भर्खरै :

“जीवनको अनुभवले देश र जनताको सेवा गर्ने निचोड दियो”

“जीवनको अनुभवले देश र जनताको सेवा गर्ने निचोड दियो”

भक्तपुर, १९ फागुन । “मलाई आफ्नो ६०–७० वर्षको अनुभवले देश र जनताको सेवा गर्ने निचोड दियो । केही व्यक्तिको हित हेर्ने पुँजीवाद हो भने सबैको हित हेर्ने समाजवाद हो ।”
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले प्रभात इङ्गलिस सेकेन्डरी स्कूलमा गत वर्ष एसईई उत्तीर्ण विद्यार्थीहरूको शुक्रबार भएको मार्गनिर्देशन कार्यक्रममा उक्त भनाइ राख्नुभएको हो ।
“देशघाती एमसीसी सम्झौता गरेका शासक दलहरूले राष्ट्रपति चुनाव हुन गइरहेको हुँदा अमेरिकी सेनालाई रोकिराखेका हुन् । पार्टीको महाधिवेशनमा समेत नेपालको राष्ट्रपतिबाट भारतको राष्ट्रपतिलाई फोनमार्फत पैसा माग्नेहरू देश र जनताका पार्टी होइनन् ।” अध्यक्ष बिजुक्छेँले भन्नुभयो ।
आर्थिक सङ्कट भनेको उत्पादन हुने तर सामान किन्न जनतासँग पैसा नहुने र जनतालाई दुःख हुने उल्लेख गर्दै अध्यक्ष बिजुक्छेँले कृषि उत्पादन बढाउन जरूरी भएको बताउनुभयो ।
“अमेरिकी साम्राज्यवादले चीन र रूसलाई कमजोर बनाउन तेस्रो विश्व युद्ध एसियामा गराउने र हतियार बेचेर संसारलाई नियन्त्रणमा राख्ने ध्वंसात्मक गतिविधि गर्ने तयारी गर्दै छ । संसारका न्यायप्रेमी जनताको चेतनास्तर उठाउन सकिए युद्धलाई रोक्न सकिनेछ ।” अध्यक्ष बिजुक्छेँले स्पष्ट गर्नुभयो ।
नेपाल मजदुर किसान पार्टीका सांसद एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम सुवालले पुँजीवादमा सार्वजनिक संस्थानहरू व्यक्तिलाई बिक्री गरिने र सर्वसाधारण जनतालाई दुःख हुने उल्लेख गर्दै जनताको सहयोग र श्रमदानबाट स्थापना र सञ्चालन भएको प्रभात इङ्गलिस सेकेन्डरी स्कूललाई अगाडि बढाउनु जरूरी भएको उल्लेख गर्नुभयो ।
पुँजीवादी व्यवस्थामा बरोबर आर्थिक सङ्कट हुने र जनता मानसिक चिन्तामा पर्ने उल्लेख गर्दै सांसद सुवालले नेपाल सरकारको बजेटको स्रोत भारतीय गाडी आयातमा भन्सार कर, बियर र रक्सी बिक्रीमा अन्त शुल्क कर, एउटाको नामको जग्गा अर्कोलाई बिक्री गराई पुँजीगत लाभ र रजिष्ट्रेसन शुल्कलाई बनाउनुभन्दा कृषि उत्पादनलाई जोड दिएर दाल, तरकारी, चामल आयात रोक्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
सांसद सुवालले नयाँ पुस्ताका सबैले देशको कुनै पनि जिम्मेवारीमा बसेर काम गर्दा इमानदारीपूर्वक गर्नुपर्ने उल्लेख गर्नुभयो ।
वरिष्ठ चिकित्सक डा. केबी कर्माचार्यले सबै विषयको उत्तिकै महत्व भएको उल्लेख गर्दै असफल हुनु मेहनत नपुगेको र मेहनती हुन स्वास्थ्य राम्रो हुनुपर्ने, राम्रो स्वास्थ्यको लागि आहार र आराम व्यायाम आवश्यक भएको बताउनुभयो ।
बाग्मती प्रदेशसभा सदस्य तथा विद्यालय व्यवस्थापन समितिका सदस्य सृजना सैंजूले अर्थ राजनीतिबारे प्रकाश पार्नुभयो ।
ख्वप माध्यमिक विद्यालयका प्राचार्य प्रकाशकुमार श्रेष्ठले विज्ञान विषय र ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य सुनिल दुवालले इन्जिनियरिङ विषयबारे प्रकाश पार्नुभयो ।
विद्यालयका प्राचार्य वदनकेशरी प्रजापति र शिक्षक राजेन्द्र खड्काले पनि बोल्नुभएको उक्त कार्यक्रममा विद्यार्थीहरूले हृदयचन्द्रसिंह प्रधानको ‘राजनीतिक रङ्गमञ्च’ नाटक प्रस्तुत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *