भर्खरै :

“नेपालमा कामदार वर्गका जनताको निम्ति प्रजातन्त्र आएको छैन”

“नेपालमा कामदार वर्गका जनताको निम्ति प्रजातन्त्र आएको छैन”

काठमाडौँ, ७ फागुन । नेपालभाषा साहित्य तःमुंज्या टोखाको आयोजनामा आइतबार १६ औँ साहित्यिक तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
टोखाको क्वनेलाछी टोखा नपा ३ मा आयोजित उक्त कार्यक्रमको उद्घाटन स्थानीय ज्येष्ठ नागरिक कृष्णबहादुर श्रेष्ठले गर्नुभएको थियो ।
नेपालभाषा साहित्य तःमुंज्या टोखाका अध्यक्ष काशीलाल डंगोलको सभापतित्वमा भएको सो कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले भन्नुभयो, “प्रजातन्त्र भनेको आर्थिक समानता, सामाजिक न्याय र व्यक्तित्व विकासमा समान अवसर हो ।”
“नेपालमा यो बन्दोबस्त नभएको हुँदा जनताको निम्ति प्रजातन्त्र आएको छैन । शासक दलहरू २००७ सालदेखि सहमति र सहकार्य हुँदै आएको दाबी गर्छन् । २००७ सालको दिल्ली सम्झौतापछि राजा, राणा र काङ्ग्रेसले प्रजातन्त्र आएको दाबी गरे । तर, राजाका सचिवलाई भारतीय नागरिक र भारतीय राजदूतले मन्त्रिपरिषद्मा निर्देशन दिने प्रजातन्त्र भारतको नवउपनिवेश नेपाल भएको जस्तै हो”, उहाँले स्पष्ट पार्नुभयो ।
सचिव सुवालले भन्नुभयो, “हालै भारतका विदेश सचिव नेपाल आउँदा कूटनीतिक वार्ता होइन, राजनीतिक मन्त्रणा भयो । प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्री र शासक दलका नेताहरू १४ जनालाई भारतीय विदेश सचिवले लाइन राखेर भेटघाट गरे । नेपालमा प्रम हुन भारतको विश्वासपात्र हुनुपर्ने जनचर्चा सत्य साबित भएको छ ।”
“राष्ट्रपतिको चुनावपछि भारतीय विदेश सचिवको नेपाल भ्रमणबाट स्पष्ट हुनेछ । राणा शासन अन्त्य हुन १०४ वर्ष लाग्यो । निर्दलीय पञ्चायती व्यवस्थाविरुद्ध नेपाली जनताले ३० वर्ष सङ्घर्ष गरे । बहुदल आएको ३३ वर्ष भयो तर, जनताको सरकार अझै आएको छैन । नेपाली सेना, प्रहरी, निजामती कर्मचारी अदालतसमेतमा जनताको हित हेर्ने चेतना आउनु जरुरी छ”, उहाँले भन्नुभयो ।
“कानुनअनुसार प्रधानमन्त्रीलाई विश्वासको मत नदिने दल नेमकिपा नै अहिले प्रमुख विपक्षी दल हो । तर, नेकाले बलमिचाइ गरेर प्रमलाई विश्वासको मत पनि दिने, प्रमुख विपक्षी दलको दाबी पनि गर्ने मोही माग्ने ढुङ्ग्रो लुकाउने काम गर्दै छ, सचिव सुवालले स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, “देशको सन्तुलित विकास गर्न, राष्ट्रपतिको काठमाडौँ उपत्यकाको यात्रामा सडक जाम हुन नदिन प्रम, मन्त्री, सांसद र उच्च अधिकारीहरूलाई आ–आफ्नै निर्वाचन क्षेत्रमा बसोबास गराउने कानुन आवश्यक छ । काठमाडौँमा दाल, चामल, तरकारी, खाना पकाउने ग्याँस भारतबाट ल्याएर देशको विकास हुँदैन । नेपालको अर्थतन्त्र माथि उठाउन निजी बैङ्कहरू राष्ट्रियकरण गर्नुपर्छ । काठमाडौँ उपत्यका विकास प्राधिकरण खारेज गर्नुपर्छ । एमसीसी सम्झौताको दफा ५ मा अमेरिकाको वर्तमान र भविष्यको कानुन र नीति पालना गर्नुपर्ने, बुटवलदेखि गोरखपुरसम्म बिजुलीको प्रसारण लाइन निर्माण गर्ने उल्लेख हुनु, एसपीपी साझेदारीमा अमेरिकी सेना आएर नेपालीको ब्यारेक कब्जा गर्ने उल्लेख हुनु नेपालको हितमा छैन । यसकारण एमसीसी सम्झौता र एसपीपी साझेदारी कार्यक्रम खारेज गर्नु जरुरी छ ।”
“नागरिकता विधेयक २०६३ सालमा जन्मको आधारमा नागरिकता लिएका विदेशीका छोराछोरीलाई समेत वंशजको आधारमा नागरिकता दिने र एनआरएनलाई आर्थिक अधिकारसहितको नागरिकता दिने सोच नेपालको हितमा छैन । यस्तो व्यवस्थाले नेपाल सिक्किमजस्तो हुने र विदेशी पुँजीले नेपालको राष्ट्रिय उद्योगी–व्यापारीलाई नाङले पसलमा झार्नेछ । यसकारण, नागरिकता विधेयक खारेज गर्नु जरुरी छ ।”
नेमकिपाका केन्द्रीय सदस्य एवम् बाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले नयाँ पुस्ताबिच जनपक्षीय स्रष्टा परिचित गराउने कार्य निरन्तर चलाउन आवश्यक रहेको चर्चा गर्नुभयो ।
जनसाहित्यको अध्ययन आवश्यक भएको विचार व्यक्त गर्दै भाषा, कला–संस्कृति तथा सम्पदा मानव सभ्यताकै कोसेढुङ्गा भएकोले संरक्षण अनिवार्य छ, उहाँले भन्नुभयो ।
केन्द्रीय सदस्य गोसाईले ७० वर्षको प्रजातान्त्रिक इतिहास भए तापनि नेपाली जनताले प्रजातन्त्रको अनुभूति नपाएको यथार्थ सबैसामु छ भन्दै पदको भागबन्डा, शक्तिको दुरुपयोग र सोझासिधामाथि दमन हुनु प्रजातन्त्र होइन भनी प्रस्ट्याउनुभयो ।
युक्रेनमा भइरहेको युद्घको खलनायक अमेरिकी साम्राज्यवाद भएको स्पष्ट पार्दै एसियामा अशान्ति फैलाउने षड्यन्त्र भइरहेको तर्फ शान्तिप्रेमी जनता सचेत हुनुपर्ने विचार उहाँले व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवम् नेपालभाषा साहित्य तःमुंज्या कीर्तिपुरका अध्यक्ष नारायण महर्जन, वरिष्ठ इन्जिनियर राजदास श्रेष्ठ, साहित्यकार शिवप्रसाद सापकोटा, भूपू डेपुटी गभर्नर शिवराज श्रेष्ठ, नेमकिपा काभ्रेका अध्यक्ष कृष्णकुमार वैद्य, पूर्वशिक्षक सजीव श्रेष्ठ, सम्पदा बचाउ अभियन्ता भागवत नरसिं प्रधानले पनि बोल्नुभएको थियो ।
त्यस्तै नेपालभाषा साहित्य तःमुंज्या काभे्रका सत्यनारायण श्रेष्ठ, नेपालभाषा साहित्य तःमुंज्या ललितपुरका अध्यक्ष कवीन्द्र डंगोल, नेमकिपा टोखा नगर समितिका अध्यक्ष रवीन्द्र डंगोल, जनसाहित्य समाज टोखाका पूर्वअध्यक्ष मदन श्रेष्ठ, टोखा नपा वडा नं. ३ का वडाध्यक्ष रमेश डंगोल, नाट्य प्रतिष्ठानका नमुना शर्मा र मिर्मिरे साकोस टोखाका अध्यक्ष कृष्णमान श्रेष्ठले पनि आ–आफ्नो विचार व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा आयोजक समितिका उपाध्यक्ष सन्तलाल श्रेष्ठले स्वागत मन्तव्य दिनुभएको थियो ।
साहित्यमा महन्त महर्जन, समीक्षा डंगोल र सिम्रन डंगोल पुरस्कृत हुनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *