अस्ट्रेलिया र बेलायतले १६ वर्षभन्दा कम उमेरका बालबालिकालाई मोबाइल प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरेका छन्
- असार ३, २०८३
भक्तपुर, ७ फागुन । भक्तपुर नगरपालिकाबाट सञ्चालित पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त ख्वप इन्जिनियरिङ कलेज र त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त ख्वप कलेज अफ इन्जिनियरिङमा अध्ययनरत गरिब तथा जेहेनदार विद्यार्थीहरूलाई आइतबार एक कार्यक्रमबिच छात्रवृत्ति रकम वितरण गरियो ।
भक्तपुर नगरपालिकाका प्रमुख तथा कलेज सञ्चालक समितिका अध्यक्ष सुनिल प्रजापतिले दुवै कलेजमा अध्ययनरत विद्यार्थीहरूलाई आइतबार रु. ६१ लाख बराबरको छात्रवृत्ति वितरण गर्नुभयो ।
कार्यक्रममा प्रमुख प्रजापतिले सस्तो र गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले स्थापित कलेजले गरिब र जेहेनदार विद्यार्थीलाई उच्च शिक्षा हासिल गर्ने अवसर प्रदान गर्न र विद्यार्थीहरूलाई उत्साह प्रदान गर्न छात्रवृत्ति वितरण गर्दै आएको बताउनुभयो ।
भक्तपुर नपाबाट सञ्चालित विभिन्न कलेजहरूमार्फत वार्षिक ४ करोड बराबरको छात्रवृत्ति वितरण हुँदै आइरहेको बताउँदै उहाँले भन्नुभयो, “शैक्षिक संस्थामा बन्द हडतालको प्रभाव पर्नुहुँदैन भन्ने मान्यताले हामी अगाडि बढिरहेका छौँ ।”
उहाँले इमानदारीपूर्वक देश र जनताको निम्ति सेवा गर्ने भावना विद्यार्थीहरूमा हुनुपर्नेमा जोड दिँदै भक्तपुर नपाले अन्य विभिन्न विषयमा पीएचडीसम्म अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति र शैक्षिक ऋण उपलब्ध गराउँदै आएको बताउनुभयो ।
प्रजातन्त्र पुनःस्थापनाको ३३ वर्ष बितिसक्दा पनि जनताले देशमा कुनै परिवर्तनको महशुश नगरेको उल्लेख गर्दै प्रमुख प्रजापतिले आर्थिक समानतासहितको प्रजातन्त्र आजको आवश्यकता हो भन्नुभयो ।
राजनीतिक अस्थिरता भएको देशमा विकासको सम्भावना नहुने चर्चा गर्दै उहाँले नेपालको राजनीतिमा भारतीय हस्तक्षेप नै देश विकास नहुनुको कारक तत्व भएको बताउनुभयो ।
विद्यार्थीहरूले अध्ययनसँगसँगै देशको राजनीतिबारे ध्यान दिन सके हामीले सोचेअनुसार देशमा परिवर्तन सम्भव हुने विचार व्यक्त गर्दै उहाँले परिश्रम र मेहनती विद्यार्थीले सफलता हासिल गर्ने बताउनुभयो ।
भक्तपुर नपा वडा नंं ९ का वडाध्यक्ष तथा कलेज सञ्चालक समितिका सदस्य रवीन्द्र ज्याख्वले भक्तपुर नपाले हाल ८ वटा कलेज, ६ वटा शिशुस्याहार केन्द्र सञ्चालन गरिरहेको स्पष्ट पार्दै ख्वप विश्वविद्यालय सञ्चालनको अनुमतिको प्रतिक्षामा नगरपालिका रहेको बताउनुभयो ।
ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य सुजन माकले कलेज स्थापनाका उद्देश्यमाथि प्रस्ट पार्दै कलेज स्थापनाको उद्देश्यअनुसार निजी कलेजको तुलनामा झन्डै आधा शुल्कमा भक्तपुर नपाबाट सञ्चालित ख्वप इन्जिनियरिङ कलेजले इन्जिनियरिङ शिक्षाको अध्ययन अध्यापन गराउँदै आएको बताउनुभयो ।
ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य सुनिल दुवालले छात्रवृत्ति रकमको सदुपयोग गर्न विद्यार्थीलाई आग्रह गर्दै नगरपालिकाको योगदानबाट सबै विद्यार्थीहरू लाभान्वित भएको र भक्तपुरको दुवै इन्जिनियरिङ कलेजले उत्कृष्टता हासिल गरिरहेको बताउनुभयो ।
कार्यक्रममा ख्वप इन्जिनियरिङ कलेजका उपप्राचार्य रवीन्द्र फोँजुले कलेजले प्रदान गरेको छात्रवृत्तिले विद्यार्थीहरूमा उत्साह थपेको, नयाँ नयाँ कुरा सिक्न प्रेरित गरेको र परीक्षाको नतिजामा सकारात्मक प्रभाव परेको बताउनुभयो ।
कार्यक्रममा ख्वप इन्जिनियरिङ कलेज लेखा शाखा प्रमुख काजीबहादुर पञ्च, प्रशासन प्रमुख सिद्धिराम सुवाल, ख्वप कलेज अफ इन्जिनियरिङ प्रशासन प्रमुख सञ्जय मानन्धरले पनि बोल्नुभएको थियो ।
भक्तपुर नगरपालिकाबाट सञ्चालित ख्वप इन्जिनियरिङ कलेजका विद्यार्थीहरूलाई रु. ३२ लाख ९ सय र ख्वप कलेज अफ इन्जिनियरिङका विद्यार्थीलाई रु. २९ लाख ३६ हजार गरी रु. ६१ लाख बराबरको छात्रवृत्ति रकम वितरण गरिएको कलेज स्रोतले जनाएको छ ।
Leave a Reply