भर्खरै :

हात्ती आयो हात्ती आयो फुस्सा !

  • फाल्गुन २१, २०७९
  • इन्द्रकुमार श्रेष्ठ
  • विचार
हात्ती आयो हात्ती आयो फुस्सा !

हामी सबैलाई थाहै छ, कथित ‘माओवादी जनयुद्ध’ ताका क्रान्तिका डरलाग्दा र आसलाग्दा कुरा थिए । नेता, कार्यकर्ता र जनताको मुखमुखमा ‘प्रचण्डपथ’ ले बास गरेको थियो । देश र जनताका त्यस्ता ‘नायक तथा पथप्रदर्शक’ भारतमा आरामसँग बसिरहेका बेला यता नेपालमा उनकै आह्वानमा ‘भारतविरुद्ध सुरुङ युद्ध’ चलाइएको थियो । पछि ‘फर्जी लडाकु प्रकरण’ चर्चामा आयो । साथीहरूले पोल खोलिदिए । तर, ती सबै हराए । एमालेसँग एकता भएपछि त झन् कोदो र तोरी नचिनिने अवस्था आइहाल्यो ।
आखिर भन्ने कुरा त रहेछ ! ‘जनयुद्ध’ सुरु गर्नुअघि आफैँले बुझाएका ४० बुँदे मागहरू आफैँले भुसुक्कै बिर्से ! ज्योतिषीले भनेझैँ ग्रहकै खेल त होला ! पार्टी खिइँदै गए पनि, कहिले काङ्ग्रेसको, कहिले एमालेको काँध पालैपालो चढ्दै तीनपटक प्रधानमन्त्री बन्न सफल प्रचण्डै देखिएका छन् । राजनीतिलाई पारिवारिक फाइदा बनाए पनि, सत्ता निर्णय गर्ने प्रत्येक सङ्कटमय अवस्थामा उनकै भूमिका निर्णायक रहेको छ । व्यक्तिगत फाइदाका लागि एकता र सहकार्य गर्न मात्र होइन, वचन दिन र तुरुन्तै उल्लङ्घन गर्न पनि उनी सिपालु देखिन्छन् । नेपालको राजनीतिलाई यसरी हदैसम्मको दूषित, घीनलाग्दो र कपटी खेलमा रूपान्तरण गर्नेमध्येका एकजना प्रमुख पात्र हुन् उनी । भन्न बाँकी केही पनि नराखेको र गर्न केही पनि नगरेको हुँदा, उनको सक्कली ‘कम्युनिस्ट अनुहार’ नेपाली जनतासामु छर्लङ्ग देखिएको छ ।
सत्ता र शक्तिको दम्भ डरलाग्दो हुन्छ । तीन वर्षअघि उनले पाँच हजारको जिम्मा लिन्छु भनी आफूलाई हत्यारा भएको साबित बयान सार्वजनिक गरेको कुरा सबैलाई थाहा भएकै हो । पहिला आफैँले दरपीठ गरेको निवेदनलाई अहिले आएर सर्वोच्चले यही १८ फागुनमा दर्ता गर्न आदेश दिएछ ! यो समाचारले यतिखेर आम जनमानसमा धेरै चर्चा पाएको छ । एकजना व्यक्तिको ‘अतिवाद’ का कारण यसबाट धेरै मानिसहरू सर्वोच्चप्रति आशावादी पनि बनेका छन् । तर, नेपाली राजनीतिको विगत हेर्दा, यो चर्चा पनि ‘हात्ती आयो हात्ती आयो फुस्सा’ मै सीमित रहने हो कि भन्ने आशङ्का छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *