भर्खरै :

नेक्राकिसङ्घको सम्मेलनको सफलताको कामना

नेपाल क्रान्तिकारी किसान सङ्घ नेपाल मजदुर किसान पार्टीको एक वर्गीय सङ्गठन हो । माक्र्सवाद–लेनिनवाद र माओ त्सेतुङ विचारधारा यस सङ्घको पथप्रदर्शक सिद्धान्त हो । माक्र्सवाद–लेनिनवाद र माओ त्सेतुङ विचारधारालाई आत्मसात गर्दै किसानहरूलाई राजनैतिक र वैचारिकरूपले सचेत र सङ्गठित गर्दै समाजवादी गणतन्त्र स्थापनाको लागि आवश्यक जनशक्ति तयार गर्नु यस सङ्घको उद्देश्य हो । सर्वहारा अन्तर्राष्ट्रवादको भावना बोकेर विदेशी थिचोमिचो, हस्तक्षेप र शोषणको विरोधमा लडिरहेका अरू देश र जनताको पक्षमा साथ दिनु यो सङ्घको अर्काे उद्देश्य हो । समाजमा रहेका सामन्ती संस्कार, पुँजीवादी सोच र चिन्तनको सट्टा क्रान्तिकारी एवम् प्रजातान्त्रिक भावना प्रचार गरी किसानहरूलाई असल नागरिक बनाउने काममा यो सङ्घ क्रियाशील छ । विश्वमा भइरहेको मुक्ति आन्दोलनलाई नैतिक समर्थन एवम् सहयोग गर्ने र किसानहरूमा अन्तर्राष्ट्रिय भावना विकास गर्न पनि यो सङ्घ लागिपरेको छ । क्रान्तिकारी भूमिसुधार ल्याई कृषिमा क्रान्तिकारी परिवर्तन ल्याउन यो सङ्घ सङ्घर्षत छ ।
बहुमत किसानहरू रहेको यो देशमा किसान समस्या समाधान नभएसम्म देशको समस्या समाधान हुँदैन भन्ने यस सङ्घको मान्यता हो । खाद्यान्नमा आत्मनिर्भर बनाउन सङ्घले सरकारको ध्यानाकर्षण गरिरहेको छ । स्थापनाकालदेखि किसानहरूको हक हितको पक्षमा आवाज उठाउँदै आएको यो सङ्घले देशभरिका किसानलाई सचेत पारी किसान आन्दोलन अगाडि बढाइरहेको छ । यो सङ्घले उपत्यकामा मात्र होइन बारा, रौतहट, सिराहा, धनुषा, चितवनमा पनि किसानहरूको हक हितको निम्ति सङ्घर्ष गर्दै आइरहेको हो । भर्पाई आन्दोलन, बाली काट्ने आन्दोलन, मोहियानी हक सुरक्षा आन्दोलन, भ्रष्टाचारविरोधी आन्दोलन यो सङ्घले गर्दै आएको आन्दोलन हो । स्वदेशमै रासायनिक मल कारखाना खोलेर उत्पादन गर्नुपर्ने माग पनि यस सङ्घको हो । वर्षाैँदेखि जोत्दै आएको जग्गामा मोहियानी हक हुनुपर्छ भन्ने आवाज यो सङ्घले उठाउँदै आएको हो । मोही कायम नहुँदै द्वैधस्वामित्वको अन्त्य गर्न नहुने यो सङ्घको माग हो । मुक्त कमैया, मुक्त हलिया र बँधुवाहरूलाई मोहियानी हक दिलाउन यो सङ्घ अहिले पनि सङ्घर्षरत छ । देशभर खेतीयोग्य जमिनमा सिँचाइको व्यवस्था गर्न र रासायनिक मल सस्तो, सुलभ बनाउन र कम्पोस्ट मलको पनि राम्रो व्यवस्था गराउन यो सङ्घ क्रियाशील छ । कृषिमा नयाँ–नयाँ बीउबिजन, कृषिऔजार सर्वसुलभ गराउन सङ्घर्षरत यो सङ्घले हरेक प्रकारको शोषण र दमनको विरोध गरिरहेको छ । यसरी किसानहरूको हक हितको साथै देशको अखण्डता, स्वतन्त्रता र सार्वभौमिकता जोगाउने काममा सङ्घर्षरत यो सङ्घको आठौँ भक्तपुर जिल्ला सम्मेलन आज शुक्रबारदेखि सुरु हुँदै छ भने सङ्घको तेस्रो राष्ट्रिय सम्मेलन माघ २८ र २९ गते हुँदै छ । उक्त सम्मेलन सफल पार्न आर्थिक सहयोग गर्न पनि सङ्घले आग्रह गरेको छ ।
सम्मेलनको सफलताको कामना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *