्रभावकारी नेता कार्यकर्ताहरूबिच प्रशंसनीय र सम्मानित हुन्छन् । जनतासँग जोडिन सक्ने र पार्टीका सदस्यहरूसँग सुमधुर सम्बन्ध बनाउन सक्ने नेता कार्यकर्ताका लागि गौरवको स्रोत हो । तर, नेपाली राजनीतिमा यसको ठिकविपरीत झूट बोल्ने, ‘वैचारिक दरिद्रता’ र ‘सैद्धान्तिक विचलन’ लाई नै ‘राजनीतिक चतुर’ शब्दबाट सुशोभित हुँदा कार्यकर्ताहरूले अवसरवादी नेताको मनोबल अप्रत्यक्ष ढङ्गले बढाइरहेको पुष्टि हुन्छ । निकृष्ट स्तरमा झरेर पद हत्याउन सफल भएका नेताहरूलाई चलाक, गतिशील राजनीतिक खेलाडीजस्ता शब्दले विभूषित गर्ने कार्यकर्ताहरूको स्वभावले नेपाली राजनीतिमा झूट, जालझेल र षड्यन्त्रले वैधानिकता पाएको अवस्था छ । यद्यपि, सबै पार्टीहरूमा केही कार्यकर्ताहरू इमानदार पनि छन् । खोलेर बोल्न नसके पनि नेताहरूको क्रियाकलापदेखि इमानदार कार्यकर्ता दिक्क भएका छन् । यस मानेमा नेमकिपाका कार्यकर्ताहरू भाग्यमानी नै छन् कि कुनै पनि कार्यकर्ता नेमकिपाका नेताहरूको गतिविधिबाट लज्जित हुने पर्ने अवस्था आएको छैन ।
नेमकिपाका कार्यकर्ता
नेमकिपाका कार्यकर्ताहरू इमानदार र नैतिक आचरणको उच्चतम मापदण्डको पालना गर्न प्रतिबद्ध रहेको कुरामा विरोधीहरू पनि एक मत छन् । तिनीहरूको भनाइ र गराइ सत्यवादी हुन्छन् । आफ्नो निर्णय र कार्यहरूको लागि कार्यकर्ताहरू जवाफदेही छन् । कार्यकर्ताहरू कुनै पनि प्रकारको भ्रष्ट व्यवहारबाट जोगिन र आफ्नो कार्यमा पारदर्शी भई पार्टीको अखण्डता र प्रतिष्ठा कायम राख्न लागिपर्छन् । उनीहरू व्यक्तिगत लाभ वा महत्वाकाङ्क्षाको पछि लागेर पार्टीको मूल्य, मान्यता र सिद्धान्तलाई तिलाञ्जली दिँदैनन् । कार्यकर्ताहरूको यस्तो स्वभावले राजनीतिक गतिविधिहरूमा सर्वसाधारणलाई सहभागी हुन प्रोत्साहित गर्छन् । सार्वजनिक स्रोतहरू प्रभावकारीरूपमा प्रयोग गर्न र भ्रष्टाचार रोक्न इमानदार कार्यकर्ता आवश्यक छ । यसले समग्र समाजमा आर्थिक वृद्धि बढाउन मद्दत गर्छ । यो कुराको पुष्टि नेमकिपाले जितेको स्थानीय तहलगायत नेमकिपाको सोचअनुसार चलिरहेको भक्तपुरस्थित सार्वजनिक शैक्षिक संस्थानहरूले पुष्टि गर्छन् । यति हुँदाहुँदै पनि नेमकिपाका कार्यकर्ता अन्तरमुखी स्वभावको व्यक्तिजस्तै भएको धेरैलाई लागेको छ । अहिलेको समय सामाजिक सञ्जालको हो । नेमकिपाको अभिव्यक्ति सामाजिक सञ्जालमा आउँदा विभिन्न मानिसहरूले टीक्काटिप्पणी गरेको पाइन्छ । त्यसको प्रतिक्रियास्वरूप नेमकिपाका कार्यकर्ताहरूले टिप्पणी गरेको विरलैमात्र पाइन्छ । यस्तो बेला सामाजिक सञ्जालमा प्रखर तरिकाले कार्यकर्ताले आफ्नो धारणा प्रस्तुत गर्नुपर्छ । पार्टीको गतिविधि र घटनाक्रमप्रति हुने प्रतिक्रियालाई कार्यकर्ताहरूले सामाजिक सञ्जालमा बारम्बार पोष्ट गरिरहनुपर्छ ताकि अरू पाठकले पनि नेमकिपाको धारणा बुझ्न सकून् ।
अन्तमा, यसरी नै इमानदार भएर कार्यकर्तारूपी धर्म पालना गर्न सकून् भनेर पार्टीको ४९ औँ स्थापना दिवसको उपलक्ष्यमा नेमकिपाका कार्यकर्ताहरूमा शुभकामना व्यक्त गर्दछु ।
Leave a Reply