भर्खरै :

२० लाख डलरमा १२ डलरको बेलुन उडाउँदा

२० लाख डलरमा १२ डलरको बेलुन उडाउँदा

संरा अमेरिकी सेनाले ध्वस्त पारेको चिनियाँ बेलुन खराब मौसमका कारण उता धकेलिएको हुनुपर्छ । यो कुरा अमेरिकाका धेरै सरकारी अधिकारीहरूले बताइसकेका छन् ।
यही आशयसहितका रिपोर्टहरू अमेरिकाका प्रमुख मिडियाहरूले पनि छापेका छन् । ‘वासिङटन पोस्ट’ र ‘सीएनएन’ ले पनि यस्तै अनुमान गरेका छन् ।
रबरले बनेको चिनियाँ बेलुनको उन्मादी प्रतिकारमा अमेरिकी वायुसेनाले झन्डै २० लाख डलर खर्चिसकेको छ । जाबो १२ डलरको वस्तु ध्वस्त पार्न यति चर्को खर्च ¤
फेब्रुअरी १ मा एउटा ठूलो चिनियाँ बेलुन पहिलोचोटि अमेरिकी राज्य मोन्टानाको आकाशमा देखिएको थियो ।
फेब्रुअरी ४ मा अमेरिकी सैन्य विमानले दक्षिण क्यारोलिनाको किनारमा त्यो रबरको वस्तुलाई गोलीले उडाएको थियो ।
वासिङटनले पेइचिङलाई अमेरिकी भूभागमा गुप्तचरी बेलुन पठाएको आरोप लगायो ।
चीनले यसको प्रतिवाद ग¥यो । मौसमको अध्ययन गर्ने बेलुनले गुप्तचरी नगरेको चीनले बतायो ।
पेइचिङको भनाइमा विश्वास गर्ने वैध कारणहरू छन् । फेब्रुअरी ३ मा ‘वासिङटन पोस्ट’ ले लेख्यो – राष्ट्रिय सुरक्षा र हवाई क्षेत्रका ज्ञाताहरूले सो वस्तु उचाइमा उडाइने बेलुनजस्तो देखिएको बताए । विकसित देशहरूले मौसम पूर्वानुमान, सञ्चार र वैज्ञानिक अनुसन्धानका निम्ति यस किसिमका वस्तुहरू उडाउने गर्छन् ।
पेन्टागनले आफै भन्यो, “चीनले आफ्ना गुप्तचर भूउपग्रहबाट जुटाउन नसक्ने सूचना यो वस्तुबाट जुटाउन सक्ने देखिन्न ।” उसले भन्यो, “सो बेलुनले कुनै भौतिक वा गुप्तचरी खतरा ल्याउन सक्दैन ।”
‘वासिङटन पोस्ट’ ले एक अमेरिकी ‘वरिष्ठ रक्षा अधिकारी’ को हवाला दिँदै लेख्यो, “चीनले आफ्ना गुप्तचर भूउपग्रहबाट जुटाउन नसक्ने सूचना यो वस्तुबाट जुटाउन सक्ने देखिन्न । म यसलाई उन्नत वस्तु भन्न सक्दिनँ ।”
‘सीसिस’ चरम दक्षिणपन्थी थिङ्क ट्याङ्क समूह हो । यसको खर्च अमेरिकी सरकार र हतियार उद्योगहरूले दिने गर्छन् । चीनविरोधी प्रचारमा यसले बदनामी कमाएको छ । फेब्रुअरी ३ मा ‘सीसिस’ ले छाप्यो :
चीनले गुप्तचरीको लागि यसअघि कहिल्यै बेलुनहरूको प्रयोग गरेको छैन । बेलुन प्रयोग गर्नु पाइला पछि सार्नु हो । यो बाटो बिराएको मौसमसम्बन्धी बेलुनजस्तो देखिन्छ । बाटो बिराएका बेलुनहरू नै धेरै ‘उड्न तस्तरी’ का कथाहरूका आधार हुन् । चिनियाँ बेलुनको कथा मनगढन्ते सङ्कटको अङ्ग हो भन्ने सुरुदेखि नै देखिन्छ । यो रबरको वस्तुलाई नियन्त्रणबाहिर जाने गरी फुल्लाइएको छ ।
तर, मिडियाको बेलुनले चीनसँगको तनावमा मलजल ग¥यो । अमेरिकी जनताबिच सन्त्रास फैलायो । यसले गर्दा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले पेइचिङको आफ्नो कूटनीतिक भ्रमण नै रद्द गरे । रिपब्लिक र डेमोक्र्याट पार्टीका चरमपन्थी नेताहरूले बेलुनलाई देखाएर चीनलाई खतरनाक चुनौतीको रूपमा चित्रण गरे । रुढीवादी थिङ्क ट्याङ्कहरूले पनि राम्रै बाली काटे ।
रिपब्लिकन सांसद जेम्स कमर अमेरिकाको एक संसदीय समितिका अध्यक्ष हुन् । ‘स्लेट’ पत्रिकाले उनको भनाइ छाप्यो । उनले चिनियाँ बेलुनलाई उहानमा बनेको ‘जैविक हतियार’ हुनसक्ने बताए । त्यस्तै पूर्वसभामुख न्युट गिनग्रिचको भनाइ छापियो, “त्यो वस्तु घातक इलेक्ट्रोम्याग्नेटिक हतियार नदेखिने गरी प्रहार गर्ने परीक्षण हुनसक्छ ।”
पश्चिमा सैन्य गठबन्धनका उग्र महासचिव येन्स स्तोल्टेनवर्गलाई उद्धृत गर्दै एक अर्को समाचार संस्थाले घोषणा ग¥यो – सो बेलुनले नाटो सदस्यहरूलाई खतरामा पारेको छ । स्तोल्टेनवर्गले सो रबरको वस्तुको निन्दा गर्दै यसलाई ‘चिनियाँ रवैया’ को खतरनाक चिह्न भने । उनले जोड दिँदै भने, “हामी चिनियाँ गुप्तचरीको निरन्तरको चुनौतीबारे सचेत हुन आवश्यक छ । साथै हामीले आफ्नो सुरक्षाको निम्ति पूर्वाधार पनि निर्माण गर्नुपर्छ ।”

१२ डलरको बेलुन खसाल्न २० लाख डलर
फेब्रुअरी १० देखि १२ सम्म वायुसेनाका विमानहरूले तीनवटा वस्तु पड्काएर भुइँमा खसालेका थिए । सुरुमा अमेरिकी सरकारका अधिकारी र पश्चिमा मिडियाहरूले वासिङटनले अझ धेरै चिनियाँ गुप्तचरी उपकरणहरूलाई तारो बनाएको बताए । वास्तवमा ती सामान्य बेलुन थिए ।
‘एभिएसन विक’ नामक वेबसाइटले ‘नर्थन इलिनोइस बोटलक्याप बेलुन ब्रिगेड’ नामक सौखिन समूहले बनाएको एउटा बेलुन अमेरिकी वायुसेनाले बमबारी गरेकै बेला हराएको लेख्यो ।

‘एभिएसन विक’ ले लेख्यो :
फेब्रुअरी १०–१२ बिच खसालिएका ती तीनवटै अज्ञात वस्तुहरू आकार, उचाइ र तौलका हिसाबले साना पिको बेलुनसँग मेल खान्छन् । यिनलाई आकार हेरिकन १२ देखि १८० डलरमा किन्न पाइन्छ ।
सौखिनहरूको लागि पिको बेलुन निर्माण गर्ने कम्पनीका संस्थापकले ‘एभिएसन विक’ लाई भने, “मैले यी वस्तुहरू के हुनसक्छन् भनी बताउन हाम्रो सेना र एफबीआईका मान्छेहरूसँग सम्पर्क राख्ने प्रयास गरेँ । यी वस्तु गोली नै ठोकेर खसाल्नुपर्ने उन्नत वस्तु थिएनन् ।”
बेलायती अखबार ‘द गार्जियन’ ले यही रिपोर्ट पछ्याउँदै लेख्यो, “अमेरिकी मिसाइलले खसालेको वस्तु १२ डलर पर्ने सौखिनहरूको बेलुन हुनसक्छ ।”
अनुसन्धानकर्मी स्तेपान सेम्लरले सौखिनहरूको बेलुनलाई हुरोन तालमाथि खसाल्ने अपरेसनमा पेन्टागनले झन्डै २० लाख डलर खर्चेको अनुमान गरेको छ ।
अमेरिकी वायुसेनाले यसको लागि दुइटा एम–९ मिसाइलको प्रयोग गरेको थियो । यस्तो मिसाइललाई प्रतिगोटा ४ लाख ४० हजार डलर पर्छ । रेथियोन कर्पोरेसनले यसको निर्माण गर्दै आएको छ ।
बेलुन प्रहार गरेर खसाल्नेबित्तिकै डेमोक्र्याट संसद चक शुमरले बिनाप्रमाण ती तीन वस्तुलाई गुप्तचरी बेलुन भने । उनले उद्घोष नै गरे, “चिनियाँहरू आफूलाई अपमानित गरिएको भन्थे । मलाई लाग्छ, चिनियाँहरू गल्ती गर्दागर्दै समातिएका छन् । उनीहरूको बोल्ने ठाउँ बन्द भएको छ ।”
अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले अमेरिकी सेनाले नष्ट गरेका तीन वस्तुबारे फेब्रुअरी १४ मा खुलासा गरे । उनले ती वस्तुहरू ‘व्यावसायिक वा अन्य प्रयोजनको निम्ति बनाइएका’ बेलुनहरू हुनसक्ने बताए ।
किर्बीले भने, “यी तीनवटै वस्तुहरू चीनको गुप्तचरी कार्यक्रमको अङ्ग भएको वा ती वस्तुले विदेशमा गुप्तचरी गरेको कुनै सङ्केत हामीले पाएका छैनौँ ।”
राष्ट्रपति जो बाइडेन आफैँले फेब्रुअरी १६ मा सेनाले ध्वस्त पारेका ती वस्तुहरू ‘सम्भवतः निजी कम्पनी, मनोरञ्जन वा मौसम तथा अन्य वैज्ञानिक अनुसन्धान गर्ने संस्थाले छोडेको हुनसक्ने’ बताए ।

अमेरिकी गुप्तचर अधिकारीहरूको कथन
वायुसेनाले चिनियाँ बेलुन खसालेको १० दिनपछि अमेरिकी अधिकारीहरूले ती रबरका वस्तुहरू निश्चय नै हावाले उडाएको हुनुपर्ने बताए ।
‘वासिङटन पोस्ट’ ले फेब्रुअरी १४ को रिपोर्टमा ती चिनियाँ बेलुनहरूले ‘मौसमी गडबडीका कारण बाटो बिराएको हुनसक्ने’ लेख्यो ।
सो अखबारअनुसार ‘बेलुन बाटो बिराएर उत्तर लागेको धेरै अमेरिकी अधिकारीहरूले बताएका छन् । उनीहरूले चीनले हवाई गुप्तचरी उपकरणमार्फत अमेरिकी भूमिमा घुसपैठ नगरेको विषयमा विश्लेषण भइरहेको बताए ।’
‘वासिङटन पोस्ट’ कै अनुसार अमेरिकी ‘खुफिया विश्लेषकहरू यो बाटो–बिराई आकस्मिक हो वा नियोजित भन्नेमा निश्चित छैनन् ।’
अखबारले थप लेख्यो, “पछिल्लो विवरणले अन्तर्राष्ट्रिय सङ्कटमाझ वासिङटन र पेइचिङबिच तनाव केही हदसम्म भूलवश चर्केको देखाउँछ ।”
‘सीएनएन’ ले पनि धेरै स्रोतहरूको हवाला दिँदै लेख्यो, “अमेरिकी गुप्तचर अधिकारीहरूले शङ्कास्पद चिनियाँ गुप्तचरी बेलुनलाई नियोजितरूपमा चीन सरकारले अमेरिका नपठाएको सुनिश्चित गरिरहेका छन् । तिनलाई आँधीबेहरीले मोडेको हो कि भन्ने विषयमा समेत छानबिन भइरहेको छ ।”
एक अग्रणी अमेरिकी मिडियाअनुसार सो बेलुनले ‘लिएको बाटो नियोजित भएकोमा अमेरिकी अधिकारीहरू निश्चित छैनन् र त्यसलाई पेइचिङको बाह्य चालबाजीले भन्दा पनि जोडदार बतासले ल्याएको हुनसक्छ ।’
उसले लेख्यो, “सीएनएनले गरेको मौसम मोडलिङअनुसार सो बेलुनलाई आँधीको बेगले उत्तरतिर धकेलेर अलास्कातिर मोडेको हुनसक्छ ।” ‘सीएनएन’ ले थप लेख्यो, “अमेरिकी अधिकारीहरूले बेलुनलाई नियोजितरूपमा पठाएको हुनसक्ने सम्भावना सीमित छ । यो कुरा अमेरिकी अधिकारीहरूले स्वीकारेका छन् ।”
म्युनिख सुरक्षा सम्मेलनमा फेब्रुअरी १८ मा मन्तव्य दिँदै उच्च चिनियाँ कूटनीतिज्ञ वाङ यीले बेलुनलाई लिएर अमेरिकाले जनाएको प्रतिक्रिया ‘व्यर्थ र उन्मादी’ भएको बताए । उनले भने, “यसले अमेरिका बलवान् छ भन्ने देखाउन्न । बरु कमजोर छ भन्ने देखाउँछ ।”
(स्रोत : एमआर अनलाइन)

Leave a Reply

Your email address will not be published. Required fields are marked *