नेपालकै पहिलो पहल – ख्वप आदर निकेतन
- कार्तिक २०, २०८३
माओवादी अध्यक्ष दाहालले एमाले अध्यक्ष ओलीसँग जोडेको सत्ता गठबन्धन दुई महिनापछि तोडेका छन् । फागुन १२ गते बालुवाटारमा बसेको पूर्व सत्ता गठबन्धन दलको बैठकले उक्त गठबन्धन तोडेको हो । नेपाली जनतालाई कम्युनिस्टको नाममा झुक्याउँदै आएका उनीहरूले अब पार्टीको नाम र झन्डा फेर्ने कुरा गर्नु कुनै नौलो भएन । उनीहरूले पार्टीको नाम र झन्डा कथित ‘जनयुद्ध’ लगत्तै फेर्नुपर्ने थियो । उनीहरूले अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादसमक्ष उत्तिबेलै आत्मसमर्पण गरिसकेको सञ्चारमाध्यममा आएको थियो । त्यतिबेलै पार्टीको नाम र झन्डा फेरेको भए देश र जनताप्रति, सिद्धान्त र विचारप्रति घात हुने थिएन । उनको बोली व्यवहारमा कहीँ पनि कम्युनिस्टको गन्ध छैन । उनले पदको लागि सिद्धान्त, विचार, नैतिकता, मूल्यमान्यता, बोलीबचन, अडान र लाज शरम सबै त्यागेका छन् । उनले नयाँ बादशाहको लुगा लगाएर हिँड्न थालेका छन् ।
व्यक्ति हत्याको राजनीति गर्दै अगाडि बढेको एमालेले २०४६ सालको जनआन्दोलनपछि पार्टी ठूलो बनाउने नाममा आपराधिक व्यक्तिहरू पार्टीमा भित्याएको थियो । त्यसले एमाले त्यतिबेला ठूलो पार्टी त बन्ने पनि उनीहरू कम्युनिस्ट विचार र सिद्धान्तलाई त्याग्दै अघि बढे । चुनावबाटै कम्युनिस्टको क्रान्तिकारी सरकार आउँछ, अब राजनीतिक क्रान्ति चाहिँदैन, आर्थिक क्रान्ति गर्नु आवश्यक छ भन्दै क्रान्ति र परिवर्तनको लागि उर्लँदै गएको जनताको भावना र विचारलाई उनीहरूले लात मार्ने काम गर्दै गए । उनीहरू व्यवहार र परिणामतः दक्षिणपन्थी अवसरवादमा फस्दै गए । उनीहरू कुराले कम्युनिस्ट र व्यवहारले काङ्ग्रेसको बाटो पछ्याउँदै गए । त्यसैले नेमकिपा अध्यक्ष रोहितले उनीहरूलाई भाइकाङ्ग्रेस भनेका थिए । सशस्त्र क्रान्तिबाट सत्ता कब्जा गरी जनताको सरकार र कम्युनिस्ट सरकार नबनेको हुँदा, पुँजीवादी संविधान र चुनावबाट जितेर सरकार बनेको हुँदा देशी विदेशी पुँजीवादी दलहरू मिलेर एक वर्ष पनि टिक्न दिइएन । उनीहरू विभिन्न लोभमा फस्दै गए । उनीहरू पुँजीवादको गुलियो पोतेको विष चाख्दै गए । परिणामतः उनीहरूले कम्युनिस्ट विचार, सिद्धान्त, आदर्श, आचरण र व्यवहार छोड्दै गए । त्यसैले, एमाले पनि नाम मात्रको कम्युनिस्ट भयो ।
आज एमाले भाइकाङ्ग्रेसलाई उछिनेर माओवादी दाइकाङ्ग्रेस भएको छ । यो सबै उनीहरूको लवाइखवाइ, बसाइ, रहनसहन, गलत व्यवहार र परिणामले देखाइरहेको छ । हिजो कथित जनयुद्धताका गरिब जनताको घर झुपडीमा, बन्द शिविरमा गरीब जनताका छोराछोरीलाई गरीबका दिन आउने, गरीबको सरकार आउने काठमाडौँलगायतका सहरका अग्लाअग्ला भवन, घर हाम्रो हुने आदि सपना उनीहरूले देखाएका थिए । सशस्त्र क्रान्ति, आमूल परिवर्तन, गरीबलाई हेर्ने सरकार आउने सपना बाँड्दै गरिबका छोराछोरीलाई ज्यानको बाजी राखेर जनयुद्धमा हामफाल्न दिइयो । कम्युनिस्टका विचार, सिद्धान्त, अनुशासन, त्याग, नैतिकता, बलिदानका कुराहरू सबै धुलोमा मिलाइदिए । पार्टी ठूलो बनाउने नाममा उनीहरूले विचार, सिद्धान्त, नैतिकता, आचरण, व्यवहारलाई पन्छाएर खराब ठेकेदार, गुण्डा, भ्रष्टाचारी, ठग, फटाहाजस्ता अपराधीहरूलाई रातो टीका र फूलमाला लगाएर पार्टीमा हुल्याए । त्यसमा रहेका सिद्धान्त, निष्ठा, नैतिक आचरणमा बसेका त्यागी नेता, कार्यकर्ताहरू पाखा लाग्दै गए ।
फागुन १२ गते बालुवाटार बैठकमा काङ्ग्रेस, माओवादी, जसपा, लोसपा, जपा, नाउपा, एसपा, राजपासहित सात दलको पूर्व गठबन्धनको सरकारलाई देशको स्वार्थ र हितमा होइन सबैले आ–आफ्नो स्वार्थ र हितमा, आ–आफूलाई बढीभन्दा बढी भाग पाउने स्वार्थमा पुनर्जीवन दिने भएका छन् । देशी विदेशी शक्तिले कुकुरलाई हड्डी फालेर झगडा लगाएजस्तै पनि आ–आफ्नो स्वार्थपूर्ति गर्न उनीहरूलाई जुटाउने, भिडाउने कुरामा आश्चर्य भएन । यो भागबन्डाको स्वार्थको गठबन्धन अप्राकृतिक, अराजनीतिक, अस्वाभाविक, अव्यवहारिक गठबन्धन भएकोमा कुनै नौलो भएन । यो गठबन्धन काँचो धागोजतिको पनि बलियो नहुने उनीहरूको व्यवहारबाट थाहा हुन्छ । उनीहरूले राष्ट्रपति काङ्ग्रेसलाई, उपराष्ट्रपति जसपालाई, प्रधानमन्त्रीमा पहिलो दुई वर्ष माओवादीलाई दोस्रो दुई वर्ष काङ्ग्रेसलाई र अन्तिम चुनाव हुने गराउने वर्ष एकीकृत समाजवादीलाई भागबन्डा हुने गरी फागुन २५ गते हुने राष्ट्रपतिको चुनावमा काङ्ग्रेसका उम्मेदवारलाई मत दिई जिताउने सर्तमा पूर्व गठबन्धन जोड्ने सहमति भएको समाचार सञ्चारमाध्यममा आयो । यदि काङ्ग्रेस प्रजातन्त्रको मूल्यमान्यता, आदर्श निष्ठाप्रति इमानदार भएको भए प्रतिपक्ष प्रखर प्रतिपक्षमा बस्नुपथ्र्यो । आफ्नो स्वार्थ पूर्ति गर्न विदेशी शक्तिलाई जसरी पनि कमजोर सरकार बनाउनु छ र अस्थिरता कायम गरी धमिलो पानीमा माछा मार्नु छ ।
माओवादी र काङ्ग्रेसलगायतका शासकहरू देशघाती रहेको कुरा एमसीसी सम्झौता पास गरेको घटनाले पुष्टि भइसकेको छ । त्यसबेला यो देशघाती छ पास गर्नु हुन्न, यो अमेरिकी साम्राज्यवादको हतियार हो, यो अमेरिकी साम्राज्यवाद नेपाल पसेर अड्डा जमाउने बाटो हो भनेर नारा लगाउने, चिच्याउने, सचेत पार्ने, खबरदारी गर्ने नेमकिपाका सांसद प्रेम सुवालबाहेक कोही थिएनन् ।
अब अमेरिकी साम्राज्यवादलगायत पश्चिमी देशहरू नेपालमा सजिलै पस्न र अड्डा जमाएर बस्ने वातावरण बनाउन लागिरहेको घटनाक्रम र परिणामले देखाइरहेका छन् । उनीहरू विभिन्न नाम र बहानामा, विभिन्न स्वार्थमा नेपाल आउने क्रम बाक्लिएका छन् । यही एमसीसी सम्झौतामा टेकेर उनीहरू नेपाल आएका हुन् । अब उनीहरू कानुनीरूपमा हतियारधारी सैनिकहरू नेपाल आउन सक्ने वातावरण बनाउने प्रयासमा छन् । त्यसको लागि प्रभाव र दबाब दिन, राष्ट्रपति, प्रधानमन्त्री र सभामुख पदमा आफ्ना कठपुतलीहरू पु¥याउन बिनाबर्डीका सीआइए, रअका गुप्तचरहरू केही महिनादेखि काठमाडौँका विभिन्न होटेलहरूमा अड्डा जमाएर सक्रिय भइरहेको जानकारहरूले बताइरहेका छन् ।
नेपालको इतिहासमा यति तरल राजनीति, सत्ताको भागबन्डाको खेल, विदेशीले खेलाएको घटना अरू बेला भएको देखिँदैन । सत्ताको लागि भएको उनीहरूको छलकपटपूर्ण सहमति दुई महिना पनि टिकेन । उनीहरूबिच विगतमा विदेशीबाट पालितपोषित, परिचालित भनेर सत्ताको फोहरी खेल हुँदा एक आपसमा लगाएको आरोप व्यवहार र परिणामले पुष्टि हुँदै छ । अमेरिकी साम्राज्यवादलगायत पश्चिमी राष्ट्रहरू भारतीय विस्तारवादले विभिन्न लोभ र प्रभावमा पारेर आफ्नो स्वार्थ पूर्ति गर्दै आएका छन् । अब हतियारधारी अमेरकी, सेना, युरोपेली सेना, भारतीय सेना, कालापानीमा जस्तै काठमाडौँ वा रसुवा, सिन्धुपाल्चोक वा अन्य क्षेत्रमा क्याम्प खडा गरेर बस्न एसपीपी, नागरिकता विधेयकलगायत अन्य देशघाती कानुन सन्धि सम्झौता पास गर्ने, कार्यान्वयनमा ल्याउन उनीहरूलाई आज्ञापालन गर्ने, आदेश पालन गर्ने राष्ट्रपति, प्रधानमन्त्री र सभामुख चाहिएको थियो । यसको लागि उनीहरूले सबै गुप्त मन्त्रणा, मञ्चन, सक्रियता देखाइरहेको जानकारहरूले बताइरहेका छन् ।
उनीहरू नेपालमा खान, बस्न एनजीओ, आइएनजीओलाई उपयोग गरेर भिडाउन कुनै घटना घटाएर उपद्रो मच्चाउने बाटो खन्दै छन् । यो नेपालका देशभक्त, अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादविरोधी नेता र जनतालाई थाहा भएको कुरा हो । जसरी उनीहरूले सोभियत सङ्घमा स्तालिन र किरोभ, इराकमा सद्दाम हुसेन, लिबियामा कर्णेल गद्दाफी, पाकिस्तानमा जुल्फिकर अलि भुटो, चिल्लीमा साल्भाडोर ऐयण्डे आदिलाई सिध्याएका थिए ।
जनयुद्धको बेला नै प्रचण्ड साम्राज्यवादी र विस्तारवादीको ट्रोजन हर्स भएको आरोप लागिसकेका नेता हुन् । माओवादीलाई प्रयोग गरेर जनयुद्धको नाममा नेपालमा विध्वंश, उपद्रव मच्चाउँदै आएको नेपाली जनताले थाहा भएकै कुरा हुन् । उनीहरूले नेपालको प्राकृतिक स्रोत र साधनहरू लुटिरहेका छन् । त्यसैले उनीहरू अब आनन्दसँग सुत्न सक्दैनन् । उनीहरूलाई साम्राज्यवादी र पुँजीवादीहरूले हेगको तरबार देखाउँदै तर्साउँदै छन् । यो सबै साम्राज्यवादी र विस्तारवादीहरूको सहयोगमा ट्रोजन हर्स भई नेपालमा विध्वंश मच्चाउँदा र कथित जनयुद्ध गर्दाको परिणाम हो । यो उनीहरूको अगाडि आत्मसमर्पण गर्दाको परिणाम हो भनेर देशभक्त जनता भनिरहेका छन् । अब उनीसँग न कम्युनिस्ट विचार बाँकी छ न त देशभक्त भावना नै बाँकी छ । न उनीहरूसँग नैतिकता, त्याग, बोली, अडान, इज्जत, सम्मान नै बाँकी छ । उनीहरूले आफूलाई डुबाउन लागेको हो कि देशलाई !
Leave a Reply