सत्यमोहन जोशीको गन्तव्य : अरनिकोको खोज
- असार ३, २०८३
माघ महिनाको अन्तिम दिन नवलपरासीको ठाडीघाट पुग्दा नारायणी नदी सौम्य देखिए पनि बगरमा चलेको हावाले आँखा खोलेर हिँड्न पनि धौ धौ बनाएको थियो । फुस्रो बालुवामा उसै पनि हिँड्न गा¥हो, त्यसमाथि बालुवाका कण उडाएको हावाले नारायणी नदी तारिदिने डुङ्गासम्म पुग्न हामीलाई ख्याल गा¥हो भएको थिएन । तर, नदीपारि सुस्ता पुग्ने व्यग्रताले हाम्रो पाइला धक नमानी अघि बढिरह्यो ।
२०६२ सालमा पहिलोपटक गण्डक बाँध तरेर साइकलमा हामी सुस्ता पुगेका थियौँ । भारतको चम्पारण जिल्लाको भूगोल छिचोल्दै मध्य दिनमा सुस्ता पुग्दा किसानहरू उखु पेलिरहेका थिए । उखु पेलेर बनेको सख्खरका टुक्राले साइकलको यात्राले थाकेको तनलाई केही राहत मिलेको थियो । त्यसयता त्यो भूगोलमा कम्तीमा चारपटक पुगिसकेँ । तर, योपालि जस्तो सुस्तामा बदलाव यसअघि अनुभव गरेको थिइनँ ।
नारायणी नदी तर्न बगरमा हिँड्दै गर्दा पर बन्दै गरेको पुलका संरचना धमिलो देखिन्थे । नारायणी नदीले धार बदल्दा टापुजस्तै बनेको नेपालको यो भूभाग जोड्ने पुल नहुँदा त्यहाँका जनताले धेरै कुरामा भारतसँग निर्भर हुनुपर्ने बाध्यता भोग्दै आएका छन् । नुन, तेल, औषधि, कपडाजस्ता दैनन्दिनका सामग्री किन्न सुस्तावासीलाई भारतीय बजारको मुख ताक्नुको विकल्प छैन । किनभने, नारायणी नदीमा पानी बढ्दा डुङ्गाले पार लगाउन मुस्किल हुन्छ । नदीमा बाढी आउँदा नदीवारि आउन उनीहरूले घण्टौँ साइकल (भएकाले मोटरसाइकल) मा यात्रा गरेर गण्डक बाँध तरेरमात्र नेपाल आउन सक्छन् । नेपाली बजार जाने यस्ता झमेलाका कारण सुस्तावासीलाई दक्षिणकै मुख ताक्न कर लाग्छ । नेपालीको यस्तो बाध्यता बुझेका भारतीय सीमा सुरक्षा बलले भने नेपालीहरूलाई सीमावर्ती चौकीमा पेल्ने, हेप्ने र पिटपाटसमेत गर्छन् । नदी तरेर वारि नेपाल आए पनि नजिकै बजार नहुँदा सुस्तावासीले चाहेर पनि नेपाली बजारसँग आफूलाई जोड्न सकेका छैनन् । कदाचित पुल भए भारतसँगको निर्भरता कम हुने थियो । त्यसले उताका सुरक्षाकर्मीको हेय व्यवहारबाट जोगिन सकिन्थ्यो । तर, सात वर्षअघि बन्न थालेको सुस्ता जोड्ने पुल भने अझै पनि बनिसकेको छैन । पुलका खम्बा बनिसके । तर, हिँड्डुल गर्न मिल्ने पुल बन्ने कहिले हो कहिले ! अर्थात्, सुस्तावासी बन्दै गरेको पुलका संरचना हेर्दै फेरि पनि उही पुराना दिन बिताइरहेका छन् । उनीहरूमध्ये कसैलाई पुल कहिलेसम्म बन्छ भन्ने कुराको अन्दाज पनि छैन ।
अघि मान्छेले चलाउने डुङ्गामा नदी तरेका हामी यो पालि भने नारायणीमा मोटरजडित डुङ्गा चलेको देख्यौँ । अब नदीमा पौडी खेल्दै र आधा जिउ पानीमा डुबाएर यात्रीलाई नदी तार्ने जोखिमबाट माझी मुक्त भएका छन् । उखु खचाखच भरिएका दुई वटा ट्र्याक्टर पनि त्यहाँका मोटरजडित डुङ्गाले सजिलै वारिपारि गरिरहेका थिए । हामी चढेको डुङ्गामा पनि कम्तीमा ८०–९० मानिस थिए । केही मोटरसाइकल । अनि केही भारी । नदी तर्न हामीलाई मुस्किलले पन्ध्र मिनेट लाग्यो । नदीमा पानी कम हुने याम भएर पनि हुनसक्छ । तर, नारायणीमा बाढी आउँदा सायद यसरी डुङ्गामा वारपार गर्न सहज हुँदैन ।
नारायणी नदीपारि सुस्ता प्रवेशसँगै अनुभव गरेको पहिलो परिवर्तन त्यहाँको बाटो हो । सुस्तालाई फन्को मारेको बाटो ढलान गरिएको छ । यसअघि सुस्ताको बाटो त्यस्तो थिएन । तराईको औसत गाउँले सडकजस्तै थियो सुस्ताको बाटो–धुलाम्ये र खाल्डाखुल्डी । ढलान गरिएको सडकले सुस्ता तुलनात्मकरूपमा व्यवस्थित देखिएको छ । तथापि, सडकमा रस निख्राइएको उखुका छोक्राको बिस्कुन लगाइएको थियो । किसानहरू ढलान सडकमै तोरी झारिरहेका थिए ।
सुस्तावासी उखु रोप्न व्यस्त देखिन्थे । त्रिवेणीमा चिनी कारखाना भएकोले सुस्ताका किसानलाई उखुबाली सहज छ । तर, सरकारले तोकेको उखुको मूल्यबाट तराईका अधिकांश उखु किसानजस्तै सुस्तावासी पनि वञ्चित छन् । उनीहरू सस्तो मोलमा उखु बेच्छन् । किनभने आफ्नो मेहनतको मूल्य दिलाउन उनीहरूको कुनै सरकार छैन ।
सुस्तामा सोलार बत्ती बल्न थालेको छ । ढलान सडकको किनारामा सडक बत्तीका खम्बा छन् । स–साना मेसिन चलाउन पुग्ने सौर्य ऊर्जाले सुस्तावासीका दैनिक जीवनमा केही राहत भएको हुनुपर्छ । तर, मध्य सुस्तामा भेटिएका शम्शेर आलम खाँको भने सिंहदरबारसँग अझै पनि धेरै प्रश्न छन् । सोलारका काला पाटा देखेर हौसिएका हामीलाई उनले देखाएका मसिना डण्डीको भरमा उभ्याएका भित्ताहरूका कुरा सुनेर मन खिस्रिक्क भयो । सरकारले घरबार नभएकालाई बनाइदिएका घर थिए ती । यस्ता घर बनाउन सरकारले ठेक्का दिने गरेको छ । तर, ती घर कम, ठिङ उभिएका पर्खाल बढी लाग्छ । यस्ता घर बनाउँदा ठेकेदारले राज्यकोषबाट भ्रष्टाचार गरेको घामजत्तिकै छर्लङ्ग देखिन्थ्यो । राज्यकोषबाट बनेका ती घर ज्यादै कमसल भएको आलम खाँको गुनासो छ । खानेपानी आयोजनाको सन्दर्भमा पनि उस्तै आर्थिक हिनामिना र घोटाला भएको उनको आरोप छ ।

“सुस्तावासीका अहिलेका सबभन्दा प्रमुख समस्या के हुन् ?”
प्रवीणता प्रमाणपत्र तहसम्म अध्ययन गरेका आलम खाँले प्रश्न भुइँमा खस्न नपाउँदै दुई वटा बुँदामा भने, “एक, नागरिकता । दुई, कृषि उत्पादनको उचित मूल्य ।” सुस्ता बचाउ अभियानमा सुरुदेखि सक्रिय आलम खाँका नाताले भतिजा आलम खाँले भारतले सुस्ता क्षेत्रमा गरेको भूमि अतिक्रमणलाई प्रमुख समस्यामा सूचीकरण नगर्दा हामीलाई आश्चर्य लाग्यो । बरु उनले सुस्तावासी नेपालीले नागरिकता नपाउँदा उत्पादनमूलक काम र पेसा व्यवसाय गर्न नपाएको गुनासो पोखे । नागरिकता नपाउँदा कतिपय सुस्ताका विद्यार्थीले उच्च शिक्षा पढ्न समेत नपाएको र रोजगारीको लागि आवेदन दिनेजस्ता प्रक्रियागत कानुनी झमेला भोग्नुपरेको र अवसरबाट वञ्चित हुनुपरेको बताए । उनले कृषि उत्पादनको उचित मूल्य नपाउँदा सुस्तावासी किसानले जीविकोपार्जनको विकल्प खोज्न थालेको बताए ।
विगतको तुलनामा भारतीय सुरक्षाकर्मीको व्यवहारमा खासै अन्तर नआएको उनको अनुभव छ । “भारतीय बजारबाट अत्यावश्यक सामान ल्याउँदा भारतीय सिपाहीँले पहिलाजस्तै दुःख दिन्छन्”, उनले भने ।
२०६२ सालमा सुस्ता पुग्दा त्यहाँको प्रहरी कार्यालय देखेर हामी हैरान भएका थियौँ । खरले छाएका दुई तीन वटा छाप्रो नै उतिबेला देखेको प्रहरी चौकी थियो । प्रहरीले आफ्नो दुरवस्थाबारे हामीलाई दुःख सुनाएका थिए । आफ्नै सुरक्षाको ठेगान नभएका प्रहरीले कसरी नागरिकको सुरक्षा गर्दा हुन् ! तर, अहिले एउटा पक्की भवनमा प्रहरी कार्यालय बनाइएको छ । पक्की भवनको आडैमा पुरानो खरले छाएको छाप्रोको भग्नावशेष पुराना दिन सम्झाउँदै उभिएको छ । त्यहाँ भेटिएका असईले सुस्ता क्षेत्र विगतजस्तो असुरक्षित नभएको बताए । उनले विवादित क्षेत्रबाट दुवै पक्ष टाढा बसेको र नेपालमा प्रहरी तथा सशस्त्र प्रहरीका व्यवस्थित चौकी बनेपछि अवस्थामा भिन्नता आएको बताए ।
सुस्ताका जनताको दुःख र समस्याबारे नेपाल सरकारमाथि परेको दबाबको परिणामस्वरूप पूर्वाधार निर्माणमा केही काम भए पनि सुस्ताको मूल मुद्दा अतिक्रमित भूभाग फिर्ता गर्ने र आवागमन, शिक्षा, स्वास्थ्यजस्ता जनजीवनका आधारभूत क्षेत्रमा भने कुनै उल्लेख्य प्रगति भएको देखिँदैन । स्वास्थ्य चौकीमा अनुभवी चिकित्सक र स्वास्थ्यकर्मी नहुँदा कुनै आपतविपद् आइलागे भारतीय सहर वा नेपालको परासी वा त्रिवेणी दौडिनुको विकल्प छैन । भारतले विगतमा अतिक्रमण गरेको भूमिलाई अहिले विवादरहित जस्तो बनाइएको छ । विवादित क्षेत्रबाट दुवै पक्ष अलग बस्ने नाममा भूमि अतिक्रमणबाट भारतीय पक्षलाई चोख्याउने काम भइरहेको छ ।
कुनै पनि पीडा लामो समयसम्म भइरहे जो कोहीले त्यसलाई स्वाभाविक ठानेर आफूलाई अनुकूल हुन सिक्छ । सुस्तामा भूमि अतिक्रमण र खुला सीमाको कारण भारतीय पक्षले उठाइरहेको अवैध लाभले नेपाली जनतालाई पारेको प्रभाव अर्थात् सुस्तावासीका दुःख पनि यति लामो समयदेखि स्वाभाविकजस्तो गरी चल्दै आएको छ कि धेरैले त्यस्ता दुःखमा आफूलाई अनुकूलन गरिसकेका छन् कि ! सुस्तामा भूमि अतिक्रमणको समाचारलाई नेपालीहरूले पनि स्वाभाविक मान्न थालेका छन् जसरी इलाममा चियाबगान, चितवनमा गैडा, बर्दियामा बाघ हुन्छ । सुस्ताबाट सीमा अतिक्रमणको समाचार आउनु सामान्य जस्तै भएको छ । भारतले गरेको भूमि अतिक्रमणको मुद्दालाई जोडतोडका साथ उठाएर लडिरहेको पुस्ताका धेरै मानिस आफै सक्रिय भएर लाग्न नसक्ने र सरकारले पनि यो मुद्दामा कुनै चासो नदेखाएपछि सीमा अतिक्रमणको मुद्दा गौण बन्दै गएको छ । नयाँ पुस्ताले यो मुद्दालाई बोकिरहेको छैन । त्यसकारण, सरकारलाई पनि बाटाघाटा र बिजुलीजस्ता पूर्वाधारका एकाध काममै जनतालाई चित्त बुझाउन सहज भएको छ । तर, मूल मुद्दा भने ओझेल पर्दै गएको छ ।
वेगवान हावाले नारायणीको पानीलाई पनि खुब मच्चाइरहेको थियो । मोटरजडित डुङ्गाबाट झरेर कत्ला परेको बालुवाको बाटो हुँदै हामी ठाडीघाट पुगुञ्जेल बालुवाले धुलोमैलो भइसकेका थियौँ । ठाडीघाटबाट पारि सुस्तालाई नियाल्दा समयसँगै सुस्ताले पनि स्वाभाविक परिवर्तन भोगिरहे पनि सुस्ताको मनमा बिझाइरहेको काँडा भने अझ उस्तै भएको अनुभव भयो ।

नीरज लवजू
Leave a Reply