नेपाली समाज किन फासीवादउन्मुख भयो ?
- असार ९, २०८३
सडक छेउको नजिकै रहेको मेरो चिया पसलमा अनेक मानिस आउँछन् । चियाको चुस्कीसँगै अनेकन वार्ता गर्छन्, पीडा पोख्छन् । म एक स्रोता सबैको कुरा अत्यन्त ध्यानपूर्वक सुन्छु । कतिपयको कुरा बुझ्छु, कतिपयले के भनेको होला भनेर ताजुब मान्छु । मेरोमा चिया पिउन आउने भुइँमान्छे वर्गका हुन् रे ! अनि उनीहरूलाई रोजगारी छैन रे ! शिक्षा छैन रे ! स्वास्थ्य सेवामा पहुँच छैन रे ! सबै माफियाको चङ्गुलमा गयो पो भन्छन् ! राज्यको नियन्त्रणमा रहनुपर्ने शिक्षा अनि स्वास्थ्य निजी क्षेत्रलाई सुम्पेर राज्य तेल बेचेर बसेको छ रे ! ठेकेदारी गरेर बसेको छ रे ! शिक्षाको शुल्क आम मानिसको पहुँचभन्दा बाहिर जाँदा राज्य मौन छ रे ! सरकारी शिक्षा प्रणाली धराशयी छ रे ! अनि निजीले जति शुल्क लिए पनि आँखामा पट्टि बाँधिएको छ रे ! कानमा तेल हालिएको छ रे !
संविधानको कागजमा स्वास्थ्य नागरिकको मौलिक हक भनिएको छ तर स्वास्थ्य क्षेत्र निजीकरण उन्मुख छ भन्छन् । बिरामीलाई आवश्यकभन्दा कैयन् अनावश्यक जाँच गराएर कमिसनको खेती हुन्छ रे ! अनि यी भुइँमान्छे अस्पताल गयो भने त लाखौँ पैसा लाग्छ भनेर रोग पालेर बसेका छन् । अनावश्यक औषधिको प्रयोगले अन्य रोगको निम्तो दियो भन्दै छन् । अस्पतालमा भर्ना भयो कि यी भुइँमान्छेको कति जग्गा बिक्री हुने हो पत्तो छैन । स्वास्थ्यमा यी भुइँमान्छेको पहुँच छैन । रूनु अनि रोग पाल्नु नै भाग्यको लेखा भन्दै चियाको चुस्की लिए ।
विभिन्न दीर्घरोगका लागि विपन्न नागरिक औषधि उपचार कोष खोलेको छ रे ! तर चरम कमिसनतन्त्र तथा ढिलासुस्तीमा डुबेको बीमा कार्यक्रम जोडिदिएको छ । फोहोरमैला अनि दुर्गन्ध उस्तै छ, अस्पतालबाट उत्पादन हुने फोहोरलाई स्रोतमै पृथकीकरण गरेर सङ्क्रामक तथा साधारण फोहोरलाई छुट्टाएर निर्मलीकरण पश्चात्मात्र बिसर्जन गर्नुपर्नेमा बिनाकुनै प्रशोधन अस्पतालले नगरपालिकाको फोहोर सङ्कलन गर्न आउने गाडीमा फोहोर बिर्सजन गरेर वातावरण दूषित बनाएका छन् । अनि राज्यसंयन्त्र मौनता साँधेर नागरिकलाई बिरामी बनाउन सहयोगी भूमिका निर्वाह गर्दै छ भन्दै थिए कोही चिया चुरोटे मनुवा ।
अहिलेको ताजा चर्चा चाहिँ एक जना व्यापारी तर अत्यन्त पीडित मनुवाले आत्मदाह गरेछन्, त्यसको खुबै चर्चा सुनिन्छ । कोही अनुसन्धानकर्ता जस्तो गरी विद्वता छाँट्थे, कोही सहानुभूतिसहित प्रसङ्ग उठाउँथे भने कोही जे भए नि आत्मदाह गर्न नहुने भनेर रोष प्रकट गर्थे । बैङ्कलाई कसैको नियन्त्रण टुटेको छ । जथाभावी ब्याजदर बढाएको छ अनि वार्षिक नाफा बढाएको छ । जनता चुसेको छ । आफू मोटाएको छ । जनतालाई आत्महत्या अनि आत्मदाह गर्न बाध्य पार्ने बैङ्कको अनियन्त्रित ब्याजदर पनि हो भन्ने हल्ला रहेछ । बैङ्कको अनियन्त्रित ब्याजले गर्दा व्यवसाय बन्द हुँदै छ, पैसाको क्रयशक्ति घट्दै छ अनि जनता दिनानुदिन गरिबी तथा मानसिक रोगउन्मुख हुँदै आत्मदाह तथा आत्महत्याउन्मुख भए भन्ने चर्चा सुनियो । ब्याजदर एक अङ्कमा हुनुपर्ने मागलाई अन्देखा गर्दै नियमनकारी निकाय मौनव्रतमा छ रे ! अनि बैङ्कले जति नाफा कमाए पनि कमाउन जनता चाँहि मरून् बाँचून्, चाहिने चुनावमा हो अरू बेला के मतलब भन्ने गरी कार्य भयो भन्ने गुनासो मलिन स्वरमा एक मनुवा पोख्दै थिए ।
अनियन्त्रित महँगी, अनियन्त्रित स्वास्थ्य तथा शिक्षाको सेवा शुल्क, अनियन्त्रित व्यतर, व्यापार घाटा तर राज्य विलासी सामग्री आयातमा रोक लगाउँदैन । देशभित्रका साधनस्रोतको प्रयोगलाई प्रोत्साहन गर्ने नीति लिँदैन, बिजुलीको सवारीमा कर थोपर्छ । यसरी देश कहाँ पुग्छ ? समग्र ग्राहकहरू चिन्तित छन् । अनि हरेक निराशापछि हेरूँ, नयाँ सरकार आएको छ केही राम्रो नीति लिन्छ कि ? बैङ्कको ब्याजलाई नियन्त्रण गर्छ कि महँगी नियन्त्रण गर्छ ? अनि लोककल्याणकारी नीति लिन्छ कि ? नयाँ सोचसहित नयाँ पार्टी आएका छन् । आशा गरूँ, सबै निराशा हटेर, कालो बादल हटेर यो देश बस्न लायक देश, बाँच्न लायक देश अनि माफियाको नियन्त्रणबाट हटेको देश चाँडै देख्न पाइन्छ कि भन्ने सकारात्मक सोच पनि सुनियो । जे भए नि मकहाँ मानिस आउन अनि चिया पिउन नरोकियोस्, मेरो चाँहि चाहना यत्ति हो । चिया बनाउने दूध महँगो भएको छ, सस्तोमा पाइयोस् ।
Leave a Reply