नेपालकै पहिलो पहल – ख्वप आदर निकेतन
- कार्तिक २०, २०८३
‘एकीकृत समाजवादी’ दलका अध्यक्ष माधव नेपालले २१ माघ २०७९ को केन्द्रीय समितिको बैठकमा नेपाल मजदुर किसान पार्टीको दृष्टिकोणबारे टिप्पणी गर्दै भने, “नेपाल मजदुर किसान पार्टी जडसूत्रवादी एवम् अत्यन्त सङ्कीर्ण चरित्रको कम्युनिस्ट हो । … नेतृत्वमा रहेको निम्न मध्यम वर्गीय जडता र सङ्कीर्णताले गर्दा निरन्तर खुम्चिदै गएको छ ।”
सम्भवतः माधव नेपालले बताएको ‘जडसूत्रवादी’ को अर्थ अङ्ग्रेजीमा ‘डगम्याटिजम’, उर्दूको ‘कठमुल्लावाद’, ‘कोरा सिद्धान्तवाद’ अथवा ‘अति सिद्धान्तवादी’ हो ।
माधवजी र उहाँको राजनैतिक दल ‘एकीकृत समाजवादी’ हिजो र आजको ‘एमाले’ नै हुन् । एमालेमा माधवजी धेरै वर्ष महासचिव हुनुहुन्थ्यो । एमाले निर्वाचनबाट सरकारमा जाने र निर्वाचनबाटै समाजवाद र समृद्धि आउने विषयमा विश्वास गर्छ । त्यसो होइन भने एमालेले बारम्बार आफ्नै नेतृत्वमा सरकारको नेतृत्व गर्दै नेपाली काङ्ग्रेसकै पदचिह्नमा शासन गर्ने थिएन ।
एमालेले आफूलाई ‘माक्र्सवादी–लेनिनवादी स्वीकार्छ । त्यसैले, ‘एमाले’ भनेकोमा कुनै दुविधा भएन । मजदुर, किसान एवम् सम्पूर्ण सर्वहारा कामदारवर्गको सशस्त्र क्रान्तिबाट समाजवादको निर्माण गर्ने शिक्षा नै माक्र्सवाद हो ।
लेनिनले रुसमा निर्वाचनलाई क्रान्तिको परिस्थिति नाप्ने व्यारोमिटरको रूपमा प्रयोग गर्न व्यापक कामदार वर्गलाई एकगठ गर्न निर्वाचनलाई उपयोग गर्न शिक्षित भएको थियो । पुँजीवादी युद्धको विरोधमा र साम्राज्यवादी युद्धलाई समाजवादी क्रान्तिमा बदल्न लेनिनले भन्नुभएको थियो, युद्धको काँध फेर्नु पर्छ । अर्थात्, साम्राज्यवादी युद्धमा सबै सिपाहीहरूलाई आफ्नै शासक वर्गको विरोधमा बन्दुक सोझ्याउनुु पर्छ ।
लेनिनको शिक्षाअनुसार साम्राज्यवादी युद्धको विरोधमा रुसी संसद् ड्युमाका सदस्यहरूले लडाइँको मैदानमा सिपाहीहरूलाई गृहयुद्धको निम्ति आह्वान गरे । जार सरकारले ती निर्वाचित कम्युनिस्टहरूलाई ज्यान सजाय दियो । तिनीहरूले निर्वाचनबाट मन्त्री हुन वा समाजवादको स्थापना गर्न सक्ने विश्वासमा वोल्शेविक कम्युनिस्ट बनेका थिएनन् । तर, क्रान्तिकारी सांसदहरूमा पनि मेलिनोभ्स्कीजस्ता जार सरकारका गुप्तीहरू थिए, जसले धेरै इमानदार क्रान्तिकारीहरूलाई ज्यान सजाय लिन लगाए र वर्षाैँको जेल सजाय गर्न दिए । क्रान्तिपछि मजदुरहरूकै तर्फबाट त्यस्ता नक्कली कम्युनिस्टहरूलाई सोभियत सरकारले ज्यान सजाय दियो ।
त्यतिमात्रै होइन त्रोत्स्की, बुखारिन, जिनोजित् र कामेनेभजस्ता धेरै विदेशी गुप्तचरहरू पनि पार्टीको नेतृत्वमा पुगेर पार्टी र सोभियत सरकारको विरोधमा अनेक षड्यन्त्र गरेका थिए । स्तालिनपछिका नेतृत्वमा आउने नेता किरोभको हत्या तिनीहरूले गरे तथा दोष सबै स्तालिनमाथि लगाई कुटील राजनीति गरेका थिए । स्तालिनले ‘काउन्टर इन्टेलिजेन्स’ अर्थात् विदेशी गुप्तचरीको विरोधमा क्रान्तिकारी गुप्तचरी प्रयोग गरी अदालतमा ती अपराधीहरूले स्वेच्छाले आफ्ना अपराध स्वीकार गरे तथा ‘समाजवाद’ र ‘समाजवादी’ पार्टी र नाराको पछाडिका सबै षड्यन्त्र एक एक गरी उदाङ्ग्याए । (‘सोभियत कम्युनिस्ट पार्टी बोल्शेविकको गुप्त दस्तावेजहरू’ र ‘स्तालिनका अङ्गरक्षक ए.टी. रेविनको संस्मरण’)
किरोभको हत्याको निम्ति उनकै अङ्ग रक्षकहरूलाई प्रयोग गरिएको थियो । ती विश्वासघाती नेताहरूले जर्मनी सरकारको गुप्तचर विभागबाट महिनावारी पाउँथे । बारम्बार तिनीहरू विदेश गई ‘उपचार’ गर्ने नाममा आफ्नै पार्टी र देशको विरोधमा षड्यन्त्रहरू गर्थे । ती तथाकथित नेताहरूको ‘राहदानी’ समेत जर्मनीको गुप्तचर विभागमा थियो । स्तालिनको हत्या गर्न ढिलो लाग्ने विष प्रयोगमा गृहमन्त्री बेरियासमेत सामेल भएको अनुसन्धानले पत्ता लाग्यो र सजाय भयो ।
निर्वाचनबाट समाजवादको स्थापना गर्ने सपना बोकेका अन्य देशहरूमा पनि पुँजीवादी षड्यन्त्र र फासीवादी दुश्चक्रले कम्युनिस्ट नेता र पार्टीहरूले ठूलो पाठ सिकेका छन् । भारतको केरालामा नमुन्दरीपादको सरकारलाई सन् १९५० कै दशकमा केरालाको कम्युनिस्ट सरकार र प्रान्तीय सभालाई राष्ट्रपति शासन लगाएर बारम्बार विघटन गरेको थियो । पश्चिम बङ्गाल र त्रिपुरामा आज कम्युनिस्ट सरकार छैन । चिलीको माक्र्सवादी नेता एलेन्डेको सरकारलाई रगतमा डुबाइदिएको थियो ।
माधवजीहरू आज एउटा कारणले मात्र जीउँदै छन् । किनभने, उनीहरूबाट पुँजीवादी व्यवस्थालाई कुनै खतरा छैन । कम्युनिस्ट नाउँका ‘भाइकाङ्ग्रेसहरू’, ‘एकीकृत समाजवादी’ भनेर माक्र्सवादको विरोधमा मजदुर आन्दोलनमा भाँजो हाल्नेहरू हुन् । हिटलरको पार्टीको नाउँ पनि त ‘राष्ट्रिय समाजवादी’ वा नाजी पार्टी हो ।
माक्र्सवादको सच्चाइ प्रस्ट गरेकै कारण माधवजीको आँखामा नेमकिपा ‘कोरा सिद्धान्तवादी’ बन्यो । तर, माक्र्सवादी व्यावहारिक भएन र त्यसमा हेरफेर वा संशोधन गर्नु प¥यो भन्ने पहिलो व्यक्ति जर्मनीकै कम्युनिस्ट एवम् कार्ल माक्र्सका शिष्य बर्नस्टिन थिए । लेनिन र अन्य माक्र्सवादीहरूले बर्नस्टिनको संशोधनवादलाई ‘मजदुर र कम्युनिस्ट आन्दोलनभित्र पुँजीवादी’ विचार अर्थात् माक्र्सवादमाथि ‘विश्वासघात’ बताए ।
यस दृष्टिकोणले निर्वाचनमा सरकारमा गई समाजवादी र समृद्धको प्रचार गर्नेहरू बर्नस्टिनकै ‘गिरोह’ का हुन् भन्ने प्रस्ट छ ।
माधवजीको दृष्टिकोणमा नेमकिपा किन ‘सङ्कीर्ण चरित्रको कम्युनिस्ट’ भयो ? के नेमकिपाले पनि माधवजीले जस्तै पुँजीवादी सरकारको नेतृत्व गर्दै देशमा उद्योगधन्दाको विकासको ठाउँमा विदेशी पुँजी ल्याउँदै नेपालमा दलाल पुँजीपति वर्गको शासन बलियो पार्ने उद्देश्यलाई समर्थन गर्नुप¥यो ?
तर, आश्चर्य छ, नेपाली काङ्ग्रेसलाई एकीकृत समाजवादी’ ले ‘दलाल पुँजीपतिवर्गको प्रतिनिधि’ मान्छ । तर, उसैसँग देशको राष्ट्रिय पुँजीपतिवर्गको विरोधमा साठगाँठ गर्छ भने के माधवजी वर्षौँसम्म महासचिव भएको एमाले र हालैको ‘एकीकृत समाजवादी’ दल पनि ‘भाइकाङ्ग्रेस’ भएन ?
नेमकिपाप्रतिको सङ्कीर्णताकै आरोपलाई भक्तपुरमा सीमित मान्ने हो भने दुई तीन वर्ष अगाडि झन्डै दुईतिहाइ संसद्मा प्रतिनिधिहरूको नेतृत्व गरेको एमालेको महासचिव अहिले कसरी ‘एकीकृत समाजवादी’ मा आइपुग्दा ‘मत सीमा’ मा समेत माधवजीले पार्टीलाई पु¥याउन सकेनन् ?
माधवजीको आँखामा माओवादी केन्द्र ‘वर्ग अडान स्पस्ट नभएको’, ‘सत्ता वरिपरि केन्द्रित’, ‘सत्ता स्वार्थको निम्ति कुनै पनि बेला जुनसुकै कदम चाल्न सक्ने अस्थिर’ प्रवृत्तिको पार्टी हो ।
सत्य त्यही हो भने हिजो प्रचण्डसँग मिलेर नेपाली काङ्ग्रेसको नेतृत्वमा जानु कुन प्रगतिशीलता हो ?
२२ माघको दिन माओवादी केन्द्रबारे सत्तालोलुप पार्टीका अध्यक्ष प्रचण्डले माघ २४ कै दिन नेकपा (एकीकृत समाजवादी) लाई सरकारमा सहभागी गराउने कसरत’ थालेको समाचार छापियो (नेपाल समाचारपत्र, २५ माघ २०७९) ।
‘…एकीकृत समाजवादीलाई सरकारमा ल्याउन प्रधानमन्त्रीको प्रयास’ शीर्षकमा २५ माघ २०७९ को ‘नयाँ पत्रिका’ ले समाचार दियो । २–४ दिनभित्रै एकीकृत समाजवादीका अध्यक्ष नेपालको सैद्धान्तिक अडानले कत्ति काम गर्ने हो, हेर्न बाँकी छ ।
‘खुम्चिँदै गएको’, ‘भक्तपुर जिल्लामा सीमित’ नेमकिपाले माधवकुमार नेपाललाई नम्र भाषामा सोध्नेछ, “दैलेख, जुम्ला, कालीकोट अर्थात् भेरी र कर्णालीमा नेमकिपाको पार्टीलाई भित्रभित्र भड्काउने र बिगार्ने ‘वाम मित्र’ को थिए ?” के यसको जवाफ दिने ‘वाम मित्र’ माधव नेपालले साहस गर्नेछन् ? नेमकिपाको पहिलो खुला सम्मेलनमा ‘पाहुना मित्र’ माधव नेपालले लुकीलुकी मित्र पार्टीको कार्यकर्तालाई भड्काउने काम गर्नु के राजनैतिक नैतिकताले दिन्थ्यो ? ‘मुखमा रामराम बगलीमा छुरा’ भन्ने उखान के माधव नेपाललाई लागू हुन्न ? देशको सबभन्दा ठूलो पार्टी एमालेको वर्षौँसम्म महासचिव बनेका माधव नेपाल आज मतसीमा नाघ्न नसकेको नेतामा कसरी पुगे ? यसका पनि त कारणहरू अवश्य होलान् !
Leave a Reply