भर्खरै :

अमेरिकाको चीनसँगको प्राविधिक डिकपलिङको प्रक्रिया र प्रभाव

अमेरिकाको चीनसँगको प्राविधिक डिकपलिङको प्रक्रिया र प्रभाव

(चीन र अमेरिकाबिच बढ्दै गएको व्यापारिक र सामरिक द्वन्द्व सँगसँगै एउटा शब्द चर्चित भएको छ, ‘Decoupling’ (डिकपलिङ) । यसलाई सामान्य भाषामा ‘अन्तरसम्बन्ध तोड्नु’ भनेर बुझ्न सकिन्छ । प्रविधि क्षेत्रमा चीनको प्रगतिलाई रोक्न प्रविधि क्षेत्रमा अमेरिकाले चीनसँगको सम्बन्धलाई तोड्ने कोसिस गरिरहेको छ । आफूसँग मात्र होइन अमेरिका जापान, नेडरल्यान्ड, बेलायतजस्ता आफूनिकट मुलुकसँग पनि चीनको सम्बन्ध टुटोस् भन्ने चाहेको छ । यसै सन्दर्भमा चिनियाँ लेखक झाउ सिद्वारा लिखित यस अनुवादित लेख प्रविधि र अन्तर्राष्ट्रिय व्यापार क्षेत्रमा चासो राख्नेहरूको लागि उपयोगी हुनेछ–अनुवादक)
अन्तर्राष्ट्रिय सम्बन्ध र विश्वव्यापी अर्थतन्त्रमा ‘डिकपलिङ’ (Decoupling) एक नयाँ घटनाको रूपमा देखापरेको छ । ‘उच्च–प्रविधि’ को अद्वितीय विशेषताहरू र व्यापारसँग यसको नजिकको सम्बन्धको कारण प्रविधि क्षेत्रमा डिकपलिङ महत्वपूर्ण विषय बनेको छ । अमेरिकाले उच्च प्रविधिका सबै क्षेत्रमा आफूबाट चीनलाई अलग्याउने रणनीति अपनाइरहेको छ । आइएमएफ विश्लेषकहरूका अनुसार प्राविधिक डिकपलिङले चीन र संयुक्त राज्य अमेरिकाको रणनीतिक प्रतिद्वन्द्वीमाथि मात्र होइन युरोपमा पनि यसले महत्वपूर्ण प्रभाव पार्नेछ ।
कसरी टेक्नोलोजिकल डिकपलिङ नीति बन्यो
टेक्नोलोजिकल डिकपलिङलाई सीमापार व्यापार र हाइटेक वस्तुहरूमा लगानी अवरुद्धको रूपमा परिभाषित गर्न सकिन्छ । उच्च प्रविधिले विश्वव्यापी अर्थतन्त्रलाई बलियो बनाउँछ । यो एक क्षेत्रमात्र नभई विश्वको उत्पादन र उपभोग ढाँचामा गहिरो प्रभाव पार्ने नवप्रवद्र्धन र आर्थिक विकासको लागि एक अभूतपूर्व चालक पनि हो । विश्वव्यापी अर्थतन्त्रका धेरै क्षेत्रहरूमध्ये उच्च–प्रविधि कम्पनीहरू सबैभन्दा मूल्यवान हुन्छन् ।
ओबामाको दोस्रो कार्यकालमा चीनबाट प्राविधिक डिकपलिङबारे चासो सुरु भयो । निम्न चार कारणले यो नीति आएको हो । पहिलो, रणनीतिक र कूटनीतिक सर्कलमा अमेरिकीहरूको बढ्दो प्रभावले ओबामा प्रशासनको चीन नीति निकै कमजोर भएको तर्क गर्दै ‘चीन खतरा’ को सिद्धान्तलाई अँगाले । घरेलु दबाबले ओबामाको दोस्रो कार्यकालको अन्तिम दुई वर्षमा चीन नीतिलाई कडा बनाइदियो । डोनाल्ड ट्रम्पको अध्यक्षतामा चीनको बारेमा अमेरिकी धारणा मौलिकरूपमा परिवर्तन भयो र चीनलाई सबैभन्दा ठूलो रणनीतिक प्रतिस्पर्धीको रूपमा हेर्न थाल्यो । प्रविधि चोरी गर्न, गलत सूचनाहरू फैलाउन र प्रतिस्पर्धामा आफ्नो हात माथि पार्ने प्रयास गरेर चीनले अमेरिकी प्रविधिहरूसँगको आफ्नो घनिष्ठ सम्बन्धको फाइदा उठाएको ट्रम्प प्रशासनको आरोप थियो । यसले अमेरिकी अर्थतन्त्रलाई चोट पु¥याउने र व्यापकरूपमा विश्वव्यापी प्रविधिको नेतृत्व चीनले गर्नेछ । यही चिन्ताको कारण चीनको उच्च–प्रविधि विकासलाई रोक्न अमेरिकी सरकारको एजेन्डाले गति लिएको हो ।
दोस्रो, उच्च प्रविधिमा चीनको द्रुत प्रगतिबाट संयुक्त राज्य अमेरिकाले असुरक्षित महसुस गरेको छ । आर्टिफिसियल इन्टेलिजेन्समा चीन प्राज्ञिक अनुसन्धान, पेटेन्ट, लगानी, श्रम शक्ति र हार्डवेयर एकाइहरूको सङ्ख्यामा संयुक्त राज्य अमेरिकापछि विश्वमा दोस्रो स्थानमा छ । केही चिनियाँ कम्पनीहरू अत्याधुनिक अनुसन्धान र औद्योगिक उत्पादनहरूसहित, दूरसञ्चार, मोबाइल उपकरणहरू, व्यावसायिक ड्रोनहरू, उच्च गतिको रेल, वायु टर्बाइनहरू, सुपर कम्प्युटरहरू, क्वान्टम कम्प्युटिङ, अन्तरिक्ष प्रक्षेपण वाहनहरूजस्ता क्षेत्रमा पहिले नै अग्रणी मानिन्छन् । चीनले अरु देशको तुलनामा धेरै वैज्ञानिक शोधपत्रहरू प्रकाशित गरेको छ र धेरै प्याटेन्ट आवेदनहरू दर्ता गरेको छ । प्याटेन्ट आवेदनहरूको सङ्ख्या २००५ मा ४८०० बाट बढेर २०१८ मा ५७५९८ पुगेको थियो ।
तेस्रो, चीनमा विज्ञान र प्रविधिको अतुलनीय विकासको पछाडि उच्च–प्रविधि अनुसन्धानमा सरकारको ठूलो लगानी रहेको छ । ‘मेड इन चाइना २०२५’ चिनियाँ अभियानबाट अमेरिका आत्तिएको छ । उत्पादन स्तरवृद्धिको लागि चिनियाँ सरकारले विदेशी प्रविधिमा निर्भरता कम गर्न ‘कम्पनीहरूको विदेशी मर्जर र एक्विजिसन, इक्विटी लगानी र उद्यम पुँजी लगानी’ रणनीतिक दस्तावेज तयार पारेको छ । त्यसैको आधारमा अमेरिकी सरकारले जवाफी रणनीति अपनाएको विश्वास गरिन्छ ।
चौथो, प्रविधिलाई तटस्थरूपमा होइन बरु राष्ट्रहरूबिच प्रतिस्पर्धाको औजारको रूपमा हेर्ने ‘प्राविधिक–राष्ट्रवाद’ को विचारधारा जन्मेको छ । जसअनुसार अमेरिकी सरकारले केही प्राविधिक कम्पनीहरूलाई राष्ट्रिय सूचना अनुगमनको भूमिका खेल्न आवश्यक रहेको भनेर एडवर्ड स्नोडेनको खुलासाले अन्तर्राष्ट्रिय स्तरमा खैलाबैला मच्चिएको थियो । जासुसी र युद्धमा डिजिटल टेक्नोलोजीको महत्वपूर्ण मूल्यलाई ध्यानमा राख्दै विश्वभरका देशहरूले डिजिटल सार्वभौमसत्ताको सुरक्षाको आवश्यकतालाई स्वीकार गरेका छन् ।
ट्रम्प प्रशासनले चीनबाट प्राविधिक डिकपलिङ गर्न खोजे । बाइडेन प्रशासनले ट्रम्पको नीतिहरूको हल्का मौखिक आलोचना गरे पनि यो नीति जारी राखेको छ । रिपब्लिकन र डेमोक्रायटहरू अहिले चीनबाट प्राविधिक डिकपलिङको नीतिमा सहमत भएका छन् । ट्रम्प प्रशासनले मे २०२० मा हुवावेलाई सेमीकन्डक्टर चिपहरू डिजाइन गर्न वा बनाउन अमेरिकी प्रविधिहरू प्रयोग गर्नबाट रोक्ने निर्णयले दुई देशबिचको टेक्नोलोजी आपूर्ति शृङ्खला भङ्ग भएको सङ्केत ग¥यो, जसलाई डिकपलिङको सुरुवातको रूपमा लिइन्छ । प्राविधिक डिकपलिङले चीन र अमेरिकाबिचको आर्थिक अन्तरक्रियालाई धेरै सीमित गरेको छ ।
चीनलाई दबाउन ‘डिकपलिङ उपाय’
हाल संयुक्त राज्य अमेरिकाले दुई प्रकारका डिकपलिङ उपायहरू अपनाएको छ । पहिलो भनेको चिनियाँ उत्पादन र सेवाहरूको निर्यातमा प्रतिबन्ध लगाएर चीनमा विज्ञान र प्रविधिको विकासलाई रोक्ने । अर्को चाहिँ अनुसन्धान र विकासका लागि सरकारी सहयोग र नीतिमार्फत आफ्नो वैज्ञानिक र प्राविधिक शक्तिलाई बलियो बनाउने । राष्ट्रपति ट्रम्पको चार वर्षको अवधिमा अमेरिकाले चीनको प्रगतिलाई रोक्न र विज्ञान र प्रविधिमा अमेरिकाको विश्वव्यापी प्रभुत्व कायम राख्ने साझा लक्ष्यका लागि सहयोगी र साझेदारहरूसँग समन्वय र सहयोग गरिरहेको छ ।
अधिकांश कानुन र दमनकारी उपायहरू ट्रम्प प्रशासनको समयमा निर्माण भएका थिए । निर्यात नियन्त्रण, लगानी प्रतिबन्ध, दूरसञ्चार इजाजतपत्र र उपकरण प्राधिकरणहरू, भिसा प्रतिबन्धहरू, आयात प्रतिबन्धदेखि वित्तीय प्रतिबन्ध, प्रविधि व्यापार नियमहरू, सङ्घीय सरकारको खरिद र खर्च प्रतिबन्धदेखि लिएर कानुन प्रवर्तनसम्म रहेका छन् ।
विदेशमा हुने लगानीको सम्बन्धमा राष्ट्रपति बाइडेनले जून २०२१ मा चिनियाँ कम्पनीहरूमा हुने अमेरिकी लगानीमा ट्रम्प प्रशासनको प्रतिबन्धको दायरा विस्तार गर्ने कार्यकारी आदेश जारी गरे र अमेरिकी लगानीकर्ताहरूलाई चिनियाँ कम्पनीहरूको सेयर खरिद वा बिक्री गर्न निषेध गरे । अमेरिकी कङ्ग्रेसले डिसेम्बर २०२० मा होल्डिङ विदेशी कम्पनी एकाउन्टेबल ऐन पारित ग¥यो जसमा सेक्युरिटीज एन्ड एक्सचेन्ज कमिसन (एसईसी) लाई सार्वजनिकरूपमा कारोबार गरिएका कम्पनीहरूलाई राष्ट्रिय स्टक एक्सचेन्ज सूचीबाट हटाउन र सार्वजनिक कम्पनी लेखा निरीक्षण बोर्डले उनीहरूको स्टकको ओभर–द–काउन्टर व्यापारमा प्रतिबन्ध लगाए ।
टेक्नोलोजी व्यापार नियमहरूको सम्बन्धमा ट्रम्प प्रशासनले ‘व्यापार’ शक्तिहरू प्रतिबन्धित गर्न अन्तर्राष्ट्रिय आपत्कालीन आर्थिक ऐन प्रयोग गर्यो र यसको आधारमा चिनियाँ सैन्य–औद्योगिक कम्प्लेक्स कम्पनीहरूको सूची र अन्य सूचीहरू प्रकाशित गर्यो । ट्रम्पको सबैभन्दा विवादास्पदमध्ये एक ‘एप्स प्रतिबन्ध’ थियो । पहिले टिकटक र विच्याटमा र पछि Alipay, Tencent QQ र अन्य ६ वटा चिनियाँ एप्सहरूमाथि प्रतिबन्ध लगाइयो । खरिदको सन्दर्भमा चिनियाँ निर्मित ड्रोनहरूलाई अमेरिकाको खरिद वा प्रयोग निषेध गर्ने सूचीमा राखिएको छ । यसबाट यो पुष्टि हुन्छ कि ट्रम्प प्रशासनअन्तर्गत सुरु भएको चीनको विरुद्धमा प्राविधिक निषेध, डिकपलिङ टेक्नोलोजी र उत्पादनहरूको निर्यातमाथि मात्र प्रतिबन्ध नभएर व्यापकरूपमा अरू क्षेत्रहरूमा प्रतिबन्धलाई पनि विस्तार गरिएको छ ।

चिप्स उत्पादन गर्ने एक चिनियाँ उद्योगको दृश्य

बाइडेन प्रशासनको ‘स्व–सुदृढीकरण’ डिकपलिङ उपाय
ट्रम्पको कार्यकालमा प्रशासन र काङ्ग्रेसले ‘दमनकारी’ डिकपलिङ उपायहरूमा ध्यान केन्द्रित गरेको थियो । बाइडेन राष्ट्रपति भएपछि अमेरिकी नीति निर्माताहरूले ‘स्व–सुदृढीकरण’ उपायहरूमा थप ध्यान दिनुपर्ने आवश्यकतामा सहमति जनाए । यस सन्दर्भमा सबैभन्दा महत्वपूर्ण घटनाहरू नवप्रवद्र्धन र प्रतिस्पर्धा ऐन २०२१ र अमेरिका प्रतिस्पर्धा ऐन २०२२ को हाउस र सिनेटद्वारा २०२२ मा अमेरिकाले पारित गरेको थियो । ऐनले उदीयमान प्रविधिहरू र अमेरिकी उत्पादनमा रेकर्ड लगानी वृद्धि हुनेछ । तिनीहरूले वैज्ञानिक अनुसन्धानमा सङ्घीय सरकारको लगानीलाई पनि धेरै बढाउनेछन् र सेमिकन्डक्टर आपूर्ति श्रृङ्खलाको सुरक्षा सुनिश्चित गर्नेछन् ।
अमेरिकाले चिप्स र विज्ञान ऐन पारित गरेको छ । अमेरिकामा वैज्ञानिक अनुसन्धान प्रवद्र्धन गर्न सिनेट र हाउसले २०२२ मा अमेरिकी सेमिकन्डटर उत्पादनको लागि लगभग ५२ अरब अमेरिकी डलर सरकारी अनुदान र चिप उत्पादन गर्ने संयन्त्र स्थापनाको लागि लगभग २४ अरब अमेरिकी डलरको लगानी कर क्रेडिट प्रदान गर्नेछ भने अर्को पाँच वर्षको लागि लगभग १७० अरब अमेरिकी डलर छुट्याएको छ ।
तथाकथित प्राविधिक–लोकतन्त्रहरूको गठबन्धन बनाउनु ‘प्रविधि डिकपलिङ’ र औद्योगिक श्रृङ्खलाबाट चीनलाई हटाउने रणनीतिको महत्वपूर्ण भाग हो । इन्डो–प्यासिफिक क्षेत्रमा संयुक्त राज्यले चीनसँग प्राविधिक डिकपलिङका लागि स्पष्ट लक्ष्यहरू राखेको छ । २०२२ मा बाइडेन प्रशासनले आफ्नो नयाँ इन्डो–प्यासिफिक रणनीतिमा अन्तर्राष्ट्रिय मापदण्ड निकायहरूको अखण्डता कायम राख्न र सहमतिमा आधारित टेक्नोलोजी मापदण्डहरू प्रवद्र्धन गर्न साझेदारहरूसँग समन्वय गर्ने प्रस्ताव राखेको थियो । यसले अनुसन्धानकर्ताहरूको आवागमन र सहयोगी र साझेदारहरूको लागि वैज्ञानिक तथ्याङ्कमा पहुँचको सुविधा र साइबर स्पेससँग सम्बन्धित मापदण्डहरूमा काम गर्ने छ ।
डिकपलिङको प्रभाव
अमेरिकाले चीनमा लगाएको व्यापार र लगानी प्रतिबन्धले पहिले नै केही हदसम्म हाई–टेक क्षेत्रमा आर्थिक डिकपलिङ भएको छ । २०१९ मा चिनियाँ उत्पादित सामानको आयात १७ प्रतिशत अर्थात् ८८ अर्ब डलरले घटेको छ जसले गर्दा आयातमा अमेरिकाको चीनको हिस्सा ४ प्रतिशतले घटेको छ । कम्प्युटर र इलेक्ट्रोनिक्स उद्योगहरूमा सबैभन्दा धेरै प्रभाव परेको छ । भियतनाम, मेक्सिको र ताइवान क्षेत्र यस परिवर्तनका मुख्य लाभार्थी हुन् । ताररहित सञ्चार उपकरण, मुद्रित सर्किट बोर्ड पार्टपुर्जा र सेमिकन्डक्टरजस्ता तीन प्रमुख हाइ–टेक उद्योगहरूको आपूर्ति श्रृङ्खलाहरू चीनबाट बाहिरिँदै छन् ।
चीन र अमेरिकाबिच बढ्दो व्यापार तनावले प्रभावित कम्पनीहरूको लागि चीनमा उत्पादन लागत र अनिश्चितता बढाएको छ । चीनमाथिको आफ्नो निर्भरता कम गर्न र चिनियाँ बजारमा आफ्नो सञ्चालनलाई स्थिर बनाउन केही विदेशी कम्पनीहरूले आफ्नो आपूर्ति शृङ्खलाको लचिलोपन सुधार गर्न ‘चाइना+१’ रणनीति अपनाउन थालेका छन् । चीन–अमेरिकाबिच भू–राजनीतिक तनाव आपूर्ति श्रृङ्खलाहरूको द्रुत परिवर्तनको सबैभन्दा महत्वपूर्ण कारण हो ।
प्राविधिक डिकपलिङको सबैभन्दा ठूलो प्रभाव सेमिकन्डक्टर उद्योगले महसुस गरेको छ । सेमिकन्डक्टरको क्षेत्रमा संयुक्त राज्य अमेरिकाको आधिपत्य छ । बिक्री, नाफा र नवप्रवद्र्धनमा विश्वका १५ ठूला सेमिकन्डक्टर कम्पनीहरूमध्ये आठ अमेरिकामा छन् । तर, अमेरिकी कम्पनीहरू सम्झौता निर्माण, एसेम्बली र सेमिकन्डक्टरको परीक्षणको लागि लगभग पूर्णरूपमा एसियाली आपूर्ति श्रृङ्खलामा निर्भर छन् ।
अमेरिकी सेमिकन्डक्टर उद्योगले सामान्यतया अनुसन्धानमा आफ्नो वार्षिक आम्दानीको १५–२० प्रतिशत खर्च गर्छ । २०२० मा करिब ४४ अरब डलर खर्च भएको थियो । अन्य देशहरूको तुलनामा अनुसन्धान खर्चले अमेरिकालाई चिप डिजाइन र निर्माण प्रविधिमा तुलनात्मक लाभ दिएको छ ।
अमेरिकाले २०२० मा हङकङसहित चीनमा लगभग १४ अरब डलर एकीकृत सर्किटहरू निर्यात गरेबाट अमेरिकाको लागि चिनियाँ सेमिकन्डक्टर बजारको महत्व पुष्टि गर्छ । चीनमा यसको सेमिकन्डक्टर बिक्री २०२१ मा लगभग १२ अरब डलर थियो । यो विश्वव्यापी बिक्रीको लगभग ३५ प्रतिशत हुन आउँछ । यदि संयुक्त राज्य अमेरिकाले चीनबाट प्राविधिक डिकपलिङ जारी राख्छ भने यसको प्रभाव दोधारे तरबार हुने निश्चित छ । किनकि, २०२० मा प्रकाशित एक रिपोर्टका अनुसार यदि अमेरिकाले सेमिकन्डक्टर उद्योगमा डिकपलिङ नीति जारी राख्छ भने सेमिकन्डक्टरमा यसको विश्वव्यापी नेतृत्व दक्षिण कोरियाले प्रतिस्थापन गर्नेछ । प्राविधिक डिकपलिङले अमेरिकाको लागि बजार साझेदारी घटाउन सक्छ ।
बाइडेन प्रशासनको वर्तमान नीतिलाई हेर्दा प्राविधिक डिकपलिङ एक स्थापित सरकारी नीति भएको छ । तर, यो नीतिले अमेरिकालाई लामो समयसम्म फाइदा पु¥याउन सक्दैन भने अन्ततः यसले दुबै पक्षलाई घाटा हुने अवस्थामात्र निम्त्याउनेछ । त्यसको तीतो फल अमेरिकाले नपाएसम्म नीतिमा परिवर्तन नआउने अनुमान गर्न सकिन्छ । अर्कोतिर अमेरिकाको यो कदम विषम परिस्थितिको लागि पूर्णरूपमा तयार हुन चीनको लागि एक खबरदारी हो । विशेषगरी उच्च सेमिकन्डक्टरमा चिनियाँ अनुसन्धानको लागि प्रभावकारी मार्ग खोज्नुपर्छ । ताकि सकेसम्म चाँडो अमेरिकी षड्यन्त्रबाट चीन बाहिर निस्कन सकोस् ।
स्रोत : कन्टेम्पोररी वल्र्ड
अनुवाद : राजन

Leave a Reply

Your email address will not be published. Required fields are marked *