भर्खरै :

बारा र रौतहट जिल्लाको किसान आन्दोलनको लेखाजोखा–३

बारा र रौतहट जिल्लाको किसान आन्दोलनको लेखाजोखा–३

जबसम्म गिरफ्तार साथीहरू छोडिन्न शोषक महन्तको विरुद्धको सामाजिक बहिष्कार पनि चालू रहन्छ भन्ने पार्टीको माग थियो । शोषक वर्गमाथि यो एक नैतिक प्रहार थियो । सबै सामन्त र जमिनदारहरू मिलेर किसान सङ्घर्षलाई दबाउन फेरि पुलिसकै उपयोग गर्ने कोसिस गरे । किसान सङ्गठनले पुलिसहरूलाई आफ्नो पक्षमा लिन दुई कार्य गरे । पहिलो कार्य, किसानहरू पुलिसलाई सम्झाउँथे कि पुलिसहरू पनि किसानहरूकै छोरा–छोरी हुन् । वर्गीय दृष्टिले तिनीहरू पनि किसान र कामदार वर्गका हुन् । पुलिसका आमा बाबुलाई पनि आ–आफ्नो गाउँमा त्यही सामन्त र जमिनदारहरूले यहाँ जस्तै किसानहरूलाई सताइरहेकै हुन्छन् । दोस्रो कार्य, पुलिसभित्र पनि ठूलो र सानो वर्ग भेद छ भनेर सम्झाइयो । यी कदमले पुलिसहरूमा भएको किसानविरोधी भावना कम भएर गयो र किसान सङ्घर्षप्रति पुलिसहरूको पुरानो दृष्टिकोण बदलियो । पुलिसमा उजुर गर्न आउने, घुस खुवाउन आउने र जासुसी गर्नेहरूको नाम गुप्तरूपले किसानहरूलाई बताएर मद्दत गर्न थाले । अर्को काम हो, पुलिस अफिस र थानामाथि किसानको उल्टो जासुसी थाना र पुलिस अफिसमा को को आउँछन्, के के गर्छन् भन्ने सबै कुराको सुराक सङ्गठनले पाउँथ्यो । यसले शोषकवर्ग र सरकारको किसानविरोधी गतिविधि र षड्यन्त्र अघि नै थाहा हुन्थ्यो ।
पुलिस पनि निष्क्रिय भएको र महन्तमाथिको नैतिक प्रहारले अरू सामन्त र जमिनदारहरू झन् डराउन थाले । यसले गर्दा चुसाहा महन्त एक्लिन पुग्यो । किसानहरूको अगाडि झुक्न बाध्य भयो । गिरफ्तार साथीहरू छोडाउन निवेदन गरियो । अपराधीको हार भयो । किसानहरूको जीत भयो । यसले सामन्त र शोषकवर्गबिच फुट भयो ।
बाराको सामाजिक बहिष्कार आन्दोलनको सफलताको असर रौतहट जिल्लामा पर्यो । यो २०११ सालको कुरो हो । बारा र रौतहटको किसान सङ्गठनको संयुक्त बैठक बस्यो । बैठकले आन्दोलनको लेखाजाखा गर्यो र अनुभवको सार झिक्यो । ३ दिनको बैठकले नयाँ नीति तयार गर्यो – ‘पहिलो सानातीनालाई तारो बनाउने र १०–१५ प्रगन्नाको मुख्य मुख्य सामन्तहरूलाई हान्ने, सङ्घर्ष बारा र पर्सामा एकैबाजी नगरेर पालैपालो गर्ने, एक जिल्लाले अर्को जिल्लालाई मद्दत पु¥याउने र समर्थन गर्ने ।’
रौतहटमा सबभन्दा पहिले परोहा प्रगन्नाको इनरबारी मौजामा सामाजिक बहिष्कार गर्ने निधो ग¥यो । जादोलाल अग्रहनी बनियाँ त्यहाँको सबभन्दा खुँखार चुसाहा र अत्याचारी थियो । वर्ग शत्रु जादोलाल बनियाँको विरोधमा हडताल सुरु भयो । ‘६ सेर बनिहारी गरिब के दो, मन के नौ सेर कर्जा दो ।’ जस्ता नाराहरू लगाइएका थिए । खेतमा काम गर्ने मजदुरहरूलाई त्यसबेला एक डेढ सेरदेखि तीन सेरसम्म मात्रै धान ज्याला दिइन्थ्यो र १ मन कर्जा दिँदा डेढ मन ब्याज लिइन्थ्यो । यसकारण, किसानहरूले नारा दिए – ‘६ सेर ज्याला गरिबलाई देऊ, मनको ९ सेर ब्याजमा ऋण देऊ !’
तर, शोषकहरूलाई थाहा भइसकेको थियो कि आपसमा मद्दत गरिएन भने बारामा महन्त झुकेजस्तै झुक्नुपर्नेछ । यसकारण, शोषकहरू शोषककै समर्थनमा गए । हली, गोठालो, कर्मी, धोवी, कामी, नाउ सबैलाई शोषकहरूले फकाई–फुलाई गर्न थाले, डर–धम्की देखाए, भारतबाट मजदुर ल्याइए । सीमा इलाकामा वर्गीय चेतना र सङ्गठन परिपक्व नहुँदा हडताल दुई दिनभित्रै भङ्ग हुन पुग्यो ।
बिचैमा टुटेको यस सङ्घर्षले पार्टी र किसानहरूलाई नयाँ शिक्षा दियो । पार्टी जिल्ला कमिटीले निर्णय गर्यो कि हडताल तोड्ने दलालमाथि झन् चर्को सजाय दिइनेछ । शोषकहरूको लठैत गुण्डाहरूसँग लड्न किसान स्वयंसेवकहरूले सङ्घर्ष नटुङ्गिञ्जेल इनरबारीमै बस्ने निर्णय लिए । यो एक जुझारु निर्णय थियो । त्यसले किसानहरूको लड्ने भावनालाई अझ माथि उठायो ।
तर, पार्टीले लोकमत आफ्नो पक्षमा लिन शोषक वर्गको अत्याचारलाई उदाङ्ग्याई दिने नीतिलाई छोडेन । ठूलो आमसभाको आयोजना गरियो । आमसभा भङ्ग गर्न शोषकहरूका दलालहरूले अनेक अदङ्गा मच्चाए, गडबडी गरे । किसानहरूले ती वर्ग शत्रुका दलालहरूलाई चेतावनी दिए । कमजोर दलालहरू पुच्छर लुकाएर भागे । तर, जिद्दी भई बस्ने शोषकका पिच्छलग्गु कुकुरहरूलाई किसान जनताले सजाय दिए । लात–मुक्का घुस्सी र चपेटले दण्ड दिए । २ घण्टासम्म किसानहरू र शोषकवर्गका दलालहरूको बिच लाठी र मुक्काको हानाहान भयो । आखिर प्रतिक्रियावादी शक्तिको हार भयो । यो प्रायः निश्चित कुरो थियो – पुलिस आफ्नो मालिकको पक्षमा हस्तक्षेप गर्ने ताकमा थियो, किसानहरूलाई गिरफ्तार गर्ने निहुँ खोज्दै थियो । तर, हजारौँ हजार किसानहरूको जोस र एकताको अगाडि अपराधी वर्गको केही लागेन । आमसभा भएरै छोड्यो । आमसभामा पार्टीले घोषणा गर्यो कि इनरवारीको हडताल र सामाजिक बहिष्कार फेरि चालू राखिनेछ ।
यो घोषणाले शोषकवर्ग फेरि छटपटिन थाल्यो । किसानहरूमा नयाँ जोस र विश्वास भरिएको थियो । हडताल ४ दिनसम्म विजयपूर्वक अगाडि बढ्यो । प्रशासन र शासकवर्गको मेच हल्लिन थाल्यो । अब त्यहाँ सरकारको कानुन चल्दैन । त्यहाँ किसानहरूको सरकार चल्छ । पार्टीको आदेश पालन हुन्छ भनी हल्ला मचिन थालेको थियो । पाँचौँ दिनमा शासक वर्ग बहुला कुकुरझैँ पुलिस लिएर इनरबारीको धरतीमा मार्च गर्न पुग्यो । तर, किसानहरू शासक र शोषकवर्गको अगाडि झुकेनन् । हजारौँ हजार किसानहरू एक भएर उठे । उनीहरूले शोषकवर्गको पुलिसमाथि घेरा हाले । परिस्थिति डरलाग्दो थियो । किसानहरूमा लड्ने भावना र साहस थियो, आफ्नो वर्गीय हितको निम्ति उनीहरूको पछाडि पार्टी र जनता थियो । तिनीहरूको लडाइँ न्यायको लडाइँ थियो । शोषकहरूको पक्षमा पुलिस, सिपाही, बन्दुक, जेल र नेलबाहेक अरू केही थिएन । पुलिस र सिपाहीहरूमा किसानहरूसँग लड्ने उत्साह थिएन । तिनीहरूलाई थाहा थियो कि किसानहरूको विरुद्धको लडाइँ अन्यायको लडाइँ हो । सङ्घर्ष बढ्दै जाँदा मागहरू पनि बढ्दै गए । हडताल लगभग एक वर्षसम्म चल्यो । त्यस बिचमा शोषकहरू खेतमा आफै काम गर्न थाले । बाली काटे तर रोपाइँ गर्न सकेनन्, पछि त धानसमेत काट्न सकेनन् र धान काट्दा धनीहरूको हातबाट रगत बग्न थाल्यो । भारतबाट पनि मजदुरहरू ल्याउन सकेनन् । त्यस शोषककहाँ भिखारी दुसाद भन्ने एक कमारा पनि थियो । यसको बाबु चैन हजरा दुसाद पनि पहिले त्यसैकहाँ बाँधा थियो । किसानहरूले त्यस कमारा भिखारी दुसादलाई मुक्त गरिदिए र उनीपछि बालचन्द्रपुर प्रगन्नामा गएर बसे । किसान आन्दोलनबाट भएको दास मुक्तिको यो एक उदाहरण थियो ।
आखिर पुलिस र हाकिमहरू किसानहरूको अगाडि झुक्नै पर्यो, माग पूरा गरिदिने कबुल गर्नैपर्यो । एक मन धानको एक पसेरीमात्रै (५ सेर) ब्याज होस् भन्दै किसानहरूले आफ्ना मागहरू अगाडि बढाए । पुलिस र हाकिमहरू सामन्त र शोषकहरूको छलफल भयो । सामन्तहरूले किसानहरूको माग स्वीकार गरे, विजय किसान जनताको भयो ।

किसान स्वयंसेवक र लोकसेवाका कार्यहरू
शोषकहरूले डेढा ब्याज लिन स्वीकार गर्नासाथ त्यसको असर सम्पूर्ण जिल्लाका किसानहरूमा प¥यो । साथै त्यो प्रभाव भारतको सीमा इलाकामा पनि पर्न गयो । भारतीय किसानहरूले आफ्नो भारतीय शोषकहरूको विरोधमा टाउको उठाउन थाले, डेढा ब्याज र अनेक प्रकारको शोषणको विरोध गर्न लागे । यसले गर्दा भारतीय शोषकहरूको मीठो निद्रा खल्बलिन पुग्यो । नेपाली शोषकहरूसँग आपराधी साठगाँठ गरेर नेपालको किसान आन्दोलन दबाउन अनेक तहले मद्दत गर्न थाले । धेरै भारतीय शोषकहरूको जग्गा नेपाल इलाकाभित्र पनि पथ्र्यो । तिनीहरू नेपाली किसानहरूलाई चुसेर सबै सम्पत्ति भारतमा लगेर थुपार्थे । तिनीहरू भारतीय किसान जनतालाई पनि निर्मम शोषण गर्दथे र नेपालको किसान आन्दोलन दबाउन मद्दत गर्थे । तिनीहरू दुवै देशका नागरिक बनेर चमेरो नीति अपनाउँथे । लुकी चोरी सीमा व्यापारमा तिनीहरूको मुख्य हात हुन्थ्यो । यस्तै अनेकौँ भ्रष्ट र अपराधी कार्यका मुख्य ठेकेदार हुन्थे । तिनीहरू नेपाली र भारतीय किसान जनताका साझा दुश्मन थिए । यी साझा दुश्मन र नेपाली सामन्तहरू एक भई जिल्लामा शान्ति सुरक्षा भएन भनेर हल्ला गर्न थाले । अञ्चलाधीश अफिस वीरगञ्जमा गएर किसानहरूलाई नियन्त्रण गर्न माग गरे, रुवाबासीको नक्कल गरे । किसानहरूलाई नियन्त्रण गरिएन भने हामी भारतमा गएर बस्छौँ भन्ने धम्की दिए । जीउ–धनको सुरक्षा भएन भनेर धर्ना दिए ।
तर, किसानहरूमा एकताको भावना अभूतपूर्वरूपले जागृत हुँदै थियो । ब्याज कम गर्ने आन्दोलन चर्किँदै गइरहेको थियो । गाउँ गाउँमा सामन्तहरूसँग भिडन्त चल्दै थियो । सामन्ती गुण्डा, लठैतहरू र चोर डाँकुहरूसँग जुझ्न पार्टीले ४–५ सय किसान स्वयंसेवकहरू तयार पारे । स्वयंसेवकहरू रातो टोपी लगाएर उठ्न थाले । टोपी र कमिजको खल्तीमा हँसिया–हठौडा भएको बाय्ज (चिह्न) हुन्थ्यो, जसमा पार्टी अफिसको छाप लागेको हुन्थ्यो । किसान स्वयंसेवकहरू निम्नलिखित काम गर्थे –
१. सामन्त र शोषकहरूसँगको भिडन्तमा भाग लिन्थे । यदि बाराको सामन्तसँग लड्नुपर्याे भने रौतहटका स्वयंसेवकहरू जान्थे र रौतहटका सामन्तहरूसँग लड्न बाराका स्वयंसेवकहरू जान्थे । त्यस्तै एक ठाउँको स्वयंसेवक अर्को गाउँको सङ्घर्षमा हिस्सा लिन्थे ।
२. हाट–बजार, मेला र धाममा शान्ति सुरक्षाको प्रबन्ध गर्थे ।
३. हाट–बजार र सहरमा समेत लेनदेन र तौलको रेखदेख गर्थे ।
४. हराएका यात्रीहरू, केटा–केटीहरू र घाइतेहरूको सुरक्षा र उपचार गर्थे ।
५. पुलिस, जालीफटाहा, गुण्डा, ठग बगली मारा र चोरहरूमाथि निगरानी राख्थे ।
किसान स्वयंसेवकहरूको यस लोक–हितकारी कार्यले शोषकहरूबाट किसान सङ्घर्षको विरोधमा गरिएको प्रचार र भ्रमहरू हट्न थाल्यो । पुलिस र प्रशासनबाट आतङ्कित जनता किसान अफिसमा गएर न्याय माग्थे र उजुर गर्थे । पार्टी र किसान सङ्गठनप्रति जनताको आस्था बढ्दै गयो । समाजमा किसान कार्यकर्ताहरूको प्रतिष्ठा बढ्यो । सामन्त र शोषक वर्गले आफ्नो स्वार्थ सिद्धिको निम्ति छरेको जातिभेदको विष सेलाएर गयो । हिन्दू–मुसलमान र ठूलो जात–सानो जातको भेदभाव हटेर शोषक र शोषितको वर्गीय भावना बढ्यो । किसान जनता पार्टीलाई चन्दा दिन स्वयं अफिसमा पुग्थे । पार्टीको आर्थिक अवस्था बलियो हुन थाल्यो ।
किसान सङ्घर्षको गहिराइले सरकार झन् सतर्क र आतङ्कित हुन थाल्यो । सङ्घर्ष रोक्न अनेक जालझेल र छलकपट सुरु ग¥यो । स्थानीय पार्टीले सङ्घर्षलाई अरू व्यवस्थितरूपले अगाडि बढाउन पार्टी केन्द्रमा मद्दत माग्यो ।

पार्टी नेतृत्व गुटको धोखेबाजी
मजदुर र किसान आन्दोलन जबजब अगाडि बढ्छ, तबतब शोषक वर्गले आफ्नो स्वार्थ र गद्दी बचाउन नयाँ नयाँ जालझेल रच्न थाल्छ, वर्गसङ्घर्षलाई नरम बनाउन षड्यन्त्र रच्छ । तिनीहरू पार्टीभित्र सामन्ती तत्वहरू घुसाएर पार्टीको नेतृत्व हत्याउँछन् र पार्टीको क्रान्तिकारी तत्वहरूमाथि ‘उग्रवाद’ र ‘वामपन्थी अवसरवाद’ भनेर आरोप लगाउँछन् । पार्टीमा फुट ल्याउँछन्, पार्टीको क्रान्तिकारी धारलाई मार्दछ, वर्गसङ्घर्षलाई त्याग गरेर सामन्तवर्ग र शोषकवर्गको अगाडि घुँडा टेक्छ । संसारका सबै मजदुर र किसान आन्दोलनमा धोखेबाजहरूले यस्तै गरेर आएका छन् ।
बारा र रौतहटका पार्टीको अनुरोधलाई पार्टीको नेतृत्व हत्याएर बस्ने धोखेबाजहरूले त्यहाँको किसान आन्दोलनलाई कार्यकर्ताहरूको ‘उग्रवादी गतिविधि’ भनेर निन्दा गरे । अरू जिल्लामा यस्तो किसान आन्दोलन नभएकोमा नेतृत्व गुट सन्तोषको श्वास फेर्दथ्यो । शोषकहरूको हाँमा हाँ मिलाउँथ्यो । तर, अगाडि बढिसकेको आन्दोलनलाई खास निश्चित दिशा दिन पार्टी नेतृत्व असमर्थ रह्यो । तर, बारा पार्टीका किसानहरू धोखेबाज नेतृत्वको पछि लागेनन् । आफ्नो किसान सङ्घर्षको झन्डालाई माथि उचाल्दै अगाडि बढे । हजारौँ हजार किसानहरू सङ्घर्षको झन्डामुनि ओइरिरहेका थिए । किसान सङ्गठनको भेल बढिरहेको थियो । बिनापर्चाले नै हजारौँ हजार किसानहरूको आमसभा हुनसक्ने देखियो । इतिहासको पाङ्ग्रा रोक्न खोज्ने धोखेबाज नेताहरूलाई थाहा थिएन कि इतिहास कति क्रूर हुन्छ । सङ्घर्ष अगाडि बढ्दै गयो । आज थाहा हुँदै छ कि किसान आन्दोलनलाई धोखा दिने विश्वासघाती नेताहरू स्वयं इतिहासको फोहोर फ्याक्ने नालीमा फालिएका छन् । ती पुराना धोखेबाज नेताहरूमध्ये केही विदेशी ‘हस्तक्षेप रोक्ने’ र ‘राष्ट्रिय एकता’ को नाममा सामन्तवादको पक्षमा वकालत गर्दै छन् । केहीचाहिँ ‘गणतन्त्र’ र ‘प्रजातान्त्रिक एकता’ को नाममा पुँजीवादी शक्तिको विषालु प्रभावलाई कम मूल्याङ्कन गर्दै छन् । यी दुई पक्षले किसान आन्दोलनलाई अगाडि बढाउन र नेतृत्व प्रदान गर्न सकेनन् । तर, व्यापक किसान जनता क्रान्ति चाहन्थे । त्यसकारण, स्थानीय नेतृत्वले नै किसान र जनताको खुट्टाकै भरमा सङ्घर्षलाई अगाडि बढाए ।
का. नारायणप्रसाद मानन्धर र नीरप्रसाद उपाध्याय (वीरगञ्ज) लाई सरकारले गिरफ्तार ग¥यो । कामरेडहरूलाई रौतहटकै महमदपुर गाउँको एक ठूलो शोषकको घरमा राखिएको थियो । शोषक रामचरित्र यादवलाई किसानहरू घृणा गर्थे । गिरफ्तारीको समाचार सुन्नासाथै हजारौँ हजार किसानहरू महमदपुरमा भेला भए । उनीहरूले चुसाहा रामचरित्र यादवको घर घेरे† गिरफ्तार कामरेडहरू छोड्न माग गरे । तर, पुलिसहरू गिरफ्तार कामरेडहरू छोड्न राजी भएनन् । क्रान्तिकारी किसानहरूले शत्रुहरूसँग लडे । तर, झुक्न चाहेनन् वर्ग दुश्मन रामचरित्र यादवको घरको चारैतिर पराल थुपारेर घेरा बनाए । साथीहरू नछोडे आगो लगाइदिने चेतावनी दिए । वर्ग शत्रुहरूसँग गिरफ्तार कामरेडहरू छोड्नबाहेक अरू उपाय थिएन । किसानहरूको अगाडि वर्ग शत्रु र उसका तावेदारी गर्ने पुलिसहरू झुक्नुपर्यो । गिरफ्तार साथीहरू छोडिए । जीत किसान जनताको भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *