नेपाली समाज किन फासीवादउन्मुख भयो ?
- असार ९, २०८३
काठमाडौँ, २१ फागुन । नेपालभाषा साहित्य तःमुंज्या काठमाडौँको आयोजनामा दोस्रो नेपालभाषा साहित्य सम्मेलन शनिबार लगन टोलमा सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवं सङ्घीय सांसद प्रेम सुवालले भन्नुभयो, “ देश र जनताको हितमा नलेखिएको साहित्य कागजको खोस्टाजस्तै हुन्छ । जनताका साहित्यकारहरूले सामन्त र शोषक वर्गको अत्याचारको विरोधमा कामदारवर्गको पक्षमा साहित्य लेख्नु जरूरी छ । जनताका साहित्यकारहरूले पद र पैसाको लागि लेख्दैनन्, आमूल परिवर्तनको लागि लेख्छन् ।”
राजा महाराजाको अनुहार हेरेपछि दुःख हट्ने भनी राजामहाराजाको तस्बिर भए पनि घरमा राख्नुपर्ने, धेरै सम्पत्ति भएकाको जनविरोधी कामको विरोध गर्न नहुने, तिनकै पछि लाग्नुपर्ने विषय उल्लेख भएको साहित्य प्रतिकृयावादी साहित्य हुने धारणा उहाँले व्यक्त गर्नुभयो ।
सचिव सुवालले भन्नुभयो, “बहुदल पुनःस्थापना यता चार–पाँच पटक मन्त्री भएकाले आफ्नो संस्मरणमा मन्त्री भ्रष्टाचारी हुने उल्लेख गरे । पुँजीवादी व्यवस्थाका प्रधानमन्त्री र मन्त्रीहरू भ्रष्टाचारी हुने पुरानो रोग हो । पुँजीवाद केही व्यक्तिको हित हेर्ने व्यवस्था हो ।”
“सरकारी अस्पतालमा गएका बिरामीलाई उपकरण बिग्रिएको भनी निजी अस्पतालमा पठाउने, सरकारी स्वामित्व भएको बैङ्कमा रकम जम्मा गर्न गएकालाई ब्याज धेरै पाउने भनी निजी बैङ्कमा पठाउने, नेपाल वायु सेवा निगमको हवाईजहाज चढ्न गएका यात्रुलाई भरपर्दो छैन भनी निजी वायुसेवामा पठाउनेहरू पुँजीवादी हुन्”, सचिव सुवालले स्पष्ट पार्नुभयो ।
समाजवादले सबैको हित हेर्छ । सम्पत्ति शुद्धीकरणको लागि स्रोत नखुलेको सम्पत्ति र निजी बैङ्कहरू राष्ट्रियकरण गर्नु जरूरी छ भने नेपालीको सम्पत्तिको सीमा निर्धारण गर्ने र विदेशमा सम्पत्ति राख्न नपाउने कानुन आवश्यक छ, उहाँले भन्नुभयो ।
नेपाली युवालाई भाडाको सिपाहीँ बनाउने गोर्खा भर्ती, नेपाललाई भारतको सुरक्षा छातामा राख्ने सन् १९५० को सन्धि, नेपाली भूमि कालापानीबाट भारतीय सेना फिर्ता पठाउने, दार्चुलामा भारतले महाकाली नदी मिचेर तटबन्ध बनाएको भत्काउनु पर्ने, देशघाती एमसीसी सम्झौता र एसपीपी साझेदारी खारेज गर्नुपर्ने विषयबारे जनताका साहित्यकारहरूले लेख्नु जरूरी रहेको सचिव सुवालले उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, “नेपाल मजदुर किसान पार्टीका जनप्रतिनिधिहरू निर्वाचित भएको भक्तपुर नगरपालिकाले २३ वर्षअघि नै शैक्षिक संस्थाहरू सञ्चालन गरी ७७ ओटै जिल्लाका कामदारवर्गका छोराछोरीहरूलाई उच्च शिक्षा अध्ययन गराउँदै छ । तर, सरकारमा गएका दलहरू ख्वप विश्वविद्यालयको विधेयक पारित नगरी कामदार वर्गलाई डाक्टर पढ्न रोक्ने राणा शासनको पदचिह्नमा हिँड्दै छन् । यसरी कामदार वर्गको लागि संवैधानिक राजतन्त्र र पुँजीवादी गणतन्त्रमा फरक नहुने यथार्थ पुष्टि भयो ।”
कोसी, गण्डक, महाकाली, माथिल्लो कर्णाली, पश्चिम सेती, अरूण तेस्रोलगायत नदीबारे भारतसँगको सम्झौता खारेज गरी नेपालीकै लगानीमा जलविद्युत् उत्पादन गर्नु जरूरी छ । नेपाली युवालाई स्वदेशमा रोजगारी दिनु आवश्यक छ । यसले मात्र नेपालको विकास र नेपाली जनताको हित हुनेछ, उहाँले भन्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवं साहित्यकार कृष्णकुमार वैद्यले जनताको समस्या साहित्यमार्फत उजागर गरी सचेत पार्नुपर्ने बताउनुभयो ।
काठमाडौँ विश्वविद्यालयका डिन तथा मुटुरोग विशेषज्ञ डा. राजेन्द्र कोजूले चिनी रोग र ब्लड प्रेसर रोगबाट बच्न नियमित व्यायाम गर्नुपर्ने, खानपिन सन्तुलन हुनुपर्ने, चिन्ता लिन नहुने चर्चा गर्दै नियमितरूपमा स्वास्थ्य परीक्षण गरिरहनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले भक्तपुर नगरको विकासमा नेमकिपाको निर्देशन र घोषणापत्र अक्षरसः पालना भइरहेको उल्लेख गर्दै भक्तपुरले उदाहरणीय काम गरिरहेको बताउनुभयो ।
पशुपक्षी विशेषज्ञ डा. अन्जिरमान डंगोलले देशको विकासमा कृषिको महत्वपूर्ण देन रहेकोले सरकारले कृषिबारे जनतालाई राहत पु¥याउन देशमै कलकारखाना खोल्नुपर्ने, बीउबिजन र यन्त्रको व्यवस्था गर्नुपर्ने बताउनुभयो ।
ज्यापु महागुथिका अध्यक्ष राजभाइ जकमी, सम्पदा संरक्षण अगुवा दामोदरलाल कारंजित, राजु कपाली, वाद्य सम्राट् न्हुच्छेबहादुर डंगोललगायतले बोल्नुभएको थियो ।
तःमुंज्याका अध्यक्ष कुलनारायण डंगोलको सभापतित्वमा भएको कार्यक्रममा नारायण महर्जन, सृजना डंगोल, सानुकाजी महर्जनले पनि बोल्नुभएको थियो ।
सम्मेलनमा कवितातर्फ सुनिता गाइसी पहिलो, संजयराज दोस्रो, सुवर्ण महर्जन तेस्रो र अमृतरत्न शाक्य सान्त्वना हुनुभएको थियो । त्यस्तै कथातर्फ पुष्परत्न ताम्राकार पहिलो र दिलकृष्ण सान्त्वना हुन सफल भएको थियो ।
कार्यक्रममा सांस्कृतिक गुरूहरू र विजयी सर्जकहरूलाई प्रमुख अतिथि सुवालले सम्मान र पुरस्कार वितरण गर्नुभएको थियो ।
कार्यक्रमको उद्घाटन सांस्कृतिक गुरू भाइराजा महर्जनले गर्नुभएको थियो ।
Leave a Reply