भर्खरै :

विश्वबाट एकधु्रवीय महाशक्तिको अन्त्य

विश्वबाट एकधु्रवीय महाशक्तिको अन्त्य

सन् १९९०–१९९१ बाट सोभियत सङ्घ विघटनपछि विश्वमा अमेरिका पहिलो महाशक्तिको रूपमा उदय भयो । सोभियत सङ्घको विघटनको मूलभूत कारण स्तालिनको मृत्युपश्चात् सत्तामा पुगेको नेतृत्वले संशोधनवादी नीति लिनु हो । खु्रश्चेभ, ब्रेझनेभपछि १९८५ मा गोर्वाचोभ नेतृत्वसम्म पुग्दा रुसी कम्युनिस्ट पार्टी विघटन भयो र सोभियत टुक्रियो । गोर्वाचोभको आगमनसँगै रुसले खुलापन, बजार अर्थतन्त्र, विश्वव्यापीकरणजस्ता पुँजीवादी अर्थतन्त्र अवलम्बन ग¥यो । पश्चिमा पुँजीवादी राजनीति रुसमा प्रादुर्भावसँगै रुसी सङ्घबाट अलग हुने स्वतन्त्रता आन्दोलन चर्कँदै गयो । इस्टोनिया, लाट्भिया सोभियत सङ्घबाट टुक्रियो । यसरी नै लिथुआनिया, बेलारुस, मोल्डाभिया, युक्रेन, जर्जिया, अर्मेनिया, अजरवैजानलगायत १५ वटा देश रुसी सङ्घबाट छुटियो । सोभियत सङ्घको पतनसँगै शीतयुद्ध अन्त्य भयो । विश्वमा रुसी महाशक्तिको अस्तित्व समाप्त भयो । अमेरिका एकधुव्रीय महाशक्तिको रूपमा स्थापित भयो । उसले एसिया, ल्याटिन अमेरिका, अफ्रिकालगायतका निर्धन मुलुकमा आफ्नो प्रभाव कायम ग¥यो ।
तर, समयको अन्तरालसँगै अमेरिकाको साम्राज्यवादी शक्तिमा स्थिर हुन सकेन । रुस र युक्रेनको एक वर्ष लामो युद्धसम्ममा विश्वको राजनीतिमा ठूलो उथलपुथल देखाप¥यो । रुसको विघटनपछि विश्वमा युरोपमा पश्चिमा ३० राष्ट्रसँग सैनिक गठबन्धनको नेतृत्व गरेर महाशक्ति बनेको अमेरिका अब अस्ताउँदै छ । यसको डाडागिरी कठपुतली देशहरूको सङ्गठन नाटोभित्र चलेन । नाटो फुटको सङ्घारमा पुगेको छ । रुससँग युद्ध भड्काउन अमेरिकाले युक्रेनमा राष्ट्रपति जेलेन्सकीलाई उक्साउनसम्म उक्सायो र तिमीलाई छुनु नाटोलाई छुनु, अमेरिकालाई छुनु हो भन्नसमेत अमेरिका चुकेन । साँच्चै रुसले सन् २०२२ मा युक्रेनमाथि हमला ग¥यो । तब युक्रेनको पक्षमा न अमेरिकी सेना आयो न त नाटो आयो । अमेरिका आफ्नो हतियार बेच्न छद्मरूपमा युक्रेनलाई मोहडामा राखेर लडाइँ लड्छ । तर, युद्धमा रुसले विजय प्राप्त गर्दै छ । युक्रेनको केही भूभाग गुमाएर भए पनि यो युद्धको अन्त्य गरी सम्झौता गर्नुपर्दछ भनेर नाटो प्रमुखले २२ जून २०२२ मा अभिव्यक्ति दिए । यस अभिव्यक्तिबाट नाटोको तागत रुससँग भिड्ने अब शक्ति रहेन । यसको प्रमुख कारण नाटोभित्रकै धेरै देशहरूले अमेरिकी आर्थिक नाकाबन्दीलाई अस्वीकार गरेका छन् । रुससँग ग्याँस, इन्धन, खरिद गरेका छन् । यतिमात्र होइन खुलेरै हङ्गेरी, क्रोसिया, इस्टोनिया, रुमानिया, तर्की रुससँगको आर्थिक नाकाबन्दीको विरोध ग¥यो । फिनल्यान्ड, स्विडेनलाई तर्कीले आफ्नो भिटो लगाएर नाटोको सदस्य दिन रोकिएको छ । युरोपीय युनियन र अमेरिकी गठबन्धन नाटोद्वारा लगाइएको नाकाबन्दी स्वयम् नाटो र ई. यू. का प्रमुख राष्ट्रहरूले पूर्ण पालन गरेनन् र रुस सङ्घको व्यापार यथावत गरिरहेकै छन् ।
आज रुस र युक्रेनको लडाइँबाट पश्चिमा राष्ट्रहरूमा महँगीले आकाश छोएको छ । दैनिक अत्यावश्यक सामान बजारमा पाउन छोडेको छ । आफ्नै राष्ट्रभित्र जनता सडकमा उत्रिएर युद्धको विरोध गरिरहेका छन् । आर्थिक मन्दी युरोपियन राष्ट्रमा जताततै देख्न थालेका छन् । यसको समाधान हुन सकिरहेको छैन । त्यसकारण, युक्रेनमा राष्ट्रपति जेलेन्सकीले रोइकराइ अमेरिका नाटोका प्रमुख राष्ट्र जर्मन, फ्रान्स, बेलायतसँग आधुनिक हतियार ट्याक्टर, मिसाइल, फाइटर प्लेनको माग गरिरहेका छन् । तर, ती आधुनिक हतियार दिन ती युरोपियन राष्ट्रहरू तयार छैनन् । किनकि, ती हतियार युक्रेनको युद्धमा नभई रुसमाथि हमला गरे युद्ध रुस र नाटोबिच हुन जानेछ । यसलाई मध्यनजर गर्दै ई. यू. का प्रमुख राष्ट्रहरू रुससँग युद्ध हुनसक्ने अवस्था आउन नदिन अमेरिकी दबाबलाई प्रतिरोध गर्दै अस्वीकार गरिरहेका छन् । यतिमात्र होइन युरोपका धेरै देशहरूले रुस र युक्रेन युद्ध चर्किएर अत्यन्त जटिल अवस्थामा पुगेको खण्डमा रुस चीनसँग मिल्ने बाध्यात्मक अवस्था आउने आकलन गरेका छन् । युरोपमा रुसलाई युरोपियन मुलुकको रूपमा लिने गरिन्छ । रुसको राजधानी मस्को युरोपमा पर्दछ । तर, धेरै भूभाग एसियामा पर्दछ । युरोपियनहरू रुस एसियाका देशहरू मिलेर रुस महाशक्तिको रूपमा उदय होला भन्ने ठूलो चिन्तामा छ । रुसी राष्ट्रपति पुटिनले यदाकदा आफ्नो गुमेका पुराना राष्ट्रहरू आफ्नो देशमा पुनः फर्काउने अभिव्यक्ति दिँदै आएका छन् । यसले पनि युरोपियन राष्ट्र रुसदेखि धेरै सशङ्कित छन् ।
तर, अमेरिकी गठबन्धन नाटोका देशहरू आज कमजोर अवस्थामा पुगिसकेको छ । अमेरिका रुसको तुलनामा पहिले नै सैनिक शक्तिमा कमजोर थियो । आज चीनले आर्थिक शक्तिमा पहिलो हुनसक्ने उद्घोष गरिसकेको छ । त्यसकारण, अमेरिकाले चीन प्रमुख शत्रु भएको कुरा घोषणा गरिसकेको छ । चीनलाई ताइवानको युद्धमा फसाएर आफू पहिलो आर्थिक शक्तिमा रहिरहने चाल खेल्दै छ । तर, अबको विश्वको अवस्थामा यो सम्भव छैन । विश्वको राजनैतिक सन्तुलनमा दोस्रो ध्रुवको उदय भइसकेको युक्रेन र रुसको लडाइँबाट स्पष्ट भइसकेको छ । अब दुई ध्रुव वा बहुधुव्रको रूपमा विश्वका शक्ति राष्ट्रहरू एक हुन गइरहेका छन् । दुई ध्रुवको उदयीमान देशहरूमा रुस, चीन, इरान, उत्तर कोरिया, क्युवा, भेनेजुयला, निकारागुवालगायतका देशहरू देखिएका छन् । यी देशहरू अमेरिकी र पश्चिमी साम्राज्यवादसँग कुनै पनि सैनिक र आर्थिकरूपमा लड्न सक्षम छन् । गणितीय हिसाब हेर्ने हो भने सैनिक शक्ति र आधुनिक हतियार रुस, चीन, उत्तर कोरिया, इरान आदि देशहरू कुनै पनि अमेरिका र पश्चिमा देशहरूको तुलनामा कम छैनन् । रुस र युक्रेनको युद्धबाट अमेरिकी गठबन्धन शक्ति राष्ट्रहरू नाटोको पक्षमा कुनै पनि ल्याटिन अमेरिकी देशहरू रहेका छैनन् । अफ्रिकाको कुनै पनि देशहरूले अमेरिका र नाटोलाई समर्थन र साथ दिएनन् ।
अब अमेरिकाले चाहेर पनि कुनै पनि साना मुलुकमा सैनिक हमला गर्नसक्ने ताकत रहेन । जसरी हिजो इराक, लिविया, अफगानिस्तानमा कुनै पनि बहानामा सैनिक हमला गरिएको थियो । अब तेस्रो विश्वका देशहरूको न्यायोचित जनताको आन्दोलनमा अमेरिकाले हस्तक्षेप गर्नसक्ने अवस्था देखिँदैन । किनकि, अमेरिकी साम्राज्यवादको विरोधमा अन्य शक्ति राष्ट्रले साथ र समर्थन पाउने अवस्था श्रृजना भइसकेको छ । यस्तो वर्तमान जल्दोबल्दो उदाहरण सिरियाको युद्ध हो । गत वर्ष प्यालेस्टाइन र लेवनानको हमास लडाकुसँगको इजरायली युद्धमा एकतर्फीरूपमा युद्धविराम घोषणा गर्न इजरायल बाध्य भयो । इजरायल युद्धबाट पछि हट्यो । यसको मूलभूत कारण इजरायल र अमेरिकासँग लड्नु नै बहुधु्रवीय शक्तिको उदय हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *