सत्यमोहन जोशीको गन्तव्य : अरनिकोको खोज
- असार ३, २०८३
भूमिका : आदिम श्रमको गर्भ र विचारको पहिलो विस्फोट
इतिहासको पहिलो महाकाव्य कुनै मन्दिरका भित्ता वा भोजपत्रमा लेखिएको थिएन† त्यो त आदिम मानिसको हत्केलामा उब्जिएको ठेला र निधारबाट खसेको पसिनाको थोपामा कोरिएको थियो । सभ्यताको उषाकालमा जब मानिसले पहिलो पटक ढुङ्गालाई ताछेर हतियार बनायो, गुफाको अँध्यारो भित्तामा रङ घस्यो र आगोको आविष्कार ग¥यो– ठ्याक्कै त्यहीँबाट विज्ञान र दर्शनको संयुक्त जन्म भएको थियो । तर, विडम्बना ! जसै इतिहास अगाडि बढ्यो, सिंहासनमा बस्ने शासक र मन्दिरको गर्भगृहमा बस्ने पुरोहितवर्गले श्रमको त्यो जीवन्त पुस्तकालयलाई लुटेर त्यहाँ ‘भ्रमको एउटा विराट बजार’ खडा गरिदिए । तिनीहरूले मानिसलाई आफ्नै हातको सीप र पसिनाको शक्ति बिर्सन लगाएर आकाशको कुनै अदृश्य शक्तिको अगाडि घुँडा टेक्न बाध्य बनाए ।
यो भ्रमको बजारले मनुष्यलाई सिकाउने पहिलो पाठ नै आत्म–समर्पण थियो । “तिम्रो गरिबी, तिम्रो भोक र तिम्रो काँधको भारी तिम्रो पूर्वजन्मको फल हो वा ईश्वरको लीला हो” भन्ने भाष्य निर्माण गरेर श्रमको हुर्मत लिइयो । तर, यो वैचारिक उपनिवेशविरुद्ध मानव विवेकले इतिहासको सुरुवाती कालखण्डदेखि नै विद्रोहको बिगुल फुकेको थियो । पश्चिमा दर्शनको इतिहास पल्टाउँदा हामी थेल्स (Thales of Miletus, ई.पू. ६२४–५४६) लाई दर्शनको प्रस्थानविन्दु मान्छौँ, जसले पहिलो पटक चट्याङ र भूकम्पलाई देउताको रिस नमानी प्रकृतिको भौतिक नियम मानेका थिए । तर, यो तार्किक चेतनाको जरा थेल्सभन्दा पनि अझ पछाडि, आदिम भौतिकवादी चिन्तकहरू र ग्रीक लोक–कथाहरूको गर्भमा लुकेको छ ।
थेल्सभन्दा अघिका पौराणिक तर भौतिकवादी स्वभाव भएका संवाहकहरू – जस्तै होमर (Homer) र हेसियड (Hesiod) का कतिपय सूक्तहरूमा प्रकृतिलाई देवत्वकरण गरिए पनि, संसारको आदि–तत्व ‘अन्तरिक्ष’ (Chaos) वा ‘जल’ (Oceanus) लाई मान्ने एउटा सुषुप्त भौतिकवादी धारा बगिरहेको थियो । त्यस्तै, पूर्वीय भूमिमा वेदका ऋचाहरू लेखिनुभन्दा पहिले, सिन्धु घाटीको सहरी सभ्यता निर्माण गर्ने ती अज्ञात सिकर्मी, कुमाले र धातुकारहरूको व्यवहारिक जीवन नै आफैँमा भौतिकवादी दर्शन थियो । उनीहरूका लागि सत्य त्यो अमूर्त मन्त्र थिएन, बरु माटोलाई आकार दिने र तामा गाल्ने ठोस भौतिक प्रक्रिया (Matter) थियो । पछि चार्वाकले त्यसैलाई सूत्रबद्ध गर्दै ‘प्रत्यक्ष नै एक मात्र प्रमाण हो’ भनी उद्घोष गरे ।
त्यसैले, ‘भ्रमको बजार र पसिनाको दर्शन’ कुनै उधारो काल्पनिक स्वर्गको कथा होइन । यो त थेल्स, चार्वाक र बुद्धले सुरु गरेको त्यही सनातन तार्किक आन्दोलनको २१ औँ शताब्दीको आधुनिक कडी हो, जसले मानिसलाई आकाशको शून्यताबाट फर्काएर धर्तीको ठोस यथार्थमा उभ्याउँछ । यो दर्शनले घोषणा गर्छ कि संसारलाई मन्त्र वा दैवी आदेशले होइन, बरु प्रकृतिसँग निरन्तर सङ्घर्ष गरिरहेको मानवीय श्रम र पसिनाले बदलेको हो । जबसम्म हामी इतिहासलाई शासक र पुरोहितको कोणबाट निकालेर श्रमजीवी जनताको कोणबाट हेर्दैनौँ, तबसम्म न त दर्शनले आफ्नो वास्तविक भुइँ पाउँछ, न त मानिसले आफ्नो वास्तविक पहिचान । यो भूमिका त्यही भ्रमको पर्दा च्यातेर पसिनाको सर्वोच्चता स्थापित गर्ने वैचारिक शिलान्यास हो ।
आदिम श्रमशाला र धातु युगः (ई.पू. ३०००–१५००) :
सभ्यताको वास्तविक इतिहास मन्दिरका पुजारीहरूले मन्त्र उच्चारण गर्नुभन्दा धेरै पहिले, आदिम श्रमशालाका भट्टीहरूमा कोइलाको रापसँगै सुरु भइसकेको थियो । जब हामी इतिहासलाई शासक र पुरोहितको कोणबाट मुक्त गरेर श्रमिक जनताको दृष्टिले हेर्छौँ, तब ईशापूर्व ३००० देखि १५०० को काँस्य युग (Bronze Age) धातुको प्रयोग मात्र देखिँदैन, बरु त्यो मानव इतिहासकै पहिलो र सबैभन्दा ठुलो भौतिकवादी वैज्ञानिक क्रान्ति प्रमाणित हुन्छ । सिन्धु घाटी सभ्यता (ई.पू. २५००) का सिर्जकहरू, मेसोपोटामिया र इजिप्टका रैथाने कालिगढहरूले ब्रह्माण्डको सृष्टि कसरी भयो भनेर कुनै अमूर्त ग्रन्थ पढिरहेका थिएनन्; उनीहरू त पदार्थ (Matter) को ठोस स्वभाव र गुणसँग सीधा पौँठेजोरी खेलिरहेका थिए ।
यस कालखण्डको तथ्यगत विश्लेषणले देखाउँछ कि तामा (Copper) र टिन (Tin) जस्ता दुई फरक र कडा धातुलाई निश्चित तापक्रममा पगालेर, एउटा सर्वथा नयाँ र बढी बलियो मिश्रित धातु ‘काँस’ (Bronze) को निर्माण गर्नु कुनै दैवी चमत्कार वा धार्मिक अनुष्ठानको परिणाम थिएन । यो त आदिम श्रमिकहरूको अथक श्रम, अवलोकन र प्रयोगशालाबिनाको रासायनिक प्रयोग (Metallurgy) को परिणाम थियो । हलोको फाल, माटोका सुदृढ इँटाहरू, कपडा बुन्ने तान र समुद्रमा चल्ने जहाजहरू मन्त्रको शक्तिले होइन, बरु कालिगढ र सिकर्मीहरूको सामूहिक पसिनाको बलमा निर्माण भएका थिए ।
विडम्बना ¤ इतिहास लेख्ने शासकवर्गले यो रैथाने विज्ञानलाई सधैँ ओझेलमा पा¥यो । तर वास्तविकता के हो भने, संसारको पहिलो भौतिकवादी दर्शनको व्यावहारिक अभ्यास यही श्रमशालामा हुन्थ्यो । श्रम नै ज्ञानको पहिलो स्रोत थियो । माटो, ढुङ्गा र धातुसँग जुधिरहेको श्रमिकवर्गलाई राम्ररी थाहा थियो कि कुनै अदृश्य भगवानको प्राथना गरेर धातु आफैँ पग्लिँदैन, त्यसका लागि कोइलाको आगो र निश्चित भौतिक श्रम नै चाहिन्छ । त्यसैले, नयाँ जनशास्त्रको दृष्टिकोणमा यो आदिम कालखण्ड नै भ्रमको बजारलाई चुनौती दिने पहिलो वस्तुवादी धरातल हो, जहाँ श्रमले पदार्थलाई आकार दिएर आधुनिक मानव सभ्यताको बलियो जग शिलान्यास गरेको थियो ।
थेल्स र आयोनियन क्रान्ति :
(ई.पू. ६२४–५४६) : इशापूर्व छैटौँ शताब्दीको आसपास पश्चिमी जगत् (विशेष गरी ग्रीसको एजियन तटीय क्षेत्र) मा एउटा अभूतपूर्व वैचारिक विस्फोट भयो, जसलाई इतिहासमा ‘आयोनियन क्रान्ति’ भनिन्छ । थेल्स (Thales of Miletus, ई.पू. ६२४–५४६) भन्दा अगाडिको ग्रीक समाज पूर्ण रूपमा अन्धविश्वास र देवगाथा (Myths) को बजारमा कैद थियो । अनिकाल पर्नु, भूकम्प जानु, बाढी आउनु वा सूर्य ग्रहण लाग्नुलाई ‘जियस’ वा ‘पोसाइडन’ जस्ता काल्पनिक देउताहरूको सनक र क्रोध मानिन्थ्यो । शासक र पुरोहितवर्गले यही दैवी भयको व्यापार गरेर आम जनता र दासहरूको श्रममाथि शासन गरिरहेका थिए ।
यस्तो सघन भ्रमको बजारमा थेल्सले पहिलो पटक इतिहासकै सबैभन्दा साहसिक तार्किक प्रहार गरे । उनले घोषणा गरे– “ब्रह्माण्डको उत्पत्ति र सञ्चालन कुनै अलौकिक वा दैवी शक्तिबाट भएको होइन, बरु यसको मूल आधार एउटा भौतिक तत्व हो र त्यो ‘जल’ (Water) हो ।” थेल्सको यो निष्कर्ष आजको आधुनिक विज्ञानको कसीमा अपूर्ण देखिए पनि यसको दार्शनिक मूल्य क्रान्तिकारी थियो । उनले प्रकृतिलाई बुझ्न आकाशतर्फ होइन, बरु धर्तीको ठोस पदार्थतर्फ हेर्ने वैज्ञानिक दृष्टिकोण दिए । विचारलाई आकाशको शून्यताबाट धर्तीको यथार्थमा अवतरण गराउने काम यहीँबाट भयो ।
यसको सबैभन्दा ठुलो तथ्यगत प्रमाण ई.पू. ५८५ मे २८ का दिन स्थापित भयो, जब थेल्सले खगोलीय गणना र गणितीय अवलोकनका आधारमा सूर्यग्रहण लाग्ने सही समयको पहिलो भविष्यवाणी गरे । ग्रहणलाई ‘राहु–केतु’ वा ‘देउताको सराप’ ठानेर मन्त्र पढ्ने संभ्रान्त वर्गका अगाडि थेल्सको यो तार्किक विजयले दैवी डरको साम्राज्यलाई जरैदेखि हल्लाइदियो । उनका शिष्य अन्याक्सिमान्डर (ई.पू. ६१०–५४६) ले त अझ अगाडि बढेर जीवहरूको विकास हिलो र पानीबाट (Evolution) भएको आदिम भौतिकवादी सिद्धान्त अघि सारे । यो आयोनियन क्रान्ति वास्तवमा शासकवर्गले जनतालाई मानसिक रूपमा दास बनाउन फैलाएको भयको बजारविरुद्ध श्रम र तर्कको पहिलो दार्शनिक विद्रोह थियो ।
(यो आलेख लेखक सत्यजीत फेसबुकबाट साभार गरिएको हो ।)
Leave a Reply