भर्खरै :

अमेरिकाले फिलिपिन्समा पहुँच कायम गरेर चीनलाई कसरी घेर्दै छ ?

अमेरिकाले फिलिपिन्समा पहुँच कायम गरेर चीनलाई कसरी घेर्दै छ ?

संयुक्त राज्य अमेरिकाले साउथ चाइना सी (दक्षिणी चीनसागर) र ताइवानवरपर चीनको गतिविधिलाई नजिकबाट सहजै निगरानी गर्नसक्ने थप चारवटा फिलिपिन्सका सैन्य शिविरमा पहुँच कायम गरेको छ । यो सम्झौतासँगै वासिङ्टनले उत्तरमा दक्षिण कोरिया र जापान अनि दक्षिणमा अष्ट्रेलियासम्म विस्तार भएको भूगोलमा रहेको अमेरिकी गठबन्धनको खाली ठाउँलाई पूर्ति गरेको छ । दुईवटा महत्वपूर्ण भूभागहरू ताइवान र साउथ चाइना सी जोडिएको फिलिपिन्स यसअघि उक्त सामरिक भूगोलमा अमेरिकालाई पहुँच दिने हिसाबले जोडिएको थिएन । उक्त सम्झौताले ३ दशकअघि आफ्नो पूर्व उपनिवेशबाट अलग भएको अमेरिकालाई फेरि आंशिकरूपमा त्यहाँ फर्कने मौका दिएको छ । यसलाई महत्वका साथ हेरिएको छ ।
अमेरिका–फिलिपिन्स सम्झौताको अर्थ
वासिङ्टन डिसीस्थित सेन्टर फर स्ट्रयाटिजिक एन्ड इन्टरन्याशनल स्टडिजका दक्षिणपूर्वी एसिया कार्यक्रम निर्देशक ग्रेगोरी बी पोलिङ भन्छन्, “साउथ चाइना सीमा केही गर्नुपर्ने अवस्थामा फिलिपिन्समा पहुँच कायम गर्न अत्यावश्यक छ । संयुक्त राज्य अमेरिकाले स्थायी अखडाहरू खोजेको छैन । त्यो स्थानको कुरा हो, शिविरको कुरा होइन ।”
संयुक्त राज्य अमेरिकाले इन्हान्सड डिफेन्स कोअपरेशन एग्रिमेन्ट (इडीसीए) अन्तर्गत पाँचवटा ठाउँमा पहिल्यै पहुँच पाएको थियो । नयाँ थप र विस्तारित पहुँचले वासिङ्टनलाई फिलिपिन्समा मानवीय र जलवायुसँग सम्बन्धित विपद् अनि अरू संयुक्त चुनौतीहरूसँग जुध्न मद्दत गर्ने अमेरिकाले जनाएको छ । ‘संयुक्त चुनौती’ लाई उक्त क्षेत्रमा चीनको प्रभावलाई चुनौती दिन प्रयोग गरिने साङ्केतिक धारणाका रूपमा लिइएको छ ।
उक्त विज्ञप्ति अमेरिकी रक्षामन्त्री लोइड अस्टिनले फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड ‘बोङबोङ’ मार्कोस जुनिअरलाई मनिलामा बिहीबार भेटेपछि आएको हो । अमेरिकाले नयाँ शिविरहरू कहाँ छन् भन्ने खुलाएका छैन तर फिलिपिन्सको उत्तरी कुनामा रहेको लुजोन टापुमा रहेको हुनसक्ने ठानिएको छ । सो ठाउँ चीनबाहेक ताइवाननजिकै रहेको सबैभन्दा ठूलो भूभाग हो ।
चीनले उक्त सम्झौताको आलोचना गर्दै भनेको छ, “अमेरिकी कदमले क्षेत्रीय तनाव अभिवृद्धि गर्नेछ र त्यसले क्षेत्रीय शान्ति र स्थिरतालाई अवमूल्यन गर्नेछ ।“ “संयुक्त राज्य अमेरिकाले आफ्नो प्रत्यक्ष स्वार्थ र अन्त्यमा कूल शून्य प्रतिफलको मनस्थिति राखेर यो क्षेत्रमा आफ्नो सैनिक उपस्थितिको प्रदर्शनलाई बढाइरहेको देखिन्छ,” मनिलास्थित चीनको दूतावासले भनेको छ ।
अमेरिका र फिलिपिन्सको त्यो विगत
हालैका दिनहरूमा संयुक्त राज्य अमेरिकाले ठूलो सङ्ख्यामा सैनिकहरू राख्ने शिविरहरूभन्दा आवश्यक परेको खण्डमा ‘हल्का र लचिलो’ बन्दोबस्ती र निगरानी कार्यसहितका सैन्य अभियान सञ्चालन गर्न सकिने स्थानहरूमा पहुँच खोजिरहेको छ । अर्को शब्दमा भन्नुपर्दा पछिल्लो सम्झौता सन् १९८० को दशकको पुनरावृत्ति होइन जुनबेला फिलिपिन्समा १५ हजार अमेरिकी फौजहरू बस्ने गरेका थिए । त्यसबेला क्लार्क फिल्ड र नजिकैको सुबेक बेमा एसियाकै दुईवटा ठूला अमेरिकी फौजी अखडाहरू थिए । तर सन् १९९१ पछि अवस्था फेरियो । त्यसबेला फिलिपिन्सले भर्खरै तानाशाह फर्डिनान्ड मार्कोसलाई सत्ताच्युत गरेको थियो । पुराना औपनिवेशिक शासकहरूलाई बिदा गरिएकाले लोकतन्त्र र स्वतन्त्रता बलियो बन्ने अपेक्षा व्यक्त भइरहेका थिए । भियतनाम युद्ध वर्षौँअघि नै सकिएको, शीतयुद्ध समाप्त हुँदै गएको र चीन त्यसबेला सैन्य हिसाबले कमजोर नै अवस्थामा रहेको थियो । त्यही भएर सन् १९९२ मा अधिकांश अमेरिकीहरू घर फर्किए । ती घटनाक्रमको ३० वर्षपछि अहिले अर्का मार्कोस फिलिपिन्सको मालाकान्यान दरबारमा पुनः फर्किएका छन् ।
सम्झौताको पक्ष र विपक्षमा कस्ता तर्क
फिलिपिन्समा अमेरिकाको फिर्तीलाई देशका वामपन्थी समूहहरूले आलोचना गरेका छन् । विगतमा जस्तो फौजहरू उपस्थित नहुने भएपनि वासिङ्टनले अहिले कैयौँ नयाँ ठाउँहरूमा पहुँच मागेको छ । तीमध्ये कतिपय साउथ चाइना सी र अरू ताइवानतर्फ रहेका बताइन्छ । पोलिङका अनुसार उक्त निर्णयको उद्देश्य चीनद्वारा साउथ चाइना सी मा हुनसक्ने थप अतिक्रमण रोक्नु र ताइवान वरपर चिनियाँ सेनाको गतिविधिको निगरानी गर्नु हो ।
ताइवानमा सम्भावित द्वन्द्वलाई लिएर चिन्ताहरू बढिरहँदा फिलिपिन्सले अमेरिकी फौजी कारबाही वा शरणार्थीहरूको उद्धारका लागि पछाडिबाट एउटा प्रवेशद्वार उपलब्ध गराउनसक्ने उनले बताए । उनी भन्छन्, “मानिसहरूले बिर्सिरहेका छन् कि डेढदेखि दुई लाख फिलिपिनोहरू हाल ताइवानमा बसिरहेका छन् ।”
प्राध्यापक क्राफ्टका अनुसार मनिला अमेरिकी गठबन्धनको पूर्णकालीन सदस्य बन्ने वा चीनको उदयलाई चुनौती दिने ध्याउन्नमा छैन । उनले भने, “फिलिपिन्सले अस्ट्रेलिया वा जापानले जस्तो गरी साउथ चाइना सी वा इस्ट चाइना सी मा प्रत्यक्षरूपमा चिनियाँ स्वार्थहरूलाई चुनौती दिएको छैन । राष्ट्रपति मार्कोस अमेरिकासँग राम्रो सम्बन्ध चाहन्छन् । तर, उनी आर्थिक लाभका लागि चीनसँग पनि राम्रो सम्बन्ध कायम राख्न चाहन्छन् ।”
बेइजिङले पनि वासिङ्टन र मनिलाबीच भएका शिविरहरूसम्बन्धी नयाँ सम्झौताकै कारण आफ्नो छिमेकीसँगको सम्बन्धमा अवरोध निम्त्याउन नचाहेको सङ्केत दिएको छ । अमेरिकी रक्षा मन्त्री मनिलामा रहँदा चीनको सरकारी स्वामित्वको ग्लोबल टाइम्सले अमेरिकाले ‘फिलिपिन्सलाई पासो थापेको’ र ‘चीनसँगको टकराबको अग्रमोर्चामा फिलिपिन्सलाई धकेल्न खोजेको’ अरोप लगाएको थियो ।
– बीबीसीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *