भर्खरै :

समयमै सही उपचार गरे क्यान्सर निको हुन्छ

समयमै सही उपचार गरे क्यान्सर निको हुन्छ

सन्दर्भ : विश्व क्यान्सर दिवस

क्यान्सरसँग लड्दालड्दै मृत्युवरण गर्नुभएका सम्पूर्ण क्यान्सर बिरामीलाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । तपाईँहरूको रोगसँगको लडाइँ र सङ्घर्ष विश्वका नयाँ पिँढीलाई क्यान्सरविरुद्ध लड्ने प्रेरणा बनेको छ ।
क्यान्सरले व्यक्ति, परिवार, समाज, राष्ट्र र विश्वजगत्लाई प्रत्यक्ष–अप्रत्यक्ष रूपमा पु¥याएको क्षति र भविष्यमा अझ पु¥याउन सक्ने हानिलाई रोक्न सन् २००० फेब्रुअरी ४ का दिन फ्रान्सको राजधानी पेरिसमा शिखर सम्मेलन सम्पन्न भयो ।
नयाँ सहस्राब्दीमा क्यान्सरसम्बन्धी अनुसन्धान, रोकथाम, सेवा सुविधा विस्तार र जनचेतनामूलक कार्यक्रम सञ्चालन गरी विश्व समुदाय एकजुट भएर क्यान्सरविरुद्ध लड्ने प्रतिबद्धताका साथ उक्त शिखर सम्मेलन समापन भएको थियो । त्यसपछि फेब्रुअरी ४ का दिनलाई विभिन्न नाराका साथ विश्व क्यान्सर दिवसका रूपमा मनाउँदै आइरहेकोमा यस पटक सन् २०२२–२०२४ का लागि ‘क्लोज दी केयर ग्याप’ नाराका साथ मनाउन लागिएकोे छ ।
क्यान्सरले बच्चावृद्ध, धनी–गरिब, फरक धर्म, जात र वर्ण केही भन्दैन । त्यसैगरी नङ र रौँबाहेक मानव शरीरका हरेक अङ्गमा २०० भन्दा बढी प्रकारका क्यान्सरहरू लाग्न सक्छ । त्यसैले क्यान्सर शिखर सम्मेलनले क्यान्सरबारे जनचेतनामूलक कार्यक्रमलाई बढी महत्व दिएर विश्व क्यान्सर दिवसलाई क्यान्सर जनचेतना दिवसका रूपमा मनाउँदै आइरहेको छ ।
क्यान्सर वृद्धि हुनुको मुख्य कारण चुरोट, रक्सी, सुर्तीजन्य वस्तुको प्रयोग बढ्नु, अखाद्य वस्तुको सेवन, मोटोपन, नियमित शारीरिक व्यायाम नगर्नु, वातावरण प्रदूषण, स्वास्थ्यकर खानपानको कमी र मानिसको बाँच्ने औसत उमेर बढ्नु आदि हुन् ।
क्यान्सरको सबैभन्दा जोखिममा अति कम विकसित र विकासोन्मुख राष्ट्रहरू परेका छन् । ती देशहरूमा सीमित स्रोत साधनले गर्दा क्यान्सर रोग पत्ता लगाउन र सही उपचार गर्न कठिनाइ भएको कारणले ६५ प्रतिशतभन्दा बढी क्यान्सरबाट हुने मृत्यु यी मुलुकमा नै भइरहेका छन् ।
विश्वमा सबैभन्दा बढी मृत्यु मुटु रोगबाट हुन्छ भने दोस्रो क्यान्सरबाट भइराखेको छ । एक तथ्याङ्कअनुसार एक वर्षमा करिब एक करोड क्यान्सरका बिरामीको मृत्यु भइरहेको छ । करिब एक करोड ८० लाख बर्सेनि क्यान्सरका नयाँ बिरामी थपिँदै छन् । यस किसिमले क्यान्सर बढ्दै जाने हो भने सन् २०४० मा करिब ३ करोड क्यान्सरका नयाँ बिरामी हुन सक्ने आँकलन गरिएको छ ।
क्यान्सर वृद्धि हुनुको मुख्य कारण चुरोट, रक्सी, सुर्तीजन्य वस्तुको प्रयोग बढ्नु, अखाद्य वस्तुको सेवन, मोटोपन, नियमित शारीरिक व्यायाम नगर्नु, वातावरण प्रदूषण, स्वास्थ्यकर खानपानको कमी र मानिसको बाँच्ने औसत उमेर बढ्नु आदि हुन् ।
विभिन्न क्यान्सर रोगमध्ये केही क्यान्सर भाइरसको सङ्क्रमणले गराउनसक्छ । जस्तै– पाठेघरको मुखको क्यान्सर ह्युमन प्यापिलोमा भाइरस र कलेजको क्यान्सर हेपाइटाइटिस बी भाइरसले गराउँछ । यसलाई भ्याक्सिनबाट बचाउन सकिन्छ ।
त्यसैगरी ५–१० प्रतिशत क्यान्सर वंशाणुगत हुने गर्छ । उदाहरणका लागि स्तन, ओभरी र ठूलो आन्द्राको क्यान्सर । त्यसैले आमाबाबु, दाजुभाइ र दिदीबहिनीलाई क्यान्सर भएको छ भने छोराछोरी, अन्य दाजुभाइ, दिदीबहिनीहरूले बढी सतर्कता अपनाउनुपर्ने हुन्छ । त्यसका लागि समयमा आवश्यक जाँच र परीक्षण गर्नुपर्ने हुन्छ ।
क्यान्सर लागेपछि मृत्यु भइहाल्छ भन्ने होइन । एकतिहाइ क्यान्सरलाई जनचेतना, स्वास्थ्य शिक्षा र स्वस्थ जीवनशैलीबाट बचाउन सकिन्छ । अर्को एकतिहाइ क्यान्सर सही समयमा सही स्क्रिनिङ जाँच गरी पहिलो चरणमै क्यान्सर पत्ता लगाई उपचार गरेमा निको पार्न सकिन्छ । बाँकी रहेका एकतिहाइ क्यान्सरलाई भने रोगको प्रकृति र पछिल्लो वा अन्तिम चरणमा पुगिसकेको कारणले बचाउन गा¥हो हुन्छ ।
द्रुतगतिमा वृद्धि भइरहेको क्यान्सरसँग जुध्न क्यान्सरसम्बन्धी जनचेतनामूलक शिक्षा र पहिलो चरणमा क्यान्सर पहिचान गर्नु नै सरल, सस्तो र भरपर्दो उपचार हो । यसका लागि सञ्चारमाध्यमहरूको महत्वपूर्ण भूमिका रहन्छ ।
विश्वमा अहिले करिब २ करोड ८० लाख बिरामीले क्यान्सरमाथि विजय प्राप्त गरी जीवनयापन गरिराखेका छन् । विश्वमा क्यान्सरसम्बन्धी तथ्याङ्क हेर्दा पुरुषमा सबैभन्दा बढी देखिने फोक्सो, प्रोस्टेट, ठूलो आन्द्रा, पेट र कलेजोको क्यान्सर छन् । महिलामा स्तन, ठूलो आन्द्रा, फोक्सो, पाठेघरको मुख र थाइराइडको क्यान्सर बढी देखिन्छन्  ।
नेपालमा पनि वर्षौंदेखि विश्व क्यान्सर दिवस मनाउँदै आइरहेका छौँ । यो दिवस मनाउन सरकारभन्दा बढी राज्यको चौथौ अङ्ग सञ्चारमाध्यम बढी सक्रिय रहँदै आएको छ । क्यान्सरसम्बन्धी जनचेतना कार्यक्रम, अन्तर्वार्ता, गोष्ठी र लेख प्रकाशन गरेर जनतालाई सुसूचित पार्ने कार्य गरी पत्रकारजगत्ले जनताप्रति आफ्नो दायित्व पूरा गरेको देखिन्छ ।
सरकार र गैरसरकारी संस्थाहरूले पनि जनचेतनामूलक कार्यक्रम, पैदल यात्रा, दौड र साइकल ¥याली गरी क्यान्सरसम्बन्धी जनचेतना अभिवृद्धि गर्दै आएका छन् । यसको प्रभाव जनस्तरमा देखापरी बिरामी जाँच गराउनेको सङ्ख्या दिनहुँ बढिराखेको देखिन्छ । साथै क्यान्सर पत्ता लाग्ने सङ्ख्या बढ्दो क्रममा हुँदा देशमा क्यान्सर बढेकोजस्तो देखिन गएको छ ।
नेपालमा बर्सेनि २० देखि २५ हजार नयाँ क्यान्सरका बिरामीहरू पत्ता लागिरहेका छन् । अर्कोतिर १२ देखि २५ हजार क्यान्सर बिरामीहरूको बर्सेनि मृत्यु भइराखेको तथ्याङ्कले देखाउँछ । त्यसैगरी, सबैभन्दा बढी फोक्सो, पाठेघरको मुख, स्तन, पेट, ठूलो आन्द्रा र पित्तको थैलीको क्यान्सर देखापरेका छन् ।
नेपालमा केही वर्ष पहिले सरुवा रोगबाट बढीको मृत्यु हुन्थ्यो तर अहिले ६५ प्रतिशतभन्दा बढी मानिस नसर्ने रोगबाट हुने गरेको छ । मृटुको रोग, क्यान्सर, मिर्गाैला, सुगर र ब्लड प्रेसरको जटिलता आदिबाट समस्याबाट मृत्यु हुने गरेको छ ।
हाम्रो देशमा मृत्युका कारणहरूमध्ये क्यान्सरबाट हुने मृत्यु पाँचौँ स्थानमा पर्छ । भक्तपुर क्यान्सर अस्पतालमा पछिल्लो पाँच वर्षको तथ्याङ्क हेर्दा एक वर्षमा लगभग ४ हजार क्यान्सरका बिरामीको उपचार हुन्छ भने वर्षको २५० देखि ३०० जनाको क्यान्सरबाट मृत्यु हुने गरेको पाइएको छ । सो अस्पतालमा फोक्सो, स्तन, पाठेघरको मुख, घाँटी र मुखको क्यान्सर प्रमुखरूपमा देखिएका छन् । हाम्रो देशको क्यान्सरसम्बन्धी तथ्याङ्क अन्य कम विकसित मुलकहरूको तथ्याङ्कसँग मिल्दाजुल्दा देखिन्छन् ।
द्रुतगतिमा वृद्धि भइरहेको क्यान्सरसँग जुध्न क्यान्सरसम्बन्धी जनचेतनामूलक शिक्षा र पहिलो चरणमा क्यान्सर पहिचान गर्नु नै सरल, सस्तो र भरपर्दो उपचार हो । यसका लागि सञ्चारमाध्यमहरूको महत्वपूर्ण भूमिका रहन्छ ।

क्यान्सर बिरामीहरूलाई विदेशमा उपचार गर्न जानबाट कसरी रोक्ने ?
देशमा सञ्चारमाध्यमको अधिकतम विकास भई देशको कुनाकाप्चामा बसोबास गरिरहेका जनताका मन मस्तिष्कमा कुनै न कुनै सञ्चारमाध्यमबाट सन्देश पुगेको अवस्था छ । त्यसैले दुर्गम जिल्लाहरूमा सञ्चालित एफएम र स्थानीय पत्रपत्रिकामार्फत स्थानीय भाषामा क्यान्सरसम्बन्धी जनचेतना कार्यक्रम प्रसारण र लेख रचना प्रकाशन गर्ने र यसबापत सञ्चार संस्था, प्रस्तुतिकर्ता वा सञ्चारकर्मी र लेखक वा स्वास्थ्यकर्मीहरूलाई प्रोत्साहन भत्ता दिन सकियो भने क्यान्सर निन्त्रणमा ठुलो सहयोग मिल्ने छ ।
हुन त सञ्चारमाध्यमबाट स्वास्थ्यसम्बन्धी लेख रचना अन्तक्र्रिया, अन्तरवार्ता प्रकाशन र प्रसारण नभएको होइन । तर, कार्यविधि र मापदण्ड बनाई यसलाई अझ व्यवस्थित र प्रभावकारी बनाउन सकिन्छ । यसका लागि आर्थिक दायित्व तीनै तहका सरकारबाट मिलाउन सकियो भने कार्यक्रमले निरन्तरता पाउने छ ।

यसरी सम्भव छ नेपालमा क्यान्सरको निःशुल्क उपचार
क्यान्सरसम्बन्धी सबै किसिमका अध्ययन र अनुसन्धानलाई राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद्मार्फत अझ प्रभावकारीरूपमा गरिनुपर्छ । साथै अनुसन्धानका परिमाणहरू देश र जनहितमा कार्यान्वयनतिर लाग्नुपर्ने देखिन्छ । अनुसन्धानले मात्र जनताको स्वास्थ्य अवस्थामा परिवर्तन नआएको अवस्थामा अनुसन्धान र क्यान्सर रोगथामका कार्यक्रमलाई सँगसँगै लैजान सकेमा ठूलो सङ्ख्यामा क्यान्सरका बिरामीहरूलाई बचाउन सकिन्छ । योभन्दा राम्रो परिणाममुखी अनुसन्धान के हुन सक्छ र ?
एक विद्वान्ले भनेका छन्, “तिमी संसार परिवर्तन गर्ने कोसिस नगर, पहिले तिमी आफू परिवर्तन हौ, संसार आफैँ परिवर्तन हुन्छ ।” किनकि परिस्थिति, वातावरण र मानिसको हुँदैनन् । मानिसका साथमा केवल आफू मात्र छौ, जहाँ तिम्रा आत्मा, सोच र विचार छन् । त्यसैले पहिले आफू परिवर्तन हौ । अनि क्यान्सर रोगथामको उपायहरू पालना गर ताकि क्यान्सर आफै टाढा भाग्दै जान्छ । यसले गर्दा उपचारका क्रममा घरबार समाप्त नहुने, मानसिक चिन्ता पनि नहुने, उपचारका लागि ऋण पनि लिनुपर्ने र अकालमा मृत्यु भई सम्पूर्ण परिवारको भविष्य अन्धकार पनि हुँदैन ।
अन्तमा विश्वका अधिकांश मुलुकहरूले क्यान्सर उपचारको लागि खर्च गरेको बजेट र क्यान्सर रोकथामको लागि छुट्टाएको रकमबीच ठुलो अन्तर र भिन्नता रहेको छ । त्यसैले यही दूरीलाई कम गर्न सक्यौँ भने क्यान्सर नियन्त्रणमा सफलता मिल्ने थियो ।
(लेखक भक्तपुर क्यान्सर अस्पताल सर्जिकल अन्कोलोजीका सिनियर कन्सल्टेन्ट तथा पूर्वमेडिकल डाइरेक्टर हुन् ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *