भर्खरै :

डार्विनको सिद्धान्तका केही पक्षहरू

डार्विनको सिद्धान्तका केही पक्षहरू

प्रसिद्ध जीव वैज्ञानिक चाल्र्स डार्विनले जीव उत्पत्तिको रहस्य खोलेको डेढ शताब्दी नाघिसक्दा पनि कतिपय मानिसले यसलाई ‘भगवानको लीला’ वा ‘ईश्वरको कृपा’ भन्न छोडेका छैनन् । डार्विनको ‘ओरिजिन अफ स्पिसिज’ सन् १८५९ मा नै प्रकाशित भएको थियो र आजसम्म पनि विश्वविज्ञानले यो सिद्धान्तलाई स्वीकारेको छ । प्राकृतिक छनोटको सिद्धान्त (थ्योअरी अफ नेचरल सलेक्सन) अनुसार यो संसारमा लाखौँ प्रजाति (स्पिसिज) का जीवको उत्पत्ति भयो, हजारौँ हजार प्रजाति लोप भए । तर मानिसले सबभन्दा बढी आफ्नै सृष्टिबारे जान्न खोजेको हो । वैज्ञानिक सिद्धान्तलाई आत्मसात गर्छौँ भन्नेहरूमा समेत मानिसको उत्पत्तिबारे अनेक भ्रम व्याप्त छन् । ‘बाँदरबाट मानिसको विकास’ भएको भन्ने भ्रम चिर्न आवश्यक ठानेर यो आलेख तयार पारिएको हो ।

मानव पुर्खाको खोजी
मानव पुर्खाको खोजी शताब्दीऔँदेखि हुँदै आएको छ । संसारका विभिन्न ठाउँमा आदिमानवका जीवावशेष भेटिएका खबर आइरहेका छन् । नेपालको बुटवलस्थित सेन पार्क घुम्न जाने जो कोहीले आदिमानव मानिएको रामापिथेकसको ‘मोडल’ सँग उभिएर तस्बिर खिचाएको हुनुपर्छ । तिनाउ नदीको किनारमा केही दशकअगाडि एक करोड वर्ष पुरानो रामापिथेकसको अवशेष प्राप्त भएको थियो । तर, हाम्रा पाठकलाई भ्रम नहोस्, रामापिथेकस मानव पुर्खा
(होमिनिड) होइन । बरु यो अ¥याङ्उट्याङको पूर्वज हो । करिब १ करोड ४० लाख वर्ष अगाडि नै रामापिथेकससँग होमो स्यापियन्सको पुर्खा अलग्ग भएको थियो ।
नेपालमै पनि सन् १९९० को दशकमा मुस्ताङमा होमो स्यापियन्सको २५ सय वर्ष पुरानो ६ महिने बालकको कङ्काल भेटिएको थियो । नेपाली र जर्मन पुरातत्वविद्हरूले मुस्ताङको मेब्राकस्थित गुफामा उक्त कङ्काल भेट्टाएका थिए । गुफाहरू प्राचीनकालमा मानवका शवहरू बिसर्जन गर्न प्रयोग भएको अनुसन्धानले देखाएको छ ।
पृथ्वीमा जीवको उत्पत्ति भएको साढे ३ अर्ब वर्षको इतिहासमा डार्विनको प्राकृतिक छनोटको सिद्धान्तअनुसार विभिन्न प्राचीन मानिसको अस्तित्व समाप्त भयो तथापि सृष्टिको क्रम पनि अघि बढिरहेको छ ।
यहाँ एउटा प्रजातिको अस्तित्व कसरी समाप्त हुन जान्छ भन्ने एउटा उदाहरण पेश गर्न चाहन्छु ।
सन् १५९८ मा हिन्द महासागरको मरिसस द्वीपमा मानिसले पहिलोपटक पाइला टेकेका हुन् । मरिससका ससाना टापुहरूमा विशाल पन्छी बस्दथे । एक मिटरसम्मको उचाइ भएका ती पन्छीको नाम राखियो डोडो । डोडो अन्यत्र कहीँ पनि नपाइने र उड्न नसक्ने पन्छी हो । कालक्रममा टापुमा मानव अतिक्रमण हुन थाल्यो । त्यहाँका मानिसले डोडोको मासु र अन्डा खान थाले । त्यस टापुमा मानिसले पाइला टेकेको एक शताब्दीभित्रै डोडो लोेप भएर गयो । सन् १६८८ मा त्यहाँका मानिसले अन्तिम पटक जीवित डोडो देखेका थिए । एउटा जीव लोप हुँदा प्रत्यक्ष देखेभोगेको यो घटना जीवशास्त्रीहरू अत्यन्तै महत्वका साथ स्मरण गर्छन् ।

सृष्टिबारेका अन्तर्विरोध
‘प्राचीन नेपाल’ नामको एक जर्नलमा प्रकाशित अध्येता केदारनाथ प्रधानको ‘नेपालमा मानवको उद्भव र विकाससम्बन्धी चिन्तन–परम्परा ः एक अध्ययन’ भन्ने लेखमा उनले आफ्नो र पृथ्वीको उत्पत्तिको सम्बन्धमा सोच्दा प्रजनन क्रियाद्वारा मानव जन्मिने कुरा धेरै अघिदेखि थाहा पाएको र यसैको परिणामस्वरूप योनी र लिङ्ग एवम् जलहरीसहितको शिवलिङ्गको पूजा गर्न थालेको उल्लेख गरेका छन् । तर, प्रकृतिका अन्य रहस्य बुझ्न नसकेपछि ‘परमात्मा’ को कल्पना गरेको हो मानिसले । इसाई धर्मग्रन्थ बाइबलमा मानवको उत्पत्ति माटोको मूर्तिमा ‘ईश्वर’ ले फुकेर प्राण भरेको कुरा उल्लेख छ । ‘ईश्वर’ ले ६ दिन लगाएर सारा ब्रह्माण्ड र चराचर जगतको सृष्टि गरेको कुरा पनि बाइबलमा उल्लेख छ । इस्लाम धर्मग्रन्थ ‘कुरान’ मा पनि त्यस्तै कुरा लेखिएको छ । पुराना चिनियाँ ग्रन्थमा पनि माटोबाटै मानिस बनेको कुरा लेखिएको छ । हिन्दू धर्मग्रन्थमा भने ब्रह्माबाट सारा सृष्टि भएको उल्लेख छ । तिनको सार त एउटै हो ।
बाइबल, कुरान, वेद, उपनिषद् आदि लेख्नुभन्दा लाखौँ वर्ष अगाडि नै मानवको सृष्टि भएको तथ्य प्रमाणित भइसकेको छ । इसाईहरूको ‘परमेश्वर’ इशु जन्मनुअगाडि नै ‘दैवी चमत्कार’ बाट नभई प्रकृतिबाट मानव उत्पन्न भएको कुरा ती नै लेखक प्रधानले लेखेका छन् । त्यसो त माटोबाट भ्यागुतो, मासुबाट झिँगा, धानगहुँका रासबाट मुसा उत्पत्ति भएको सिद्धान्त नआएको होइन । निर्जीव वस्तुबाट सजीवको उत्पत्ति भएको भन्ने सिद्धान्त (थ्योअरी अफ स्पन्टेनिअस जेनरेसन) बारेमा हिजोआज कक्षा ११ को पाठ्यक्रममा छलफलको निम्ति राखिएको छ । ‘थ्योअरी अफ सुपरनेचरल अरिजिन’ अथवा अलौकिक सृष्टिको सिद्धान्तको पनि कक्षा ११ को विज्ञान कक्षामा आलोचनात्मक अध्ययन र अध्यापन हुँदै आएको छ । तर, डार्विन र मेन्डलका सिद्धान्तदेखि अनुवंशिक (जेनिटिक) इन्जिनियरिङ पढाउने शिक्षकहरूमा समेत “कुनै अदृश्य शक्ति त छ है नत्र कसरी संसारको सञ्चालन यति व्यवस्थितरूपमा चलिरहन सक्छ ?” भन्ने जस्ता तर्कले गाँजेको छ । यसरी ‘आखिर रहेछ श्रीकृष्ण एक ¤’ भन्दै ‘भगवान’ कै शरणमा पर्ने पठित वर्ग पनि यही आधुनिक समाजमा छ ।

शालिग्रामको पूजाको रहस्य
यहाँनिर शालिग्रामको प्रसङ्ग उल्लेख गर्नु उचित लाग्यो । ‘हिन्दू धर्मशास्त्रअनुसार कलियुगको ५ हजार वर्षपछि विश्वका सबै तीर्थस्थलका देवीदेवता कालीगण्डकीको शालिग्राममा बास बस्ने भएकोले यसको धार्मिक महत्व’ छ भनिएको छ ।
तर, शालिग्राम (यामनाइट फसिल) मा देखिने अनेक जीवका चित्रजस्ता आकृतिलाई वैज्ञानिक भाषामा फसिल वा जीवावशेष भनिन्छ । लाखौँकरोडौँ वर्ष अगाडिका जीवहरूको अंश वा तिनको छाप नै जीवावशेष हो । शालिग्राम ६ करोड ६० लाख वर्ष पुराना शङ्खेकीराका अवशेष हुन् । नेपाल प्रज्ञा प्रतिष्ठानको शब्दकोशअनुसार प्राचीनकालदेखि चट्टानमा परी थिचिएर रहेका वा जमिनको भित्री तहबाट निकालिएका प्राचीनकालका जीव, वनस्पति आदिको अश्मीभूत वा ढुङ्गामा परिणत रूप नै फसिल वा जीवावशेष हो ।
मानवलगायत धेरै विकसित जीवका साझा पुर्खा वा करोडौँ वर्ष अगाडिका हाम्रा नातेदारको अवशेषको वैज्ञानिक अध्ययनको लागि शालिग्रामको संरक्षण गर्नु छुट्टै कुरा हुन सक्छ । प्रकृतिले कोरेको बुट्टाको रहस्य थाहा नपाएर होस् वा मानिसको पूर्वजमध्येको जीवावशेष ठानेर मानिसले शालिग्रामको पूजा गर्न थाले । यसलाई धेरै अन्यथा के ठानौँ ¤
कालीगण्डकी उद्गमस्थल दामोदर कुण्डदेखि देवघाटसम्म शालिग्राम पाउनु निश्चय नै नेपालको निम्ति गर्वको कुरा हो । ‘विश्वको एकमात्र शालिग्राम पाइने नदी पनि कालीगण्डकी नै भएकोले यसको प्रकृति बिगार्नु हुँदैन, यसको अध्ययन र अनुसन्धानको निम्ति बाटो खोल्नुपर्छ’ भन्ने भनाइसँग यो पङ्क्तिकार पनि सहमत छ ।

बाँदर मानवको पुर्खा होइन !
माथि नै भनियो, बाँदरलाई आधुनिक मानव (होमो स्यापिएन्स) को पुर्खा हो भन्ने भ्रम आजसम्म पनि व्याप्त छ । चाल्र्स डार्विनले कहिल्यै त्यसो भनेका थिएनन् । डार्विनले प्राकृतिक छनोटबाट प्रजातिको उत्पत्ति (अरिजिन अफ स्पिसिज बाइ नेचरल सेलेक्सन) को सिद्धान्त प्रतिपादन गरी सन् १८५९ मा प्रकाशित गरेपछि उनलाई हियाउनको निम्ति त्यतिबेलाका पादरीहरूले ‘बाँदरको सन्तान’ को शब्दावली प्रयोग गरेका थिए ।
यसबारे एउटा अर्को घटना यहाँ राख्नु सान्दर्भिक हुन्छ – डार्विनको सिद्धान्त प्रचारमा आएदेखि नै चर्चका पादरीहरूले ठाउँठाउँमा प्रवचन, सभा, सम्मेलनहरूको आयोजना गरेर त्यस सिद्धान्तको कडा प्रतिवाद गर्न थालेका थिए । यही सिलसिलामा सन् १८६० को जूनमा ब्रिटिस एसोसिएसनको भेलामा एकखालको वादविवाद भयो ।
चर्चका पादरीहरूको आयोजनामा भएको त्यस सभामा डार्विन उपस्थित थिएनन् । सभामा विरोधीहरूले डार्विन समर्थकहरूलाई ‘उदाङ््ग्याउने’ प्रयास गरेका थिए तर उनीहरू असफल भए ।
डार्विनको पक्षमा हुकर र हक्सलेले प्रतिवाद गरेका थिए । अनि, पादरीहरूको बचाउ गर्ने वक्ता थिए – अक्सफोर्डका पादरी विसप । त्यो स्थिति तनावपूर्ण थियो । सभाहल दर्शकहरूले खचाखच भरिएको थियो ।
सभामा विसपले आधा घण्टासम्म डार्विनको सिद्धान्तविरुद्ध तीतो पोखे । उनी विषयवस्तुप्रति गम्भीर थिएनन् । उनको बोलीबाट घोकेका कुराहरूमात्र ओकलेको स्पष्ट हुन्थ्यो । उनले भाषण अन्त गर्नुअघि खिसीयुक्त मुस्कान निकाल्दै हक्सलेलाई भने, “उनका पूर्वज बाँदर रे ¤”
हक्सलेले आफ्नो बोल्ने पालो आउनेबित्तिकै शान्तपूर्वक उठेर बडा ओजपूर्ण शब्दहरूमा आफ्ना तर्कहरू अगाडि सारे, “मैले आफ्नो पूर्वज बाँदर हो भन्ने सत्य बुझ्न पाएकोमा म गौरवान्वित छु र यसमा म कति पनि लाज महसुस गर्दिनँ । किनभने, यही वास्तविकता हो, सत्य हो, विज्ञान हो । म विज्ञानलाई माया गर्छु । म आफूलाई सानोबाट ठूलो भएको पनि भन्ने, फेरि ‘ईश्वर’ ले सृष्टि गरेको हो भन्नेजस्ता एक अर्कामा बाझिने कुरा गर्दिनँ ।” यस्तो तर्क सुनेर हलभित्र तालीको गडगडाहट गुञ्जियो ।
सन् १८७१ मा डार्विनले ‘द डिसेन्ट अफ म्यान यान्ड सेलेक्सन इन रिलेसन टु सेक्स’ पुस्तक प्रकाशित गर्दै ‘यसरी चार हातखुट्टा टेकेर हिँड्ने अपुच्छ (पुच्छर नभएका) बाँदरबाट मान्छेको जन्म भएको’ बताए । डार्विनले चिम्पान्जी र गोरिल्लालाई अपुच्छ बाँदर भनेका थिए । त्यतिबेला नियान्डर्थल मानवको जीवाश्म भेटिसकेको थियो । आज पनि चिम्पान्जी, गोरिल्ला र मानवलाई एउटै परिवारमा राखिएको छ । तर, यसको अर्थ आजका चिम्पान्जी आगतमा पनि मानव नै रहनेछन् भन्ने निष्कर्ष होइन । यो सत्य हो कि वनमान्छे र मानिसको पुर्खा भने एउटै हो । बाँदर र मानिसको पनि पुर्खा एउटै हो भन्न सकिन्छ । तर बाँदरबाटै क्रमिक विकास भई मानिसको उत्पत्ति भएको सत्य होइन ।
आधुनिक विज्ञानको तथ्यप्रमाणले पनि मानिसको सबभन्दा नजिकको नातेदार वनमान्छे (चिम्पान्जी र गोरिल्ला) नै हुन् भन्ने सिद्ध गरेको छ । वंशाणु (जिन) को अध्ययनअनुसार वनमान्छे भनिने चिम्पान्जी तथा गोरिल्ला र मानिसबीच ९८ प्रतिशत समानता पाइन्छ । त्यसैले आजको आधुनिक मानिस ९८ प्रतिशत वनमान्छे र २ प्रतिशतमात्र मानिस हो भन्ने गरिन्छ । मानवको सुरुको पुर्खा र चिम्पाञ्जीको सुरुको पुर्खा आजभन्दा ५८ देखि ४४ लाख वर्ष पहिले छुट्टिएको तथ्य वैज्ञानिकहरूले औँल्याएका छन् । आजसम्म भेटिएको होमो स्यापिएन्सको जीवावशेष भने १ लाख ६० हजार वर्षभन्दा पुरानो छैन । होमो स्यापिएन्स मानव प्रजाति होमो इरेक्टस प्रजातिबाट उत्परिवर्तन भएको कुरा वैज्ञानिकहरूले उद्घोष गरेका छन् ।

डार्विनले भेउ नपाएको कुरा : उत्परिवर्तन
डार्विनको समयसम्म वंशाणु
(जीन) को आविष्कार भएको थिएन । यद्यपि, सन्तानमा आमाबुबाको गुण सर्नेबारे उनी पूरापुर जानकार थिए । यसले गर्दा प्राकृतिक छनोटको आधारमा नयाँ प्रजातिको विकास हुन्छ भन्ने सिद्धान्त पत्ता लगाउन सहज भयो । हुन त हाम्रा पुर्खालाई पनि राम्ररी थाहा थियो, राम्रो बीउको उत्पादन राम्रै हुन्छ । त्यसैले आलु, धान वा गहुँको बीउ छनोट गर्दा मानिसहरू कीरा नलागेको नै छान्दछन् । नढलेको धानको बोटबाट धानको बिउ छुट्ट्याउनुको अर्थ पनि त्यही हो । तुलनात्मकरूपमा पुष्ट वा ठूला दाना भएका अन्नको बीउ छान्नु वैज्ञानिक कुरा पनि हो । त्यस्तै हाम्रा पुर्खाले रगतको नाता पर्नेसँग विवाह सम्बन्ध राख्नु हुन्न भन्नु पनि त वंशाणुको नियम बुझेर हो अथवा कुनै वंशाणुगत रोग नसरोस् भनेर हो । वंशाणुविज्ञान बुझ्न सक्ने हाम्रा पुर्खामाथि भगवानको लेप लगाउन शासकहरूले छल गरेको यो पनि एउटा अकाट्य प्रमाण हो ।
तर, कुनै पनि जीवको बीज कोष (ग्यामेट) तथा युग्म (जाइगोट) मा रहेका जिनमा कहिलेकाहीँ अकस्मात् परिवर्तन आउँछ भन्ने तथ्य डार्विनलाई थाहा थिएन तसर्थ त्यस्तो परिवर्तनले पनि नयाँ प्रजातिको उत्पत्ति हुन्छ भन्ने कुरा डार्विनले थाहा पाउने कुरै थिएन । यस्तो अकस्मात् आउने परिवर्तनलाई म्युटेसन वा उत्परिवर्तन भनिन्छ ।
कोभिड महामारीको समयमा म्युटेसन शब्द प्रचलित हुन थालेको छ । म्युटेसनकै परिणामबाट नयाँ भेरिअन्टका कोरोना भाइरस देखिएका हुन् । सबै म्युटेसन उपयोगी हुन्छन् भन्ने होइन, म्युटेसन भएका सबै जीव प्रकृतिमा बाँच्न सक्छन् भन्ने पनि होइन । तर, प्रकृतिमा बाँच्न सकेमा त्यस्ता उत्परिवर्तित जीव नयाँ प्रजातिका पनि हुन सक्छन् र तिनले सन्तान उत्पादन गरी आफ्नो प्रजातिको विकास गर्न सक्छन् ।

अन्तमा,
प्रकृतिका रहस्यहरू खोतल्न विश्वका वैज्ञानिकहरू अहोरात्र खटिरहेका छन् । मानवको सृष्टिबारे धेरै कुरा प्रस्ट भइसकेको भए पनि यति विशाल पृथ्वीको असङ्ख्य जीवको सबै रहस्योद्घाटन गर्न शताब्दीऔँ लाग्नसक्छ । राज्यहरूले वैज्ञानिक अनुसन्धानलाई उच्च प्राथमिकता दिने हो भने आजका हामी मानवले पनि अरू धेरै योगदान दिन सक्छौँ । विज्ञानको उन्नत अनुसन्धानले नै हो, हामी आज ‘विज्ञानको बैँस’ मा सुखद जिन्दगी बाँचिरहेका छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *