भर्खरै :

“पुँजीवादविरुद्ध श्रमिक महिला आन्दोलन हुनुपर्छ”

“पुँजीवादविरुद्ध श्रमिक महिला आन्दोलन हुनुपर्छ”

भक्तपुर, २४ फागुन । ११३ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस (मार्च ८) को अवसरमा नेपाल क्रान्तिकारी महिला सङ्घ भक्तपुर जिल्ला समितिको आयोजना बुधबारका दिन महिला भेला एवम् विचार गोष्ठी कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवम् प्रतिनिधिसभा सांसद प्रेम सुवालले प्रजातन्त्र पुनःस्थापनाको ३३ वर्षमा पनि कामदार वर्ग र कामदार वर्गका महिलाहरू शोषणबाट मुक्त हुनसकेको तथ्य राख्नुभयो ।
उहाँले जोड दिनुभयो, “साँचो प्रजातन्त्र भनेको सामाजिक न्याय, व्यक्तित्व विकासमा समान अवसर, आर्थिक समानता र उच्च सांस्कृतिक स्तरसहितको समाज निर्माण हो । तर, राज्यसत्ता कब्जा गरेका शासक दलहरूले सिंहदरबारलाई भ्रष्टाचारको अखडा बनाए । पुँजीवादी व्यवस्थाले कामदार महिलामाथि दोहोरो शोषण गर्छ । पुँजीवाद भनेको केही व्यक्तिको मात्र हित हुने व्यवस्था हो । कामदार जनतालाई श्रमशोषण गरी नाफामा रमाउने व्यवस्था नै पुँजीवादी व्यवस्था हो । बैङ्कलाई पुँजीवादी व्यवस्था जोगाउने स्नायु केन्द्र बताइन्छ । त्यसकारण, पुँजीवादी व्यवस्थाविरुद्ध आजको श्रमिक वर्गीय महिला आन्दोलन केन्द्रित हुनुपर्छ ।”
सांसद सुवालले भन्नुभयो, “केही व्यक्तिको मात्र हित हेर्ने पुँजीवादी विचार हो । यसले पुँजीपति वर्ग जन्माउँछ । नेपालम अहिले पुँजीवादी गणतन्त्र छ ।
सबैैको हित हेर्ने समाजवादी विचार हो । यसले मानिसलाई उच्च सांस्कृतिक स्तर दिन्छ ।”
प्रजातन्त्र पनि उच्च सांस्कृतिक स्तर हो । प्रजातन्त्रमा आर्थिक समानता, सामाजिक न्याय र व्यक्तित्व विकासमा समान अवसर दिन्छ । शोषण भएको व्यस्था प्रजातन्त्र होइन, उहाँले भन्नुभयो ।
नेपाल मजदुर किसान पार्टीको विधानमा महिलालाई सम्मान गर्ने, दुव्र्यवहार गर्न नपाउने, बहुविवाह गर्न नहुने प्रावधान छ । धुमपान र मदिरापान गर्न नहुने पनि नेमकिपाको विधानमा उल्लेख छ । आमा–बुबाले धुमपान र मदिरापान गरेमा छोराछोरीकोको स्मरणशक्ति कमजोर हुने मानव विज्ञानका जानकारहरूको मत सार्वजनिक भएको छ, उहाँले भन्नुभयो ।
नेपालको सरकार जोगाउन सांसदहरूलाई होटलमा थुनेर मदिरासहित सुरासुन्दरी काण्ड मच्चाइएकाहरूको इतिहास छ । शासक दलहरूले निर्वाचनमा पैसा–सामान बाँडेर भोज भतेर खुवाएर धेरै स्थान ल्याएकोमा जनाताको आपत्ति छ, उहाँले भन्नुभयो ।
सचिव सुवालले भन्नुभयो, “सिङ्गो समाजलाई सुसंस्कृत बनाउनु जरुरी छ । समाजको केही भागमात्र सुसंस्कृत भएर पुग्दैन । यसकारण, सरकारमा पुग्ने दलहरू इमानदार हुनु आवश्यक छ । शासकहरू गतिलो नभएर नै जनतालाई दुःख भएको हो ।”
“महिला शिक्षित भए समाज शिक्षित हुन्छ । नेपालमा २०४ वर्षको राणा शासन र तीस वर्षको पञ्चायती शासनमा पढ्न नपाएका नेपाली कामदार वर्गले अहिलेको पुँजीवादी गणतन्त्रमा पनि पढ्ने अवसर पाएन । ख्वप विश्वविद्यालयको विधेयक रोक्नेहरू देशभक्त र जनप्रेमी होइनन् ।” उहाँले अगाडि भन्नुभयो ।
कार्यक्रमका अतिथि बाग्मती प्रदेशसभा सांसद एवम् नेमकिपा भक्तपुर जिल्ला अध्यक्ष सुरेन्द्रराज गोसाईले समाजलाई सुगठित र सुसंस्कृत बनाउने र भविष्यको पुस्ता तयारीमा महिलाहरूको भूमिका बढ्ता हुने विचार राख्नुभयो । बाग्मती प्रदेशसभाको प्रसङ्ग उल्लेख गर्दै शासक दलका महिलाहरू पद र पैसामात्रको पछि दौडिरहेको शब्दचित्र प्रस्तुत गर्नुभयो । उहाँले प्रजग कोरियाका नयाँ महिला नेतृ किम यो जोङको सन्दर्भ उल्लेख गर्नुभयो । साम्राज्यवादी देश संरा अमेरिका आणविक हतियार द्यक्२ ले प्रजग कोरियामाथि हमला गर्ने भन्दै उत्तेजित बनाइरहँदा उहाँले संरा अमेरिकालाई हाँक दिनुभएको थियो । प्रजग कोरियाली नेता किम जोङ उनका बहिनी नेतृ किम यो जोङबाट साम्राज्यवादविरोधी सङ्घर्षका निम्ति विश्वले ऊर्जा प्राप्त गर्ने विश्वास सांसद गोसाईले व्यक्त गर्नुभयो । “नेपालको सन्दर्भमा नागरिकता विधयक, एमसीसी, एसपीपी, भारतीय विस्तारवाद र एकाधिकार पुँजी र अमेरिकी साम्राज्यवादको विरोध गर्ने नेतृहरू आवश्यक छन् ।” उहाँले जोड दिनुभयो ।
कार्यक्रममा नेक्रामसङ्घ केन्द्रीय उपाध्यक्ष कमलमैया सुवालले महिलाहरूको हक अधिकार वर्गसङ्घर्षबाट मात्र प्राप्त हुने र महिला वर्गमा विभक्त हुने तर्क राख्नुभयो । उहाँले चितवनमा हुने नेक्रामसङ्घको तेस्रो राष्ट्रिय सम्मेलनको जानकारी दिनुभयो ।
कार्यक्रममा अतिथि बाग्मती प्रदेशसभा सांसद गीता काफ्लेले मार्च ८ अर्थात् अन्तर्राष्ट्रिय महिला दिवस मनाउनुको पृष्ठभूमि र महत्वबारे चर्चा गर्नुभयो ।
कार्यक्रममा नेक्रामसङ्घ भक्तपुर नगर अध्यक्ष अधिवक्ता अनिता जधारीले बढ्दो साइबर अपराधबाट महिलाहरू कसरी जोगिन सकिन्छ भन्ने विषयमा प्रस्तुति राख्नुभयो । कार्यक्रममा नेक्रामसङ्घ चाँगु नगर समितिका अध्यक्ष सानुमाया लागेजूले महिला नेतृ किम जोङ सुुकको जीवनी, नेक्रामसङ्घ सूर्यविनायक अध्यक्ष मिना मास्केले नादेज्दा क्रुप्स्कायाको जीवनी र नेक्रामसङ्घ भक्तपुर नगर सचिव मिरा दुगुजुले नेतृ क्लारा जेट्किनको सङ्क्षिप्त जीवनी प्रस्तुत गर्नुभयो ।
नेक्रामसङ्घ भक्तपुर जिल्ला अध्यक्ष सृजना सैंजूको सभापतित्वमा सम्पन्न महिला भेलामा ख्वप माध्यमिक विद्यालयबाट लेखक हृदयसिंह चन्द्रप्रधानको नाटक ‘उनी देवता हुन्’ भन्ने नाटक मञ्चन गरिएको थियो । कार्यक्रममा समितिका सचिव सरस्वती सिंख्वालले उद्घोषण गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *