भर्खरै :

शासकहरूमा राजनीतिक चरित्र र नैतिकता खोइ ?

देश विकासको बाटो पन्छाएर, जनताको समस्या एक ठाउँमा थन्काएर देशका जिम्मेवार शासकहरू सत्तामुखी राजनीति र भागबन्डामा अल्झिरहनु कदापि न्यायोचित होइन । पद र पैसाको राजनीतिमा केन्द्रित भएकै कारण दुई महिनापछि अर्को नयाँ गठबन्धन सरकार गठनको अभ्यास भइरहेको छ । तीन महिना पनि नटिक्ने गरी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल किन एमालेसँग मिल्न गए ? फेरि उही दाहाल नेकासँग किन टाँस्न पुगे ? माओवादी केन्द्रका अध्यक्ष दाहाललाई नेकाले प्रधानमन्त्रीको पक्षमा मतदान गर्नु के नयाँ गठबन्धनको सरकार बनाउन हो ? के दाहाललाई नेकाले प्रममा समर्थन नगरेको भए हालको सरकार कायम नै रहने हो ? गठन भएको सरकार दुई महिनापछि हेरफेर हुने, हेरफेर गर्न बाध्य हुने देशका शासकहरूको कस्तो राजनीति ! के यही हो देशका शासकहरूको सच्चाइको राजनीति !
फागुन १७ गते प्रकाशित ‘राजधानी’ दैनिकमा ‘सत्ता बाँदरको हातमा नरिवल’ शीर्षकको समाचार छापियो । समाचारमा नयाँ संविधान जारी भएपछि सत्तामा रहेका नेका, एमाले र माओवादी शासकहरूले संविधानलाई कागजको खोस्टो बनाएको उल्लेख छ । शासन सत्तामा रहेर ‘लुटतन्त्र’ मच्चाउँदै जनतालाई सेवा सुविधा दिने विषयमा सरकारको ध्यान नपुगेको उल्लेख गरिएको छ । बहुमत जनताको हितमा नयाँ संविधान निर्माण गर्न पहल गर्ने त कता हो कता शासकहरू देशको संविधान लागु गर्न पनि लागेका छैनन् । देशको संविधान नै पालना नगर्ने शासकहरूले सङ्घीय गणतन्त्रलाई कसरी संस्थागत गर्छन् ? सरकारको नेतृत्व गर्नैपर्ने, सरकारमा सहभागी हुन्नैपर्ने मानसिकता देशका नेताहरूमा देखिएको छ । देशको तेस्रो ठूलो दल एमालेसँग मिले पनि नेकासँग मिले पनि आफू नै प्रधानमन्त्री हुने माओवादी केन्द्रको जिद्दी के सच्चाइ राजनीति हो ?
शासक नेताहरूको यो दूषित र कुत्सित राजनीति सच्चिने कहिले ? पद र पैसामा भुलेर राजनीति गर्ने शासकहरू किन विकृत राजनीति गर्छन् ? हरेक राजनेताहरूमा राजनीतिक चरित्र हुन्छ । तर, राजनीतिक चरित्र नै नभएका, छिनछिनमा विचार फेर्ने, छिनछिनमा कहिले कोसँग कहिले कोसँग मिल्ने अवसरवादी शासकहरूकै कारण देश पराधीन बन्दै गएको हो, देश विदेशी शक्ति राष्ट्रहरूको उठवसमा परेको हो । देशको स्वाधीनता र सार्वभौमसत्ताको ख्याल नगर्ने शासकहरूले के देश सपार्लान् ?† देश बनाउन अघि बढ्लान् ? शासकहरू यति नीच काम गर्न किन हौसिन्छन् ? के शासकहरूमा राजनीतिक चरित्र र नैतिकता हुँदैन† हुनुपर्दैन ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *