भर्खरै :

नेपालको राजनीतिक अस्थिरताको कारक अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवाद

नेपालको राजनीतिक अस्थिरताको कारक अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवाद

नेपालको राजनीतिक अस्थिरताको कारक अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवाद हुन् भन्ने कुरा नेपाली जनतालाई थाहा भएकै हो । राजनीति भनेको मूल नीति हो । देशको राजनीति र सत्ता हातमा लिएपछि त्यो देशलाई कता लाने भन्ने कुरा उसको हातमा हुन्छ ।
साम्राज्यवादी, उपनिवेशवादी र विस्तारवादीहरू अनेक बहानामा कुनै देशको राजनीतिलाई हातमा लिन्छन् । कुनै देशको राजनीति हातमा लिनु भनेको त्यहाँको राजनीति गर्ने प्रमुख राजनीतिक दल र त्यसका नेता कार्यकर्ताहरूलाई हातमा लिनु हो । त्यसको लागि उनीहरूले ठूलो लगानी गरिरहेका हुन्छन् । आफ्नो स्वार्थपूर्ति गर्न उनीहरूलाई मान्छेले भेडाबाख्रा पालेजस्तो उनीहरूले पालिरहेका हुन्छन् । उनीहरूले आफ्नो स्वार्थपूर्ति गर्न आफूले चाहेजस्तो कहिले जुताउने, कहिले भिडाउने, कहिले जोड्ने, कहिले फोड्ने र कहिले भुक्ने, कहिले मालिकलाई लम्पसार पारेर साष्टाङ्ग दण्डवत् गराइरहेका हुन्छन् । यस्तै देशघाती, स्वाभिमानमा चोट पु¥याउने काम अमेरिकी साम्राज्यवादलगायतका पश्चिमी राष्ट्रहरू र भारतीय विस्तारवादले नेपालका ठूला र शासक दलका नेताहरूलाई गराइरहेका छन् । यो सार्वभौम र स्वाधीन देश नेपालको लागि दुर्भाग्य हो । उनीहरूले यो घृणित काम दक्षिणपूर्वी एसिया, अफ्रिका र ल्याटिन अमेरिकालगायत अन्य देशमा गरिरहेका छन् ।
नेपाललाई राजनीतिकरूपले अस्थिर राख्न अमेरिकी साम्राज्यवादलगायत पश्चिमी राष्ट्रहरू र भारतीय विस्तारवादले यहाँ एनजीओ र आइएनजीओका थुप्रै विषका बोटहरू रोप्दै आएका थिए । ती एनजीओ र आइएनजीओका विष वृक्षहरूबाट आज नेपालमा सामाजिक, धार्मिक, सांस्कृतिक, राजनीतिक, आर्थिक र शैक्षिक विकृति विसङ्गतिका विषका फलहरू फल्न थालेका छन् ।
हिजो विश्वको पहिलो समाजवादी देश सोभियत सङ्घमा सन् १९६० तिर खु्रश्चेभको पालादेखि अमेरिकालगायतका पश्चिमी साम्राज्यवादी र पुँजीवादी देशहरूले करिब तीन लाख यस्तै एनजीओ, आइएनजीओका विष वृक्षहरू रोपेका थिए । परिणामतः सोभियत सङ्घ १५ टुक्रामा विभाजित भयो । उनीहरूले एसिया, अफ्रिका र ल्याटिन अमेरिकामा पनि अरब देश र पूर्वी युरोपमा पनि यस्तै उपद्रो मच्चाएर ती देशका जनताको नरसंहार गरे ।
भारतीय विस्तारवादको स्वार्थ भनेको नेपाललाई अर्काे भुटान र सिक्किम बनाउनु हो । यसको लागि उसले नेपालमा थुप्रै नेपाली लेण्डुप डोर्जेहरू तयार गर्दै छ । त्यसैको लागि उसले नेपालमा रअ (च्बध) लगायतका यसका औजारहरू परिचालन गरिरहेको छ । अमेरिकी साम्राज्यवादलगायत पश्चिमी साम्राज्यवादी र पुँजीवादी देशको स्वार्थ भनेको सोभियत सङ्घलाई सिध्याउनु थियो । अब अमेरिकाको ध्यान विश्वमा उदाउँदो चीनतर्फ हो । आन्तरिक द्वन्द्वमा फसाएर छिमेकीसँग मनमुताब बढाउने÷भिडाउने सोच उसको छ । आज रुसलाई आफ्नो कठपुतली युक्रेनसँग उचालेर भिडाइरहेझैँ छिमेकी असल मित्र राष्ट्र चीनसँग छिमेकी भारतलाई भिडाउन नेपाललाई पुलको रूपमा उपयोग गर्न खोज्दै छ । ऊ चीनको विरुद्धमा नेपाललाई युक्रेन बनाउने दिवास्वप्न देख्दै छ । उनीहरूले नेपालमा नेपाली जेलेन्स्कीहरू बनाउँदै छन् । यसको लागि उसले नेपालमा एमसीसीको विष वृक्षको बीउ सन् २०१४ तिरै रोपिसकेको थियो । नेमकिपाले यो खतरनाक डरलाग्दो विषको बीउ र एसियालाई रणभूमि बनाउने बीउलाई त्यतिबेलै नष्ट गर्नुपर्छ भनेर सरकारको ध्यानाकर्षण गरेको थियो ।
नेमकिपा एक्लै भए पनि सङ्घर्ष गर्दै छ । नेमकिपाले देशभक्त दल, जनता मिलेर जरैदेखि उखेलेर फाल्नुपर्छ भनिरहेको हो । नेमकिपाको यो सङ्घर्षलाई नेपाल र विश्वका स्वतन्त्रता, न्याय र शान्ति चाहने जनताले हेरिरहेका छन् । नेमकिपाको यो अमेरिकी साम्राज्यवाद, पुँजीवाद, भारतीय विस्तारवादविरुद्धको लडाइँमा विश्वका न्यायप्रेमी जनताले हेरिरहेका छन् ।
एमसीसीको विष वृक्षलाई मलजल गर्न अमेरिकी राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्ड माघ १५ गते दुईदिने नेपाल भ्रमणमा आइन् । उनले प्रम प्रचण्ड, देउवा र ओलीलाई छुट्टाछुट्टै भेटेर एमसीसी छिटो प्रभावकारी कार्यान्वयन गर्न दबाब दिएर फर्किन् । उनी ३३ वर्षको परराष्ट्र मामिलाको अनुभव सँगालेको कुरा सञ्चारमाध्यममा आएको थियो । यसरी नै अमेरिकी नियोगका प्रमुख हालै नेपाल छिरिन् र नेताहरूसँग भेटी फर्किन् ।
विश्लेषकहरूका अनुसार उपविदेशमन्त्री भिक्टोरियाले नेपालको दुईदिने बसाइमा नेपालको अर्थतन्त्र र साइबर सुरक्षा सल्लाह र सुझावको नाममा कब्जा गर्ने प्रयास गरेकी थिइन् । उनले प्रम प्रचण्डसँगको भेटमा नेपालले साइबर सुरक्षा गर्न सक्दैन† नेपालको अर्थतन्त्र पनि नाजुक अवस्थामा छ† नेपालको साइबर प्रणाली र अर्थतन्त्र सुरक्षा हेर्ने जिम्मा अमेरिकालाई दिनुपर्छ भनेर दबाब र धम्की दिएर गएकी छिन् । यो दबाब दिने वातावरण बनाउन अघिल्लो दिन माघ १४ गते शनिबार देशभर केही घण्टा साइबर ह्याक गरेको आरोप लागेको थियो । यो दबाब दिएर नेपालका सबै व्यक्ति, संस्था र देश अनि त्यस्तै नेपालसँग सम्बन्ध भएका विदेशी व्यक्ति, सङ्घ, संस्था र देशको सूचना, तथ्य, तथ्याङ्क उसको संयन्त्रणमा राख्ने अमेरिकाको दाउ थियो । आज अमेरिका आफ्नो प्रतिस्पर्धी र चुनौती भएका रुस, चीन, उत्तर कोरिया, इरानजस्ता देशहरूलाई फसाउन बहुकेन्द्र युद्ध नीतिअन्तर्गत आफू सुरक्षित भएर त्यस देशका छिमेकी देश र कठपुतलीहरूलाई उचालिरहेका छन् ।
देश विकास गर्नको लागि देशमा शान्ति र स्थिरता आवश्यक हुन्छ । यसको लागि चीन र उत्तर कोरियाजस्तो सरकार, दल, सेना र जनता एक हुनुपर्छ । यस्तो देशले सबै समस्याको चुनौती सामना गर्ने तागत राख्छ । उनीहरू नेपाललाई उठ्न पनि नदिने र बस्न पनि नदिने गरी सधैँ अस्थिर बनाइराख्ने दुष्प्रयास गर्दै छन् । उनीहरूले सहयोगको नाममा एनजीओ र आइएनजीओमार्फत जातीय स्वतन्त्रता, क्षेत्रीय स्वतन्त्रता, लैङ्गिक स्वतन्त्रता, महिला सशक्तीकरण, महिला अधिकार, प्रजातन्त्र, मानव अधिकार आदिको नाममा उचालिरहेका छन् । जुन हतियार विश्वका अन्य गरिब र अशिक्षित देशहरूमा प्रयोग गरेर आक्रमण गरिरहेका छन् यी हतियारको प्रयोग गरेर उनीहरूले इन्डोनेसियामा करिब ५ लाख जनताको नरसंहार गरेका थिए । त्यस्तै हिजो रुस, भियतनाम, कोरिया, फिलिपिन्स, भारत, इराक, लिविया, कङ्गो, घाना, चिल्ली, निकारागुवा, क्युवालगायतका देशहरूमा यस्तै नरसंहार गरेका थिए । उनीहरूले अमूल्य सम्पत्ति लुटेर लगेका थिए ।
उनीहरूले नेपालको विकास गर्न, नेपाली जनताको जीवनस्तर उठाउन एनजीओ तथा आईएनजीओ पठाएका होइनन् । उनीहरूले देखावटीरूपमा नेपालमा खन्याएको पैसा नेपालको बजेटभन्दा बढी छ । जसको स्रोत, सूचना, हिसाबकिताबको जानकारी नेपाल सरकारलाई हुँदैन । ती पैसा विभिन्न सेवा, सुविधाका नाममा उनीहरूले नै थैलीमा बोकेर लान्छन् । यसले नेपालमा उनीहरू दलालहरू तयार पारेर जानेछन् । यसले उनीहरू देशद्रोहहरू तयार गरेर जानेछन् । त्यसैको लागि उनीहरू नेपालका शासक दल र जनतालाई प्रभाव र दबाबमा पारेर त्यस्तो माहोल र वातावरण बनाउन खेल्दै छन् ।
उनीहरूले हाल विश्वमा एनजीओ र आइएनजीओलाई हतियारको रूपमा प्रयोग गरेर हस्तक्षेप गरिरहेको अवस्था छ । उनीहरूले सहयोगको नाममा शिक्षा, स्वास्थ्य, अर्थ, धर्म, संस्कृति, राजनीति सबै क्षेत्रमा आफ्नो नियन्त्रण जमाउँदै छन् । त्यसका लागि ती देशका संविधान, कानुन, नीति, नियम निर्माणमा उनीहरूले यसो गर, उसो गर भनेर देखावटी सल्लाह, सुझावको नाममा आदेश र दबाब दिँदै छन् । यसैको प्रभावमा नेपालका विश्वविद्यालय, क्याम्पस, विद्यालयहरूमा नेपाल र नेपालीलाई जोगाउने, बनाउने, इतिहास, भूगोल, राजनीतिशास्त्र, संस्कृतिजस्ता विषयको पठनपाठन प्रायः शून्य हुँदै छ । विगतमा नेपाली, सामाजिकलगायतका पाठ्यपुस्तकमा देशभक्ति, देशप्रेमका, भूगोल, संस्कृति इतिहासका थुप्रै पाठ र विषयवस्तुहरू थिए । नेपाली, वीर योद्धा र सहिदका जीवनीहरू थिए । कथा, कविता, निबन्ध, नाटकहरू थिए । आजका क्याम्पस, विद्यालयका पाठ्यपुस्तकहरूमा यी र यस्ता सबै पाठहरू झिकेको अवस्था छ । नेपाली माटोको माया र लगानीमा हुर्केका नेपाली युवा–विद्यार्थीहरू आफ्नो मातृभूमिको सेवा गर्न छोडेर विदेशीको सेवा गर्न माया र लगानीलाई चटक्क बिर्सेर विदेश जाँदै छन् । यही हो एनजीओ तथा आइएनजीओको विषको प्रभाव ।
उनीहरूले विभिन्न महँगा सञ्चारमाध्यमको प्रयोग गरेर, विभिन्न लोभ, प्रलोभन देखाएर, टाठाबाठा, बुद्धिजीवी, सामाजिक अभियन्ता, अगुवा भनिएका मानिसहरूलाई किनेर देशको गाउँ–ठाउँमा गरिब र अशिक्षित जनतामा क्रिश्चियन धर्मको प्रचारप्रसार गरिरहेका छन् । यसबाट नेपाली जनता सचेत हुनु आवश्यक छ । उत्तर कोरिया, चीन, भियतनाम, क्युवाको जस्तो सरकार, सेना र जनता एकढिक्का भई आफ्नै बलबुट्टाले देशको रक्षा र विकास गर्न अघि बढ्नुपर्छ । साम्राज्यवादी, उपनिवेशवादी र विस्तारवादी नीतिविरुद्ध कुनै लोभ, डर, धम्कीको अगाडि नझुकी सबै नेपाली जनता एकजुट हुनु आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *