विल्हेम वेट्लिङबारे सङ्क्षिप्त जीवनी
- श्रावण १, २०८३
हामी दोस्रो कार्यकालको लागि निर्वाचित भएको आठ महिना बित्यो । आजको दिन हामीलाई निर्वाचित गर्ने आदरणीय नगरवासीहरूलाई हामी उच्च सम्मानका साथ धन्यवाद ज्ञापन गर्दछौँ । तपाईँहरूको अमूल्य मतको कारण हामीले भक्तपुर नगरको विकास र समृद्धिको जिम्मेवारी पाएका छौँ ।
आज १३ औँ नगरसभा बस्दै छौँ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १९ मा हरेक वर्ष दुईपटक नगरसभा बस्नुपर्ने कानुनी व्यवस्था छ । नेपालको संविधान, २०७२ ले सङ्घ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकारको व्यवस्था गरेको छ । ती सरकारहरूबिच सहअस्तित्व, समन्वय र सहकार्यमा जोड दिएको छ । तर, व्यवहारमा भने त्यस्तो हुन सकिरहेको छैन ।
नगरसभा नगरपालिकाको व्यवस्थापिका हो । सभाले संविधान र कानुनले दिएको अधिकार प्रयोग गरी नगरपालिकाको लागि आवश्यक ऐन—कानुन, नीति नियम, निर्देशिका तथा कार्यविधिहरू तयार गर्ने गर्छ । यो नगरपालिकाको सर्वोच्च निकाय हो ।
भक्तपुरलाई ज्ञानविज्ञानको केन्द्र बनाउने, पर्यटकीय गन्तव्यस्थलको रूपमा विकास गर्ने र सांस्कृतिक नगर घोषणा गर्ने उद्देश्यअनुसार भक्तपुर नगरपालिका अगाडि बढ्दै छ । त्यसको निम्ति नगरपालिकाले शिक्षा, स्वास्थ्य उपचार, संस्कृति र सम्पदा संरक्षण, खेलकुद, सरसफाइ तथा विकास निर्माणमा जोड दिइरहेको छ ।
हाम्रा अग्रजहरूले भक्तपुरको विकास र समृद्धिको लागि चालेका पाइलालाई अझ अगाडि बढाउन हामी निरन्तर प्रयत्नशील छौँ । हामी तत्कालीन र दीर्घकालीन योजनाका साथ अगाडि बढ्दै छौँ । सम्पदा संरक्षण, सरसफाइ र अन्य विकास निर्माण हाम्रो तत्कालीन कार्यक्रम हो भने नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले कल्पना गर्नुभएको ‘१०० वर्षपछिको भक्तपुर’ हाम्रो दीर्घकालीन उद्देश्य हो ।
हरेक वर्ष सांस्कृतिक प्रतियोगिताको आयोजना, सांस्कृतिक गुरुहरूको सम्मान, सम्पदा संरक्षण, मौलिक शैलीका घर निर्माण गर्नेहरूको लागि अनुदानको व्यवस्था, विभिन्न विदेशी भाषाहरूको तालिम र शिशुस्याहारदेखि कलेजहरूसम्म सञ्चालन तथा विश्वविद्यालय सञ्चालनको पहल दीर्घकालीन उद्देश्य पूरा गर्ने हाम्रा तयारीका कदमहरू हुन् ।
स्थानीय तहको विकासको लागि पूर्ण स्वायत्तता हुनु आवश्यक छ । स्वायत्तताको नाउँमा स्थानीय तहमाथि सङ्घ र प्रदेशको हस्तक्षेप नै अहिलेको मुख्य समस्या हो । हामी विभिन्न चुनौतीहरूबिच काम गर्दै छौँ । कर्मचारी भर्ना, अस्थायी र स्थायीको लागि प्रदेश लोकसेवाको मुख ताक्नुपर्ने, सङ्घ र प्रदेश सरकारले अनुदानलाई बढाउनुको सट्टा सशर्त बजेट बढाउँदै लाने र आर्थिक वर्षको अन्तिममा मात्र बजेट निकासा पठाउने जस्ता कामहरूले स्थानीय तहबाट हुने विकास निर्माणका कामहरू प्रभावित भएका छन् ।
सङ्घ, प्रदेश र स्थानीय तीन तहका सरकारहरू स्वायत्त छन् र कोही कसैको मातहत वा अधीनमा बस्नु नपर्ने संविधानको भावना हो । सङ्घ र प्रदेश सरकारहरूले स्थानीय तहलाई आफ्नो मातहतको निकायजस्तो व्यवहार गर्नु स्वायत्तता र संविधानको भावनाविपरीत छ । हामीलाई कुनै पनि निकायको हस्तक्षेप स्वीकार्य छैन ।
आयव्यय :
यस नगरपालिकको चालु आ.व २०७९÷८० को पहिलो ६ महिनामा ७३ करोड ५ लाख ९ हजार रूपैयाँ आम्दानी भएको छ, जुन यस वर्षको अनुमानित आयको ३४.५३ प्रतिशत हो । त्यस्तै खर्चतर्फ चालु आ.व.को ६ महिनामा चालुतर्फ ५१ करोड ९९ लाख ७१ हजार र पुँजीगततर्फ ११ करोड ८२ लाख १४ हजार गरी जम्मा ६३ करोड ८१ लाख ८६ हजार खर्च भएको छ । यो कुल बजेटको २९.२२ प्रतिशत हो । नगरपालिकाको आन्तरिक आयमा वृद्धि गरी आम्दानीअनुसार सेवा प्रवाह र विकास निर्माणलगायतका क्षेत्रमा सन्तुलित खर्च गर्ने प्रयास गरिरहेका छौँ ।
क) शिक्षा
भक्तपुर नगरपालिकाबाट दुईवटा इन्जिनियरिङ कलेजसहित ८ वटा शैक्षिक संस्थाहरू सञ्चालन गरी देशभरिकै विद्यार्थीहरूलाई कम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको सर्वविदित्तै छ । यस वर्ष पूर्वाञ्चल विश्वविद्यालयबाट ख्वप कलेज अफ ल सञ्चालनको स्वीकृति प्राप्त गरेका छौँ । स्वीकृतबमोजिम कूल ६० सीटमा भर्ना लिई बी.ए.एल.एल.बी. को कक्षा पनि सुरु गरिसकेका छौँ । अब भक्तपुरका विद्यार्थीका लागि कानुन पढ्न जिल्ला बाहिर जान नपर्ने भएको छ । नगरपालिकाद्वारा सञ्चालित कलेजहरूले उत्कृष्ट नतिजा दिन सफल भएका छन् । अब कानुनमा पनि उत्कृष्ट परिणामको अपेक्षा छ ।
नगर क्षेत्रभित्र सञ्चालनमा रहेका सामुदायिक विद्यालयहरूको भौतिक सुधारको लागि यो वर्ष ३१ वटा विद्यालयलाई प्रतिविद्यालय वार्षिक रु. ५०,०००।— को दरले अनुदान, १ वटा विद्यालयलाई पुस्तकालय स्थापना तथा व्यवस्थापन, किताब खरिद र ई—पुस्तकालयसमेत व्यवस्था गर्न रु. ६,५०,०००।—, विज्ञान प्रयोगशाला निर्माणको लागि एउटा विद्यालयलाई रु. ६,५०,०००।— वितरण गर्ने तयारी गर्दै छौँ । सामुदायिक विद्यालय सुधार गरी शैक्षिक स्तर वृद्धिका लागि भक्तपुर नगरपालिका निरन्तर लागिरहेको छ ।
विद्यालयको शैक्षिकस्तर सुधार र आन्तरिक प्रतिस्पर्धाबाट शैक्षिक गुणस्तरमा अभिवृद्धि ल्याउन उत्कृष्ट सिकाइ उपलब्धि भएको विद्यालयलाई प्रोत्साहन अनुदान प्रतिविद्यालय रु. २,००,०००।—, नमुना विद्यालय सेवा अनुबन्धको आधारमा नियुक्ति भएका प्र.अ. र शिक्षकको लागि प्रोत्साहन अनुदान प्रतिविद्यालय रु. २,००,०००।— र नमुना विद्यालयको शैक्षिक तथा व्यवस्थापकीय योजना कार्यान्वयनको लागि कार्य सम्पादनमा आधारित अनुदान प्रतिविद्यालय रु. ३० लाख देखि ५० लाखसम्म उपलब्ध गराउने तयारी गर्दै छौँ ।
नगर क्षेत्रका विद्यालयस्तरीय विद्यार्थीहरूको शैक्षिक गुणस्तर कायम गर्न यस वर्षदेखि एस.ई.ई. तयारी अभ्यास परीक्षा (टेस्ट परीक्षा) र गत वर्षदेखि कक्षा ५ को नगरस्तरीय वार्षिक परीक्षा सञ्चालन गर्यौँ भने कक्षा ८ को नगरस्तरीय परीक्षालाई निरन्तरता दिइआएका छौँ । विद्यालयहरूमा दिवा खाजा र स्यानिटेरी प्याड वितरण गर्दै आएका छौँ ।
यस नगर क्षेत्रका सामुदायिक विद्यालयका शिक्षकहरूलाई यस वर्ष शिक्षण सिकाइमा प्रविधि (क्ष्ऋत्) प्रयोगसम्बन्धी तालिम र लेखासम्बन्धी तालिम दिइसकेका छौँ ।
संस्कृति, इतिहास, अर्थशास्त्र, राजनीतिशास्त्र, नेपालभाषामा उच्च शिक्षा अध्ययन गर्न चाहने नगरवासी विद्यार्थीहरूलाई दिँदै आएको छात्रवृत्तिलाई यो वर्ष पनि निरन्तरता दिएका छौँ । स्नातक र स्नातकोत्तर तहका अतिरिक्त यो वर्ष राजनीतिशास्त्र र संस्कृति विषयमा एम.फिल÷विद्यावारिधि अध्ययन गर्ने तीन जनालाई छात्रवृत्ति प्रदान गरेका छौँ । हाल चारजना विद्यार्थीहरूले भक्तपुर नगरपालिकाको छात्रवृत्तिमा एमफिल र विद्यावारिधि गर्दै छन् । त्यसैगरी, गरिब विद्यार्थीहरूलाई प्रदान गर्ने शैक्षिक ऋणलाई निरन्तरता दिँदै छौँ । यसअघि ३१४ जना विद्यार्थीहरूले रु. ५ लाखको दरले ऋण सुविधा लिएर उच्च शिक्षा हासिल गरिरहेकामा यो वर्ष थप १५९ जनाको शैक्षिक ऋण स्वीकृत गरेका छौँ । कूल ४७३ जना विद्यार्थीले शैक्षिक ऋणमार्फत उच्च शिक्षा अध्ययन गर्ने अवसर पाएका छन् ।
ख) स्वास्थ्य
जनताको स्वास्थ्यबारे भक्तपुर नगरपालिका अत्यन्त सचेत छ । स्वास्थ्य क्षेत्रमा निजीकरणको प्रभाव बढ्दै गइरहेको वर्तमान अवस्थामा स्थानीय तहले अस्पताल सञ्चालन गर्नु कम चुनौतीपूर्ण थिएन । जनतालाई सहज, छिटो र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने हाम्रो मुख्य उद्देश्य हो । विभिन्न बाधा व्यवधानहरूबिच नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताललाई २०७९ साल जेठ २३ गते बाग्मती प्रदेश सरकारबाट १०० शøयाको सञ्चालन अनुमति प्राप्त भयो । ख्वप अस्पतालप्रति जनताको विश्वास बढ्दो छ । आवश्यक जनशक्तिको व्यवस्था गरी अस्पतालले दिने सेवा थप प्रभावकारी बनाउने प्रयास गर्दै छौँ ।
आ. व. २०७९÷८० साउनदेखि पौष मसान्तसम्म ६ महिनाको अवधिमा ख्वप अस्पतालले भक्तपुरलगायत विभिन्न ६० जिल्लाका कूल १ लाख ६ हजार ४ सय २६ बिरामीहरूलाई स्वास्थ्य सेवा प्रदान ग¥यो । हाल दैनिक ७५० भन्दा बढी बिरामीहरूलाई सेवा प्रदान गर्दै आएको छ । भक्तपुर नपा वडा नं. ९ च्याम्हासिंहस्थित सामुदायिक आँखा केन्द्रले यस अवधिमा कूल १२ हजार ८ सय ६९ जना आँखाका रोगीहरूलाई उपचार सेवा प्रदान गर्यो । तीमध्ये ३४३ जनाको आँखाको शल्यक्रिया भएको छ । सो अवधिमा नगर आयुर्वेदिक स्वास्थ्य उपचार केन्द्रबाट १,३१० जनाले स्वास्थ्य उपचार सेवा प्राप्त गरे । त्यस्तै भनपा ५ भगवतीस्थान, भनपा २ ब्यासी र भनपा १ सल्लाघारी नःपली सृजना नगरस्थित जनस्वास्थ केन्द्र र सहरी स्वास्थ्य केन्द्रहरूबाट पनि आधारभूत स्वास्थ्य सेवा प्रदान गर्दै आएका छौँ ।
भक्तपुर नगरपालिकाको ७३ औँ स्थापना दिवसको अवसरमा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) बाट २०७९ पुस २ गते ख्वप अस्पतालको नयाँ भवन उद्घाटन र ‘कोभिड नियन्त्रणमा भक्तपुर नगरपालिका’ पुस्तक सार्वजनिकीकरण भयो । हाल आवश्यक स्वास्थ्य उपकरणहरू थप गर्दै ख्वप अस्पतालको नयाँ भवनबाट सेवा प्रवाह सुरु गर्दै छौँ । ख्वप अस्पतालबाट यस आ.व.देखि अन्य सेवाको अतिरिक्त मुटुरोग र मानसिक रोगसम्बन्धी थप विशेषज्ञ सेवा सुरु गरेका छौँ । ख्वप अस्पतालले २०७९ माघ ७ गतेदेखि मेजर अपरेसन सेवा पनि सुरु गरेको छ ।
नगरवासीहरूलाई निःशुल्क अक्सिजन र रगतको पनि व्यवस्था गर्दै आएका छौँ । त्यसको लागि महिनाको लाखौँ रूपैयाँ नगरपालिकाले खर्च गर्दै आएको छ । घरदैलो नर्सिङ सेवालाई थप प्रभावकारी बनाउँदै वडा—वडामा दम, खोकी तथा श्वासप्रश्वास रोगसम्बन्धी शिविर, आँखा शिविर, पाठेघर परीक्षण तथा अन्य सामान्य रोगसम्बन्धी स्वास्थ्य शिविर सञ्चालनलाई निरन्तरता दिँदै छौँ । सामुदायिक विद्यालयहरूमा हरेक शुक्रबार विद्यालय स्वास्थ्य कार्यक्रम सञ्चालन पनि सुरु गर्दै छौँ । यस अवधिमा देशव्यापीरूपमा फैलिएको डेङ्गु रोग रोकथाम र नियन्त्रणको लागि आवश्यक जनचेतनामूलक कार्यक्रम तथा अभियान पनि सञ्चालन ग¥र्यौं । जनतालाई स्वास्थ्य उपचारमा सहज पहँुचको निम्ति वडा वडामा आधारभूत स्वास्थ्य केन्द्रहरू सञ्चालन गर्दै आएका छौँ भने ख्वप अस्पतालमा प्रसूति सेवा सञ्चालन गर्ने तयारी गर्दै छौँ ।
भक्तपुर नगरपालिकाभित्र सञ्चालित सरकारी अस्पतालहरूमध्ये भक्तपुर अस्पताल बाग्मती प्रदेशकै उत्कृष्ट सेवा दिने अस्पतालको रूपमा विकास हँुदै छ भने विशिष्टिकृत अस्पतालहरू भक्तपुर क्यान्सर अस्पताल र सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले देशभरिकै जनतालाई सेवा प्रदान गरिरहेको छ । यस अर्थमा स्वास्थ्य सेवामा जनताको छिटो—छरितो सहज पहुँच पुग्ने भक्तपुर पहिलो नगर हो भनेर दाबी गर्दा अन्यथा नहोला ।
ग) संस्कृति तथा सम्पदा संरक्षण
२०७२ सालको विनाशकारी भूकम्पबाट क्षति पुगेका यस नगरपालिका क्षेत्रका अधिकांश सम्पदाहरू पुनःनिर्माण र जीर्णोद्धार सम्पन्न भइसकेका छन् । बाँकी सम्पदाहरूको पनि पुनःनिर्माण र जीर्णोद्धारको काम हुँदै छ । यस आर्थिक वर्षको सुरुको ६ महिनामा ३ वटा मन्दिर, ५ वटा पाटी, १ वटा द्योछेँ, १ वटा पोखरी र १ वटा अन्य गरी ११ वटा सम्पदाहरूको पुनःनिर्माण सम्पन्न भयो । जसमध्ये भ.न.पा ५ स्थित बेताल द्योछेँ, भजन मण्डल घर र ढुङ्गेधारा रहेका छन् भने भ.न.पा ८ स्थित दुवेंकेगु फल्चा र हरिशङ्कर मन्दिर, वन्ती पाटी, महेश्वरी क्षेत्रको २ वटा सत्तल मुख्यरूपमा छन् । हाल ८ वटा मन्दिर, ५ वटा पाटी, २ वटा द्योछेँ र ४ वटा अन्य गरी २१ वटा सम्पदाहरू पुनर्निर्माण तथा जीर्णोद्धार कार्य चालू अवस्थामा छन् । भनपा वडा नं. ३ दरबार क्षेत्रस्थित थन्थु दरबार पुनःनिर्माणको निम्ति नगर प्रमुखको अध्यक्षतामा पुनःनिर्माण समिति गठन गरी प्रक्रिया अगाडि बढाइसकेका छौँ ।
हरेक वर्षझैँ यस वर्ष पनि गाईजात्रा पर्वमा प्रस्तुत सांस्कृतिक विधाहरूको प्रतियोगिता गरी उत्कृष्ट भएका विधाहरूलाई पुरस्कार वितरण तथा सांस्कृतिक गुरुहरूलाई सम्मान कार्यक्रम सम्पन्न ग¥यौँ । हरेक वर्ष एउटा साँस्कृतिक विधाको प्रतियोगिता गर्ने निर्वाचन घोषणापत्रअनुसार यस वर्ष पनि जनताको सुझावअनुसारको प्रतियोगितालाई अगाडि बढाउने छौँ ।
घ) खेलकुद
भक्तपुर नगरपालिकाको आयोजनामा यस वर्ष नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता मिति २०७९ पुस ५ देखि ९ गतेसम्म सम्पन्न भयो । ७९ वटा विद्यालयले भाग लिएको उक्त प्रतियोगितामा कूल २६९८ जना खेलाडीहरूले भाग लिएका थिए । प्रतियोगितामा १४ वटा खेल विधाहरू समावेश थिए । २०७९ फागुन ५ देखि ९ गतेसम्म अन्तरनगर खो खो प्रतियोगिता सञ्चालन हुँदै छ । त्यसका लागि नगरपालिकाले आवश्यक तयारी गरिरहेको छ । विभिन्न ६ वटा खेलको नियमित प्रशिक्षणका साथै खेलकुदका लागि आवश्यक पूर्वाधार निर्माण गर्दै छौँ । त्यस क्रममा भ.न.पा १० महालक्ष्मीस्थानस्थित कभर्ड हल पुनर्निर्माण कार्य चालू छ भने भ.न.पा. ८ स्थित कभर्ड हल निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएका छौँ । नागरिकहरूको स्वास्थ्यलाई ध्यानमा राखी खुला व्यायामशालाहरूलाई थप सामग्रीहरूको व्यवस्था गरी स्तरोन्नति पनि गर्दै छौँ । त्यसैगरी, भनपाबाट प्रशिक्षक प्रशिक्षण तालिम सञ्चालन र विभिन्न ६ वटा खेल भलिबल, कबड्डी, तेक्वान्डो, उसु, कराँते, एथ्लेटिक्स खेलमा राष्ट्रपति कप खेलकुद प्रतियोगिता पनि सम्पन्न ग¥यौँ ।
काठमाडौँ महानपाको आयोजनामा भएको मेयर कप तेक्वान्डो प्रतियोगितामा भक्तपुर नपा तेस्रो हुन सफल भयो । युवाहरूलाई सक्रिय बनाउन समाज परिवर्तनमा युवाहरूको भूमिका विषयक वडा वडामा अन्तरक्रिया कार्यक्रम भइरहेको छ ।
ङ) वातावरण तथा सरसफाइ
फोहर व्यवस्थापन हाम्रो चुनौती हो । नगरलाई सधैँ सफा राख्न सरसफाइबारे नगरवासीहरूलाई नियमित जनचेतनामूलक कार्यक्रमहरू गर्नुका साथै घर—घरबाटै कुहिने र नकुहिने फोहर अलग—अलग सङ्कलनको व्यवस्था मिलाएका छौँ । कुहिने फोहोरबाट कम्पोष्ट मल बनाई किसानहरूलाई बिक्री वितरण गर्दै आएका छौँ भने घर–घरमा कम्पोष्ट विन वितरण र नगरवासीहरूलाई सघनरूपमा कौसी खेतीको तालिम पनि नियमितरूपमा दिइरहेका छौँ । हरेक महिनाको १ गते र १५ गते जनप्रतिनिधि, कर्मचारीहरू, स्थानीय टीम, क्लवसमेतको सहभागितामा ठाउँ—ठाउँमा सफाइ कार्यक्रमहरू सञ्चालन गर्दै आएका छौँ । यसले नगरलाई सफा राख्न मद्दत पुगेको हाम्रो अनुभव छ ।
च) खानेपानी
खानेपानी समस्या समाधानका लागि हाम्रो प्रयास निरन्तर जारी छ । खानेपानीको सहज वितरणका लागि काठमाडौँ उपत्यका खानेपानी लि. र उपत्यका खानेपानी बोर्डसँग समन्वय गरेर काम गर्दै छौँ । भक्तपुर नगरको पश्चिम (कोने) मा मेलम्ची खानेपानी वितरणले केही सहज भएको छ । नगरकोटको पानी पर्याप्त नहँुदा नगरको माथिल्लो क्षेत्र (थने) का जनतामा पानीको समस्या थप जटील बन्दै छ । समस्या समाधानका लागि मेलम्ची नै उचित विकल्प हो । अहिले नयाँ पाइपलाइन विस्तारको लागि हामीले प्रयास गरिरहेका छौँ । त्यसको अलावा ठाउँ ठाउँमा डीप बोरिङ गरी खानेपानी वितरण गर्दै आएकोमा यस वर्ष भ.न.पा १ सल्लाघारी स्थित दुग्धचिस्यान केन्द्रसँगै डीपबोरिङ गरी पानी वितरण गर्न ३ लाख लिटरको खानेपानी ट्याङ्की निर्माण कार्य भइरहेको छ । त्यसैगरी भ.न.पा ९ तुमचो दुगुरे चोखा क्षेत्रमा पनि डीप बोरिङको पानी वितरणको व्यवस्था मिलाउँदै छौँ ।
छ) युवा तथा रोजगार
युवाहरूलाई आत्मनिर्भर बनाउन सीपमूलक तालिमहरूलाई निरन्तरता दिँदै छौँ । हाल युवा तथा महिला लक्षित पाक शिक्षा, हेयर कटिङ, आधारभूत सिलाइ र बुटिक तालिम सञ्चालन भइरहेको छ भने चिनियाँ भाषा र जापानी भाषाको तालिमको लागि आवश्यक तयारी भइरहेको छ । त्यसैगरी, नेपाल सरकारबाट प्राप्त युवा उद्यमशील ऋण अनुदान लक्षित समूहसम्म पु¥याउन आवश्यक प्रक्रियाको तयारी गर्दै छौँ । महिला उद्यमीहरूलाई प्रविधि सहयोग उपलब्ध गराउने नेपाल सरकारको कार्यक्रमअन्तर्गत प्राप्त अनुदान सहयोग उपलब्ध गराउन पनि पहल भइरहेको छ ।
ज) कृषि
नगर क्षेत्रका कृषकहरूको लागि आवश्यक नेपाल सरकारबाट अनुदान प्राप्त रासायनिक मल उपलब्ध गराउन डिलरसीप प्राप्त सहकारी संस्थाहरूलाई समय समयमा कृषि सामग्री कम्पनी लि. बाट प्राप्त विवरणअनुसार युरिया र डी.ए.पी. मल उपलब्ध गराउन सिफारिसको साथै मल बिक्री गर्न डिलरसीपको लागि नियमानुसार विभिन्न सहकारी संस्थाहरूलाई सिफारिस दिइरहेका छौँ । किसानहरूलाई कृषिसम्बन्धी आवश्यक तालिमहरू दिँदै आएका छौँ । किसानहरूलाई कम्पोष्ट मल प्रयोग गर्न उत्साहित गर्नुका साथै माटोको उर्वराशक्ति बढाउन, कृषि चुन सहुलियत दरमा वितरण गर्दैै आएका छौँ ।
झ) सहकारी
बचतकर्ताहरूको रकम लिएर सहकारी सञ्चालकहरू भाग्ने गरेका समाचारहरू आइरहेका छन् । सम्भावित कुरालाई ध्यानमा राखी सहकारी सञ्चालक र बचतकर्ताहरूसँग पटक—पटक बैठक बसी सबैलाई सचेत गर्दै आएका छौँ । यद्यपि, नगर क्षेत्रका केही सहकारीहरूबाट बचतकर्ताहरूको बचत रकम फिर्ता नगरिएको भन्ने गुनासो पनि आइरहेको छ । जनताको गुनासो सम्बोधन गर्न सम्बन्धित सहकारी संस्थाका पदाधिकारी र बचतकर्ताहरूको संयुक्त बैठक गरी समस्या समाधानको प्रयास गर्दै छौँ । भक्तपुर नगरपालिकामा बचतकर्ताहरूबाट बचत रकम फिर्ता नदिएको गुनासो आएपछि सञ्चालक र पदाधिकारीहरूको नाउँमा जिल्ला प्रशासन कार्यालय, भक्तपुरमा आवश्यक कारबाहीको लागि पत्राचार, भूमिसुधार तथा मालपोत कार्यालय, भक्तपुर र काभ्रेपलाञ्चोकलगायतमा रहेका घर जग्गालगायत अचल सम्पत्ति रोक्काको लागि आवश्यक पत्राचार गरिसकेका छौँ ।
सहकारी संस्थाहरूमा जम्मा भएका बचत रकमलाई स्थानीय स्रोत र साधन परिचालन हुने गरी उत्पादनमूलक क्षेत्रमा लगानी गर्न छलफललाई अगाडि बढाउँदै छौँ । साथै समय समयमा सहकारी सङ्घसंस्थाहरूको अनुगमन गरी आवश्यक निर्देशन दिने र सहकारी संस्थाहरूको लेखा प्रणाली तथा व्यवस्थापकीय कार्य सफ्टवेयरमार्फत सञ्चालन गर्न आवश्यक प्रविधि तालिम प्रदान गरेका छौँ ।
ञ) पर्यटन
पर्यटन भक्तपुर नगरपालिकाको आयको महत्वपूर्ण स्रोत हो । भक्तपुरलाई पर्यटकीय गन्तव्यस्थलको रूपमा विकास गर्न हाम्रो प्रयास जारी छ । नगरको पर्यटन उत्थान गर्ने उद्देश्यले सम्पदा पदयात्रा तथा योमरी प्रदर्शनी एवम् सांस्कृतिक कार्यक्रम हालै सम्पन्न ग¥यौँ । पर्यटकहरूको सेवासुविधा विस्तार गर्ने क्रममा भ.न.पा ९ दत्तात्रयमा पर्यटक शौचालयसहितको पर्यटक सूचना केन्द्र स्थापना गरी सञ्चालनमा ल्यायौँ भने भ.न.पा. २ ब्यासीस्थित पर्यटन सूचना तथा सेवा केन्द्रमा आवश्यक फर्निचर, कम्प्युटर र टेलिभिजनलगायतको व्यवस्था गरी स्तरोन्नति गरेका छौँ । त्यसैगरी, नगरको सुरक्षा व्यवस्थाको लागि सीसी क्यामेरा र सडक बत्ती जडान गर्ने कार्य भइरहेको छ ।
कोभिड महामारी, रुस—युक्रेन युद्ध, डेङ्गु महामारीलगायतले प्रभावित भएको पर्यटन उद्योगले यस वर्ष बिस्तारै पुनर्जीवन प्राप्त गर्दै छ । चालु आ.व. को सुरुको ६ महिना (साउनदेखि पुससम्म) मा ७३,५७५ जना विदेशी पर्यटकले भक्तपुरको अवलोकन भ्रमण गरेको रेकर्ड छ । यो गत वर्षको तुलनामा ६२,९७३ जनाले वृद्धि हो । यस अवधिमा पर्यटन क्षेत्रबाट रु. ६ करोड ८८ लाख ५४ हजार ८ सय रूपैयाँ र ३ हजार ६ सय ४५ डलर आम्दानी भएको छ ।
ट) विकास निर्माण
भ.न.पा. ३ स्थित हनुमन्ते खोलामा बाराही पुल निर्माण र भ.न.पा. ७ हनुमानघाटस्थित २ वटा सुधारिएको शवदाह गृह निर्माण सम्पन्न भयो । साथै भनपा १ स्थित सिद्धपोखरीको दक्षिणतर्फ र नःपुखुको उत्तरपश्चिमतर्फ गरी २ वटा गाडी र मोटरसाइकल पार्किङ निर्माण सम्पन्न गरेका छौँ । भ.न.पा ६ ख्यो पुखुचामा आदर निकेतन भवन र भ.न.पा. १० महालक्ष्मीस्थानमा जनस्वास्थ्य केन्द्र भवन निर्माणाधीन अवस्थामा छन् । त्यसको अलावा वडा—वडामा इँटा छाप्ने, ढुङ्गा छाप्नेलगायतका अन्य विकास निर्माणका कामहरू भइरहेका छन् । शीतभण्डार निर्माणको लागि प्रक्रिया अगाडि बढाइसकेका छौँ । भनपा ९ स्थित ब्रह्मायणी पुल निर्माण अन्तिम चरणमा पुगेको छ भने भनपा ८ लिबालीस्थित लर्के पुल निर्माणाधीन छ । हनुमन्त्ते करिडोर निर्माणको लागि ठाउँ—ठाउँमा रिटेनिङ वाल निर्माण कार्य हुँदै छ ।
ठ) विविध
१. भक्तपुर नगरपालिका भूउपयोग परिषद् गठन गरी यस नगर क्षेत्रमा कृषि क्षेत्र नरहेको निर्णय गरी सम्बन्धित कार्यालयमा जानकारी पठाइसकेका छौँ ।
२. नगरपालिकाको नगर प्रहरी ऐन, २०७५ मा व्यवस्था भएबमोजिम नगर प्रहरी व्यवस्था गर्न प्रकृया अगाडि बढाउँदै छौँ ।
३. नगर क्षेत्रको भुस्याहा कुकुर नियन्त्रण गर्न कुकुर बन्ध्याकरण कार्यक्रम सञ्चालन र रेविजविरुद्धको खोप अभियान चालू छ ।
४. यस नगरपालिकाद्वारा सञ्चालित देको मिवा इतापाके आवास योजनाको नक्सा स्वीकृत गरी क्रमशः लालपुर्जा वितरण गर्ने काम भइरहेको छ ।
५. ख्वप टेलिभिजन सञ्चालनको लागि आवश्यक अनुमति प्राप्त गरी स्टुडियो निर्माण र जनशक्ति तयार गर्ने प्रकृया अगाडि बढाउँदै छौँ ।
६. यस वर्ष नगरपालिकाद्वारा सञ्चालित ख्वप बहुप्राविधिक अध्ययन संस्थानले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित १०० शøयाको ख्वप अस्पतालको स्वीकृतिको आधारमा नर्सिङ कक्षाको पुनः सञ्चालन गरेको छ ।
७. भक्तपुर नगरपालिकाद्वारा सञ्चालित जनज्योति पुस्तकालयलाई ई—लाइब्रेरीको रूपमा स्तरोन्नति गर्ने कार्य अन्तिम चरणमा पुगेको छ ।
८. अपाङ्गता भएका व्यक्तिहरू लक्षित कार्यक्रम गरी विभिन्न सहयोग सामग्रीहरू वितरण गरियो ।
९. चालु आ.व.को ६ महिनाभित्र सामाजिक सुरक्षा भत्ताअन्तर्गत प्रथम र दोस्रो किस्ता गरी जम्मा १४ करोड ४५ लाख ५९ हजार ६ सय ५४ रूपैयाँ वितरण गरियो ।
१०. समय समयमा बजार अनुगमन गरी अनियमित गर्नेहरूलाई कानुनबमोजिम दण्ड जरिवाना गर्ने काम भइरहेको छ ।
११. यस नगरपालिकाको राजस्व सङ्कलन अनलाइन भुक्तानी प्रणालीमार्फत गर्न ई—सेवा, खल्ती र कनेक्ट आइ.पी.एस. कम्पनीहरूसँग आवश्यक सम्झौता गरी परीक्षण कारोबार सुरु गरिसकेका छौँ ।
१२. चालु आ.व.को ६ महिनामा यस नगरपालिका क्षेत्रमा १५६ वटा नयाँ नक्सा दर्ता भए भने सो अवधिमा १६८ वटा नक्सा पास भएका छन् ।
१३. यस नगरपालिकाका पुराना नक्सा फाइलहरू डिजिटाइजेसन गर्ने काम भइरहेको छ । हालसम्म २८०० वटा (१९ प्रतिशत) डिजिटाइजेसन भइसकेका छन् । बाँकी नक्साहरूको पनि डिजिटाइजेसन गर्ने काम जारी छ ।
१४. भक्तपुर नगरपालिकाको स्थापना दिवसको अवसरमा कार्यरत कर्मचारीहरूलाई अभिप्रेरित गर्न उत्कृष्ट कर्मचारीहरूलाई कदर गरियो ।
१५. प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन सफल पार्न मतदाता शिक्षा कार्यक्रम सञ्चालन र आवश्यक प्रचारप्रसारको लागि स्वास्थ्य स्वयम्सेविकाहरू परिचालन गरी घरदैलो कार्यक्रम सञ्चालन गर्नुका साथै निर्वाचनसँग सम्बन्धित आवश्यक अन्य विभिन्न कार्यको लागि सहजीकरण गरियो ।
१६. चालु आ.व. २०७९÷८० को सुरुको ६ महिनामा कडा रोग लागेको नगरवासीहरूको लागि नेपाल सरकारबाट उपलब्ध हुने सुविधाका लागि १२० जना बिरामीहरूलाई विपन्न सिफारिसका साथै नगरपालिकाबाट प्रदान गर्ने प्रतिव्यक्ति रु.१५,०००।– दरले आर्थिक सहयोग प्रदान गरेका छौँ ।
(माघ २३ गते सम्पन्न भक्तपुर नगरपालिकाको तेह्रौँ नगरसभामा व्यक्त नगर प्रमुख सुनिल प्रजापतिको मन्तव्य–सं.)
Leave a Reply