भर्खरै :

प्रमुख विपक्षी दल घोषणा गर्नुपर्ला भनेरै बैठक स्थगित !

प्रमुख विपक्षी दल घोषणा गर्नुपर्ला भनेरै बैठक स्थगित !

प्रतिनिधिसभामा प्रमुख विपक्षी दलबिच विवाद होला भनेर प्रतिनिधिसभाको बैठक नै स्थगित गर्नुपर्ने यो नेपालको कस्तो राजनीति ! विज्ञान र प्रविधिको यो एक्काइसौँ शताब्दीमा प्रमुख प्रतिपक्षी दलबारे विवाद होला भनेर लामो समयसम्म बैठक स्थगित गर्न आदेश दिने, दबाब दिने शासक नेताहरू र दबाबको आधारमा बैठक स्थगित गर्ने सभामुख कस्ता । के देशका शासक र ठूला दलका नेताहरूलाई कुन अवस्थामा कुन दल प्रतिनिधिसभाको प्रमुख विपक्षी दल हुन्छ भन्ने कुरा थाहा छैन ? के यहाँ कानुनका ज्ञाताहरू छैनन् ? शासक दल र शासक दलका कानुनविदहरूमा प्रमुख प्रतिपक्षी दलको टुङ्गो लगाउने हैसियत छैन, बुद्धि छैन ?
हेर त बुद्धि ! अहिले नेका र एमालेले आफूलाई प्रतिपक्षी दाबी गरिरहेका छन् । सरकार छोडेको र सरकारको समर्थन फिर्ता लिएको हिसाबले एमालेको दाबी सही हो भने यसअघि एमाले सरकारमा रहँदा प्रमुख विपक्षी दल कुन हो एमालेका नेताहरूले प्रस्ट्याउनुपर्दैन ? यसबारे एमालेबाट सभामुख बनेका देवराज घिमिरेले मुख खोल्नु पर्दैन ? के नेमकिपा प्रमुख विपक्षी दल हुन्छ भनेर एमालेले चासो नराखेको हो ? एमालेले सभामुख घिमिरेलाई कानेखुसी गरेर रोकेको हो ? प्रधानमन्त्री पुष्पकमल दाहाललाई नेकाले विश्वासको मत दिएपछि नेका सत्तापक्षको भएपछि त्यसबेला सरकारमा नरहेको, सरकारलाई समर्थन नगरेको दललाई प्रमुख विपक्षी दलको घोषणा गर्नुपर्दैन ? घोषणा गर्ने कदम चाल्नुपदैन ? पुँजीवादी दलका शासक र ठूला दलका नेताहरू नियम पालना गर्न किन अघि बढेनन् ? संसदीय परम्पराअनुसार नेपालमा प्रमुख प्रतिपक्षी दलको व्यवस्था भएको हो । तर, त्यो व्यवस्थाको उल्लङ्घन शासक र ठूला दलका नेताहरूले किन गरे ? पुँजीवादी व्यवस्थामा न नियम लागु गर्छ न निर्दोषले न्याय पाउँछ ?
प्रतिनिधिसभाको बैठक चैत ५ गते सारियो । फागुन २५ गतेको राष्ट्रपति चुनाव र चैत ३ गते उपराष्ट्रपति चुनावको सन्दर्भलाई लिएर प्रतिनिधिसभामा प्रमुख विपक्षी दलको उद्घोष नै नगरी बैठक स्थगित गरियो । नेमकिपाले त्यसबेला प्रमुख प्रतिपक्षी दलको घोषणा गर्न सदनको पटकपटक ध्यानाकर्षण गरेको हो । तर, बेवास्ता गरियो । अहिले एमालेले पनि प्रतिपक्षमा बस्नेबारे संसद् सचिवालयमा औपचारिक जानकारी दियो । यसअघि काङ्ग्रेसले पनि पत्र पठाएको थियो । निवेदनबारे कुनै निर्णय गरिएन । त्यो विवाद या झन्झन्टबाट मुक्ति पाउन बैठक चैत ५ गतेसम्मको लागि स्थगित गरियो । काम विशेषले बैठक स्थगित नै गरिएको भए पनि प्रमुख प्रतिपक्ष दलको घोषणा गर्नुपथ्र्यो । यसरी शासक दल, ठूला दल, संसद् सचिवालय र सभामुखले देशको राजनीतिलाई अनिर्णयको बन्दी बनाए, अन्योल बनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *