भक्तपुर–साँखु सडक निर्मँणमा किन ढिलाइ ?
- कार्तिक १८, २०८३
राष्ट्रिय दैनिक ‘गोरखापत्र’ को १६ माघको पहिलो पृष्ठको भक्तपुर टौमढीस्थित विश्व सम्पदामा सूचिकृत ङातापोलसँग गाँसेर ‘पाँचतले मन्दिरको जगलाई असर पार्ने गरी ढुङ्गा फुटाइँदै’ भन्ने शीर्षकको समाचार र १७ गतेको दोस्रो पेजको ‘हतारमा पुरियो खाल्डो’ भन्ने समाचारले हाम्रो ध्यान आकर्षित भएको छ । सत्य–तथ्य नबुझी सम्बन्धित र सरोकारवालासँग सोधपुछ नगरी हतारमा लेखिएको समाचारले अनावश्यक अफवाह र भ्रम फैलाएकोमा हामी खेद प्रकट गर्छौँ ।
सुक्खा याममा पानीको हाहाकार भई उपत्यकाको हरेक सहर र बस्ती काकाकुल भइरहेको अवस्थाप्रति कोही पनि अनभिज्ञ छैन । भक्तपुर टौमढी वरिपरिका केही स्थान जस्तैः क्वाछँे, याता गोल्मढी, खलाँ, गःहिटी टोलहरूमा विगत दसौँ वर्षदेखि पानी नआइरहेकोमा हालैमात्र मेलम्चीको पानी भनपा वडा नं १ देखि ५ वडा टौमढीसम्म वितरण हुन थालेको अवस्थामा क्वाछेँ र यातामा सो पानीको लागि नयाँ खानेपानीको पाइपलाइन बिछ्याउने उद्देश्यले डेढ फुट चौडा र अढाइ फुट गहिराइको खोल्सो खनिएको हो । खोल्सा खन्ने क्रममा ङातापोल मन्दिर परिसरको दक्षिण पूर्वी भागतिर एक वर्ग फुट मोटाइ र करिब चार फुट लम्बाइको लाम्चो ढुङ्गा र तीन फीट लम्बाइ र डेढ फीट चौडा ढुङ्गा करिब डेढ फिटको मुनि देखिएकोमा त्यसलाई जस्ताको तस्तै झिकी त्यसको मुनि पाइप बिछ्याइएको थियो । यी दुई ढुङ्गालाई गलले ठिची झिक्दा हामी जनप्रतिनिधिहरू पनि सँगै थियौँ । यस्ता आकार र साइजका ढुङ्गाहरू र जुन ठाउँमा भेटिएको हो त्यस स्थानसँग मन्दिरको जगसँग केही सरोकारसमेत नरहेको विज्ञहरूको भनाइ छ । उहाँहरूका अनुसार ङातापोल मन्दिरको जग भनेकै त्यसको ‘फ’ अथवा ठूलो आकारमा मन्दिरको वरिपरि बनाइएका अग्ला पेटीहरू हुन् ।
खानेपानीजस्तो जनताको नैसर्गिक अधिकार र संवेदनशील विषयलाई ‘मेलम्चीको पानी खुवाउने बहानामा ढल खनियो’ भन्ने अति गैरजिम्मेवारीपूर्ण शब्दहरू प्रयोग गरी सामाजिक सञ्जालमा पोस्ट गरिएको एउटा सामग्रीलाई आधार मानेर गोरखापत्रमा सम्प्रेषण गरिएको समाचारले एकातिर जनतामा अनावश्यक भ्रम फैलाएको र अर्कोतर्फ मानव जीवनको आधार – पानीसँग गाँसिएको कार्यलाई हल्काफुल्का विषय बनाइनु नितान्त आपत्तिजनक कार्य हो ।
बटुवा र मन्दिरको अवलोकन गर्ने पर्यटकहरूलाई असहज नहोस्, माटो र ढुङ्गाले चोक असरल्ल नदेखियोस् भनी पाइप बिछ्याउन सकिएको ठाउँमा पहिला पुर्ने र त्यहाँ ढुङ्गा छापिसकेपछि मात्र नयाँ खोल्सो खन्ने भन्ने सम्बन्धित वडा कार्यालय र खानेपानी लि.को सहमतिअनुसार सो कार्य सुरु भएकोमा फेरि १७ गतेको गोरखापत्रमा ‘हतारमा पुरियो खाल्डो’ शीर्षकमा अर्को समाचार छापियो । सो समाचारले गोरखापत्रले स्थानीय तह र सम्बन्धित सरोकारवाला कार्यालयहरूको बदनाम गर्न नियतवश तथ्यहीन समाचार सम्प्रेषण गरेको आफँैले प्रमाणित गर्यो । ज्ञातव्य होस्, भक्तपुर नगरपालिका देशमै सम्पदा संरक्षणमा अग्रपङ्क्तिमा रहेको स्थानीय तह हो । यस्तो संस्थालाई सम्पदा संरक्षणमा संवेदनशील नभएको सन्देश जाने गरी समाचार सम्पे्रषण गर्दा गोरखापत्र आफैँले आफ्नो ओज र विश्वसनीयता घटाएको छ । इतिहास बोकेको गोरखापत्रको आफ्नो गरिमामय छविलाई अक्षुण्ण राख्न आउने दिनहरूमा यस्ता भ्रमपूर्ण र तथ्यहीन समाचार सम्प्रेषण नगर्न हामी आग्रह गछौँ ।
५ नं वडा कार्यालय
भक्तपुर नगरपालिका
(भनपा वडा नं ५ ले गोरखापत्र दैनिकलाई पठाएको खण्डनलाई पनि आंशिकरूपमा २३ गते मात्र प्रकाशित गरेकोले पाठकवर्ग र सम्पदालाई माया गर्ने सबैलाई भ्रम नहोस् भन्ने उद्देश्यले ‘मजदुर’ दैनिकमा प्रकाशित गर्न वडाबाट गरेको आग्रहअनुसार वडाले गोरखापत्रलाई पठाएको खण्डनको पूर्णपाठ छापिएको छ ।)
Leave a Reply