भर्खरै :

राजनीति देश र जनताको सेवा गर्ने माध्यम

राजनीति देश र जनताको सेवा गर्ने माध्यम

बारा, २१ माघ । नेपाल मजदुर किसान पार्टी बारा जिल्लाको आयोजनामा शनिबार कार्यकर्ता भेला सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य तथा नेपाल क्रान्तिकारी किसान सङ्घका केन्द्रीय संयोजक डिल्लीप्रसाद काफ्लेले राजनीतिक पार्टीहरूले विचार र सिद्धान्तको बाटो बिराउनु भनेको हिमालबाट चिप्लेती खेल्नुजस्तै हो भन्नुभयो ।
राजनीति देश र जनताको सेवा गर्ने माध्यम भएकोले नेमकिपाले सडक र सदनमा कामदार तथा शोषितपीडित जनताको पक्षमा सङ्घर्ष गरिरहेको उहाँले स्पष्ट पार्नुभयो ।
भारतीय विस्तारवादले ठाउँठाउँमा सीमा अतिक्रमण गर्दा र भारतले नेपालप्रति गिद्धेदृष्टिले हेरे पनि नेमकिपाबाहेक अन्य राजनीतिक दलहरूले नबोलेकोमा चिन्ता व्यक्त गर्नुभयो ।
मधेसका गरिब जनताको हक, अधिकार सुनिश्चित गराउन विगतको किसान आन्दोलनजस्तै पुनः किसान आन्दोलन उठाउनुपर्ने कुरामा जोड दिँदै उहाँले भन्नुभयो, “माघ २८ र २९ गते कलैयामा हुने नेपाल क्रान्तिकारी किसान सङ्घको तेस्रो राष्ट्रिय सम्मेलन भव्यताका साथ सम्पन्न गर्न आर्थिक, नैतिक र भौतिक सहयोगको खाँचो छ ।”
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य सरोज साहले भन्नुभयो, “यहाँका शासक दलहरूले गरिब जनतालाई विभिन्न आश्वासन बाँडे पनि सत्तामा गएपछि सबै बिर्सिने गरेका छन् ।”
सङ्घीय लोकतान्त्रिक गणतन्त्र पुँजीवादी व्यवस्था भएकोले यसमा धनी झन् धनी र गरिब दिनप्रतिदिन गरिब हुँदै जाने भएकोले समाजवादी व्यवस्थाको लागि सङ्घर्ष गर्नुपर्ने खाँचो उहाँले औँल्याउनुभयो ।
सभापतिको आसनबाट नेमकिपा बाराका अध्यक्ष मुक्ति यादवले नेमकिपा मधेस र मधेसी जनताको विरोधी नभई मधेसी शोषक र जमिनदारहरूको विरोधी हो, उहाँले भन्नुभयो ।
मधेस र मधेसी जनतालाई अधिकारबाट वञ्चित गराउने मधेसकै सामन्ती चिन्तन बोकेका नेताहरू रहेकाले यसमा गम्भीर बन्नको लागि उहाँले आग्रह गर्नुभयो ।
कार्यक्रममा राम एकवाल राउत र जोगिन्द्र मण्डलले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *