भर्खरै :

माओवादीले नाम फेर्ने कि सिद्धान्तै !

  • फाल्गुन २, २०७९
  • दर्शन कुइँकेल
  • विचार
माओवादीले नाम फेर्ने कि सिद्धान्तै !

नेकपा माओवादी केन्द्रको अन्य राजनीतिक दलसँग पार्टी एकीकरण गर्ने प्रयाससँगै दलको नाम पनि फेर्ने चर्चा भइरहेको छ । माओवादी केन्द्रको मार्गनिर्देशक सिद्धान्त माक्र्सवाद–लेनिनवाद र माओवाद हो । माओ त्सेतुङले कहिल्यै माओवाद भनेका छैनन् । चिनियाँ कम्युनिस्ट पार्टी र माओले माओवाद होइन माओ त्सेतुङ विचार स्वीकारेका थिए । नेमकिपाले माओ त्सेतुङ विचारधारलाई कहिले पनि माओवादको रूपमा स्वीकारेको छैन । माओवादी केन्द्रले माओवादीको नाउँ भजेर माओ त्सेतुङ विचारधाराको बदनाम गरिरहेको कुरा राजनीतिक विश्लेषकहरूले गुनासो गर्दै आएका हुन् । अब माओवादी केन्द्रले दलको नाउँ फेर्ने गृहकार्य गरिरहेको छ । नाउँ फेर्न दलले दलका विभिन्न समितिहरूसँग राय मागिरहेको छ । यसले पार्टी एकता भए पनि या नभए पनि माओवादी केन्द्र आफ्नो पार्टीको नाउँ फेर्न चाहेको पुष्टि गर्छ ।
माओवादी केन्द्रको कार्य शैली, व्यवहार र गतिविधिको मूल्याङ्कन गर्दा माओवादी केन्द्र कम्युनिस्ट पार्टीको सूचीमा पर्दैन । माओवादी केन्द्रले माक्र्सवादी–लेनिनवादी मान्यताअनुसार कम्युनिस्टको सिद्धान्त र विचारअनुसार काम गरिरहेको छैन । कम्युनिस्ट पार्टीको नेता बनेर, कम्युनिस्ट पार्टीको खोल ओढेर कम्युनिस्ट पार्टीकै सिद्धान्त र विचार छोड्ने माओवादी केन्द्रका नेताहरूलाई कम्युनिस्ट पार्टीको सिद्धान्त र विचारदेखि वाक्कदिक्क भएको हुनुपर्छ । यस अर्थमा कम्युनिस्ट पार्टीको सिद्धान्त र विचार छोड्ने माओवादी केन्द्रको नाउँ फेर्ने चर्चा हुनु स्वाभाविक हो ।
माओवादी केन्द्र के कम्युनिस्ट पार्टीको मुख्य दर्शन नै छोडेर अघि बढ्न लागेको हो ? बाबुराम भट्टराई कम्युनिस्ट पार्टी छोडेर अर्कै दलमा लागेका हुन् । फेरि उनी माओवादी केन्द्रसँग मिल्न गइरहेका छन् । भट्टराई पनि पटकपटक विचार फेर्ने नेतामा पर्छन् । अरू दल खोलेर केही गर्न नसकेपछि, सङ्गठन विस्तार गर्न नसकेपछि, निर्वाचनमा एक्लाएक्लै लड्दा हार्ने देखेर नै प्रचण्ड, माधव नेपाल, बाबुराम भट्टराई, वामदेव गौतमहरू एक ठाउँमा रहेर काम गर्न लागेका त होइनन् ? माओवादी ‘शान्तिपूर्ण’ बाटोमा आएपछि अमेरिकाले माओवादी केन्द्रलाई उपयोग गर्न खोज्नु स्वाभाविक हो । राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रबाट बच्न पनि माओवादी केन्द्रले पार्टीको नाम बदल्न लागेको चर्चा छ । पार्टीले के नाउँ राख्छ र पार्टीको उद्देश्य के हुन्छ ? त्यो त समयले बताउनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *