नगरलाई शैक्षिक गन्तव्यस्थल मात्र नभई अनुसन्धानको केन्द्रको रूपमा विकास गर्नुपर्ने
- असार २, २०८३
भक्तपुर, ३ असार । भक्तपुर नगरपालिकाको आयोजनामा सञ्चालन हुन लागेको चिनियाँ तथा जापानी भाषा तालिमका प्रशिक्षार्थीहरूको अभिमुखीकरण कार्यक्रम आज सम्पन्न भयो । उक्त कार्यक्रममा तालिमका प्रशिक्षार्थीहरूलाई तालिमको उद्देश्य, महत्व तथा भावी अवसरबारे जानकारी गराइएको थियो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नगरपालिकाले केही समयअघि साङ्केतिक भाषा तालिमसमेत सञ्चालन गरेको उल्लेख गर्दै जनताका आवश्यकता र समस्यालाई सम्बोधन गर्ने क्रममा विभिन्न सीपमूलक तथा व्यावसायिक तालिमहरू सञ्चालन गर्दै आएको बताउनुभयो ।
विदेशी पर्यटकलाई भक्तपुरको कला, संस्कृति र सम्पदासँग जोडिराख्न भाषा तालिम महत्वपूर्ण रहेको उहाँको भनाइ थियो ।
उहाँले युवाहरूलाई सक्षम र आत्मनिर्भर बनाउने उद्देश्यले प्रत्येक युवाले कम्तीमा चार वटा भाषा सिक्न सक्ने वातावरण सिर्जना गर्नुपर्ने धारणा राख्नुभयो । भाषा ज्ञानले रोजगारी, व्यापार–व्यवसाय, शैक्षिक अवसर तथा सांस्कृतिक अनुभव आदानप्रदानमा सहजता ल्याउने बताउँदै दुई देशबिचका साहित्य, संस्कृति र विभिन्न विषयका पुस्तकहरू अनुवाद गर्नसमेत भाषा ज्ञान उपयोगी हुने उल्लेख गर्नुभयो । साथै भविष्यमा दक्ष भाषा प्रशिक्षक उत्पादन गर्ने लक्ष्यका साथ तालिम सञ्चालन गरिएको जानकारी दिनुभयो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले भक्तपुर नगरपालिकाले १०० वर्षपछिको भक्तपुरको परिकल्पनालाई मूर्तरूप दिन नगरवासीलाई विभिन्न विदेशी भाषा तालिम सञ्चालन गर्दै आएको बताउनुभयो । उहाँले विदेशी पर्यटकलाई सहज सेवा प्रदान गर्ने, उच्च शिक्षाका अवसर विस्तार गर्ने तथा रोजगारीका सम्भावना बढाउने उद्देश्यले भाषा तालिम सञ्चालन गरिएको स्पष्ट पार्नुभयो ।
कार्यक्रममा चिनियाँ भाषा प्रशिक्षक विनय हाडाले विदेशी भाषा सिक्नुको महत्वबारे प्रकाश पार्दै भाषा सिकेर सम्बन्धित देशको कला, संस्कृति, राजनीति तथा जीवनशैलीबारे बुझ्न सकिने बताउनुभयो । भाषा ज्ञानले दुई देशबिचको सम्बन्धलाई अझ सुदृढ बनाउन सहयोग पुग्ने उहाँको भनाइ थियो ।
जापानी भाषा प्रशिक्षक सीताराम शिवञ्जारले तालिममार्फत प्रशिक्षार्थीहरूलाई जापानी भाषा बोल्न सिकाइने र जापानी पर्यटकलाई प्रभावकारी रूपमा मार्गदर्शन गर्न सक्ने क्षमता विकास गरिने जानकारी दिनुभयो ।
तालिम सहजकर्ता दीपेन्द्र प्रजापतिले प्रशिक्षार्थीहरूलाई तालिमको उद्देश्य, सञ्चालन प्रक्रिया, कक्षा व्यवस्थापन तथा आवश्यक जानकारी प्रदान गर्दै चारमहिने चिनियाँ तथा जापानी भाषा तालिम असार ७ गतेदेखि सुरु हुने, तालिम प्रत्येक दिन बेलुका ५ः३० बजेदेखि ७ः०० बजेसम्म ख्वप इन्जिनियरिङ कलेजमा सञ्चालन गरिने जानकारी गराउनुभयो ।
Leave a Reply