भर्खरै :

चिनियाँ अध्ययनले भन्छ– पृथ्वीको भित्री भागले घुम्न बन्द गरेको हुनसक्छ

चिनियाँ अध्ययनले भन्छ– पृथ्वीको भित्री भागले घुम्न बन्द गरेको हुनसक्छ

पृथ्वीको भित्री भाग (इनर कोर) ले घुम्न बन्द गरेको अझ विपरीत घुम्न थालेको हुन सक्ने एउटा नयाँ अध्ययनले देखाएको छ । पृथ्वी क्रस्ट (बाहिर पत्र), म्यान्टल र बाहिरी तथा भित्री कोर भाग मिलेर बनेको ग्रह पिण्ड हो । ठोस स्वरूपमा रहेको पृथ्वीको भित्री कोर बाहिरी पत्र (क्रस्ट) अर्थात् जमिनको सतहबाट लगभग पाँच हजार एक सय ५० किलोमिटर (३२ सय माइल) मुनि अवस्थित छ भने यसलाई तरल अवस्थामा रहेको बाहिरी कोरले अर्ध ठोस म्यान्टल (भित्री पत्र) बाट अलग राखेर पृथ्वी स्वयम्को चक्कर कटात्न्दा फरक गतिमा घुम्न अनुमति दिएको छ ।
करिब तीन हजार पाँच सय ४० किलोमिटर (२२ सय माइल) अर्धव्यास भएको भित्री कोर आकारमा लगभग मङ्गल ग्रहजत्रै छ । पृथ्वीको यो भागमा मुख्यतः फलाम र निकल रहेका छन् भने पृथ्वीको व्यमान (पिण्ड) को एकतिहाइ हिस्सा यसैले ओगटेको छ ।
पेकिङ विश्वविद्यालयका एसोसियट अनुसन्धान वैज्ञानिक यी याङ र अनुसन्धान प्राध्यापक सियाओडोङ सोङले सन् १९६० को दशकयता गरेको पृथ्वीको भित्री कोरबारे अध्ययन नेचर जियोसाइन्स जर्नलमा सोमबार प्रकाशित भएको छ । उनीहरूले पृथ्वीको भित्री कोर कुन गतिमा घुमिरहेको छ भनेर अनुमान गर्न सन् १९६० यता पृथ्वीको भित्री कोरलाई प्रभावित पार्ने गरी गएका भूकम्पीय तरङ्गहरूको अध्ययन गरी निष्कर्ष निकालेका छन् । आफूहरूको निष्कर्ष अनपेक्षित रहेको उनीहरूले बताएका छन् ।
पहिले रेकर्ड गरिएका भित्री कोर भएर गएका कम्पनहरूमा समयक्रमसँगै परिवर्तन देखिए पनि सन् २००९ यताका यस प्रकारका भौगर्भिक हलचलमाथिका रेकर्डमा खासै परिवर्तन नदेखिएको र यो भित्री कोर घुम्न रोकिएको सङ्केत हुन सक्ने उनीहरूको निष्कर्ष छ । “हाम्रा अवलोकन आश्चर्यजनक छन् । तिनले हालैको दशकमा पृथ्वीको भित्री भाग घुम्न लगभग रोकिएको र सम्भवतः उल्टोतर्फ घुम्न लागेको हुन सक्ने सङ्केत दिन्छन्,” उनीहरूले अध्ययनको निष्कर्षमा लेखेका छन् ।
“तपाईंले सन् १९८०–९० बिचको दशकलाई हेर्नुभयो भने गतिमा स्पष्ट परिवर्तन देख्न सक्नुहुन्छ, तर तपाईँले सन् २०१०–२० को दशकको रेकर्डलाई हेर्नुभयो भने खासै परिवर्तन पाउनुहुन्न,” सोङ थप्छन् ।
भित्री कोरको चक्कर कटाइ बाहिरी कोरमा उत्पन्न चुम्बकीय क्षेत्रद्वारा सञ्चालित हुन्छ र यसलाई म्यान्टलको गुरुत्वाकर्षण प्रभावले सन्तुलित गरेको हुन्छ । भित्री कोर कसरी घुम्छ भनेर जानियो भने त्यसले यी तह आपसमा कसरी अन्तत्र्रिmया गर्छन् र पृथ्वीको गहिराइमा कस्ता प्रक्रियाहरू हुन्छ भन्ने विषयमा प्रकाश पार्नसक्छ ।
तर, अस्ट्रेलियन नेशनल युनिभर्सिटीका भू–भौतिकशास्त्री हार्भाेजे टिकालसिआइसी भित्री कोरको चक्कर कटाइको गति र त्यसमा विभिन्नताको कुरा चाहि अझै पनि बहसकै विषय भएको ठान्छन् । उनी यो अध्ययनमा सहभागी भने थिएनन् । भित्री कोर पूर्ण विश्राममा आउँदैन । उनले भने, “यो अध्ययनको निष्कर्ष पृथ्वीको भित्री कोर एक दशकअघि अलिक छिटो घुमिरहेको थियोे, अहिले पृथ्वीको बाँकी भागको चक्कर कटाइसँग यसको गति मिलेको छ भन्ने हो । कुनै प्रलय भइरहेको छैन ।”
सोङ र याङ भने आफ्नो गणनाको आधारमा इलेक्ट्रोम्याग्नेटिक तथा गुरुत्वाकर्षण शक्तिमा आएको सानो असन्तुलनले पनि भित्री कोरको घुमाइलाई निकै ढिलो बनाउन, अझ उल्ट्याउन नै सक्ने तर्क गर्छन् ।
उनीहरू यो सात दशकको चक्र भएको विश्वास गर्छन् । सात दशक लामो यो चक्रको टर्निङ प्वाइन्ट सन् १९७० को दशकको सुरु भएको आफूहरूले सन् २००९÷२०१० को डेटाबाट पत्ता लगाएको दाबी गरेका छन् । ‘द अर्थस् इनर कोर ः रिभेल्ड बाई अब्जर्भेसनल सिस्मोलोजी’ का लेखक टिकालसिआइसी यो अध्ययनको तथ्याङ्क विश्लेषण निकै राम्रो रहेको बताउँछन् ।
तथापि, यो रोचक समस्याबारे प्रकाश पार्न थप तथ्याङ्क र नवीन विधिहरू आवश्यक पर्ने बताउँदै अध्ययनका निष्कर्षलाई सावधानीपूर्वक लिइनुपर्ने उनको भनाइ छ । थप अध्ययन आवश्यक रहेको कुरामा सोङ र याङ पनि सहमत छन् ।
पृथ्वीको भित्री भाग : एक रहस्य
आफ्नो किताबको एउटा पूरै अध्याय भित्री कोरको चक्कर कटाइमाथि समर्पित गरेका टिकालसिआइसी भित्री कोरको एक चक्र पछिल्लो अध्ययनले भनेको ७० वर्षभन्दा पनि २०–३० वर्षमा पूरा हुने बताउँछन् ।
उनले कोरको चक्कर कटाइको गतिमा भिन्नता किन हुन्छ र पृथ्वीको भित्री भागमा के हुन्छ भनेर बुझ्न कठिन किन हुन्छ पनि बताएका छन् । उनले भने, “हाम्रो अध्ययनको वस्तु हाम्रो पैतालाको हजारौँ किलोमिटर मुनि अवस्थित छ, त्यसैले, हामी पृथ्वीको आन्तरिक स्वभाव अनुमान गर्न जियोफिजिकल अनुमान विधि प्रयोग गर्छौँ । बहुविधागत निष्कर्षहरूले हाम्रो परिकल्पना र अवधारणात्मक फ्रेमवर्कलाई पुष्टि नगर्दासम्म ठ्याक्कै यही हो भन्न सावधानी अपनाउनुपर्छ ।”
“तपाईँ भूगर्भविद्हरूलाई पनि अपूर्ण वा सीमित उपकरणहरूको उपयोग गरेर मानिसका आन्तरिक अङ्गहरूको अध्ययन गर्ने मेडिकल डाक्टरजस्तै मान्न सक्नुहुन्छ । त्यसैले, प्रगतिका बाबजुद पृथ्वीको भित्री भागबारेको हाम्रो बुझाइ अझै पनि धमिलो नै छ । हामी अझै पनि खोजीकै चरणमा छौँ,” उनले थपे ।
– नयाँ पत्रिकाबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *