भर्खरै :

सत्यमोहन जोशीको गन्तव्य : अरनिकोको खोज

  • असार ३, २०८३
  • नरेन्द्रराज प्रसाई
  • विचार
सत्यमोहन जोशीको गन्तव्य : अरनिकोको खोज

सत्यमोहन जोशीलाई पुरातत्व विभागको निर्देशकको पदबाट बलजफ्ती हटाएपछि उनी चीन गएका थिए । त्यतिबेला चीन जाँदा उनले आफूले काम गरेको ठाउँमा चिनियाँ बुद्धिजीवी र विद्यार्थीलाई पनि रिझाएका थिए । त्यसैले नेपाल प्रज्ञाप्रतिष्ठानको पदावधि सकिएपछि पनि चिनियाँहरूको अनुरोधमा उनी फेरि चीन गए । वास्तवमा ती अनुरोधकर्ताहरू सत्यमोहन जोशीले पहिला पढाएका विद्यार्थीहरूमध्येकै थिए । “हामीले विश्वविद्यालयमा अहिले गतिलो नेपाली विभाग पनि स्थापना गरेका छौँ । तपाईँलाई उच्च आसनमा राखेर हामी काम गर्न चाहन्छौँ” भनेर अनुरोध गरेपछि जोशीले आफ्नो पाइला फेरि चीनतिर बढाएका थिए ।
सत्यमोहन जोशी चीन गएपछि नयाँ कुराको खोजीमा लागे । त्यसैले, नेपाली भाषाको परिमार्जन र विद्यार्थीको स्तर उकास्ने काममा पनि उनी लागे । नेपाली भाषा, साहित्य र संस्कृतिका विषयमा चिनियाँहरूलाई ज्ञान दिने विषयमा जोशी फेरि पनि केन्द्रित हुन थाले ।
चीनमा बसेका बेला सत्यमोहन जोशीमा थप अर्को काम गर्ने इच्छा पलायो । कुरा के हो भने उनले अरनिकोका विषयमा अरू विषयवस्तु जान्न चाहे । त्यही परिणतिका कारण उनी १३ औँ शताब्दीमा नेपालबाट चीन पुगेका नेपाली कलाकार अरनिकोका बारेमा अध्ययन, अनुसन्धान र चिन्तन गर्न लागे । त्यस विषयमा उनले भने, “त्यहाँ मेरो खास कामलाई नबिगारी मैले फुर्सद र छुट्टीका समयमा अरनिकोकै बारेमा अनुसन्धानमा लागेँ ।” त्यतिबेला उनलाई काम गर्नका लागि भाषाको समस्या पनि परेन । किनभने, उनले तयार गरेका विद्यार्थीहरूबाट उनले भनेजस्तो सहयोग पाई नै रहे ।
श्वेत चैत्यको निर्माण नेपाली वास्तुकलाविद् अरनिकोले आजभन्दा सात सय वर्षअघि अर्थात् सन् १२७१ मा युआन वंशका सम्राटद्वारा त्यसबेला कार्यान्वित गर्न लगाएका प्रमुख योजनाहरूअन्तर्गत सुरु गरी जम्मा ८ वर्ष लगाएर सन् १२७९ मा पूर्ण गरेका थिए । चीनको राजधानी पेइचिङको मध्तगमा श्वेत चैत्य अवस्थित भएको कुरा सत्यमोहन जोशीले चीनमा पुगेताक सुरुमै देखेका थिए ।
सत्यमोहन जोशीले चीन पुगेकै बेला त्यहाँको राजधानीस्थित पुरातात्विक सामग्री प्रस्तुत हुने भव्य भवनको सभाकक्षमा नै नेपाली वास्तुकलाविद् अरनिको (चिनियाँ नामक आनिक) को नाम र उनको अमरकृति श्वेतचैत्यको सङ्क्षिप्त परिचय प्रस्तुत गरेको पनि देखेका थिए । यसबारे उनले भने, “यहाँको प्रदर्शनीकक्षको निरीक्षण गर्दा श्वेत चैत्यका विषयमा जनगणतन्त्र चीन सरकारले लाखौँ रूपैयाँ खर्च गरी जीर्णोद्धार सुधार र संरक्षणका लागि उठाएका विभिन्न प्रशंसनीय कार्यहरूको जानकारी गर्न पाइन्छ । यहाँ श्वेतचैत्यको जीर्णोद्धार गरिँदा (चीनमा १९७६ मा गएको महाभूकम्पले श्वेत चैत्यको उपल्लो भागमा निकै नराम्रोसँग बिगारेको थियो) त्यसको विशालकाय गजुरको कलशाकार गर्भकाय र मण्डपाकारको आसनभित्र प्राप्त भएका अमूल्य बौद्धकला कृतिहरू, अभिलेखहरू, धर्मग्रन्थहरू पनि प्रदर्शनीका लागि राखिएका छन् । प्रायः धेरैजसो सामग्रीहरू छिङवंशका सम्राटले १७५३ मा श्वेत चैत्यको जीर्णोद्धार गरी गजुरको भित्री भागमा अमूल्य सामग्रीहरू सञ्चित गरी चढाएको विवरण पाइन्छ ।”
अनि मुख्यतया यहाँ नेपाली वास्तुकलाविद् अरनिकोको जीवनी र उनका अमरकृतिहरूको विवरणयुक्त दुईवटा पुस्तकको नाम हो युआन श ले च्वाश च्याउ कुङ यी (अर्थात्, युआन वंशको इतिहास, १९ औँ परिच्छेद हस्तकला) । कलाकारको विषय भएको यस पुस्तकमा सबभन्दा पहिले नेपालका कलाकार अरनिकोको बारेमा प्रमाणिक विवरण दिइएको पाइन्छ । अनि अर्को पुस्तकको नाम हो श्वै लौ ची चुआन् छि । यस पुस्तकको सातौँ परिच्छेदमा पनि युआन वंशका एक जना नामी लेखक चेन चू पूmले नेपाली कलाकार अरनिकोको बारेमा लेखेका ऐतिहासिक विवरणहरू पाइन्छन् । अनि यी सबका अतिरिक्त, यहाँ सन् १३४३ देखि वर्तमान कालसम्म समयसमयमा श्वेत चैत्य विषयक भएका जीर्णोद्धार सुधार कार्यका विवरण तालिका पनि प्राप्त हुन्छन् ।
सत्यमोहन जोशीका विद्यार्थीले जोशीलाई अरनिकोको जीवन कथा लेख्न खुबै मद्दत गरे । उनले त्यहाँ पुरानापुराना चिनियाँ लिपिहरूको पनि सङ्ग्रह गर्न थाले । तर, पुरानो चिनियाँ भाषा त्यहाँका आधुनिक विद्यार्थीले पनि बुझ्न सक्तैन थिए । त्यसैले उनीहरूले पनि पुराना र बूढा पण्डितहरूसँग अनुनय गरेर त्यसको अनुवाद गराउँथे । त्यही क्रममा चीनभरि छरिएका अरनिकोका सामग्री जोशीले यथेष्ट रूपमा भेला पार्ने काम गर्न थाले ।
सत्यमोहन जोशी अरनिकोका विषयमा जानकारी लिन आफ्ना विद्यार्थीका साथ अरनिकोको समाधिस्थल पनि पुगेका थिए । त्यहाँ अरनिकोको एउटा शिलालेख पनि राखिएको रहेछ । त्यो बेहोरा पनि उनले आफ्ना विद्यार्थीमार्फत थाहा पाए । त्यतिबेला उनी ज्यादै हौसिएका थिए । किनभने चिताएको भन्दा धेरै सामग्री बटुल्ने अवसर उनले पाएका थिए । त्यतिखेर उनले सबैतिरबाट अरनिकोको दस्तावेज सङ्ग्रह गरेर त्यस विषयमा एउटा ग्रन्थ नै तयार गर्ने हिसाबमा पुगेका थिए ।
सत्यमोहन जोशी सर्वप्रथम २०१६ सालमा चीन गइसकेका थिए । त्यतिबेला धर्मोदय सभाका अध्यक्ष भिक्षु डा. अमृतानन्दको नेतृत्वमा जोशी पनि अरू पाँच जना साथीसहित चीनको सद्भावना भ्रमणमा गएका थिए । त्यतिबेलै उनले चिनियाँहरूसँग अरनिकोका विषयमा आवश्यकीय जानकारी लिइसकेका थिए । त्यहाँबाट फर्केपछि उनले अरनिकोका विषयमा व्याख्या विश्लेषणसहितको एउटा लेख पनि लेखे । त्यो लेख उनी आफू पुरातत्व विभागको निर्देशक भएपछि छापेका थिए । यसै विषयमा सत्यमोहन जोशीले ‘कलाकार अरनिको’ (२०४४) नामक कृतिमा लेखेका छन्,
“सन् १९५६ नोभेम्बर (वि.सं. २०१३ कार्तिक ३०–मार्ग ५) मा काठमाडौँमा धर्मोदय सभाको तत्वावधानमा विश्व बौद्ध सङ्घको ‘चतुर्थ विश्व बौद्ध सम्मेलन’ सम्पन्न भएको थियो । त्यस सम्मेलनमा जनगणतन्त्र चीनका चिनियाँ बौद्ध प्रतिनिधिमण्डलले पनि भाग लिएको थियो । सम्मेलनको समाप्तिमा चिनियाँ बौद्ध प्रतिनिधिमण्डलले धर्मोदय सभालाई चीनका बौद्ध स्थलहरू निरीक्षण गर्न निम्तो दिएर गएको थियो । त्यसबेला धर्मोदय सभाको कार्यकारिणी समितिमा म पनि एक जना सदस्य थिएँ ।”
पछि, २०१६ साल साउनमा धर्मोदय सभाका अध्यक्ष भिक्षु डा. अमृतानन्दको नेतृत्वमा चीनको सद्भावना भ्रमणमा जाने ६ सदस्यीय बौद्ध प्रतिनिधिमण्डलमा म पनि सम्मिलित भएँ । पेइचिङमा केही दिन बस्दा, ते¥हौँ शताब्दीमा नेपालका एक जना सपूत कलाकार अरनिकोले बनाएको ‘श्वेतचैत्य’ र त्यसको हाताभित्रको बौद्ध महाविहार निरीक्षण गर्ने सौभाग्य मैले पाएको थिएँ । त्यसबेला नेपाली बौद्ध प्रतिनिधिमण्डललाई अरनिकोकृत श्वेतचैत्यले निकै प्रभावित पारेको थियो । अनि नेपाल फर्केपछि, मैले ‘नेपाली कलाकार अरनिको र उनका कलाकृति’ शीर्षकमा एउटा लामो लेख लेखेको थिएँ र त्यो ‘पुरातत्व एक रोचक कथा’ नामक पुस्तकमा प्रकाशित पनि भयो ।
“त्यही बेलादेखिन् अरनिकोसम्बन्धी अझ बढी अध्ययन र अन्वेषण गर्ने मेरो प्रबल जिज्ञासा रहिरहेको थियो । पछि संयोगवश कविवर केदारमान ‘व्यथित’ को असीम अनुकम्पा पाई उहाँकै निर्देशनमा मलाई फेरि पेइचिङ जाने सौभाग्य मिल्यो । यसका लागि ‘व्यथित’ मा म सश्रद्धा आभार व्यक्त गर्दछु । अनि यसपटक क्वाम्पोसुयेन (पेइचिङ ब्रोड्कास्टिङ इन्स्टीच्युट) मा चिनियाँ विद्यार्थीहरूलाई ‘नेपाली भाषा’ सिकाउने काममा म फेरि पेइचिङ पुगेँ । तर, केही महिनापछि त्यहाँ महान् सर्वहारा सांस्कृतिक क्रान्तिले भयङ्कर रूपमा धरपकड गर्दा, श्वेतचैत्य अवस्थित ‘म्याउयिङ श’ बौद्ध महाविहारको प्रवेशद्वार नै बन्द भयो । त्यसैले त्यो बेला चार वर्ष (सन् १९६५—१९६९) पेइचिङमा बस्दा पनि, श्वेतचैत्यसम्बन्धी अध्ययन, अन्वेषण गर्ने प्रसङ्गमा चासोसम्म लिने काम पनि सम्भव हुन सकेन । केवल पेइचिङको पूmच्छमन मार्ग ओहरदोहर गर्दा, काठमाडौँ उपत्यकाका स्वयम्भूनाथ र बौद्धनाथ सादृश्यका ‘श्वेतचैत्य’ को विशाल गर्भगृह, गगनचुम्बी, छत्रयुक्त त्रयोदश भुवनसहितको सुनको गजुर परैबाट कैयन्पल्ट हेरेर मात्र नै अतृप्त सन्तोष बोकेर पछि म नेपाल फर्केँ ।”
“२०३७ सालको सुरुतिर रेडियो पेइचिङको नेपाली प्रसारण सेवामा सघाउ पु¥याउन मलाई फेरि पेइचिङ जाने सौभाग्य मिल्यो । मैले नेपाली पढाएका चिनियाँ विद्यार्थीहरू सबैजना आ–आफ्ना काममा लागिसकेका थिए, कोही रेडियो पेइचिङमा, कोही दक्षिण एसिया अध्ययन संस्थानमा, कोही विदेशी भाषा अध्ययन संस्थानमा, कोही परराष्ट्र सेवामा, कोही काठमाडौँस्थित चिनियाँ राजदूतावासमा, कोही नेपालमा सञ्चालन भइराखेका चिनियाँ सहयोग प्राप्त परियोजनाहरूमा । त्यसबेला दस वर्षसम्म मच्चिएको महान् सर्वहारा सांस्कृतिक क्रान्ति (सन् १९६६–१९७६) पनि टुङ्गिएर पेइचिङमा नयाँ उमङ्गको लहर चलिसकेको थियो ।”
सौभाग्यवश एक दिन जुलाई २, १९०० तारिखको सिन्ह्वा समाचार बुलेटिनमा नेपाली कलाकार अरनिकोले बनाएको ‘श्वेतचैत्य’ निरीक्षण गर्न पर्यटकहरूका लागि खुला गरिएको एउटा समाचार प्रकाशमा आयो । त्यसपछि चिनियाँ उपासक उपासिकाहरूकै पङ्क्तिमा हामीहरू – मेरी श्रमिती राधादेवीसहित म पनि ‘श्वेतचैत्य’ महाविहारमा नियमित रूपले जान लाग्यौँ । अष्टमी र पूर्णिमामा बुद्ध पूजा गर्ने क्रमहरू चालू भए । अनि यतैबाट फुर्सतको समयमा अरनिकोकृत श्वेतचैत्यसम्बन्धी अध्ययन र अन्वेषण गर्ने मेरो लामो समयदेखिको जिज्ञासालाई साकार रूप दिन एउटा निजी परियोजना सुरु भएको थियो ।
विशेषतः अरनिकोसम्बन्धी अध्ययन अन्वेषण सामग्रीहरूको मूलस्रोत मानिएको ग्रन्थ ‘स्वएलौची’ को चिनियाँ मूलको प्रतिलिपि पेइचिङ विश्वविद्यालयको पुस्तकालयबाट उपलब्ध गराइदिने चाङह्वई लान् (नेपाली नाम सुशीला) ले तथा त्यस ग्रन्थको व्याख्या गरिदिने काममा सघाउ पु¥याइदिने लू चन ह्वा (नेपाली नाम राममान) ले मप्रति बिर्सन नसक्नुका गुन लगाइदिएका छन् । यी दुवै जना मेरा विद्यार्थी साथीहरू हाल पेइचिङ विश्वविद्यालय र सामाजिक विज्ञान प्रतिष्ठानअन्तर्गत दक्षिण एसिया अध्ययन संस्थानमा नेपालसम्बन्धी अध्ययन अन्वेषणमा कार्यरत छन् । यसै अध्ययन संस्थानका एक अर्का मित्र सहप्राध्यापक वाङ होङ वैले पनि मेरो अन्वेषण कार्यमा सघाउ पु¥याइदिनुभएको छ । रेडियो पेइचिङको सहकर्मी विद्यार्थी साथीहरू (ली छन्, मिन यी, सुइ वै, सुहाउ, चाउ, सुन, वाङ, च्या, युफुङ, ल्यू होङ स्याङ) ले पनि मेरो अन्वेषण कार्यमा समयसमयमा सघाउ पु¥याइदिएका छन् ।”
सत्यमोहन जोशी अरनिकोको खोज गर्ने क्रममा एकपटक श्वेतचैत्यमा पनि पुगे । त्यहाँ पुगेपछि ‘प्रवेश निषेध’ लेखिएको बेहोरामा उनका दृष्टि पुगे । तर, उनका विद्यार्थीले जोशीको परिचय दिएर अनुरोध गरेपछि उनीहरूले त्यहाँ छिर्ने अनुमति पाएका थिए । त्यतिबेला जोशी आफ्नी श्रीमती राधादेवी पनि लिएर त्यस काममा लागेका थिए । त्यस ठाउँमा पुगेर उनीहरूले पूजा अर्चना पनि गरे । हुन त बाल्यकालदेखि सदैव जोशीले आफ्नो घरमा नित्यपूजा गर्ने गरेका थिए । उनी चीन गए पनि उनले पूजाआजामा पनि आफूलाई सरिक गराइरहे ।
त्यस ठाउँमा श्वेतचैत्यको तस्बिर खिच्न निषेध लेखिएको थियो । यति हुँदाहुँदै पनि उनले त्यहाँ फोटो खिच्न सम्बन्धितहरूसँग अनुमति मागे । उनले आफ्नो कामको प्रकृति पेस गरेपछि त्यस चाहनामा पनि जोशी सफल भए ।
अरनिकोलाई नेपालको राष्ट्रिय विभूति बनाउन सत्यमोहन जोशीको ठुलो हात रहेको छ । उनी चीन गएर नेपाल फर्केपछि उनले अरनिकोको विषयमा व्यापक प्रचारप्रसार गरे । त्यसपछि मात्र नै अरनिकोका नाउँमा हुलाक टिकट पनि निक्ल्यो । त्यो टिकट निकाल्ने विषयको पनि एउटा सानो कथन छ । कुरा के रहेछ भने २०४० सालमा चीनका राष्ट्रपति ली सियन नियनले नेपालको राजकीय भ्रमण गरेताका राजा वीरेन्द्रलाई उनले एउटा पुस्तक उपहार दिएका थिए । त्यस पुस्तकको नाउँ ‘सत्धर्म सूत्र’ हो । राजा वीरेन्द्रले त्यो उपहारलाई धेरै मन पराएका थिए । त्यस कृतिमा नेवारीका भूमिबल लिपिमा लेखिएको तालपत्रमा लेखिएको ग्रन्थ तिब्बत पुगेको रहेछ । त्यहाँबाट त्यो ग्रन्थ पेइचिङमा पुगेको रहेछ । त्यहाँको अल्पजातिमा रहेको सङ्ग्रहालयमा त्यस ग्रन्थलाई पनि राखिएको जोशीले थाहा पाए । त्यही ग्रन्थबाट हुबहु तस्बिर रूपान्तर गरेर राष्ट्रपतिले राजालाई उपहार दिएका रहेछन् ।
चीनका राष्ट्रपतिले नेपालको राजकीय भ्रमण गरेपछि राजा वीरेन्द्र पनि चीन गए । राष्ट्रपतिको निम्तामा राजाको पनि त्यो राजकीय भ्रमण थियो । त्यसबेला राजाले चिनियाँ राष्ट्रपतिका लागि उपहार पनि लाने कार्यक्रमको सुइँको साझा प्रकाशनका महाप्रबन्धक कृष्णचन्द्रसिंह प्रधानले थाहा पाएका थिए । अनि प्रधानले जोशीलाई भनेका थिए, “तपाईँको अरनिकोको सम्बन्धमा लेखरचना त आइरहेकै छ । तपाईँले अरनिकोको विषयमा एउटा राम्रो किताब पनि तयार गर्नुप¥यो । समयमा नै तपाईँले त्यो किताब तयार गर्नुभयो भने राजा वीरेन्द्रले राष्ट्रपतिका लागि उपहारका रूपमा चीन लिएर जान्छन् ।”
कृष्णचन्द्रसिंह प्रधानका आग्रहमा सत्यमोहन जोशी अहोरात्र अरनिकोबारे किताब लेख्ने काममा लागे । अनि उनले निर्दिष्ट समयमा किताब पनि तयार गरे । जोशीकृत ‘कलाकार अरनिको’ नामक कृति साझा प्रकाशनबाट नै छाप्ने कुरा चलेको थियो । किनभने, त्यो ग्रन्थको विषयसूची नै महत्वपूर्ण थियो । तर, जोशीका अर्का घनिष्ट मित्र गजानन्द वैद्यले राजाले त्यो किताब चीन लिएर जान्छन् भन्ने सुनेका थिए । त्यसैले, त्यस ग्रन्थको सम्पूर्ण खर्च वैद्यले नै उपलब्ध गराएका थिए । त्यो ग्रन्थ ज्यादै थोरै समयमा प्रकाशनमा आएको थियो । साथै त्यस ग्रन्थको मुद्रणको भूमिका कृष्णचन्द्रसिंह प्रधानले मिलाइदिएका थिए । त्यस ग्रन्थमा छापिएका रङ्गिन तस्बिरहरू पनि गजानन्द वैद्यले थाइल्यान्डको बैङ्कक पठाएर छाप्ने अनुकूलको प्रविधि तयार गरेका थिए । वैद्यको दौडधूपका कारण ठीक समयमा नै उक्त ग्रन्थ प्रकाशनमा आएको थियो ।
सत्यमोहन जोशीले लेखेको ‘कलाकार अरनिको’ राष्ट्रिय पुस्तक प्रदर्शनीमा २०४४ सालको सर्वोत्कृष्ट कृतिका रूपमा घोषित भयो । जर्मनीमा आयोजित विश्व पुस्तक प्रदर्शनी पनि त्यो ग्रन्थ पुगेको रहेछ । त्यहाँ पनि त्यो ग्रन्थले प्रशंसित हुने मौका पाएको थियो ।
सत्यमोहन जोशीले आफू चीन बसेको बेला अरनिकोको शैलीचैत्य विषयलाई लिएर एउटा महाकाव्य पनि लेखे । उनले त्यो महाकाव्य आफ्नै मातृभाषा अथवा भनौँ नेपाल भाषामा लेखेका थिए । अनि त्यो ग्रन्थ चर्चित भएको थियो ।
अन्ततः नेपाल सरकारले अरनिकोलाई राष्ट्रिय विभूतिका रूपमा घोषणा पनि ग¥यो । अनि यस ऐतिहासिक कार्यलाई सफल बनाउन जोशीले धेरै नै कसरत गरेका थिए ।
भृकुटी र अरनिकोको थप खोज
नेपाल चीन सांस्कृतिक परिषद्लाई एकपटक चीनको तिब्बत भ्रमणको निम्तो आएको थियो । त्यसबेला परिषद्का अध्यक्ष मणिहर्ष ज्योतिको नेतृत्वमा तिब्बतको ल्हासा जाने कार्यक्रम तयार भएको थियो । त्यस टोलीमा परिषद्का सदस्यका नाताले सत्यमोहन जोशी पनि सामेल भएका थिए ।
त्यतिबेला नेपाल चीन सांस्कृतिक परिषद्को टोलीका सदस्यहरू कोदारी राजमार्ग हुँदै खासा पुगेका थिए । खासाबाट नै उनीहरू रेलमार्गद्वारा ल्हासा गएका थिए । सत्यमोहन जोशी ल्हासा पुगेको त्यो प्रथम पटक थियो ।
सत्यमोहन जोशीलाई पहिलादेखि नै ल्हासा जाने इच्छा थियो । किनभने, कलाकार अरनिको तिब्बत हुँदै पेइचिङ पुगेको बेहोरा जोशीलाई थाहा थियो । अरनिकोको बारे थप ज्ञान आर्जन गर्नका लागि उनले त्यस ठाउँमा जाने साइत पाइरहेका थिएनन् । त्यसैले उक्त भ्रमण उनका लागि ढुङ्गा खोज्दा देउता मिल्योझैँ भएको थियो ।
कलाकार अरनिकोले तिब्बत बसेताका त्यहाँस्थित ल्हासामा पनि एउटा गुम्बा बनाएका थिए । उनले निर्माण गरेको त्यो गुम्बा निकै चर्चित थियो । त्यसैले त्यसबेला जोशीले त्यस गुम्बाको अवलोकन गरेका थिए । त्यस ठाउँमा गएका अन्य नेपालीहरू आ–आफ्नो भाका र तालमा रहेका थिए । तर, जोशीको आफ्नो यात्राको धीत मार्ने साधन नै अरनिकोको सन्दर्भ नै थियो । त्यसैले त्यसबेला उनले भनेका थिए, “यहाँको मेरो आगमन सार्थक नै भयो बा ¤”
सत्यमोहन जोशी तिब्बत पुगेपछि राजकुमारी भृकुटीको विषयमा एकोहोरो घोत्लिन थाले । त्यहाँ उनले भृकुटीले बनाउन लगाएको गुम्बा पनि फेला पारे । वास्तवमा त्यतिबेला त्यही बिहारको सेरोफेरोले जोशी नतमस्तक बनिसकेका थिए । साथै त्यहाँ उनले त्यही गुम्बाको एकतला माथि भव्य र आकर्षक मूर्ति पनि देखे । त्यहाँ एकातिर भृकुटीको मूर्ति थियो भने त्यसको बिचमा स्रङ्च्रङगम्पो र अर्कातिर चिनियाँ राजकुमारीको मूर्ति थियो । त्यतिबेला त्यो दृश्य देखेर उनी गद्गद् भएका थिए ।
भृकुटीलाई तिब्बतीहरूले हरितताराभन्दा रहेछन् । त्यहाँका जनताद्वारा अझै भृकुटीको पूजा हुँदो रहेछ भन्ने बेहोराको पनि उनले त्यतिखेर जानकारी समेटेका थिए । त्यहाँको जनमनले निरन्तर भृकुटीलाई पूजेको बेहोराले सत्यमोहन जोशीलाई आफू नेपाली भएकोमा थप गर्व पनि लागेको थियो ।
तिब्बतमा बसेताका सत्यमोहन जोशीले शाक्य गुम्बाको पनि अवलोकन गरे । हुन त त्यो गुम्बामा पुग्न उनले धेरै कठिनाइ भोगे । उनले त्यहाँ जाने मनसाय राखेपछि चिनियाँहरूले उनलाई त्यहाँ नजाने सल्लाह दिएका थिए । तर, उनी शाक्य गुम्बा हेर्नेमा नै केन्द्रित थिए । त्यो ठाउँ सगरमाथाभन्दा पचास माइल मात्र टाढा रहेको तथ्य पनि उनले त्यहींको माटो कुल्चेर नै थाहा पाएका थिए ।
चिनियाँ सम्राट् कोब्लाई खाँका गुरु पासपा थिए । त्यसको पनि एउटा सानो कथन रहेछ । कुरा के हो भने, सबैभन्दा पहिला असी जना नेपाली कलाकारहरू चीन गएर आफ्नो कलाकृति अर्थात् गुम्बा, चैत्य र मूर्तिहरूको निर्माण गरेका थिए । अनि अरनिकोले सर्वप्रथम शाक्य गुम्बामा चैत्य नै बनाएका थिए । त्यो चैत्यको निर्माणले सम्राटका गुरु पासपा अरनिकोसँग अति नै हर्षित भएका थिए । त्यसैले, उनले अरनिकोलाई सम्राटसमक्ष पनि पु¥याएका थिए ।
शाक्य …गुम्बामा धेरैधेरै किताब रहेको पनि सत्यमोहन जोशीले त्यसै घडी देखेका थिए । त्यस ठाउँमा संस्कृत भाषाका पनि अनगिन्ती कृतिहरू राखिएका रहेछन् । ती संस्कृत किताबहरू त्यहाँका सम्राटले चिनियाँ भाषामा अनुवाद गराउँदै एउटा विशाल पुस्तकालयमा आबद्ध गराएका रहेछन् । साथै अन्य भाषाका सांस्कृतिक कृतिहरू पनि त्यहाँ राखिएको रहेछ ।
तिब्बतमा अनगिन्ती गुम्बा, चैत्य र मूर्तिहरू भएको बेहोरा सत्यमोहन जोशीले त्यसै भ्रमणताका हेर्न पाएका थिए । तर, ती कला स्तम्भमध्ये कुन नेपाली कलाकार अरनिकोले बनाएको हो† अड्कल गर्न उनलाई गा¥हो थियो । यति हुँदाहुँदै पनि जोशीले अरनिकोद्वारा निर्माण भएको चैत्य पनि फेला पारेका थिए ।
सत्यमोहन जोशीले अरनिकोले बनाएका चैत्यको फोटो खिच्न रहर गरेका थिए । तर, त्यस ठाउँमा फोटो खिच्न प्रतिबन्ध थियो । त्यसैले उनलाई त्यहाँ फोटो खिच्न नपाएकोमा निकै थकथक लागेको थियो । त्यसै क्रममा प्रतिनिधिमण्डलका सबै सदस्यलाई लिएर चिनियाँ पथ प्रदर्शक त्यहाँबाट फर्के । अलि वर आएपछि जोशीले चिनियाँ प्रदर्शकसमक्ष एउटा नाटक गरे । त्यसबेला उनले त्यहाँ भनेका थिए, “लौ ¤ मैले त्यहाँ मेरो डायरी छाडेछु ।” त्यसै बखत उनी उनी कुदेर अरनिकोको चैत्यमा पुगे र हतारहतार एउटा फोटो खिचिहाले । त्यसपछि पनि उनले क्यामरा लुकाएर नै साथीभाइमाझ आफूलाई उभ्याएका थिए ।
सत्यमोहन जोशीले ल्हासाबाट अरनिकोले बनाएको चैत्यको फोटो खिचेर नेपाल ल्याए । उनले फोटोको रिल धुन एउटा स्टुडियोलाई दिए । तर, रिल धुन मान्छेले उल्टो पारेर रिल नै बिगारिदिएछ । त्यस सूचनाले उनको भित्र हृदयमा पहराको एक्कासि छहरा छुट्यो । क्यामराका सौखिन जोशीले त्यस दिन नै आफ्नो क्यामरा फ्याँकिदिए । वास्तवमा त्यस पीडाले रन्थनिएर उनले त्यसपछि कहिले पनि क्यामरा बोकेनन् । तर, त्यसबेला बिग्रेको रिल भने अझै उनीसँग सुरक्षित छ । त्यस रिलमा उनले खिचेको श्वेतचैत्य पनि मधुरो रूपमा देख्न सकिन्छ ।
अरनिकोको भौतिक रूपमा सन् १३०६ मा चीनमा नै निधन भयो । त्यसबेला उनी ६३ वर्षको उमेरका थिए । उनको देहावसानपछि चिनियाँ सरकारले उनलाई ल्याङ को कोङ (काजीसरहको सम्माननीय मानार्थ पदवी) प्रदान गरेको थियो । तर, उनी बाँचेकै बेला पनि क्वाङ लू ताइ फु
(मन्त्रीसरहको दर्जा) ले सम्मान गरिएको बेहोरा सत्यमोहन जोशी दोहो¥याउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *