भर्खरै :

ख्वप विश्वविद्यालय विधेयक पारित नगर्नेहरू शिक्षा विरोधी किन होइनन् ?

ख्वप विश्वविद्यालय विधेयक पारित नगर्नेहरू शिक्षा विरोधी किन होइनन् ?

भक्तपुर, २१ माघ । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेजको २१ औँ र ख्वप कलेज अफ इन्जिनियरिङको १४ औँ वार्षिकोत्सव समारोहको बिदाइ तथा सांस्कृतिक कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवम् सांसद प्रेम सुवालको प्रमुख आतिथ्यमा शनिबार सम्पन्न भयो ।
कार्यक्रम सांसद सुवालले भन्नुभयो, “सन् १४९२ मा अमेरिका पत्ता लागेको हो । त्यसबेला भक्तपुरको भार्वाचो प्रदेशद्वार बनिरहेको थियो । सभ्यता र संस्कृतिमा नेपाल धेरै अगाडि छ । तर, राणा शासनको १०४ वर्ष, त्यसपछि दश वर्षको संसदीय व्यवस्था र ३० वर्षको पञ्चायती शासनमा नेपालको शिक्षा अपेक्षाअनुसार अगाडि बढेन । बहुदल र गणतन्त्रको ३३ वर्षको यो अवधिमा पनि नेपालीलाई शिक्षा सुलभ र सहज बनाइएन ।”
उहाँले भन्नुभयो, “सन् १७७६ मा अमेरिका बेलायती साम्राज्यवादको उपनिवेशबाट स्वतन्त्र भयो । अमेरिकी संविधानमा जनताद्वारा जनताको लागि सरकार लेखियो । अहिले अमेरिकी प्रजातन्त्र र मानवअधिकारको परिभाषा एक धु्रवीय र विभेदकारी छ । ताम्र वर्णको अमेरिकी आदिवासी, अफ्रिकी अमेरिकी र एसियाली अमेरिकीमाथि शासनमा बसेका गोराहरूको विभेद बढ्दो छ । केही वर्षअघि गोरा प्रहरीद्वारा अफ्रिकी अमेरिकी जर्ज फ्लोयडको घँुडाले घाँटी थिचेर हत्या गरिएको पछिल्लो उदाहरण हो ।”
उहाँले भन्नुभयो, “चीनमा ९० प्रतिशत हान जाति छन् । त्यहाँ अन्य जातजातिमाथि विभेद छैन । शिक्षाका सबै विषयको महत्व उस्तै हो, एउटा निश्चित विषयमा गहिराइमा अध्ययन गरी विशेषज्ञता प्राप्त गर्नु जरुरी छ । जनप्रतिनिधिहरू समाजकै उदाहरण हुन् । तर नेपालमा शासक राजनीतिक दलहरूले मूर्ति चोर, भ्रष्टाचारी, हत्याराहरूलाई सांसद बनाए । त्यस्ता आरोपी एक जना सांसद निलम्बनमा परे, अर्को एक भर्खर पक्राउ परे, केही अझै फरार छन् ।”
“स्वार्थ बाझिएकालाई मन्त्रीसमेत बनाइयो । नागरिकता र राहदानी विवाद भएकालाई गृहमन्त्री, ठेकेदारलाई सहरी विकास मन्त्री, शिक्षा व्यापारीलाई शिक्षा मन्त्री, वैदेशिक रोजगार कम्पनीसँग जोडिएकालाई श्रममन्त्री बनाउनु प्रमको दोष हो । शासक दलहरू नै खराब हुँदा सिंहदरबार भ्रष्टाचारको अखडा भयो र देशको अर्थतन्त्र कमजोर हुँदै आएको हो”, उहाँले भन्नुभयो ।
सांसद सुवालले भन्नुभयो, “भक्तपुर नगरपालिकालाई २०५६ सालमा ख्वप माध्यमिक विद्यालय सञ्चालनको अनुमति प्राप्त गर्न गाह्रो भयो र २०५८ सालमा त्रिभुवन विश्वविद्यालयले ख्वप इन्जिनियरिङ कलेज सञ्चालनको अनुमति दिएन । डा. गोविन्दप्रसाद शर्मा उपकुलपति हुनुभएपछि २०६५ सालमा मात्र भक्तपुर नगरपालिकालाई त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ सञ्चालन गर्न अनुमति प्राप्त भयो । १०—१२ वर्ष भयो ख्वप विश्वविद्यालयको विधेयक पारित भएको छैन । शिक्षाविरोधी मन्त्री र उपकुलपतिहरूबाट नेपाली जनताले अपेक्षा गर्ने ठाउँ छैन ।”
“माघ १४ गते नेपालको प्रशासनिक वेबसाइटको प्रणाली ह्याक गरियो । यसपछि अमेरिकाले नेपालको वेबसाइट भरपर्दो नभएको हुँदा प्रणाली सुधार गर्न सहयोग गर्ने बतायो । विज्ञहरूले यसलाई नेपालको प्रशासनिक वेबसाइट अमेरिकी नियन्त्रणमा राख्ने बताए । नेपालमा ख्वपजस्ता धेरै इन्जिनियरिङ कलेजहरू छन् । सरकारले यी कलेजहरूलाई आर्थिक सहयोग गरेर आफ्नै सफ्टवेयर विकास गर्ने काम किन गर्दैन ? नेपाली जनताको प्रश्न हो यो”, उहाँले भन्नुभयो ।
सांसद सुवालले भन्नुभयो, “सांसद र मन्त्रीहरूलाई आ–आफ्नो निर्वाचन क्षेत्रमा जनतासँगै बसोबास गर्नुपर्ने कानुन बनाउनु जरुरी छ । अहिले अधिकांश सांसद र मन्त्रीहरूले घर जग्गा काठमाडौँमा जोरे । यसले देशको सन्तुलित विकास हुँदैन । सरकार काठमाडौँ उपत्यकालाई आवश्यक दाल, चामल, तरकारीमध्ये पचास प्रतिशत भारतबाट ल्याउँछ । नेपालले कोसी, गण्डक, महाकाली, माथिल्लो कर्णाली, अरुण तेस्रो, तल्लो अरुण, पश्चिम सेती फिर्ताको आवाज उठाउनासाथ भारतले दाल, चामल, तरकारी पठाउने छैन र नाकाबन्दी गर्नेछ । त्यसबेला यहाँको कंक्रिटको घर र सडकले केही खुवाउने छैन, काठमाडौँबासी भोकै मर्नेछन् । यसकारण, देशभरि सानो सानो सहर र वरिपरि कृषि भूमि कायम गर्नु जरुरी छ । नेपालजस्तो आर्थिक विकास नभएको देशमा ठूलठूलो सहरको फोहरमैला व्यवस्थापन गर्न गाह्रो हुन्छ । यसकारण, नेपालीलाई शिक्षा, रोजगारी र उपचार गर्न काठमाडौंमै आउनुपर्ने अवस्था अन्त्य गर्नुपर्दछ ।”
उहाँले भन्नुभयो, “विश्वव्यापीकरण भनेको निजीकरण ठान्ने शासक दलहरूको कारण शिक्षा र स्वास्थ्यसमेत निजीकरण भएको हो । संसारको विज्ञान र प्रविधिको उपलब्धि सबै देशमा सजिलै पु¥याउने नै विश्वव्यापीकरण हो । विश्वव्यापीकरण भनेको निजीकरण होइन । विश्वविद्यालयको पाठ्यक्रम नै संशोधन गर्नु जरुरी छ ।”
उहाँले भन्नुभयो, “कर्णाली प्रदेशमा जङ्गलमै बसोबास गरेका राउतेलगायत अन्य जातजातिलाई शिक्षा र स्वास्थ्य सेवा उपलब्ध नगराएका सरकारहरू देश र जनताका होइनन् । गोरखा र धादिङका धेरै बस्ती र कृषि उर्वरभूमि समाप्त हुनेगरी अघि बढाइएको बुढी गण्डकी जलविद्युत योजनाप्रति स्थानीय जनताको समर्थन छैन । फेवातालभन्दा कैयौँ गुना पानीको भण्डारण बनाइने यो योजनाभन्दा बस्ती र कृषि उर्वरभूमिसमेत सुरक्षित हुनेगरी स–साना जलविद्युत् योजना सञ्चालन गर्नु नेपालको हितमा हुनेछ । यो विषय हामीले उठाउँदै छौँ । हाम्रो कलेजबाट उत्तीर्ण विद्यार्थीहरूले सचेत भएर देश र जनताको सेवा गर्नु जरुरी छ ।”
कार्यक्रमका सभापति एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले देश विकासमा प्राविधिकहरूको महत्वपूर्ण भूमिका हुने बताउँदै क्षणिक फाइदाका लागि ठेकेदारहरूसँग मिलेमतो गरी गलत काममा नलाग्न आग्रह गर्नुभयो ।
उहाँले केन्द्र सरकारको असहयोगको कारण भनपाले चाहेर पनि ख्वप विश्वविद्यालय सञ्चालन गर्न नसकेको उल्लेख गर्दै शिक्षा र स्वास्थ्यजस्ता आधारभूत आवश्यकताका विषयहरू समेत किनबेचको वस्तु बनाइने उदारवादी नीति नै यसको मुख्य कारण हो भन्नुभयो ।
उहाँले भन्नुभयो, “नैतिकता नै सबैभन्दा ठूलो धन हो । बिल मिलाउन ठेकेदारहरूले डरधम्की दिने, कामबाट हटाउने वा हत्या गर्नेसम्मको प्रयास गर्न सक्छन् । तर, हाम्रा कलेजबाट उत्पादित जनशक्तिले ती कुनैको पर्वाह नगरी, अलिकति पनि विचलित नभई स्वाभिमानीपूर्वक काम गर्ने आशा गर्छु ।”
कार्यक्रममा बाग्मती प्रदेशसभा सदस्य सृजना सैँजूले शिक्षामा राज्यको बेवास्ता, शिक्षामा व्यापार र निजी क्षेत्रको हालीमुहालीविरुद्ध नेमकिपाको शैक्षिक आन्दोलन अगाडि बढिरहेको बताउँदै कामदार जनताका छोराछोरीलाई उच्च शिक्षा र इन्जिनियर तथा प्राविधिक बनाउने सपना भक्तपुर नपाले पूरा गर्न सफल भएको बताउनुभयो । उहाँले राज्य, राजनीति र शिक्षाले युवालाई स्वदेशमै बस्न अभिप्रेरित गर्नुपर्ने धारणा राख्नुभयो ।
ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य ई. सुजन माक, ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य ई. सुनिल दुवाल, ख्वप इन्जिनियरिङ कलेजका उपप्राचार्य ई. रवीन्द्र फोजु, ख्वप कलेज अफ इन्जिनियरिङका उपप्राचार्य ई. रत्नशोभा प्रजापतिले इन्जिनियरिङ अध्ययन पूरा गरेका विद्यार्थीहरूको उज्ज्वल भविष्यको शुभकामना दिनुभयो ।
उक्त कार्यक्रममा प्रमुख अतिथिले २०७८ सालमा स्नातक तथा स्नातकोत्तर तह पूरा गरेका विद्यार्थीहरूलाई मायाको चिनो प्रदान गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *